Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नयाँ राजनीतिक बाटोमा टीकाराम पुरी

‘एमाले छाडेको हुँ, राजनीति होइन’

उद्‌घोष संवाददाता
२४ पुष २०८२, बिहिवार

विराटनगर । राजनीतिको रंगमञ्चमा केही पात्रहरू विरलै भेटिन्छन्, जो आफ्नो जीवनको उर्वर चार दशक एउटै विचार र संगठनमा होमिएपछि एकाएक ‘कोर्स करेक्सन’ को साहस गर्छन् ।

नेकपा एमालेको झण्डामुनि २०३९ सालदेखि लामबद्ध विराटनगरका चर्चित शिक्षासेवी टीकाराम पुरी अहिले यस्तै मोडमा आइपुगेका छन् । 

एमालेसँगको ४० वर्ष लामो अविच्छिन्न यात्रा, हजारौं सहयात्रीहरूको राजनीतिक साथ र एउटा स्थापित विरासतलाई तिलान्जली दिएर पुरीले नयाँ राजनीतिक बाटो रोजेका छन् । 

उनका अनुसार यो बाटो सत्ताको दाउपेच मात्र होइन, बरु राजनीतिको पुरानो र भत्किएको परिभाषालाई पूर्णतः विस्थापित गर्ने एउटा वैचारिक विद्रोह हो । 

पुरीको निर्णय सुन्दा धेरैलाई लाग्न सक्छ–यो बेला किन यस्तो जोखिम ? तर उनी दृढ सुनिन्छन् । ५९ वर्षको परिपक्व उमेरमा उनले एउटा कुरा स्पष्ट बुझेका छन् ‘जुन डुंगाले ४० वर्षसम्म किनारा लगाउन सकेन, अब त्यसैमा बसिरहनु भनेको समयको बर्बादी मात्र हो ।’ 

विराटनगरस्थित एभरेष्ट कलेजको चौरमा उद्घोषसँग लामो कुराकानीमा उनले यही निष्कर्ष सुनाए । अनि भने, ‘मैले एमाले छाडेको हुँ, राजनीति होइन । बरु राजनीतिको नाममा भइरहेको व्यापार र पाखण्ड छाडेर वास्तविक जनसेवाको राजनीति रोजेको छु । अब यही बाटोबाट अघि बढ्नेछु ।’

मुलुककै कहलिएको शैक्षिक संस्था एभरेष्ट स्कुल र कलेज सञ्चालनको सफल नेतृत्व पुरीको राजनीतिक यात्रा २०३९ सालको विद्यार्थी आन्दोलनको राप र तापबाट सुरु भएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको कठिन समयमा कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेर उनले राजनीतिको कखरा सिके । 

२०४६ सालको जनआन्दोलनले ल्याएको प्रजातन्त्रको सुवाससँगै उनले २०४७ सालमा एमालेको सक्रिय सदस्यता लिए । त्यतिबेला उनीसँग एउटा सपना थियो ‘अब देशमा परिवर्तन आउँछ, गरिबको भान्छा फेरिन्छ र सुशासनको युग सुरु हुन्छ ।’ 

एमालेभित्र उनले भूगोलको क्षेत्रीय कमिटीदेखि बुद्धिजीवी क्षेत्रसम्म रहेर विभिन्न भूमिका निभाए । तर समय बित्दै जाँदा उनले महसुस गरे कि, राजनीतिक क्रान्ति त भयो, तर आर्थिक क्रान्ति र सुशासनको एजेन्डा केवल भाषणमा सीमित रह्यो । 

‘हामीले राजतन्त्र फाल्यौं, गणतन्त्र ल््यायौं, संविधान सभाबाट संविधान पनि बनायौं, तर नागरिकको जीवनस्तर जहाँको त्यहीं रह्यो,’ पुरीको समीक्षा छ ‘कांग्रेस र एमाले जस्ता पुराना दलहरूले राजनीतिक अधिकारको लडाइँ त जिते, तर राष्ट्र निर्माणको लडाइँमा उनीहरू नराम्ररी चुके ।’

यो ठहरमा उनी पुगेको धेरै भएको थियो । ‘यसपटक बल्ल पार्टी छाड्ने घोषणा गर्न सकें,’ उनले भने । पुरी पार्टी छोड्नुको मुख्य कारण कुनै पदको लोभ वा व्यक्तिगत टकराव होइन, बरु राजनीतिको गलत परिभाषा भएको बताउँछन् ।

उनी राजनीतिलाई ‘पेशा’ मान्ने प्रवृत्तिको कट्टर विरोधी थिए र छन् । उनका अनुसार, नेपालमा राजनीति अहिले सेवा होइन, कमाइको सजिलो माध्यम बनेको छ । 

‘बिहानदेखि बेलुकासम्म पार्टीको झोला बोकेर हिंड्ने, तर उत्पादनको काममा कतै नजोडिने कार्यकर्ताको एउटा ठूलो जमात तयार पारियो’, उनले सुनाए ‘जब मानिसको आफ्नै उत्पादन र आयस्रोत हुँदैन, उसले आफ्नो पेट पाल्नका लागि आर्थिक अनियमितता र भ्रष्टाचारको बाटो रोज्न बाध्य हुन्छ । राज्यदोहन त्यहीँबाट सुरु हुन्छ । अहिले त्यही भइरहेको छ ।’ 

उनको स्पष्ट धारणा छ ‘राजनीति भनेको समय निकालेर गरिने सेवा हो, चौबीसै घण्टा पद र सुविधाको खोजीमा गरिने व्यवसाय होइन । 

मानिसले आफ्नो उमेरको सक्रिय समय उत्पादन र श्रममा खर्चिनुपर्छ । जो मानिस आफ्नो घर–व्यवहार आफै चलाउन सक्दैन, उसले अरूको सेवा गर्छु भन्नु नाटक बाहेक केही नभएको पुरीको दाबी छ ।

लामो समय एमालेमा सक्रिय रहेका र मुलुकको एउटा शक्तिशाली पार्टीको माथिल्लो तहसम्मै प्रभाव राख्ने हैसियत बनाइसकेका उनले एमाले छोडेको तर राजनीतिक नछाडेको बताएपछि उद्घोषले सोध्यो ‘अब कुन पार्टीमार्फत अघि बढ्ने हो तपाई ?’

उनले भने ‘अब मैले राष्ट्रिय गौरव पार्टीको झण्डा उठाएको छु ।’ गएको मंसिरमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय गौरव पार्टीको केन्द्रीय अध्यक्ष उनी आफै छन् । यतिबेला उनी आउँदो निर्वाचनमा पार्टीलाई कसरी होम्ने भन्ने तयारी गरिरहेका छन् । 

उनका अनुसार उनले नेतृत्व गरेको  दलको चुनाव चिह्न रुद्राक्ष छ । तर, उनी अन्य नयाँ दलहरू जस्तो केवल आवेग र गालीको राजनीतिमा विश्वास नभएको बताउँछन् । 

‘अहिले बजारमा नयाँ भनिएका दलहरू अरूलाई गाली गरेर मात्रै अस्तित्व खोजिरहेका छन्, फेसबुकका स्ट्याटस र भाषणका आक्रोशले देश बन्दैन,’ पुरीको तर्क छ ।
उनले नेतृत्व गरेको पार्टीले २५ वर्षे दीर्घकालीन ‘प्रोजेक्सन’ अघि सार्ने तयारी गरिरहेको पनि जानकारी दिए । 

‘अबको २५ वर्षमा नेपालको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र हाइड्रोपावर कहाँ पुग्ने यसको वैज्ञानिक खाका हाम्रो पार्टीले पेश गर्नेछ,’ उनी भन्छन् ‘हामी ‘क्याडर बेस्ड’ होइन, ‘मास बेस्ड’ पार्टी बन्नेछौं । चुनाव जिते सेवा गर्ने, हारे भोलिपल्टै आफ्नो काममा फर्किने संस्कृति हामी बसाल्छौं ।’ 

पुरीको नेतृत्वमा रहेको नयाँ दलले राजनीतिमा ‘जसरी पनि शक्ति हत्याउने’ नीतिलाई  पूर्णतः निषेध गर्ने संकल्प गरेको उनको भनाइ छ । 

लामो समय माक्र्सवादी पाठशालामा हुर्किएका पुरीको वैचारिक रूपान्तरण पनि रोचक छ । उनले माक्र्सवादलाई विज्ञानको रूपमा स्वीकार गरे पनि यसको पुरानो व्याख्याले अबको युग चल्न नसक्ने बताएका छन् । 

‘चीनले पनि त देङ सियाओपिङको पालादेखि आर्थिक नीति परिवर्तन गरेर उदारवाद अंगालेकै हो’, उनी भन्छन् ‘माक्र्सवाद जडसूत्रवाद होइन, यो समयसापेक्ष हुनुपर्छ ।’ 

नेपालका बामपन्थीहरूले समाजवादलाई केवल राज्य नियन्त्रित व्यवस्थाको रूपमा मात्र बुझ्दा देश गरिब भएको उनको विश्लेषण छ । पुरीका अनुसार, राज्य समृद्ध नभई समाजवाद आउनै सक्दैन । 

‘राज्यसँग ढुकुटी नै खाली छ भने उसले कसरी निःशुल्क शिक्षा र स्वास्थ्य दिन सक्छ ? पहिले आर्थिक उदारवादमार्फत उत्पादन बढाएर राज्यलाई बलियो बनाउनुपर्छ, अनि मात्र सामाजिक सुरक्षाको पाटो आउँछ’ उनी यथार्थवादी बन्न सुझाउँछन् ।

कृषिजन्य उद्योगको विकास, शैक्षिक हबको निर्माण र पर्यटकीय कनेक्टिभिटीमार्फत नेपाललाई आत्मनिर्भर बनाउन सकिनेमा उनी दृढ छन् । 

अहिले धमाधम खुलेका नयाँ राजनीतिक दलहरू विचारमा अस्पष्ट रहेको आलोचना खेपिरहेको सन्दर्भमा पुरी नेतृत्वको राष्ट्रिय गौरव पार्टी गणतन्त्र, संघीयता र संसदीय व्यवस्थाप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ । तर, विद्यमान संवैधानिक प्रबन्धमा केही सुधार उनको दलको मुख्य एजेन्डा छ ।  

उनको दलले संघीय संसदमा रहेको समानुपातिक व्यवस्था हटाउनुपर्ने माग गरेका छ । यसले स्थिर सरकार बन्न नदिने र राजनीतिक बार्गेनिङ मात्र बढाउने उनको बुझाइ छ । 

सीमान्तकृत समुदायको प्रतिनिधित्व राष्ट्रिय सभा वा प्रत्यक्ष निर्वाचनमै आरक्षणमार्फत गर्न सकिने उनको विकल्प छ । 

प्रतिनिधि सभामा २०५ र राष्ट्रिय सभामा ६० जनाको संरचना नेपालका लागि उपयुक्त हुने उनी बताउँछन् । त्यस्तै प्रदेश सरकारका मन्त्रालय र अनावश्यक कार्यालयहरूको संख्या कटौती गरी प्रदेशलाई केवल विकास र समन्वयको केन्द्र बनाउनुपर्ने उनको प्रस्ताव छ ।

अहिले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको तयारीमा मुलुक जुटेको छ । पुरी आफै चुनावी मैदानमा होमिन तयार रहेको बताउँछन् । पार्टी अध्यक्ष भएर पनि उनले समानुपातिकको सुरक्षित बाटो रोजेनन् । 

‘म प्रत्यक्ष निर्वाचन नै लड्छु र आफ्नै कर्मभूमि मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नेछु’ उनले भने ‘अन्यत्र कहाँ कहाँ उम्मेद्वार हुन्छन्, तयारी भइरहेको छ ।’ त्यसो त प्याब्सन नेपालका पूर्वअध्यक्ष उनको दलमा प्याब्सनकै उनका सहकर्मी, कलाकार, विभिन्न पेशाकर्मी छन् । 

२०८४ को चुनावलाई लक्ष्य गरेर दल स्थापना गरे पनि जेनजी आन्दोलनले चुनाव दुई वर्षअघि नै सरेपछि उनी र उनको दल धपेडीमा छ । 

‘राजनीति लामो यात्रा हो, हामी सकेसम्म यही चुनावमा भाग लिने गरी अघि बढेका छौं, विज्ञ टोलीले घोषणा पत्र तयारी गरिरहेको छ,’ उनले भने ‘चाँडै बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे थप निर्णय लिनेछ ।’  

व्यवस्थापनमा स्नातकोत्तर गरेका र प्याब्सन जस्तो वृहत संस्थाको केन्द्रीय नेतृत्व सम्हालिसकेका पुरीसँग व्यवस्थापकीय कौशल प्रचुर छ । उनी यही कौशललाई राष्ट्रिय राजनीतिमा प्रयोग गर्न चाहन्छन् । 

४० वर्षको एमाले यात्राबाट सिकेको संगठन निर्माण र पछिलो समय विकसित भएको वैचारिक स्पष्टता नै उनको मुख्य शक्ति हो । उनलाई थाहा छ ‘अबको बाटो सजिलो छैन । बिरुवा उम्रेर रुख बन्न समय लाग्छ, राजनीति पनि लामो यात्रा हो । हामी अहिल्यै सत्तामा पुगिहाल्छौं भनेर होइन, एउटा नयाँ धार र सभ्यता स्थापना गर्न हिँडेका हौं ।’ 

टीकाराम पुरी र उनको ५१ सदस्यीय केन्द्रीय टिमको यो कदम केवल एउटा पार्टीबाट अर्को पार्टीमा जाने साधारण दलबदलु नभएको उनको दाबी छ । उनको विचारमा चार दशकसम्म एउटै राजनीतिक कोठामा थुनिएको चेतनाको विस्फोट हो । 

आफूले उठाएको ‘उत्पादनमा आधारित राजनीति र राजनीतिलाई सेवा बनाउने’ एजेन्डाले नेपाली राजनीतिको फोहोरी खेलमा एउटा नयाँ बहस सुरुआत गर्ने कुरामा उनी ढुक्क छन् ।

View : 1128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved