१३ अगष्ट १९८९ (२९ साउन, २०४६) मा बर्लिनको पर्खाललाई भत्काइयो । यससँगै पूर्वी पुरोपमा साम्यवादी शासनको पतनको दौर शुरु भयो । त्यस्तै २६ डिसम्बर १९९१ (११ पुस २०४७) मा सोभियत संघको विघटनको घोषणा गरियो । यो कम्युनिज्मको निम्ति अति नै संवेदनशील र संकटको घडी थियो । कम्युनिज्म एकैचोटी रक्षात्मक अवस्थामा पुगेको थियो । फ्रान्सिस फुकुयामाहरू इतिहासको अन्त्य भएको विम्व निर्माण गरेर कम्युनिज्मको मृत्युको घोषणा गरि रहेका थिए ।
राजनितिसँगै मनोसामाजिक रूपमा पनि कम्युनिज्म गम्भीर संकटमा थियो । कम्युनिज्म हारेको र पुँजिवादले जितेको भाष्य निर्माण उच्चतम घनत्वको साथ गरिदै थियो । सर्वसाधारण नागरिकहरू अन्योल र निराशामा छटपटाइरहेका थिए । कम्युनिज्म प्रतिको विश्वासमा पहिरो जाने क्रम तीव्र थियो । यहिबेला मदन भन्डारी धुमकेतुको रूपमा नेपाली राजनीतिमा उदाए । उनले सैद्धान्तिकसँगै व्यवहारिक आधारहरू निर्माण गरेर माक्र्सवादको प्रतिरक्षामा आफूलाई शक्तिकासाथ उभ्याए । लोकतन्त्र र माक्र्सवादी मूल्यहरूलाई फ्यूजन गरी ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रतिपादन गरे ।
नेपालमा मात्र नभएर विश्वस्तरमै जबजले वामपन्थी वृत्तमा शक्तिशाली हस्तक्षेप ग¥यो । विश्वविख्यात खबरपत्रिका ‘टाइम’ले ’माक्र्स लिब्स इन नेपाल’ अर्थात नेपालमा माक्र्स बस्छन् भन्न बाध्य हुनुप¥यो । त्यस्तै अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लोकतन्त्र उन्मुख उदीयमान वामपन्थी नेताको रुपमा प्राथमिकताकोसाथ मदनलाई स्थान दिए । उनको मृत्युलाई पनि रहस्यमय र नेपालको राजनीतिलाई अस्थिरतातर्फ धकेल्ने घटनाको रुपमा चर्चा गरेको पाइन्छ ।
जबजको मूलभूत विशेषताहरू
सन् १९९३ (विसं २०५०) मा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथक्कीकरणको सिद्धान्त, मानव अधिकारको संरक्षण, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक चुनाव, बहुमतको सरकार र अल्पमतको विपक्ष, बिधिको शासन, जनताको जनवादी व्यवस्थाको प्रवलीकरण, विदेशी पूँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको व्यवस्था, पञ्चशीलको सिद्धान्त अनुरूप परराष्ट्र नीति, सेवा र पहलकदमीसँगै प्रतिष्पर्धाको माध्यमद्वारा नेतृत्व प्राप्ति र जबजको सैद्धान्तीकरण भयो ।
थप व्याख्या : मूलत जबज एउटा यस्तो राजनीतिक विचार हो जसले माक्र्सवाद–लेलिनवादको मूलभूत मर्म, विशेषताहरूलाई आधुनिक लोकतान्त्रिक संरचनाभित्र अभिव्यक्त गर्ने प्रयत्न गर्दछ । जबजले परम्परागत माक्र्सवादी ढाँचा अर्थात सिंगो पार्टी र सर्वसत्तावादी राज्यमा विश्वास गर्दैन । यसले वहुदलीय प्रतिस्पर्धा, आवधिक तथा स्वतन्त्र निर्वाचन, जनताको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई उच्चतम प्राथमिकतामा राख्दछ । पारम्परिक अर्थात् अर्थोडक्स माक्र्सवादी–लेनिनवादीहरू सशस्त्र संघर्ष’ अर्थात क्रान्तिकारी हिंसालाई क्रान्तिको अनिवार्य शर्त हो भन्ने गर्दछन् ।
तर जबज बन्दुकवाट मात्र होइन वैचारिक बहस र जनताको मन तथा विश्वास जितेर पनि परिवर्तन र क्रान्ति सम्भव छ भन्ने कुरोमा विश्वास गर्दछ । परम्परागत माक्र्सवादी–लेनिनवादीहरू वर्ग संघर्षलाई क्रान्तिको उच्चतम् विन्दुको रूपमा व्याख्या गर्ने गर्दछन् । उनीहरू वर्ग संघर्षलाई क्रान्तिको इन्धनको रूपमा लिने गर्दछन् । तर जबज संगठन निर्माण, विचार–विमर्श र बहसमार्फत् चेतना विकाश गरेर पनि समाजवादी क्रान्ति सम्भव छ भन्ने कुरोमा विश्वास गर्दछ । जबज साँच्चो समाजवादको स्थापना तथा निर्माण जनताको प्रत्यक्ष र अर्थपूर्ण सहभागिताबाट मात्र सम्भव छ भन्ने कुरोमा विश्वास गर्दछ । बलजफ्ती सत्ता कब्जा गरेर होइन जनताको मन–मष्तिस्कमा घर बनाएर मात्र समाज रूपान्तरण गर्न सकिन्छ । जबजले अधिनायकत्वको सट्टा आमरूपमा जनताको जनवादी राज्यसत्ता प्रयोग गर्न खोजेको देखिन्छ ।
जबजको आलोचना
सैद्धान्तिक आत्मसमर्पण : जबजको आलोचकहरू विशेषगरी माओवादीहरूले मदन भण्डारीलाई सुधारवादी र सम्झौतावादी भन्ने गरेका छन् । त्यस्तै उनीहरू मदन भण्डारीलाई ‘पुनरुत्पादक वर्गको प्रवक्ता’ को रुपमा रूपान्तरित भएको आरोप पनि लगाउने गर्दछन् ।
त्यस्तै जबज माथि ‘पुँजीवाद’ स“ग आत्मसमर्पण गरेको आरोप पनि प्रायः लगाउने गरेको पाइन्छ । केही आलोचकहरू जबजलाई न त समाजवाद न त पू“जीवाद बीचको धमिलो मोडेल हो भनेर यस्को मौलिकता माथि नै प्रश्न उठाउने गर्दछन् ।
त्यस्तै जबजले वर्ग संघर्षलाई क्रान्तिको मूलधारवाट विस्थापित गरेर चुनावी प्रतिस्पर्धामा मात्र सीमित पारेको आरोप लगाउ“छन् । वर्ग चेतनाको सट्टा ‘निरपेक्ष मत’ लाई केन्द्रमा ल्याएको अर्को आरोप पनि छ । त्यस्तै ‘सामाजिक उत्पादन सम्वन्ध र आर्थिक संरचना नवदलिकन समाजवादको कल्पना गर्न सकिदैन’ भन्ने आधारभूत कुरालाई जबजले भुलेको आरोप पनि लगाइन्छ ।
कतिले त यसलाई ‘युरो कम्युनिज्म’को नेपाली संस्करण हो भनेर व्याख्या गर्ने पनि गरेका छन् । जबज माथिका आरोप तथा आलोचनाबाट सम्पूर्णरुपमा मुक्त त पक्कै छैन । र माथि उठाइएका कुराहरु सम्पूर्णरुपमा असत्य वा पूर्वाग्रहपूर्ण हो भनेर ठाडै खारेज गर्न पनि सकिदैन । के तेसो भए जबजले क्रान्तिकारी उर्जालाई कम्जोर पारे कै हो त ? के वैचारिक स्पस्टतामा स्खलन आए कै हो ? के वर्ग संघर्षको मूलभूत सवालमा सम्झौता गरेकै हो ? वा के व्यवहारको नाममा सत्ता, सम्झौता, पूँजी हावी भए कै हो ? यीलगायत अन्य थुप्रै वजनदार सवालहरू जबजलाई केन्द्रमा राखेर गरिने गरिन्छ ।
यी सवालहरूको ठ्याक्कै गणितीय सुत्रमा जस्तो जवाफ कसैले पनि दिन सक्तैन ।
विश्वका सबै राजनीतिक दर्शन, सिद्धान्त वा विचार आलोचनाबाट निरपेक्ष रहेको भेटिदैन । सिद्धान्तलाई सापेक्षतमा र सफलताको कसीमा मूल्याङ्कन गरिनु पर्दछ । कुनै पनि सिद्धान्त सतप्रतिशत ठीक वा वेठिक हुन्छ भनेर ठोकुवा गर्न मिल्दैन । समय, परिस्थिति अनुसार सिद्धान्तलाई परिस्कृत र परिमार्जित गर्दै लैजानु पर्दछ । विश्व कम्युनिस्ट आन्दोलनमा हिंसात्मक क्रान्तिकारी धार करिव असफल भएको वर्तमान परिस्थितिमा जबजको लोकतान्त्रिक धारको अर्थ र महत्त्व बढ्नु स्वाभाविक हो ।
भण्डारीको सशस्त्र संघर्षको सट्टा निर्वाचन, संसद र लोकतान्त्रिक प्रक्रियामार्फत समाजवादी परिवर्तनको पक्षमा उभिने रणनीति आफैमा क्रान्तिकारी प्रयोग हो । त्यसैले उनलाई क्रान्तिकारी विचारक पनि भन्ने गरिन्छ । यही रणनीतिको बलमा २०४८ सालको चुनावमा नेकपा (एमाले) संसदमा कांग्रेसपछि दोस्रो ठूलो पार्टीको रुपमा उपस्थित जनाउन सफल भयो । यसले वामपन्थीहरूलाई लोकतान्त्रिक बैधता दिलाउन पनि मद्दत ग¥यो । जबज मदन भण्डारीको मृत्यु पछि एमालेको मात्रै नभएर नेपालकै एउटा शक्तिशाली राजनीतिक विचारको रुपमा स्थापित भएको छ ।
विसं २०५१ को संसदीय चुनावमा एमाले पहिलो पार्टी बन्न सफल भयो । त्यही बर्षको कात्तिक १५ गते मनमोहन अधिकारीको नेतृत्वमा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भयो । संसदीय परम्परा अनुसार विश्वासको मत लिएर यो सरकार गठन भएको थियो । दक्षिणपूर्वी एसियामा नै चुनाव जितेर गठन भएको यो पहिलो कम्युनिस्ट सरकार थियो ।
सन् १९४५ मा युरोपको सानो गणराज्य सानमरिनोमा कम्युनिस्ट र सोसलिष्टहरूको गठवन्धनले विश्वकै पहिलो वामपन्थी सरकार (सन् १९४५–१९५७) गठन गरेको थियो । नेपालमा कम्युनिस्ट सरकार गठन हुनु आफैंमा एउटा नविनतम् ऐतिहासिक घटना थियो । र यसको राजनीतिक पृष्ठभूमिमा मदन भण्डारीको जनताको बहुदलीय जनवाद थियो ।
विक्रम संवत् २०५१ सालपछि पनि बारम्बार एमाले सत्तामा पुगेको छ । जबजलाई नै एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकारेको छ । जबजले मात्र होइन नेपालको संविधानले पनि समाजवाद निर्माण गर्ने लक्ष्य राखेको छ । तर यसको विपरित एमाले अहिले आफन्ती पूँजीवादी दिशातिर तीव्रगतिमा दौडिरहेको प्रतीत हुन्छ । पार्टिभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्रको नितान्त अभाव छ ।
सत्ता प्राप्ति र बचावको लागि अप्राकृतिक गठजोड, सैद्धान्तिक विचलन, पारदर्शिताको अभावस“गै भ्रष्टाचारमा लिप्तता अहिले एमालेभित्र मूलभूत मुद्दाहरू हुन पुगेका छन् । संसदीय प्रणालीलाई मात्र साधन बनाउने लक्ष्य राखिएता पनि अहिले सता प्राप्तिको अन्तिम सिंढी बनाइएको छ ।
नेताहरुमा मौलिएको विलासी जीवन शैलीले पनि उनीहरुको भ्रष्टीकरणमा सघाउ पु¥याइ रहेको छ । यसले नेताहरूबीचको शक्ति संघर्षलाई तीव्रता दिएको छ । सामुहिक नेतृत्वको सट्टा एकल नेतृत्वको वोलवाला छ । ती सबै जबजको विपरितका स्थापना र व्यवहारहरू हुन् । यी उल्लेखित गलत प्रवृत्ति र अभ्यासलाई जरैदेखि उखेलेर नफालेसम्म जबजमाथिको संकट यथावत रहने छ ।
View : 627
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved