प्रत्यक्ष निर्वाचित कार्यकारीको माग
प्रेमप्रसाद रिजाल
नेपालको हालको राजनीतिक परिवेशमा काठमाडौंका मेयर बालेन शाह तथा ‘जेनजी’ लगायतका केही समूहले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ प्रणालीको कुरा सार्वजनिक रूपमा उठाइरहेका छन् । उनीहरू तर्क गर्छन् कि संसद् र दलहरू भ्रष्ट भएकाले देशमा स्थायित्व ल्याउन ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ वा ‘राष्ट्रपति प्रणाली’ आवश्यक छ । तर, कानुनी, ऐतिहासिक र राष्ट्रिय सुरक्षाको दृष्टिले हेर्दा यो प्रस्ताव नेपालको संवैधानिक लोकतान्त्रिक सङ्घीय गणतन्त्रका लागि निकै जोखिमपूर्ण र अस्थिरता निम्त्याउने खालको छ । यो माग केवल प्रणाली परिवर्तनको नारा मात्र होइन, बरु यसले देशलाई केन्द्रिकृत शक्तिको भूमरीमा फसाउन सक्छ ।
संवैधानिक संरचना र कानुनी जटिलता : नेपालको संविधान २०७२ ले देशलाई संसदीय प्रणाली र बहुदलीय प्रतिस्पर्धामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित गरेको छ ।
संसदीय प्रणालीको मर्म : संविधानको धारा ७४–७७ ले प्रधानमन्त्री संसद्बाट निर्वाचित हुने र कार्यकारी अधिकार मन्त्रिपरिषदमार्फत प्रयोग हुने व्यवस्था गरेको छ । यसले कार्यकारी प्रमुखलाई संसद्प्रति उत्तरदायी बनाउँछ ।
संविधान संशोधनको कठिनता : प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउन संविधानको धारा २७४ अनुसार मौलिक संरचना (संघीयता, गणतन्त्र, संसदीय प्रणाली) मा परिवर्तन गर्न दुई तिहाई बहुमत र संघीय संसद्को संयुक्त अनुमोदन आवश्यक पर्छ । यो परिवर्तन केवल जनमत वा सडक आन्दोलनको बलमा सम्भव छैन— यसका लागि पूरै राजनीतिक प्रणालीमै पूर्ण रूपान्तरण गर्नुपर्ने हुन्छ ।
शक्ति सन्तुलनमाथि खतरा : नेपालको वर्तमान संसदीय प्रणालीमा कार्यकारी, विधायिका र न्यायपालिकाबीच सन्तुलन र नियन्त्रणको व्यवस्था छ ।
संसदीय प्रणाली अन्तर्गतको कार्यकारी प्रमुख संसद्प्रति उत्तरदायी रहन्छ । प्रत्यक्ष कार्यकारी प्रमुख जनताबाट सिधै निर्वाचित हुने भएकाले संसद्को उत्तरदायी रह“दैन । शक्ति विकेन्द्रीकरण हुन्छ । एक व्यक्तिमा शक्ति केन्द्रित भई
तानाशाही प्रवृत्ति जन्मिने खतरा रहन्छ । सङ्घ, प्रदेश र स्थानीय तहमा शक्ति बाँडफाँड हुन्छ । केन्द्रमा ‘प्रत्यक्ष कार्यकारी’ ल्याइएमा संघीयता कमजोर भई केन्द्रीकरण बलियो हुन्छ । यो परिवर्तन संविधानको मूल मर्मको उल्लङ्घन हो, जसले शक्ति सन्तुलनलाई तोड्छ ।
राष्ट्रिय सुरक्षा र विदेशी हस्तक्षेप : यो मागको पछाडि देखिएका केही अदृश्य पक्षहरू राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा बन्न सक्छन् ।
विदेशी ’थिङ्क ट्याङ्क’ को भूमिका : कानुनी विज्ञहरूका अनुसार, केही विदेशी फन्डिङ प्राप्त संस्था (फाउन्डेसन, थिङ्क ट्याङ्क आदि) नेपालको राजनीतिक अस्थिरताबाट फाइदा उठाउन सक्रिय छन् । प्रत्यक्ष निर्वाचित प्रणालीले नीति निर्माणमा विदेशी हस्तक्षेप बढाउने ढोका खोल्न सक्छ ।
नागरिकता र सुरक्षा प्रश्न : अहिले पनि दोहोरो नागरिकता र खुला सीमाका कारण नेपाल विदेशी प्रभावको जोखिममा छ । यदि प्रत्यक्ष कार्यकारी पदमा कुनै विदेशी प्रभावमा रहेको व्यक्ति चुनिएमा, देशको निर्णयहरू विदेशी स्वार्थमा जान सक्छ । यस्तो अवस्थाले नेपालले सिक्किम वा तिब्बतजस्तो अवस्था भोग्नुपर्ने खतरा रहन्छ ।
लोकप्रियताको नाममा सत्ता कब्जा : इतिहास साक्षी छ- ‘जनताको प्रत्यक्ष अधिकार’ भन्ने नाममा हिटलर वा मुसोलिनीजस्ता व्यक्तिले धेरै देशमा तानाशाही शासन स्थापना गरेका छन् । नेपालमा पनि यदि कुनै लोकप्रिय व्यक्तिलाई संविधानभन्दा माथि उठाउन खोजियो भने, त्यो लोकतन्त्रको अन्त्य हुनेछ ।
समाधान प्रणालीमा होइन, नियतमा हुने हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नेपालमा ल्याउनु, संविधानविपरीत, सङ्घीय संरचना नाश गर्ने, न्यायिक सन्तुलन बिगार्ने, विदेशी हस्तक्षेपका ढोका खोल्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने कदम बन्न सक्छ । नेपालमा समस्या प्रणालीमा होइन, बरु नेतृत्वको निष्ठा, जवाफदेही र भ्रष्टाचार नियन्त्रणमा देखिएको कमजोरीमा हो ।
समाधानका सुझावहरू
‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली सुन्दै जनमुखी लागे पनि, यसको परिणाम शक्तिकेन्द्रित शासन, विदेशी हस्तक्षेप र लोकतन्त्रको पतन हुनसक्छ देखिन्छ । नेपालजस्तो संवेदनशील, विविधतायुक्त र सङ्घीय संरचनायुक्त देशमा यस्तो प्रणाली घातक राजनीतिक प्रयोग हुन सक्छ ’ — नेपाल बारका कानुन विज्ञहरूको दृष्टिकोण ।
View : 358
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved