कार्यालयीय राजनीति भन्नाले कार्यालयभित्र व्यक्तिहरूले अरूलाई प्रभाव पार्ने उद्देश्यले अपनाउने व्यवहारलाई जनाउँछ, जसबाट व्यक्तिगत तथा संस्थाको लक्ष्य हासिल गर्न खोजिन्छ । हामी जहिले सोच्छौं, यो मेरो कामको चिज होइन ।
हामी मिहिनेत गर्ने हो बाँकी हाकिमले गर्ने हो । यसले तपाईका पहिचान (भिजिविलिटी) देखाउँदैन । आफू के गर्दै हो त्यो बारे आफ्ना सहयोगीहरू के भन्नु हुन्छ । आफ्नो कनिष्ठ (सहायक) ले आफूलाई कसरी बुझिराख्नु भएको छ ।
आफ्नै हाकिमको हामी आफू बारेको धारणा के छ । यो बुझनु जरूरी छ । कार्यालयीय राजनीतिबाट भाग्ने होइन । यसलाई बुझनु जरूरी हुन्छ । सकारात्मक कार्यालयीय राजनीति भनेको त्यस्ता व्यवहारहरू हुन्, जसले संस्था र व्यक्ति दुवैलाई लाभ पु-याउँछन् ।
व्यावसायिक छवि निर्माण गर्नु, आफ्ना उपलब्धिहरूलाई उपयुक्त रूपमा प्रस्तुत गर्नु, स्वयंसेवी गतिविधिमा संलग्न हुनु तथा सहकर्मीहरूको प्रशंसा गर्नु सकारात्मक राजनीतिका प्रमुख उदाहरणहरू मानिन्छन् । यस्ता व्यवहारहरूले संगठनभित्र सहकार्य, विश्वास तथा कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पु-याउँछन् ।
कार्यालयीय राजनीतिले परिवर्तनको प्रक्रियालाई तीव्र बनाउने, अन्तरव्यक्तिगत सम्बन्धलाई सुदृढ गर्ने तथा संगठनको समग्र प्रभावकारिता बढाउने भूमिका समेत खेल्न सक्छ तथापि, जब व्यक्ति वा समूहले संगठनको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन थाल्छन्, संगठनात्मक राजनीति विनाशकारी बन्न सक्छ ।
आत्मकेन्द्रित राजनीतिक व्यवहारले सहकार्य, सूचना आदान–प्रदान तथा सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।
नकारात्मक कार्यालयीय राजनीति भनेको अरू व्यक्तिहरू वा संस्थालाई हानी पु-याउँदै व्यक्तिगत लाभ प्राप्त गर्ने उद्देश्यले गरिने व्यवहार हो । हल्ला फैलाउने, सहकर्मीको पीठ पछाडि नकारात्मक टिप्पणी गर्ने तथा महत्त्वपूर्ण सूचना लुकाउने जस्ता क्रियाकलापहरू यसका प्रमुख उदाहरणहरू हुन् ।
नेपालमा झोले भन्ने शब्द तथा भारतमा जयचन्द भन्ने शब्द यस्तै व्यक्तिहरूमा लागू हुन्छ । यस्ता व्यवहारहरूले कार्यालयको वातावरणलाई कमजोर बनाउने मात्र होइन, संगठनको दीर्घकालीन स्थायित्व र कार्यसम्पादनमा समेत प्रतिकूल असर पार्दछन् ।
यसर्थ, कार्यालयीय राजनीतिलाई पूर्णतः नकारात्मक रूपमा बुझ्नु उपयुक्त हुँदैन । बरू, यसको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै नकारात्मक राजनीतिक व्यवहारलाई नियन्त्रण गर्न सक्षम वातावरण निर्माण गर्नु संगठनको दिगो विकासका लागि अत्यन्त आवश्यक हुन्छ ।
राजनीति संगठनभित्र शक्ति कसरी दैनिक व्यवहारमा प्रयोग हुन्छ भन्ने प्रक्रियाको अभिन्न अङ्ग भएकोले यसको प्रभावकारी व्यवस्थापन अपरिहार्य देखिन्छ ।
कार्यालयीय राजनीतिका विभिन्न आयामहरूबारे एउटा घटनामार्फत यसरी बुझन सकिन्छ ।
शहर ब्यूुझिन थालेको थियो । बिहानको चहलपहलसँगै कार्यालयहरू पनि खुल्दै थिए । तर लक्ष्मीको मन भने भारी थियो । भुईंतल्लाको त्यो कार्यालय, काँचका झ्याल, सेतो पर्खाल र व्यवस्थित क्याबिनहरू, बाहिरबाट हेर्दा आधुनिक र सभ्य देखिन्थ्यो । तर भित्र, एउटा अदृश्य प्रतिस्पर्धा चलिरहेको थियो ।
यो प्रतिस्पर्धा न त खुला विवादमा देखिन्थ्यो, न त औपचारिक दस्तावेजमै । यो संकेत, मौन, र शक्ति सन्तुलनको खेल थियो । लक्ष्मी दुई वर्षअघि यही कार्यालयमा प्रवेश गरेकी थिइन् । उनको विश्वास सरल थियो । मेहनत, सीप र इमानदारीले करियर बनाउ“छ । राजनीति भन्ने शब्द उनले सधैं संसद् र चुनावसँग मात्र जोड्थिन् । कार्यलयमा पनि राजनीति हुन्छ भन्ने प्रश्न उनलाई कहिल्यै गम्भीर लागेन ।
तर अनुभवले उनलाई छिट्टै सचेत गरायो, कार्यलयीय राजनीति कुनै सैद्धान्तिक अवधारणा होइन, यो कार्यस्थलको दैनिक यथार्थ हो ।
श्रेय कसले पाउँछ :
आइतबार बिहानको नियमित बैठकमा हाकिमले प्रोजेक्टको समीक्षा गर्दै भने, काम राम्रो भएको छ । लक्ष्मीको ध्यान एकाएक तन्कियो । त्यो प्रोजेक्ट उनले नै नेतृत्व गरेर सम्पन्न गरेकी थिइन् । तर प्रशंसाको दिशा उनीतिर आएन । हाकिमको नजर सहदेवतिर गयो । सहदेवले राम्रो समन्वय गरेको छ ।
लक्ष्मी मौन रहिन् । सहदेव मुस्कुरायो । त्यही क्षण उनले बुझिन्, कार्यलयको राजनीतिमा मेहनतभन्दा पनि श्रेयको वितरण निर्णायक हुन सक्छ ।
यो घटना अपवाद थिएन । धेरै कार्यालयहरूमा काम गर्नेहरूले यस्तो अनुभव साझा गर्छन्, जहा“ योगदान गर्ने व्यक्ति भन्दा ठिक ठाउँमा ठिक सम्बन्ध भएका व्यक्तिले पहिला श्रेय पाउँछन् ।
राजनीति सधैं नकारात्मक हुँदैन
लक्ष्मीकी सहकर्मी झाँक्री भने फरक थिइन् । उनी राजनीतिलाई न त अस्वीकार गर्थिन्, न त दुरूपयोग । एकदिन कफी ब्रेकमा उनले लक्ष्मीलाई भनिन्, तिमी काम राम्रो गछ्र्यौ, तर काम देखिनु पनि जरूरी हुन्छ । लक्ष्मीको प्रतिक्रिया स्वाभाविक थियो, त्यो त आत्मप्रशंसा जस्तो लाग्दैन र, झाँक्रीले शान्त रूपमा भनिन्, ‘त्यो व्यावसायिक उत्तरदायित्व हो ।’
झाँक्री आफ्ना उपलब्धिहरू तथ्यसहित प्रस्तुत गर्थिन्, टोलीलाई श्रेय दिन्थिन् र वरिष्ठहरूको राम्रो काम खुलेर स्वीकार गर्थिन् । उनको व्यवहारमा न त षड्यन्त्र थियो, न त कसैलाई कमजोर बनाउने प्रयास ।
समयसँगै उनी नेतृत्व भूमिकामा पुगिन् । लक्ष्मीले बुझ्न थालिन् । राजनीति सधैं हानिकारक हुँदैन । सकारात्मक राजनीति कार्यालयलाई अघि बढाउने साधन पनि बन्न सक्छ ।
विषालु संस्कृति कसरी जन्मिन्छ
सबै झाँक्रीजस्ता हुँदैनन् । सहदेवजस्ता पात्रहरू धेरै कार्यालयमा भेटिन्छन् । लक्ष्मी अलि भावुक छिन् । काम राम्रै गर्छिन्, तर नेतृत्वका लागि तयार छैनन् । यस्ता वाक्यहरू खुलेर होइन, बन्द ढोकाभित्र फैलिन्छन् । सूचना अधुरो दिइन्छ । बैठकको मिति अन्तिम समयमा बदलिन्छ । निर्णय प्रक्रिया अपारदर्शी बन्छ ।
यही अवस्थालाई कार्यस्थल विज्ञहरूले विषालु कार्यलयीय राजनीति भन्छन्, जसले कर्मचारीको आत्मविश्वास, मानसिक स्वास्थ्य र दीर्घकालीन करियरमा गम्भीर असर पार्छ ।
प्रतिक्रिया होइन, संयम
एक समय लक्ष्मी पनि आक्रोशित भइन् । बैठकमै असन्तुष्टि पोख्ने सोच बनाइन् । तर झाँक्रीले उनलाई सम्झाइन्, भावनामा आधारित प्रतिक्रिया नै यस्ता व्यवहारको ऊर्जा हो । लक्ष्मीलाई बुझ्न समय लाग्यो । तर उनले क्रमशः सिकिन्, शान्त रहनु कमजोरी होइन, रणनीतिक परिपक्वता हो । उनले उक्साहटमा प्रतिक्रिया दिन छाडिन् ।
मर्यादित व्यवहार कायम राखिन् । त्यसको प्रभाव विस्तारै देखिन थाल्यो ।
काम नै सबैभन्दा बलियो सुरक्षा
लक्ष्मीले आफ्नो कामलाई अझ व्यवस्थित बनाइन् । डेडलाइनभन्दा अघि नतिजा दिन थालिन् । डेटा, इमेल र निर्णयका प्रमाण सुरक्षित राखिन् । रिपोर्टिङ र प्रस्तुति स्पष्ट बनाइन् । उनले कामलाई आफैं बोल्न दिएर मात्र छाडिनन्, कामको आवाज कसरी सुनिने भन्ने कुरामा पनि सचेत भइन् ।
उनको निष्कर्ष स्पष्ट थियो । उत्कृष्ट प्रदर्शन नै विषालु राजनीतिविरूद्धको सबैभन्दा भरपर्दो ढाल हो ।
दूरी पनि विकल्प हो
सहदेव पुनः नजिकिन खोज्थ्यो । चुगली सुरू गथ्र्यो । लक्ष्मी मुस्कुराउँदै विषय बदल्थिन् । यसमा म संलग्न हुँदिन, भन्न सिकिन् । सबैसँग अत्यधिक नजिक नहुने निर्णय सजिलो थिएन । तर सभ्य दूरीले उनलाई मानसिक रूपमा सुरक्षित राख्यो ।
कहिले बाहिरिने
तर सबै समस्याको समाधान सहनशीलता मात्र हुँदैन । एकदिन लक्ष्मीले आफैंलाई प्रश्न गरिन्, ‘के यो वातावरण मेरो भविष्यसँग मेल खान्छ’ लगातार तनाव, निद्राको कमी र मानसिक थकानले उनलाई स्पष्ट संकेत दिइरहेको थियो । त्यही क्षण उनले बुझिन्, आत्मसम्मान जोगाउ“दै बाहिरिनु हार होइन, आत्मनिर्णय हो ।
नयाँ परिवेश, नयाँ चेतना
केही महिनापछि लक्ष्मी नया“ संस्थामा थिइन् । यहाँ पनि राजनीति थियो, तर नेतृत्व पारदर्शी थियो । विषालु व्यवहार स्वीकार्य थिएन । अब उनी राजनीति नदेख्ने कर्मचारी थिइनन् । उनी बुझ्ने, तर त्यसमा फस्ने होइन, यस्तो चेतनशील पेशेवर बनेकी थिइन् ।
अन्त्यमा, कार्यालयीय राजनीति सधैं रहनेछ । तर त्यसको सामना कसरी गर्ने भन्ने कुरा व्यक्तिगत छनोट हो । चरित्र दीर्घकालीन हुन्छ । सीप दीर्घकालीन हुन्छ । इमानदारी दीर्घकालीन हुन्छ । जो स्वर भन्दा माथि उठ्छन्, जो संयम र रणनीतिसाथ अघि बढ्छन्, जो आफ्नो मूल्य साट्दैनन् । उनीहरू नै अन्ततः टिक्ने र जित्ने व्यक्ति हुन्छन् ।
View : 392
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved