नेपालमा बामपन्थी आन्दोलनको औपचारिक सुरूवात २००६ सालमा क .पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि सुरू भयो । कम्युनिष्ट पार्टीले आकार ग्रहण गर्न लाग्दै गर्दा डा. केशरजंग रायामझीले कम्युनिष्ट पार्टी र आन्दोलनको अपहरण गरे । त्यसपश्चात कम्युनिष्ट पार्टी टुटफुट हुने श्रृंखला सुरू भयो ।
पुष्पलाल समूह, माक्र्सवादी समूह हुँदै चौथो महाधिवेशन समूहमा विभाजित हुन पुग्यो । २०२६–२७ सम्म आइपुग्दा बामपन्थी युवाहरूले विभिन्न समूह क्षेत्रीय स्तरमा निर्माण गरी अघि बढ्दै थिए । तर, ०२८ सालमा नक्सलवादी आन्दोलन भारतको प्रभावमा परेका झापाली युवाहरूले झापा जिल्ला कमिटी निर्माण गरेर सामन्ती सफाय आन्दोलनको सुरू गरे । त्यो व्यक्ति हत्याको आन्दोलनले दमन भोग्नु पर्यो ।
विराटनगरमा रहेर भूमिगत संगठन निर्माण गरिरहेका माधव नेपालको सक्रियतामा विभिन्न समूहसँग एकता गरी कोअर्डिनेशनमा कमिटीको गठन भयो २०३२ सालतिर । त्यही को.के.को नेतृत्वमा भएको राष्ट्रिय भेलाले २०३५ सालमा नेकपा मालेको गठन भयो । त्यसको महासचिव बने झापा आन्दोलनका नेता सीपी मैनाली । झापा आन्दोलनका सबै नेतृत्व पक्राउ परी जेल जीवन बिताइरहेका थिए ।
२०३३ सालमा नख्खु जेलमा रहेका सीपी मैनाली, प्रदीप नेपाल, माधव पौडेल, गोपाल शाक्य, वीरबहादुर लामा, धनेन्द्र बस्नेत, नारद वाग्ले लगायतका १५ जना कम्युनिष्ट क्रान्तिकारीहरू नख्खु जेलबाट सुरूङ खनेर जेलबाट बाहिर निस्कन सफल भए । तर, निरंकुश पञ्चायत शासकहरूले नरेन्द्र बस्नेत, नारद वाग्ले लगायत ५ जनालाई पुनः पक्राउ गर्न सफल भयो ।
झापामा दमन तीब्र भएपछि केपी ओली र मोहनचन्द्र अधिकारी विराटनगर माधव नेपालको सम्पर्कमा पुगे । माधव नेपालकै नेतृत्वमा केपी ओली र मोहनचन्द्रलाई भारतीय कम्युनिष्टहरूस“ग सम्पर्क गरी बिहार पठाउने काम गरे ।
केही समयपछि भारतीय कम्युनिष्टहरूले आश्रय दिन नसक्ने सूचना पठाएपछि माधव नेपालले दुबै जनालाई रौतहटमा सेक्टर तयारी गरी नेपाल ल्याउने काम गरे । तर, कठोर अनुशासनभित्र रहन नसक्ने स्वभाव रहेका कारण भारतीय सेल्टरबाट बिस्थापित भएका केपी र मोहनचन्द्र रौतहटबाट पक्राउ परे । उनीहरू क्रमशः४ र १७ वर्ष जेलजीवन बिताउन बाध्य भए ।
यसरी कोके रातो झण्डा समूह, सन्देश समूहलगायत विभिन्न समूहलाई एकताबद्ध गर्दै युवाहरूको नेतृत्वमा नेकपा मालेको बिस्तार भयो । जसको विस्तारमा माधव नेपाल, झलनाथ खनाल, सीपी मैनाली, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, अमृत बोहराहरूको महत्वपूर्ण भूमिका रह्यो । त्यही युवा प्रवाहमा मदन भण्डारी, जीवराज आश्रित, बामदेव गौतमहरू समेत जोडिन पुगे ।
केपी ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीहरू जेलबाट छुट्दा नेकपा माले नेपालको कम्युनिष्ट आन्दोेलनको मूल प्रवाह भैसकेको थियो । देशभर नेकपा माले फैलिसकेको थियो ।
२०४३ सालमा जनपक्ष्ँीय राष्ट्रिय एकता मञ्च गठन गरी त्यसको नेतृत्वमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार उठाउने र प्रभाव विस्तार गर्ने काम नेकपा मालेले गरेको थियो । इलामबाट नोवेल केमी राई, झापाबाट द्रोणाचार्य क्षेत्री, चितवनबाट जागृतप्रसाद भेटवाल, मकवानपुरबाट रूपचन्द्र बिष्ट, काठमाडौंबाट पद्मरत्न तुलाधर, कास्कीबाट सोमन प्यासीलाई नेकपा मालेले विजयी गराउन सफल भएको थियो । त्यसपछि झन् मालेको जनलहर बिस्तार भएको थियो ।
२०४२ सालको शिक्षक आन्दोलन २०३६ सालको विद्यार्थी आन्दोलनको नेता नै माले थियो । यसरी एकदलीय तानाशाही पञ्चायती व्यवस्थाको विरूद्धमा सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने यी माथि उल्लेख गरिएका नेताहरू नै थिए ।
०४७ सालमा आइपुग्दा बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलनमार्फत बहुदलको स्थापना भइसकेको थियो भने नेकपा मालेभित्र जडसूत्रवादी विचारमा व्यापक परिवर्तन भई बहुदलीय जनवादको भ्रूण विकास भइसकेको थियो । त्यसको अगुवाई मदन भण्डारीले गरेका थिए । २०४७ सालमा नेकपा मार्क्सवादीसँग पार्टी एकता गरी बनेको एमाले केपी ओलीको उदयपछि विघटनको संघारमा पुगेको छ । पार्टीका सबै संस्थापक नेताहरू मुकुन्द न्यौपाने बाहेक सबैलाई ओलीले निकाली सकेका छन् ।
२०४८ को निर्वाचनपछि दोस्रो ठूलो दलको रूपमा उदाएको एमाले २०५० जेठ ३ गते दासढुंगामा मदन भण्डारी जो त्यतिबेला महासचिवसमेत रहेका थिए र जीवराज आश्रीत (तत्कालीन संगठन विभाग प्रमुख) को रहस्यमय हत्यापछि केपी ओलीले मदन भण्डारी फाउण्डेशन दर्ता गरी पार्टीका समानान्तर गतिविधि सञ्चालन गर्न भारतीय ‘र’को सहयोगबाट अघि बढे । १० वर्षभित्र पार्टी कब्जा गर्ने लक्ष्यका साथ अघि बढेका ओली पार्टी कब्जा गर्न २० वर्षमा सफल भए ।
ओलीले पार्टीभित्र बहुपदीय प्रणालीको वकालत गर्दैै त्यसलाई झनै लोकतान्त्रिकरणको भाष्य निर्माण गर्न सफल भए । आफू नेतृत्वमा पुग्न उनले पार्टीभित्र ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्र कार्यकारी पदमा रहने व्यवस्थाको वकालत गरी पार्टीमा युवा पुस्ताको मन जित्न सफल भए र उनको गुट सशक्त बन्दै गयो । २०७२ सालसम्म आइपुग्दा पार्टीको सर्वोच्च पद र राज्यको सर्वोच्च पद (अध्यक्ष र प्रधानमन्त्री) मा आसिन हुन पुगे । त्यही दिनदेखि कम्युनिष्ट आन्दोलनको अवसानको दिन सुरू भयो ।
दोस्रोपल्ट नेकपाको नेतृत्वमा प्रधानमन्त्री बन्न पुगेका ओली झन् निरंकुश बन्दै गए । उनलाई पथभ्रष्ट बनाउने र निरंकुश बनाउने काममा कहिले बामदेव गौतम त कहिले पुष्पकमल दाहालले भूमिका खेले । पार्टीलाई पहिलो दल (२०५१) बनाउन र २०५१ सालको नेकपा एमालेको नेतृत्वलाई लोकप्रिय बनाउने मुख्य पात्र सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔंका योजनाकार माधव नेपाललाई कर्नरमा पार्ने काम गरे । त्यसपछि झन् ओलीमा राजनेता बन्ने भूत सवार हुन थाल्यो ।
नेकपाको सचिवालय बैठकले दबाब दिएपछि चुच्चे नक्सा ल्याउन र नक्सा बनाउन बाध्य भएका ओलीले आफ्नो भजन मण्डली प्रयोग गरी राष्ट्रवादी नेताको प्रचार गराए । भारतीय नाकाबन्दीमा उनलाई पालन पोषण गर्ने ‘र’ प्रतीक्षामा थियो ।
मोदीको ‘र’ले भारत भ्रमण बेवास्था गरेपछि उनले घुक्र्याउन नाकाबन्दी नखोली भ्रमण गर्दिन भन्ने त्यो नै राष्ट्रवाद (लम्पसारवाद)को आडम्बरी नारा तयार गर्न पुगे । इन्डो पश्चिमाले नस्वीकारेको नेपालको २०७२ को संविधानलाई संसद विघटनको प्रावधान पूर्ण प्रयोग नगरी उनीहरूकै इसारामा संसद विघटन गर्न सफल भए ।
नेकपा माओवादीको सरकार तेस्रो स्थानमा खुम्चिएको बेला लोकप्रिय हुने मुद्दा खोज्दै थियो जुन भुटानी शरणार्थी काण्डले आकर्षित गरायो र धमाधम भ्रष्टाचारका फाइल खोल्न थाले । भुटानी शरणार्थी काण्डमा मुछिएका आरजु राणा देउवा पक्रिने प्रयास गर्दा इन्डो अमेरिकाको अगुवाइमा विवादास्पद व्यापारीको घरमा रातको १२ बजे देउवा र ओलीलाई मिलन गराई केपी ओलीको नेतृत्वमा सरकार निर्माण भयो । यो सरकार नेपाली जनताको थिएन । इन्डो अमेरिकाको इच्छा र सहभावमा बनेको थियो ।
ओलीको स्वभाव प्रयोग गर्दै शक्ति आर्जन गर्ने अनि सहभागीको तेजोबध गर्दै अगाडि बढ्ने हो । साङ्घाई सहयोग संगठनको बैठकसम्म पुग्दा फेरि प्रम हुन सकिन्न अहिलेको समयलाई सहदुपयोग गर्द इतिहासमा राष्ट्रवादी नेताको नाम लेखाउने सनकले साङ्घाई सहयोग संगठनको पूर्ण सदस्यता माग गरे त्यो कार्यबाट इन्डो पश्चिमा खुसी थिएन । पश्चिमा साम्राज्यवादीले उनको ‘किचेन क्याविनेट’ भित्रै पसे र नेपाली युवाको भावना भड्काई विध्वङ्श मच्चाउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गराउन सफल भयो ।
ओलीले आफै स्थापित गरेको पार्टीभित्रको दुई कार्यकाल ७० वर्षे उमेरहद विधान महाधिवेशनबाट हटाएर आफू निर्विकल्प नेता हुन खोजे । दुई वर्षअघि ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा पूर्वराष्ट्रपति राजनीतिमा आउनसक्ने र पार्टीको नेतृत्व लिनसक्ने नेपालको संविधान ऐन कानूनले नछेक्ने अन्तर्वार्ता दिएर विद्यँदेवी भण्डारीको सदस्यता नवीकरण गराएका उनले पछि आफ्नो आनन्दताको निर्देशनमा आफ्नो अनुकुलताका लागि विभिन्न भाष्य खडा गरी विद्यालाई रोक्न सफल भए ।
यसरी साम्राज्यवादीले विद्या भण्डारी राजनीतिमा फर्किंदा बाम ध्रुुवीकरण हुने र नेपालको कम्युनिस्ट आन्दोलन सशक्त रूपमा अगाडि बढ्दा चीन घेर्ने नीति असहज हुने देखेर नै ओलीलाई गोर्भाचोभ पथमा लैजान लामो समयदेखि प्रयोग गर्दै आएको थियो । गत भदौ २३ र २४ गतेको आन्दोलन (हिंसा) ले साम्राज्यवादी कित्ताले विजयी प्राप्त गरेको छ ।
देशको कम्युनिष्ट आन्दोलन र राष्ट्र–राष्ट्रियताले हारेको छ । सबै बामपन्थीहरूले गोर्भाचोभपथको परिणामबाट शिक्षा लिंदै बृहद बामपन्थी एकता गर्न आ–आफ्नो कम्युनिष्ट पार्टी मा पुनः संरचना गरी अघि बढ्ने अभियानलाई तत्काल सरू गरौं । इतिहासका कतिपय कालखण्डमा संकट पैदा हुन्छ त्यहीभित्र अवसरको खोजी गरौ र कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी अघि बढौं ।
View : 595
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved