Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग

नेपालका लागि सम्भावित ‘ब्ल्याकहोल’

उद्‌घोष संवाददाता
२१ कार्तिक २०८२, शुक्रवार

प्रेमप्रसाद रिजाल

नेपालको हालको राजनीतिक परिवेशमा काठमाडौंका मेयर बालेन शाह तथा ‘जेनजी’ लगायतका केही समूहले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ प्रणालीको कुरा सार्वजनिक रूपमा उठाइरहेका छन्  । उनीहरू तर्क गर्छन् कि संसद् र दलहरू भ्रष्ट भएकाले देशमा स्थायित्व ल्याउन ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ वा ‘राष्ट्रपति प्रणाली’ आवश्यक छ  । तर, कानुनी, ऐतिहासिक र राष्ट्रिय सुरक्षाको दृष्टिले हेर्दा यो प्रस्ताव नेपालको संवैधानिक लोकतान्त्रिक सङ्घीय गणतन्त्रका लागि निकै जोखिमपूर्ण र अस्थिरता निम्त्याउने खालको छ । यो माग केवल प्रणाली परिवर्तनको नारा मात्र होइन, बरु यसले देशलाई केन्द्रिकृत शक्तिको भूमरीमा फसाउन सक्छ ।

संवैधानिक संरचना र कानुनी जटिलता :  नेपालको संविधान २०७२ ले देशलाई संसदीय प्रणाली र बहुदलीय प्रतिस्पर्धामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित गरेको छ ।

संसदीय प्रणालीको मर्म  : संविधानको धारा ७४–७७ ले प्रधानमन्त्री संसद्बाट निर्वाचित हुने र कार्यकारी अधिकार मन्त्रिपरिषदमार्फत प्रयोग हुने व्यवस्था गरेको छ । यसले कार्यकारी प्रमुखलाई संसद्प्रति उत्तरदायी बनाउँछ । 

संविधान संशोधनको कठिनता :  प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउन संविधानको धारा २७४ अनुसार मौलिक संरचना (संघीयता, गणतन्त्र, संसदीय प्रणाली) मा परिवर्तन गर्न दुई तिहाई बहुमत र संघीय संसद्को संयुक्त अनुमोदन आवश्यक पर्छ । यो परिवर्तन केवल जनमत वा सडक आन्दोलनको बलमा सम्भव छैन— यसका लागि पूरै राजनीतिक प्रणालीमै पूर्ण रूपान्तरण गर्नुपर्ने हुन्छ ।

शक्ति सन्तुलनमाथि खतरा : नेपालको वर्तमान संसदीय प्रणालीमा कार्यकारी, विधायिका र न्यायपालिकाबीच सन्तुलन र नियन्त्रणको व्यवस्था छ ।

 संसदीय प्रणाली अन्तर्गतको कार्यकारी प्रमुख संसद्प्रति उत्तरदायी रहन्छ । प्रत्यक्ष कार्यकारी प्रमुख जनताबाट सिधै निर्वाचित हुने भएकाले संसद्को उत्तरदायी रह“दैन । शक्ति विकेन्द्रीकरण हुन्छ । एक व्यक्तिमा शक्ति केन्द्रित भई

तानाशाही प्रवृत्ति जन्मिने खतरा रहन्छ । सङ्घ, प्रदेश र स्थानीय तहमा शक्ति बाँडफाँड हुन्छ । केन्द्रमा ‘प्रत्यक्ष कार्यकारी’ ल्याइएमा संघीयता कमजोर भई केन्द्रीकरण बलियो हुन्छ । यो परिवर्तन संविधानको मूल मर्मको उल्लङ्घन हो, जसले शक्ति सन्तुलनलाई तोड्छ ।

राष्ट्रिय सुरक्षा र विदेशी हस्तक्षेप : यो मागको पछाडि देखिएका केही अदृश्य पक्षहरू राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा बन्न सक्छन् । 

विदेशी ’थिङ्क ट्याङ्क’ को भूमिका : कानुनी विज्ञहरूका अनुसार, केही विदेशी फन्डिङ प्राप्त संस्था (फाउन्डेसन, थिङ्क ट्याङ्क आदि) नेपालको राजनीतिक अस्थिरताबाट फाइदा उठाउन सक्रिय छन् । प्रत्यक्ष निर्वाचित प्रणालीले नीति निर्माणमा विदेशी हस्तक्षेप बढाउने ढोका खोल्न सक्छ । 

नागरिकता र सुरक्षा प्रश्न : अहिले पनि दोहोरो नागरिकता र खुला सीमाका कारण नेपाल विदेशी प्रभावको जोखिममा छ । यदि प्रत्यक्ष कार्यकारी पदमा कुनै विदेशी प्रभावमा रहेको व्यक्ति चुनिएमा, देशको निर्णयहरू विदेशी स्वार्थमा जान सक्छ । यस्तो अवस्थाले नेपालले सिक्किम वा तिब्बतजस्तो अवस्था भोग्नुपर्ने खतरा रहन्छ ।

लोकप्रियताको नाममा सत्ता कब्जा : इतिहास साक्षी छ- ‘जनताको प्रत्यक्ष अधिकार’ भन्ने नाममा हिटलर वा मुसोलिनीजस्ता व्यक्तिले धेरै देशमा तानाशाही शासन स्थापना गरेका छन् । नेपालमा पनि यदि कुनै लोकप्रिय व्यक्तिलाई संविधानभन्दा माथि उठाउन खोजियो भने, त्यो लोकतन्त्रको अन्त्य हुनेछ ।
समाधान प्रणालीमा होइन, नियतमा हुने हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नेपालमा ल्याउनु, संविधानविपरीत, सङ्घीय संरचना नाश गर्ने, न्यायिक सन्तुलन बिगार्ने, विदेशी हस्तक्षेपका ढोका खोल्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने कदम बन्न सक्छ । नेपालमा समस्या प्रणालीमा होइन, बरु नेतृत्वको निष्ठा, जवाफदेही र भ्रष्टाचार नियन्त्रणमा देखिएको कमजोरीमा हो । 

समाधानका सुझावहरू 

  •   संविधान पालन र सुधार : प्रणाली परिवर्तन होइन, वर्तमान प्रणालीभित्रै आवश्यक सुधार मा ध्यान दिनु ।
  •   दल सुधार र पारदर्शिता : दलभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्न कानुनी व्यवस्था लागू गर्नु ।
  •   भ्रष्टाचार नियन्त्रण  : अख्तियार, न्यायालय र मिडियालाई स्वतन्त्र र प्रभावकारी बनाई जवाफदेहीता कायम गर्नु ।
  •   विदेशी फन्डको नियमन : विदेशी वित्तीय प्रभावमाथि कठोर निगरानी राख्नु ।
  •   राष्ट्रिय चेतना अभिवृद्धि : जनतालाई तथ्यमा आधारित राजनीतिक शिक्षा र राष्ट्रिय एकता को महत्त्वबारे सचेत गराउनु ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली सुन्दै जनमुखी लागे पनि, यसको परिणाम शक्तिकेन्द्रित शासन, विदेशी हस्तक्षेप र लोकतन्त्रको पतन हुनसक्छ देखिन्छ । नेपालजस्तो संवेदनशील, विविधतायुक्त र सङ्घीय संरचनायुक्त देशमा यस्तो प्रणाली घातक राजनीतिक प्रयोग हुन सक्छ ’ — नेपाल बारका कानुन विज्ञहरूको दृष्टिकोण ।

View : 358

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved