Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

संघीयता नै नमान्ने राप्रपालाई सभामुखको कुर्सी, गणतन्त्र मान्ने पाँच दलको ‘सर्वसम्मत सभामुख’ बने बिष्ट

बाबुराम भण्डारी
२५ पुष २०८०, बुधवार

Advertisement

विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर बिष्ट सर्वसम्मत निर्वाचित भएका छन् । ७० बर्षीय बिष्ट मंगलबार प्रदेशसभाबाट सर्वसम्मत सभामुख चयन भएलगत्तै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले उनलाई पद तथा गोपनियताको सपथ गराएका छन् । सभामुख बिष्टले २०८० साउन १७ देखि ताला लागेको सभामुखको कार्यकक्षमा आगामी ४ वर्षका लागि बुधबार कार्यालय खुलेपछि पद बहाली गर्दैछन् ।

विसं २०२८ सम्म बामपन्थी बिचार बोकेर हिंडेका बिष्ट त्यसपछि पञ्चायत छिरेका थिए । संघीयताको विरोधी कित्तामा उभिएर प्रदेश खारेजीको आन्दोलन गर्दै आएको राप्रपाबाट समानुपातिक सांसद बनेका बिष्ट गणतान्त्रिक संविधानको व्यवस्थाअनुसार बनेको प्रदेशसभाको नेतृत्वमा पुगे ।

९३ सदस्यीय कोशी प्रदेशसभामा अहिले ६ वटा राजनीतिक दलका सांसदहरू छन् । दुई प्रत्यक्षसहित ६ सिट भएको राप्रपामा बिष्टले समेत प्रदेशसभामा संघीयता खारेजीकै एजेण्डा प्रस्तुत गर्दै आएका थिए ।

उनको त्यस्तो अभिव्यक्तिमा गणतन्त्र पक्षघर दलका सांसदहरूले रोष्टमबाटै प्रतिवाद पनि गरेका थिए । तर सत्ता समीकरणको जोडघटाउ र एैंचोपैंचोमा पोख्त अभ्यासमा लागेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी मंगलबार बिष्टलाई सभामुख बनाउन कम्मर कसेर लागेका देखिन्थे । बिष्टलाई सभामुख चयन गर्न गणतन्त्रको बखान गर्ने पाँच दल सहमतिका साथ अघि बढेको सन्देश दिइरहेका थिए ।

बिष्टलाई सभामुख बनाएर मुख्यमन्त्री केदार कार्कीले आफ्नो सत्ता टिकाउने जुक्तिका रुपमा प्रयोग गरे । कांग्रेस संसदीय दलको बैठकले नै बिष्टलाई सभामुखको उम्मेदवारमा सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको दलका नेता उद्धव थापाले बताए ।

सर्वोच्च अदालतको आदेशले मुख्यमन्त्री पदबाट दुई पटक अपदस्त बनेका थापाले नैतिकता देखाएर कांग्रेस संसदीय दलको नेताबाट राजीनामा गरेका थिए । तर पुनः वर्तमान मुख्यमन्त्री कार्कीकै प्रस्तावमा दलको नेता पुनर्वहाली भएका थापाले कार्की नेतृत्वको सरकार जोगाउँदै आफू निकटलाई मन्त्री बनाउने अर्को मौकाका रुपमा बिष्टलाई सभामुखमा समर्थन गर्ने निर्णयमा पुर्‍याए । ‘हाम्रो दलले राप्रपाका अम्बरबहादुर बिष्टलाई सर्वसम्मत् रुपमा सभामुख बनाउने निर्णय गरेको छ’ कांग्रेस संसदीय दलको बैठकपछि उनले भनेका थिए ।

एमालेले पनि आफू नेतृत्वको सरकार गठनमा राप्रपाले लगाएको गुणको पैंचो यसैपटक बिष्टलाई सभामुख बनाएर तिर्न सही मौका छोप्यो । एमालेले सत्ता गठबन्धन बाहिरको दलबाट सभामुखको उम्मेदवारी परेको खण्डमा समर्थन रहने राजनीतिक जुक्ति निकालेको थियो ।

एमाले संसदीय दलका  प्रमुख सचेतक रेवतिरमण भण्डारीले भने, ‘सभामुखको निर्वाचनमा हामीले उम्मेदवारी दिने परिस्थिति बनेन, गठबन्धन दल बाहिरबाट सभामुखको उम्मेदवारी परेमा त्यस्तो उम्मेदवारलाई हाम्रो तर्फबाट समर्थन गर्ने निर्णय गर्यौं ।’

संघीयताको सबैभन्दा खरो पक्षपोषण गर्दै आएको नेकपा माओवादी केन्द्र समेत राप्रपालाई सभामुख बनाउने विषयको बहसमा मौन रह्यो । भएको सभामुख गुमाएको माओवादी केन्द्रले बदलामा गठबन्धनबाट निर्णय गराएर दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको थियो ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गोप्य समर्थन रहेको दाबी गर्ने आङ्बोले गर्दा बिनिसित्तीमा अहिले राप्रपालाई सभामुख सुम्पिनुपर्ने उल्टो परिस्थिति आइलाग्यो । नेकपा एकीकृत समाजवादीले पनि राप्रपालाई सभामुखमा पुर्‍याउनबाट रोक्नुभन्दा गठबन्धनकै ‘लैलै’ स्वीकार्न बाध्य बन्यो । वर्तमान मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा एक मन्त्रीसहित सहभागी नेकपा एसले सभामुखमा बिष्टलाई गर्नेभन्दा एक मन्त्रीलाई जोगाउनु नै राजनीतिक मुख्य उपलब्धि हो भनेर स्वीकार्नुपर्ने ठाउँमा पुग्यो ।

प्रदेश खारेजीको माग प्रखर रुपमा उठाउँदै आएको व्यक्ति त्यही सभाको सभामुख बनेर प्रदेशसभालाई असफल बनाउन लाग्नुहुन्छ कि यो सभालाई सफल बनाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बिष्टले भने, ‘अब संविधानको परिधिभित्र रहेर काम गर्नुपर्छ, अहिले सभामुख भइसकेपछि पार्टीका जिम्मेवारीमा नरहनुपर्ने अवस्था हुन्छ ।’

बिष्टले आफ्नो भूमिका फेरिने तर आफ्नो संलग्नता रहेको पार्टीले गर्ने काम भने गरिरहने दाबी गरे । ‘पार्टीले गर्ने काम गर्छ, सभामुखको हैसियतले जिम्मेवारी संविधानबमोजिम गर्नुपर्छ’ उनले भने । 

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको प्रस्ताव र राप्रपाकै सांसद प्रेमराज थाम्सुहाङको समर्थनमा कोशी प्रदेशसभाले बिष्टलाई सर्वसम्मत रुपमा सभामुख स्वीकार गरेको हो ।

उपसभामुख सिर्जना दनुवारले कोशी प्रदेशको प्रदेशसभा नियमावली २०७४ (पहिलो संसोधन समेत) को नियम ७ को उपनियम (३) बमोजिम प्रदेशसभामा सभामुख चयनका लागि एउटामात्र सूचना प्राप्त भएकोमा, प्रस्तावक सदस्यको प्रस्ताव र समर्थकको समर्थनबाट प्रस्तावित सदस्यलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । 

को हुन् बिष्ट ?

मंगलबार कोशी प्रदेशको सभामुख चयन भएका बिष्ट २०२८ सम्म तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा थिए । त्यतिबेला कम्युनिष्ट पार्टीभित्र उग्रक्रान्तिकारी हिंसात्मक धारको गतिविधिसँग असहमत बन्दै बिष्ट २०३२ सालदेखि पञ्चायती राजनीतिमा आवद्ध भएका थिए । 

उनी २०३३ सालमा झापाको जुरेपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष निर्वाचित भए । त्यसपछि उनी सोही गाउँपञ्चायतको उपप्रधानपञ्च बने । १० वर्ष जिल्ला पञ्चायत सदस्य हुँदै बिष्ट राप्रपाको जिल्ला राजनीतिको केन्द्र बने । 

‘यसको धेरै कुरा व्याख्या नगरौं, तर त्यतिबेला कम्युनिष्टमा दुई धार भएको थियो, एउटा व्यक्ति हिंसाको धार भएपछि मलाई त्यो कुरा मन परेन’ सभामुखमा मनोनयन दर्ता हुनुअघि बिष्टले भनेका थिए, ‘त्यसपछि राप्रपामा स्थापनाकालदेखि नै सक्रिय भएँ ।’

बिष्ट २०५१ झापामा राप्रपाको जिल्ला अध्यक्ष र त्यसपछि केन्द्रीय पार्षद पनि बने । हाल राप्रपा केन्द्रीय सदस्य रहेका बिष्ट २०५१ मै शेरबहादुर देउवा प्रधानमन्क्री हुँदा सहकारी विकास बोर्डको सदस्य नियुत्त भएका थिए । लामो समय राप्रपाको राजनीति गरेका उनी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका विश्वासपात्र मानिन्छन् । लिङ्देनकै संरक्षणमा उनी कोशी प्रदेशसभामा समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बनेका थिए ।

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved