Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

हरेक चुनावमा नयाँ फैसला गर्ने मोरङ क्षेत्र नम्बर ६

प्रत्येक निर्वाचनमा फरक दल र व्यक्ति जिताउँदै आएको मोरङ ६ ले यसपटक आफ्नो ऐतिहासिक चरित्र अनुसारकै नतिजा दिन्छ कि निरन्तरतामा क्रमभंग गर्ला, यसको उत्तर पाउन फागुन २१ गते कुर्नैपर्छ । तर, यो क्षेत्रले मुलुकव्यापी रुपमा धेरैको ध्यान भने तानिरहने पक्का छ ।
उद्‌घोष संवाददाता
११ माघ २०८२, आइतवार

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ नेपाली संसदीय राजनीतिमा सधैं चासोको केन्द्रका रुपमा रहँदै आएको क्षेत्र हो । २०४८ सालयता भएका प्रत्येक निर्वाचनलाई नियाल्दा यहाँ एउटा रोचक संयोग देखिन्छ । यो क्षेत्रमा अहिलेसम्म एउटै व्यक्ति निरन्तर दोहोरिएर जित्न सकेका छैनन् । एउटै दलले लगातार विजयको झण्डा फहराउन पनि सकेको छैन ।

हरेक निर्वाचनमा यहाँका मतदाताले आफ्नो मन र मत परिवर्तन गर्दै आएका छन् । यहाँका मतदाताको यही स्वभावकै कारण मोरङ–६ लाई अनिश्चित निर्वाचन क्षेत्रका रूपमा लिइन्छ । 

यसपटक यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र एमालेका नेता विनोद ढकालबीच झण्डै १८ वर्षपछि ‘रिम्याच’ हुँदैछ । यसपटक उनीहरु दुईजना मात्रै होइन, अरु धेरै चर्चित दल र उम्मेदवारहरु पनि यो क्षेत्रको चुनावी मैदानमा छन् । 

प्रत्येक निर्वाचनमा फरक दल र व्यक्ति जिताउँदै आएको मोरङ ६ ले यसपटक आफ्नो ऐतिहासिक चरित्र अनुसारकै नतिजा दिन्छ कि निरन्तरतामा क्रमभंग गर्ला, यसको उत्तर पाउन फागुन २१ गते कुर्नैपर्छ । तर, यो क्षेत्रले मुलुकव्यापी रुपमा धेरैको ध्यान भने तानिरहने पक्का छ । 

निर्वाचन क्षेत्रमा भइरहने परिवर्तनले यो क्षेत्र कहिले मोरङ ७ अनि कहिले मोरङ ६ का रुपमा चिनिदै आयो । यद्यपि क्षेत्र नम्बर फेरिए पनि यहाँको मुख्य भूगोल भने उही नै रहँदै आएको छ । केही वडाहरु र सुन्दरहरैंचा पछि थप भएका क्षेत्र हुन् । 

कसैले पनि लगातार नजितेको यो क्षेत्रको चुनावी इतिहास रोचक रहँदै आएको छ । २०४८ सालमा अहिलेको मोरङ–६ क्षेत्र तत्कालीन निर्वाचन क्षेत्र नम्बर ७ मा पर्थ्यो । त्यस निर्वाचनमा नेपाली कांग्रेसका श्यामलाल तबदार विजयी भएका थिए । 

उनका प्रतिष्पर्धीका रुपमा एमालेका त्यागी नेता नेल्शन मण्डेलाको उपनामले चिनिने मोहनचन्द्र अधिकारी उम्मेदवार थिए । 

प्रजातन्त्र पुनःबहालीपछिको पहिलो चुनावमा कांग्रेसलाई जिताएका यो क्षेत्रका मतदाताले त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा एमालेलाई जिताइदिए । 

२०५१ सालको मध्यावधि निर्वाचनमा मतदाताले मन र मत फेर्दै एमालेका गुरु बराललाई संसदमा पठाएका थिए ।

२०५६ मा भएको निर्वाचनमा यो क्षेत्रमा  फेरि कांग्रेसले जित हात पारेर पुनरागमन ग¥यो । त्यसबेला हरिनारायण चौधरी कांग्रेसबाट विजयी भए भने अघिल्लो निर्वाचनका विजेता गुरु बराल पराजित भए । 

यसरी तीन निर्वाचनमै फरक–फरक व्यक्तिको जितले मोरङको यो क्षेत्र स्थिर जनमतको होइन चलायमान जनमत भएको क्षेत्रका रुपमा पुष्टि गरेको थियो ।

बहुदलकालमा मात्रै होइन, २०६२–६३ को जनआन्दोलनपछि पनि यो क्षेत्रको चलायमान जनमतको चरित्र उस्तै देखियो । हरेक निर्वाचन परिणामले त्यही देखाउँदै आएको छ । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनले मोरङसहित मुलुककै राजनीतिमा नयाँ मोड ल्यायो । माओवादी देशभरी विजेता बन्दा यो क्षेत्रमा मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदार विजयी भए । कांग्रेसका डा. शेखर कोइराला पराजित भएका थिए । 

त्यसबेला गच्छदार नेपाली कांग्रेस छाडेर मधेश आन्दोलनको पक्षमा उभिएका प्रभावशाली नेता थिए । तर, गच्छदारले दुई निर्वाचन क्षेत्रबाट जितेपछि मोरङ ७ छाडे । त्यसपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी भएका थिए । त्यो उपनिर्वाचनमा एमालेका विनोद ढकाल पनि प्रतिष्पर्धामा थिए । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डा. शेखर कोइराला र विजयकुमार गच्छदारबीच फेरि कडा प्रतिस्पर्धा भयो । गच्छदारले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नामक नयाँ दल बनाएर चुनाव लडेका थिए । 

तर, त्यो निर्वाचनमा कोइरालाले ११ हजार ३८६ मत ल्याएर गच्छदारलाई ९ हजार ८५० मतमा सीमित गरिदिए । यही निर्वाचनले कोइरालालाई प्रभावशाली नेताका रूपमा पुनस्र्थापित गरायो । चुनावी  नतिजाले मतपत्रमा निर्णय बद्लिरहने मतदाताको स्वभाव दोहोरिएको पुष्टि गर्यो । 

२०७२ सालमा नयाँ संविधान जारी भयो । निर्वाचन क्षेत्रहरुमा व्यापक परिवर्तन भयो । मोरङ जिल्लामा छवटा निर्वाचन क्षेत्र कायम भए । २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनअनुसार ‘मोरङ–६’ अस्तित्वमा आयो । यस क्षेत्रमा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ वडा र विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ वडा समेटिएका छन् । कोइराला निवास पनि यही क्षेत्रमा पर्छ ।

नयाँ संविधान जारी भएपछि क्षेत्र नम्बर फेरियो तर प्रत्येक चुनावमा मन र मत फेर्ने यहाँका मतदाताको स्वभाव फेरिएन ।

२०७४ सालको आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भयोे । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमालेका लालबाबु पण्डितले कांग्रेसका  डा. शेखर कोइरालालाई पराजित गरे ।

२०७९ सालमा भने समीकरण फेरियो अनि नतिजा पनि फेरियो । कांग्रेसका  कोइरालाले ३५ हजार २२४ मत ल्याएर पुनः विजय हासिल गर्दा २०७४ का विजेता एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत मात्रै पाउन सके । 

२०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान तेस्रो बनेका थिए । उनले  ९ हजार १४० मत पाएका थिए ।

समानुपातिकतर्फ २०७९ मा नेपाली कांग्रेसले २३ हजार ७१०, एमालेले १९ हजार ३८९, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार ६४१, माओवादी केन्द्रले ८ हजार १८५ मत प्राप्त गरेका थिए । त्यस्तै जनमत पार्टीले २ हजार २०१, नागरिक उन्मुक्ति पार्टीले १ हजार १८४ र जनता समाजवादी पार्टी नेपालले १ हजार १३१ मत पाएका थिए ।

आउँदो फागुन २१ का लागि मंगलबार भएको उम्मेदवारी मनोनयनका क्रममा मोरङ–६ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांग्रेसबाट डा. कोइराला, एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्यलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य दलहरुका मात्रै होइन, नयाँ पुस्ताका प्रतिनिधिहरु पनि यहाँ चुनावी मैदानमा छन् । नयाँ र पुरानाहरुको चुनावी मैदानमा हुने भेटले यो क्षेत्रलाई थप रोचक बनाउने भएको छ ।

यसपटक २५ वर्षीय जेनजी उम्मेदवार राम खत्री पनि यहाँ चुनावी मैदानमा छन् । ‘द काउन्सिल अफ जेनजी मोरङ’ का संयोजक हुन् उनी । २०४८ यता भएका यो क्षेत्रको हरेक चुनावलाई नजिकबाट नियालेका विराटनगरका युवराज आचार्यले भने ‘यहाँ मतदाताले इतिहास होइन, वर्तमान र विकल्प हेरेर निर्णय गर्छन् । यही कारण यहाँ न त कुनै दल स्थायी विजेता बनेको छ, न त कुनै व्यक्ति । 

यसपटक पनि पुराना अनुभवी नेता र नयाँ पुस्ताका प्रतिनिधिबीचको भिडन्तले मोरङ–६ को चुनावी इतिहासमा नयाँ अध्याय थप्ने निश्चित देखिन्छ ।’ मोरङ ६ मा यसपटक १ लाख ३७ हजार ८३२ जना मतदाता छन् ।

View : 251

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved