हामी जहाँ जुन स्थानबाट धार्मिक आस्था राखेकाहरु हिन्दू सनातनी धर्मप्रति विश्वास र आशा नै राखेका हुन्छौं । हाम्रो गन्तव्यको अन्तिम विन्दु धार्मिकस्थलले नै मार्ग चित्रण गरिरहेको हुन्छ । सोही क्रममा विगत ५ वर्षदेखि कताकता मनमा एउटा यस्तो धार्मिकस्थल भ्रमण होस् जहाँ आत्मसन्तुष्ट प्राप्त हुन सकोस् भनि अनेकौं धार्मिकस्थलहरुको सम्झनाबाट अमरनाथ तीर्थयात्रा (बाबा बरफानी भोलेनाथ) को दर्शनका लागि मनमा उत्सुकता जागृत भयो ।
कहाँ छ यो यात्रा ? कसरी जाने हो यो यात्रामा ? कस्तो अवस्थाबाट जानुपर्ने हो यो यात्रा ? भनी अनेर्कौ प्रश्नहरु अगाडि देखा परिरह्यो र अन्धकार बाटोको खोजी गर्न थालियो । खोजीको माध्यम गुगल, युटुव र सो यात्रामा गएका व्यक्तिहरुबाट शोधखोज गरी जाने अठोट गरें । अब जानका लागि अमरनाथ नै किन ? के छ यसको धार्मिक महत्व ? कहिले जाने ? कोसँग जाने भन्ने प्रश्न पनि उत्तिकै तेर्सिरह्यो ।
यी नै प्रश्नहरुका बीच बाबा अमरनाथको यात्राको महत्व अनेकौं तीर्थयात्रीहरुबाट बुझ्ने प्रयास भयो र सनातनी हिन्दु धर्मप्रति आस्था राखेकोले गर्दा जानु पर्छ भन्ने मनमा जागृत भयो ।
यो यात्रा प्राचीन हो । पौराणिक भनाइ अनुसार, कश्मीर शहर कश्यप ऋषिको नामबाट नामकरण भएको हो । कश्मीर प्राचीनकालदेखि नै शैव सम्प्रदाय र शिव धर्मावलम्वीहरुको प्रतीक हो । यहाँ ४५ वटा शिवालयहरुको उल्लेख गरिएको छ जसमा अमरनाथ सर्वश्रेष्ठ तीर्थधाम तथा शिवालय मानिन्छ ।
इतिहासलाई हेर्ने हो भने माता पार्वतीले भगवान शिवसँग अनुरोध गर्नु भयो कि मलाई त्यस्तो कथा सुनाउनुस् कि म सुनेर जुन जन्म र मृत्युको चक्र हो त्योबाट मुक्त हुन्छु, त्यस्तो अमरकथा सुनाउनुस् । सोही बमोजिम भगवान शिव एउटा यस्तो स्थानको खोजीमा हुनुहुन्थ्यो कि जहाँ बसेर म त्यो कथा सुनाउँ त्यहाँ अरु अनाधिकारहरुले सुन्न नसकोस् भनि स्थानको खोजीमा हिड्नु भयो ।
खोजीको क्रममा पहिले बैलगाम (हाल पहेलगाम) तर्फ जाँदै त्यहाँ आफ्नो वाहन बैल (गोरु) लाई छाडेर हिड्नु भयो अनि आफ्नो चन्द्रलाई अर्को ठाउँमा छाड्नु भयो र त्यस ठाउँलाई चन्दनबारीको नामले चिनिन्छ । त्यसैगरी घाँटीमा भएको सर्प (नाग) लाई छाडी गएको ठाउँलाई शेषनाग भनेर चिनिन्छ । अन्त्यमा शिरमा भएको गङ्गालाई अर्को स्थानमा छाड्नु भयो र त्यहाँको नाम पञ्चतरणी गंगा रहन गयो । यसरी स्थानको खोजी गर्दै आफ्नो केही अमूल्य पहिचान छाड्दै सो स्थानको नामकरण हुँदै अहिले भगवान शिव विराजमान भएको गुफा स्थानको छनोट गरी माता पार्वतीलाई अमरकथा सुनाउनु भयो ।
यो अमरनाथ यात्रा पौराणिक इतिहास अनुसार ५ हजार बर्ष पुरानोे यात्रा हो । स्वामी विवेकानन्द विसं १९५५ साउनमा गएर भगवान शिवको दर्शन गरे र उनले आफनो जीवनीमा वर्णन गर्दा भनेका छन्, ‘जब म त्यो गुफामा प्रवेश गरी भगवान शिवको दर्शन गर्दा एक अलौकिक अनुभूति भयो कि यो गुफा उर्जैउर्जाले भरिएको रहेछ ।’
अमरनाथ यात्रा अनेक यात्रा भन्दा फरक देखिन्छ । यो मानवीय भावना र भक्तिभावको एउटा उदाहरणीय छ । यो पवित्र गुफातर्फको हरेक पाइला जीवनको दीव्य नृत्यलाई सम्झिने एक शाहसिक पाइला हो ।
छोटकरी उल्लेखित गरिएका भगवान शिवको अमरनाथ यात्राको बारेमा अझ विस्तृत रुपमा जानकारी लिने प्रमाणित ग्रन्थ हो, भृङ्गेस संहिताबाट थाहा हुन्छ । भृगु ऋषि ( भृगी, भृगेश, भृङ्गेश ऋषिका नामले पनि चिनिन्छ) ले गरेको भगवान शिवको अमरनाथको यात्राको कथा लगभग ४५० श्लोकमा यात्राको वर्णन गरेका छन् ।
कुन ठाउँमा, कुन दिन, कुन–कुन सामानबाट पूजा गरेर श्रावण पूर्णिमाको दिन अमरनाथको गुफामा प्रवेश गर्दा अमरनाथयात्रा पूर्ण तथा आफूले चिताएको कामना पूरा हुन्छ भन्ने सविस्तार वर्णन गरिएको छ । साथै जुन व्यक्ति नुहाई धुवाई गरी अमरनाथ गएर भगवान शिवको दर्शन गर्दछ, उसले १०० गाई दान गरे बराबरको फल पाउँछ भन्ने उल्लेख छ ।
भृगु ऋषि पहिलो व्यक्ति हुन् जो यो गुफामा भगवान शिव (जुन हिउँको लिङ्गको रुपमा विद्यमान हुनुहुन्छ) को पहिलो दर्शन गरी सो स्थानको भौगोलिक स्थिति र रहस्यको बारेमा सबैलाई जानकारी गराएपछि अमरनाथ यात्राको प्रचलन शुरु भएको पाइन्छ ।
यिनै पौराणिक कथा, इतिहासबाट प्रेरित तथा हिन्दु संस्कार धर्ममाथि आस्था राखिएकोले विसं २०८२ सालमा अमरनाथ यात्रा उत्साह र संकल्पका साथ जाने साहस गर्यौं ।
View : 700
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved