Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

नाममा सम्पन्नता, यथार्थमा विपन्नतासँग झेल्दै मुसहर समुदाय

भौतिक संरचना निर्माणले मात्र समुदायको जीवनस्तरमाथि उठ्दैन । शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी नभएसम्म  मुसहर समुदायको विपन्नता कायमै रहन्छ । तसर्थ यी यथावत समस्याहरू चुनौतिपूर्ण हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापन गर्न आवश्यक छ ।
रामसुन्दर राजवंशी
२५ कार्तिक २०८२, मङ्गलवार

विराटनगर महानगरपालिका वडा नं १२, मलाहनुवा स्थित ‘महानगर आवास परियोजना’ अन्तर्गत मुसहर समुदायको बस्ती बसाइएको  छ । जसको नाम ‘सम्पन्न बस्ती’ राखिएको छ ।  नाममा सम्पन्नता, यथार्थमा विपन्नतासँग झेल्दै आएका मुसहर समुदायलाई व्यवस्थित गर्न ‘सम्पन्नता बस्ती’ को निर्माणको परियोजना लगभग सम्पन्न भैसकेको छ ।

विराटनगर महानगरपालिका आवास परियोजना कार्यक्रम अन्तर्गत १४५ घर निर्माण सम्पन्न बस्तीमा गर्नुपर्ने छ । जसमा अहिले ८३ वटा टिनको छानो र बाँससहितको घर निर्माण गरी त्यहाँ मुसहर समुदायलाई बसोबास गराइएको छ । बस्तीमा ६२ वटा घर निर्माण गर्न बाँकी देखिन्छ । सो घर निर्माणका लागि जग्गा किन्न मुसहर समुदायलाई जीवन विकासले ऋण उपलब्ध गराएको छ ।

घर निर्माण कार्यमा हेरिटेज, महानगरपालिका र कोशी प्रदेश सरकारको भूमिका पाइन्छ । जसको साक्षी पूर्व मुख्यमन्त्री माननीय केदार कार्की साक्षी बस्नु भएको छ । सो परियोजना नसकुन्जेलसम्म घरको मर्मत तथा सम्भारको व्यवस्था आवास परियोजनामा गरिएको छ । तसर्थ, सबै तहको सरकार ढिलासुस्तीका कारण आवास परियोजना सम्पन्न हुन सकेका छैनन् ।

सम्पन्न बस्तीको उपभोक्ता क, ख, ग र घ गरी वर्गीकरण गरिएको छ । सो उपभोक्ताले खरिद प्रक्रिया कोटेशनमार्फत गर्ने गर्दछन् । ती उपभोक्ताहरूको ३ वटा जग्गा धनीपूर्जामा १४५ जनाको जग्गा धनीको नाम उल्लेखित गरिएको उनीहरूको भनाई छ । मुसहर समुदाय आर्थिक अवस्था निकै नै कमजोर छ ।

उनीहरूको ठूलो र सगोल परिवार रहेको छ, त्यहाँ स–सना बालबालिका हरेक कुराबाट जोखिम अवस्था छन् । उनीहरू मेहनेती र परिश्रमी छन् । उनीहरू ज्याला, मजदुरी र अरूका खेतीपाती गर्दै आफ्नो जीवन गुजार्दै आएका छन् । तर, पनि उनीहरू आर्थिकरूपमा उठ्न सकेको छैनन् ।

सम्पन्न बस्तीमा प्रायःजसो घर–घरमा गाईगोरू, बाख्रा–खसी र  हाँस–कुखुरालगायतका पशुपंक्षी पाल्दै जीविकोपार्जनको स्रोत बनाएको छ । यसले पनि घर व्यवहार चलाउन मद्दत गरेको छ । यो परियोजनाबाट उनीहरूले घर र जग्गा ऋणमा त पाए । तर अहिले त्यो ऋण तिर्न धौ–धौ परेको छ ।

उनीहरू ऋण कसरी तिर्ने लिएर सधै चिन्तित भैरहेका हुन्छन् । उनीहरूले ऋण तिर्न नसक्दा बेला बखत कडा ताकेदा आउने गरेको छ । उनीहरू अमनचैनका साथ घरमा बस्न पाएका छैनन् । उनीहरू आफूले बस्दै आएको घरजग्गाको  ऋण तिर्न सक्ने अवस्थामा छैनन् । यसप्रति परियोजनासँगको आबद्ध नेतृत्वले ध्यान दिन आवश्यक छ ।

यो सम्पन्न बस्ती केशलिया खोलाको किनारदेखि लगभग ३० फिट पूर्वमा बसाइएको छ । खोलाको छेउमै भएकोले प्रत्येक बर्खायाममा आउने बाढीले कटान गरेकोले सम्पन्न बस्ती जलमग्न हुने गरेको छ । भेलबाढीका कारण घरपालुवा पशुपंक्षी सम्पत्तिको समेत क्षति हुने गरेको छ, र सो बस्तीमा बारम्बार बिपत दोहरिने गरेको छ ।

यस्तो क्षतिले पनि बिपन्न बनाएको छ, र सम्पन्न बस्तीका जनजीवन कष्टकर बन्दै गएको छ । उनीहरूको जनजीवन बाढी, वर्षा भएको बेला अरूभन्दा निकै नै प्रताडित हुने गरेको छ । यसमा सबै तहका सरकारले ध्यान दिन जरूरी देखिन्छ ।

सो बस्तीमा अधुरो पक्की नालामा फोहर पानी बाह्रैमास जम्ने गरेको छ । जसले गर्दा पानीको दुर्गन्धले झाडापखाला, ज्वरो, पेट दुख्ने, रूघाखोकीबाट प्रायः सो बस्तीका मानिसहरू ग्रसित हुँदै आएका छन् ।

विशेषगरी स–साना बालबालिका जोखिम अवस्थामा छन् । उनीहरू फोहर माटोसँग खेल्ने गरेका र शारीरिक सरसफाईमा त्यति ध्यान दिएको पाइदैन । जसले गर्दा साना बच्चाहरू विभिन्न रोगहरूबाट ग्रसित हुँदै आएका छन् । यसैगरी महिला र बद्धवृद्धा पनि स्वास्थ्यको समस्याबाट पीडित हुँदै गएका छन् ।   

यो महानगर आवास परियोजना परियोजनाले ऋषिदेव (मुसहर) समुदायलाई सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गरेको छ । महानगर आवास परियोजना अन्तर्गत १४५ परिवारका लागि तीन बिघा १६ कठ्ठा जग्गामा आवास निर्माणको काम भइरहेको छ । प्रति परिवार १० धुर जग्गा, तीन कोठे भवन, शौचालय, खानेपानी, बिजुली, नालासहितको बाटो, सामुदायिक भवन र खेलकुद मैदानसमेतको व्यवस्था गर्ने योजना देखिन्छ  ।
 

मुसहरहरूको बसोबास व्यवस्थापन गर्न चुनौतीहरू
सोे बस्ती केशलिया खोलाको नजिकमा भएकोले गर्दा हरेक वर्ष बर्खायाममा अविरल वर्षाका कारण मुसहर समुदायको बस्ती डुबान हुने र ठूलो संख्यामा घरपरिवार विस्थापित हुने गरेको पाइन्छ । तसर्थ,  महानगर आवास परियोजनामार्फत बस्तीका मुसहर परिवारहरूलाई व्यवस्थित घरहरू उपलब्ध गराउने प्रयास गरिएको छ ।

यसले परम्परागत रूपमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास गर्दै आएका मुसहर समुदायका लागि उद्धार एवम् राहत दिएको छ । यो व्यवस्थापन गर्न चुनौतिपूर्ण छ । यो बस्तीको महत्त्वपूर्ण पक्ष भनेको प्रतिपरिवार १० धुर जग्गा घरधनीकै स्वामित्व रहने व्यवस्था गर्नु हो, जसले उनीहरूलाई भूमिहीनताको समस्याबाट मुक्त गर्न र सम्पत्तिको अधिकार प्रदान गरेको छ ।

घरहरू निर्माणधीन अवस्थामै रहेकोले बस्तीमा अझ पूर्ण रूपमा आवश्यक सबै संरचना तथा सेवाहरू पुग्न सकेको छैन । बस्तीभित्रको बाटोमा नाला र  ढलको निकासको व्यवस्था छैन । नालाहरू सा“गुरो भएकोले पानि जाम हुने गरेको छ । जसले गर्दा अत्यधिक बर्षाको पानी बस्तीभन्दा बाहिर जान पाउँदैन । यसले प्रत्येक वर्ष डुवानको समस्या निम्त्याएको छ ।

यसका साथै, बस्तीमा  खानेपानी र विद्युत् जडान गर्ने योजना विस्तार गर्दै आएको छ ।

भौतिक संरचना निर्माणले मात्र समुदायको जीवनस्तरमाथि उठ्दैन । शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी नभएसम्म  मुसहर समुदायको विपन्नता कायमै रहन्छ । तसर्थ यी यथावत समस्याहरू चुनौतिपूर्ण हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापन गर्न आवश्यक छ ।

केसलिया खोलाको बाढीले जनजीवनमा पारेको असर 

केसलिया खोलाको छेउमा रहेको सम्पन्नता बस्तीको लागि सबैभन्दा ठूलो चुनौती र डर भनेकै प्रत्येक वर्ष आउने बाढीले हुने जलमग्नता हो । यसले प्रत्येक वर्ष जनधनको क्षति हुने गरेको छ ।

बाढीबाट हुने गरेको क्षतीको कसैले पनि क्षतिपूर्ति दिने गरेको देखिदैन । सधैभरी बर्खायाममा बस्तीका मुसहर समुदायहरू बाढीपानीबाट पीडित हुने गरेका छन् । जसले गर्दा उनीहरू बारम्बार विस्थापित हुनुपर्दाको मानसिक तनाव र असुरक्षाको भावनाले बस्तीका मानिसहरूको मनोबल कमजोर बनाएको छ ।

मनसुन सुरू भएलगत्तै उत्तरी क्षेत्रमा हुने अविरल वर्षाका कारण केसलिया खोलामा बाढी बढेर बस्तीमा पानी पस्ने गरेको छ । यसले गर्दा बस्तीका मानिसहरू पटक–पटक विस्थापित हुनु परेको छ । विगतका वर्षहरूमा पनि ७५ देखि १०० भन्दा बढी घरधुरीका ३५० जनाभन्दा बढी मानिसहरू विस्थापित भई बखरी आधारभूत विद्यालय तथा अन्य सुरक्षित स्थानमा शरण लिन बाध्य हुँदैै आएका थिए ।

बाढीले घरहरू डुबाउने, भौतिक सामग्री तथा अन्नपात नष्ट गर्ने, शौचालय तथा सरसफाइको संरचनामा क्षति पु-याएको छ । जसले समुदायलाई झन् गरिबी र कष्टको चक्रमा धकेलिएको छ ।

पूर्व मुख्यमन्त्री केदार कार्की, जीवन विकास समाज र हेरिटेज संस्थाको भूमिका
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफ्नो कार्यकाल प्रश्चात पनि मुसहर बस्तीको उत्थानमा सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन् । उनले मुख्यमन्त्रीको रूपमा वा स्थानीय नेताको हैसियतले बस्तीको विकास र मुसहर समुदायको उत्थानका लागि सरकारी बजेट विनियोजन गर्न, आवास परियोजनालाई प्राथमिकता दिन र बाढी नियन्त्रणका लागि नदी तटबन्धनको योजना अगाडि बढाउन महत्त्वपूर्ण राजनीतिक इच्छाशक्तिको भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले सरकारी निकाय र जीवन विकास समाज तथा हेरिटेज जस्ता गैरसरकारी संस्थाहरूबीच बस्तीको समस्या समाधानका लागि समन्वयकारी भूमिका रहेको पाइन्छ । जीवन विकास समाज एक स्थापित संस्था हो जसले सामाजिक र आर्थिक उत्थानका लागि काम गर्दै आएका छन् । हेरिटेजले पनि विशेषगरी गरिब र सीमान्तकृत समुदायको आवास र शिक्षामा काम गर्दै आएको पाइन्छ । उहाँको पहलमा यी संस्थाहरूले बस्तीमा शिक्षा, स्वास्थ्य, सीप विकास वा आवास निर्माणमा थप सहयोग पु-याएको छ ।

सरकारी प्रतिनिधिहरूले परियोजनाको निर्माण कार्यको निगरानी र समयमै गुणस्तरीय काम सम्पन्न गराउनका लागि उहाँहरूले प्रोत्साहनको भूमिका  निर्वाह गर्दै आएका छन् । तर अहिलेका मुख्यमन्त्रीको भने सम्पन्न बस्तीको बिकासप्रति खासै चासो देखिएको छैन ।

स्थानीय जनप्रतिनिधिहरूको अपेक्षित भूमिका
सम्पन्नता बस्तीको दिगो विकासका लागि स्थानीय जनप्रतिनिधिहरूको  निर्णायक भूमिका हुन्छ । महानगर आवास कार्यक्रम भएकोले स्थानीय तहको नेतृत्व आवश्यक देखिन्छ । जसले गर्दा आवास निर्माण कार्यमा प्रभावकारिता  देखिन्छ र पहिलो तहको जिम्मेवारी पनि हो । 

सम्पन्न बस्तीका मुसहर समुदायमा शिक्षा, स्वास्थ्य, र रोजगार लगायतका समस्याले घेरिएको छ । ती आधारभूत आवश्यकता ज्यूँका त्यूँनै छ । उनीहरू गरिबीका कारण पर्छौटेपनका शिकार भएका छन् । यिनै समस्याहरूको गहिरो अध्ययन हुन् सकेको छैन । तसर्थ वार्षिक योजना र बजेटमा उच्च प्राथमिकतामा जोड दिनु पर्ने आवश्यकता देखिएको छ ।

सो सम्पन्न बस्तीलाई बर्सेनि वर्षा र बाढीले क्षति गर्ने गरेको छ । बस्तीका मानिसहरू बर्खायाममा नदीको कटानले त्रसित हुने गरेका छन् । अहिलेसम्म केसलिया खोलाको नियन्त्रणका लागि तटबन्धनको व्यवस्थापन हुन सकेको छैन । ढलको पनि निकासा हुन सकेको छैन । 

शिक्षा, स्वास्थ्य र सरसफाइ जस्ता आधारभूत सेवाहरू बस्तीका हरेक घरसम्म पुगेको सुनिश्चित गर्नुपर्ने  हो तर, उनीहरू यी सेवाबाट बञ्चित हुँदै आएको भन्ने गुनासो छ । तसर्थ वडा कार्यालयबाट दिइने सेवाहरूलाई सहज, छिटो–छरितो र प्रभाबकारी  बनाउन आवश्यक छ ।

प्रदेश सरकार, संघीय सरकार, गैरसरकारी संस्थाहरू निजी क्षेत्र र सामुदायिक संस्थाहरू समन्वय र सहकार्य नभएकै कारण सास्ती भोग्नु परेको छ । जब कि बस्तीको विकासका लागि सबैको अपनत्वको खाँचो छ ।

मुसहर समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउनु पर्ने हो ।  तर सबै सरोकारवालाहरू एक अर्काको पर्खाइमा छन् । कसैलाई पनि चासो छैन । जब, सो बस्तीको जनजीवन प्राकृतिक प्रकोप अर्थात् बाढी वर्षाले प्रभावित बनाउँछ । तबमात्र सरोकारवालाहरू आँखा खुल्ने गरेको छ । त्यस्ता चटके कार्यहरू त्यसबखत हुने गरेको छ । जुन कार्य दिगो समाधान होइन । 

यो आवास परियोजना सम्पन्न गर्ने विराटनगरमहानगरपालिकाको दायित्व हो । यसको नेतुत्व विराटनगर महानगरपालिकाले लिनुपर्छ । यसप्रति सबै तहको सरकारको ध्यान जाओस् ।  
 

सम्पन्न बस्तीका समस्याका समाधान र सुधार गर्नका लागि सुझावहरू 

  •   बस्तीका मुसहर समुदायको शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था दयनीय भएकोले राज्यको मूलधारमा ल्याउन जरूरी छ । 
  •   मुसहर समुदायमा साक्षरता दर न्यून छ । जसको चेतनाको कमी छ । आर्थिक विपन्नताले गर्दा बालबालिकाहरू विद्यालयमा पढ्दापढ्दै बीचमै विद्यालय छाड्ने प्रवृति देखिएको छ । यसका लागि मुसहर बालबालिकालाई विद्यालयमा टिकाउनका लागि छात्रवृत्ति, निःशुल्क खाजा र शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ । तसर्थ यसलाई प्रभावकारी ढंगमा लैजान सक्नु पर्छ ।
  •  बस्ती नजिकै विद्यालय भए पनि नियमित उपस्थितिको कमी र गुणस्तरीय शिक्षामा पहुंचको अभाव छ । यसका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरूले उत्प्ररेणा र सचेतना कार्यक्रम गरिनु पर्छ ।
  •   गरिबीका बालबालिकाहरूलाई पर्याप्त सन्तुलित आहारमा पहुंच नहुँदा उनीहरू कुपोषणको शिकार भएका छन् । उनीहरूको तौलमा पनि कमि हुँदै गएको छ । उनीहरु  आफ्नो स्वास्थ्य सेवाबारे अनभिज्ञ हुँदै आएका छन् । जसले गर्दा उनीहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुदै आएका छन् । तसर्थ बस्तीमै नियमित रूपमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क उपचार र औषधिको व्यवस्था गरिनुपर्छ । 

 

  •    गर्भवती महिला र बालबालिकालाई लक्षित गरी पोषण सम्बन्धी सचेतना तथा वातावरणीय सरसफाइको तालिम उपलब्ध गराउनु पर्छ । 
  •    सबै परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउन प्रोत्साहन गर्नुपर्छ ।
  •   बाढी र अव्यवस्थित ढल निकासका कारण सरसफाइको अवस्था नाजुक छ, जसले रोगको जोखिम बढाएको छ । यसमा उनीहरूको सक्रिय सहभागीतामा व्यवस्थापन गराउन प्रेरित गर्नु पर्छ ।

 

  •   उनीहरूलाई उद्यमशीलताको सम्बन्धि तालिम दिई सानो व्यवसाय सुरू गर्नका लागि सहुलियत दरमा लघु वित्त उपलब्ध गराउने । 
  •    मुसहर समुदायको परम्परागत कला र सीपलाई प्रवर्द्धन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरिनुपर्छ ।

 

  • मुसहर समुदायको परम्परागत सीपहरूलाई आधुनिक बजारसँग जोड्न नसक्दा लोप हुदै गएको छ । जसले गर्दा राम्रो कमाइ हुने रोजगारबाट वञ्चित भएका छन् । तसर्थ मुसहर युवा तथा महिलाहरूलाई  सिलाई–कटाई, ब्युटी पार्लर, मोबाइल मर्मत, प्लम्बिङ, कृषि प्रविधिलगायत सीप प्रदान गर्नुपर्छ ।
  •  उनीहरूलाई एक घर एक रोजगार दिन सक्नुपर्छ ।

अन्त्यमा, मुसहर बस्तीमा ‘सम्पन्नता’ को वास्तविक अर्थ केवल घरको छाना मात्र होइन, उनीहरूको सुरक्षित जीवन, गुणस्तरीय शिक्षा, स्वस्थ र रोजगारको ग्यारेन्टी चाहिएको हो । तर, उनीहरू विपन्नताको अवस्थामा बाँचिरहेका छन् । तसर्थ ‘सम्पन्नता बस्ती’ को नामलाई यथार्थमा परिणत गर्नका लागि मुसहर समुदायलाई गरिबी र विपन्नताको चक्रबाट मुक्त गर्न ठोस कदम चाल्न जरूरी छ ।

(राजवंशी नेपाली कांग्रेस विराटनगर–११ वडा समितिका सभापति हुन् ।)


 

View : 577

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved