जसले आकाशमा ताराभन्दा बढी मिसाइल देखे
मेयर नागेश कोइराला
विराटनगर । विराटनगर महानगरका मेयर नागेश कोइराला आफै पनि कृषिकर्मसँग जोडिएका व्यक्ति हुन् । विराटनगरमा उनको आँप बगैंचा छ। अन्नबालीसहित अन्य खेतीपातीमा पनि उनको परिवार जोडिएको छ। जेठ २६ मा नेपालबाट इजरायल उड्दै गर्दा त्यहाँको सफल कृषि अभ्यासबारे सिक्ने उत्सुकता प्रचुर थियो। तर, जब उनी त्यहाँ पुगेको चौथो दिनबाट इजरायल र इरानबीच भीषण युद्ध सुरु भयो, मेयर कोइरालाका लागि सिक्ने भन्दा बढी ज्यान बचाउने चिन्ता ठूलो भयो ।
झण्डै पाँच दिन लामो अत्यासलाग्दो त्यो युद्धको दुन्दुभीयुक्त ठाउँबाट बिहीबार बेलुका उनी विराटनगर आइपुगेका छन् । इजरायलबाट जोर्डन, कुवेत, भारत हुँदै काठमाडौं ओर्लेर बिहीबार राति विराटनगर आइपुगेका उनी शुक्रबार दिउँसो महानगरको कार्यालयमा भेटिए । भेटमा उनले आफ्नो इजरायल बसाइ र त्यहाँ भोगेको अनुभव साझा गरे । महानगर कार्यालउयमा होस् अथवा उनको घरैमा किन नहोस् फोनबाट वा प्रत्यक्ष भेटेर, कोइरालालाई सकुशल नेपाल आइपुगेकोमा बधाइ भन्नेहरुको अहिले भीड छ । त्यही भीड छिचोलेर शुक्रबार दिउँसो महानगरको कार्यालयमा पत्रकारहरुसँग उनले कुराकानी गरेका छन् ।
अघिल्लो साताको बिहीबार इजरायलले इरानमाथि हमला गर्दा मेयर कोइराला इजरायलको सफाइमस्थित एउटा सहकारीले चलाएको होटलको तेस्रो तलामा थिए । सहकारी, कृषि र सहरी व्यवस्थापनको इसरायली मोडेलबारे अध्ययन भ्रमणका लागि जेठ २६ को राति उनी तेलअभिभ पुगेका थिए । त्यही राति नै उनी सफाइमतिर लागेका थिए । भोलिपल्टबाटै त्यहाँ उनको कार्यक्रम सुरु हुँदै थियो । तेलअभिभबाट ३० किलोमिटर टाढाको दुरीमा रहेको सफाइमको एउटा होटेलमा उनी पुगे। तीन दिन र रात आनन्दले बित्यो। बिहान कक्षामा बस्ने, दिनभरि सहकारी र त्यहाँको कृषि क्षेत्र घुम्ने, बुझ्ने व्यस्त तालिका थियो ।
उनी इजरायल पुगेको चौथो दिनमा इजरायल इरानमाथि जाइ लागेका थियो। इजरायलले इरानको आणविक हतियारको भट्टी र सैन्य अखडामा निशाना साँधेपछि इरानी सेनाका उच्च तहका कमाण्डहरू नै ज्यान गुमाउन बाध्य भए। लगत्तै इजरायलले देशमा आपतकाल लागू गर्यो। जसै इजरायली सरकारले यो कदम चाल्यो, विराटनगरबाट त्यहाँ पुगेका मेयर कोइरालाको तनाव श्रृंखला पनि सुरु भयो। ‘बाँचेर घर फर्कन पाउँछु भन्ने त कुनै बेला पनि लाग्दै लागेन,’ उनले भने ‘मलाई जतिबेलै पनि अब मरिने भयो भन्ने नै लाग्थ्यो। आकाशमा मैले एकैचोटी त्यतिधेरै तारा देखेको थिइनँ, जति मिसाइलहरु देखेँ। जतिबेलै जस्तो विष्फोट अनि मान्छेहरुको अफरातफरी देखेर हरेश खाइसकेको थिएँ ।’
इजरायलमा आपतकाल सुरु भएपछि उनलाई त्यहीँका सरकारी अधिकारीहरूले सूचना दिए, अब भ्रमणको कार्यक्रम रोकियो। कक्षाहरू भने भर्चुअल माध्यबाट हुनेछन्। त्यसो भनेसँगै उनको साथैमा रहेका फिलिपिन्सका जनप्रतिनिधिहरुलाई पनि सुरक्षा प्रोटोकलबारे बताइयो। ‘सबैभन्दा पहिले मोबाइलमा ‘होम फ्रन्ट कमाण्ड’ नामको सफ्टवेयर इन्स्टल गर्न लगाइयो, हामीले गर्यौं,’ मेयर कोइरालाले युद्धग्रस्त क्षेत्रमा बिताएका दिनको अनुभव सुनाए ‘त्यो सफ्टवेयर मोबाइलमा चल्न थालेपछि संकेत र सन्देशहरू आउन थाल्दो रहेछ।’
इरानले इजरायलतिर लक्ष्य गरेर मिसाइल हमला गर्नासाथ मोबाइलमा संकेत आउने र म्यासेज पनि आउने गरेको उनले सुनाए। ‘इरानबाट मिसाइल छुट्नासाथ मोबाइलमा अलर्ट आइहाल्दोरहेछ,’ कोइरालाले भने ‘त्यसपछि सबैजना तयार भएर बस्नुपर्ने रहेछ। त्यो मिसाइल जमिनमा आइपुग्नुभन्दा ९० सेकेन्डअघि मोबाइलमा फेरि संकेत र सन्देश आउनेरहेछ। त्यहीबेला सहरै थर्काउने गरी साइरन बजिहाल्दोरहेछ। त्यसपछि चाहिँ बंकरतिर दौडिन पर्दोरहेछ।’
होटलको तेस्रो तलामा बसेका उनी बंकरमा पस्न भूइँतलामा आउनुपथ्र्यो। ‘केही वर्षयता बनेका घर र भवनहरूमा चाहिँ सकेसम्म कोठैपिच्छे, नभए पनि हरेक फ्ल्याटमा बंकर अनिवार्य रहेछ,’ उनले भने ‘म बसेको होटलको चाहिँ भूइँतलामा मात्रै रहेछ।’ त्यसैले साइरन बज्नासाथ भूइँतलातिर दौडिन पर्थ्यो। पहिलो पटक खतराको साइरन राति बजेको थियो। राति उनी हाफपाइन्ट र गञ्जी मात्रै लगाएर सुत्ने तरखर गर्दै थिए, साइरन बजिहाल्यो। त्यसपछि उनी भूइँतलामा रहेको बंकरतिर दौडिए।
‘मोटो ज्यान दौडिन सक्दिनँ होला जस्तो लाग्थ्यो। तर, धेरै फिलिपिनी साथीहरुभन्दा अगाडि नै दौडेर म बंकरभित्र छिरिसकेको हुन्थेँ,’ उनले भने ‘ज्यानको माया भएपछि शरीरको वेटले केही नगर्दोरहेछ जस्तो लाग्यो।’ १० देखि १५ मिनेट जति बंकरमा बसेपछि सबैको मोबाइलमा एकैपटक अब बाहिर निस्कन सक्ने सन्देश आउँथ्यो। त्यसपछि उनीहरू बाहिर निस्कन्थे।
‘इजरायल बसुन्जेल ८० देखि ९० पटक जति बंकरमा पसियो होला,’ सुरुमा गनेको तर पछि गन्नै छोडेको बताउने भने ‘एकपटक बंकरभित्रै बसेका बेला भूइँचालोले भन्दा बढ्ता हल्लाउने गरी विष्फोट भयो। त्यसबेला त बाँचिन्न होला जस्तो डर झनै बढ्दोरहेछ।’
उनी इजरायलमा यसरी फँसेकै बेला उनीसँग कुरा गरेको थियो। त्यसेबला उनले आफू निश्चिन्त रहेको बताएका थिए। इजरायली प्रतिरक्षा प्रणालीप्रति भर रहेको भन्दै आरामले बसिरहेको सुनाएका थिए। विराटनगर घरमा रहेका परिवार नआत्तिउन् भनेर आफूले डर लुकाएर बोलेको उनले लुकाएनन्।
‘घरमा पाको उमेरको आमा हुनुहुन्छ, परिवारका सबै सदस्य छन्,’ नागेशले कारण खोले ‘परिवारका सबैको नजर टिभी र सञ्चारमाध्यममै छ। अनि उहाँबाट डर लागेको छ भनेर कसरी भन्नुरु जहाँसम्म त भएको थियो। बाँचेर आइयो, त्यही ठूलो कुरा भयो।’
युद्ध सुरु भएपछि इजरायल ठप्प हुँदा आकाशमा मिसाइल मात्रै ओहोरदोहोर गरेको देखेको उनले सुनाए। यस्तो अवस्थामा साथैमा रहेका इजरायली नागरिकहरुसँग उनको कुरा हुन्थ्यो। उनीहरुको आत्मविश्वास देखेर चाहिँ आफूलाई छक्कै लागेको उनले बताए।
‘हामीलाई संसारको कसैले पनि क्षति गर्न सक्दैन भन्दारहेछन् उनीहरू,’मेयर कोइरालाले थपे ‘हामी संसारका जसलाई पनि भ्याइदिनसक्छौं भन्थे। अनि घरीघरी बंकरमा छिर्दै निस्कँदै गर्दा पनि उनीहरु त्यसलाई सामान्य रुपमा लिन्थे। कतिसम्म भने बन्दुक बोकेर बसेका सुरक्षाकर्मीहरु पनि बंकरमै आएका हुन्थे। हामीसँगै बाहिर निस्कन्थे।’
कोइरालाका अनुभवमा भन्नु मात्रै बंकर हो, त्यो कुनै स्टार होटलको सुविधायुक्त कोठाभन्दा कम थिएन। ‘एसी छ, बेडहरू छन्, खानेकुरा प्रशस्तै छन्,’ उनले भने ‘यति हो, बंकर भनिने ठाउँमा चाहिँ सबै जना लहरै सुत्ने, बस्ने गर्नुपर्ने हुन्छ। बाँकी सुविधा धेरै हुँदोरहेछ।’ उनका अनुसार इजरायलमा बन्ने घर तथा भवनहरू, सडक या अन्य पूर्वाधारहरू, सबैमा जतासुकै बंकर अनिवार्य गरिएको रहेछ।
‘तपाई जहाँ उभिएको वा बसेको हुनुस्, त्यहाँबाट डेढ मिनेटमा पुग्न सकिने दुरीमा चारैतिर बंकर उपलब्ध रहेछ,’ उनले भने ‘सधैंभरि कुनै न कुनै युद्धमा होमिइरहने भएर होला, त्यहाँ बंकर आधारभूत शर्त रहेछ। होइन भने कुनै संरचना बन्नै नपाउने रहेछ।’
युद्ध चलिरहेका बेला इजरायलमा उनी फस्ँदै गर्दा नेपालबाट आउने भनिएको टोली आउन पाएन। त्यसबेला उनलाई राजदूत धनप्रसाद पण्डितले एक्लोपनको महसुस हुन दिएनन्। ‘उहाँ आइरहनुभयो, भेटिरहनुभयो,’ उनले भने ‘दूतावासको सक्रियताकै कारण जोर्डन हुँदै नेपाल आउन सम्भव भयो।’
सोमबार साँझमा उनलाई जोर्डनको भिसा प्राप्त भएको सूचना नेपालको दूतावासले दियो। मंगलबार बिहान ६ बजे नै राजदूत पण्डित उनलाई ‘पिक अप’ गर्न होटल पुगेका थिए। त्यहाँबाट उनी राजदूतकै गाडी चढेर फेरि तेलअभिभ पुगे। त्यहाँ भारतीय नागरिकको एउटा ठूलै टिम थियो। उनीहरूसँगै स्थलमार्गबाट उनी जोर्डन जानु थियो। राजदूत पण्डित कोइरालालाई बसमा चढाएर बिदा भए। बस अघि बढ्यो।
‘त्यहीबेला एक जना भारतीय नागरिक छुटेको खबर आयो, अनि बस तेलअभिभ नै फर्कियो,’ मंगलबार बिहानको घटना सम्झँदै उनले सुनाए ‘हामी बसमै थियौं, फेरि साइरन बज्यो। बसबाट ओर्लेर सबैजना बंकरभित्र पस्यौं। बाटोमा पनि जता पनि बंकरको सुविधा रहेछ। त्यसपछि निस्केर जोर्डनतिर अघि बढ्यौं।’
बस तेलअभिभबाट हिँडेको आधा घन्टा हुँदै थियो, बाटोमा फेरि साइरन बज्यो। त्यहाँ पनि उनीहरू बसबाट ओर्लेर बंकरमा छिरे। केहीबेरमा निस्कने सूचना आएपछि बाहिर आए। ‘दुई घन्टा जतिमा बसले जोर्डन सीमामा पुर्यायो, त्यही दुईपटक बंकर पस्नुपर्यो,’ उनले भने ‘इसरायल छाडेर जोर्डन भूमिमा पुगेपछि चाहिँ अब बाँचियो जस्तो भयो।’
कोइरालाका अनुसार इजरायल र जोर्डन सीमामा बसभित्र तीन घन्टा बिताउनुपरेको थियो। त्यहाँबाट जोर्डनको राजधानी अमन पुगेर विमानमार्फत कुवेत र कुवेतबाट भारत हुँदै उनी बिहीबार काठमाडौं आइपुगे। त्रिभुवन विमानस्थलमा ओर्लेपछि भने आफूलाई भक्कानो छुटेको मेयर कोइरालाले सुनाए। ‘एयरपोर्टमा ओर्लेपछि झण्डै–झण्डै रोइसकेको थिएँ,’ उनले भने ‘सकुशल घर आइपुगेँ भन्ने भयो। तर, रुन सकिनँ, आफूलाई सम्हालेँ।’ यसरी ज्यान जोगाउँदै र सम्हालिँदै घर आइपुगेका मेयर कोइरालाले आफूले नयाँ जीवन पाएको अनुभव गरिरहेका छन्।
View : 1619
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved