आज संविधान दिवसको ११ औं श्रृंखला मनाइरहँदा अर्थराजनीति, यसलाई मार्गदर्शन गर्ने विचार निर्दिष्ट राजनीतिक योजना र योजना कार्यान्वयनको चरण सम्झिरहेको छु । अधिकार र कर्तव्य बोकेको साझा दस्तावेज संविधान सार्वजनिक भएको ११ वर्ष भएछ । यो ११ वर्षको अन्तरालमा खाउँखाउँ र लाउँलाउँ रहरले गगन चुम्न लालयित दर्जनौं बालमनहरू पवित्र उद्देश्यका साथ सडकमा उभिंदा अश्रुग्यासबाट निसासिंदै र गोलीबाट रापिला छर्राबाट छटपटिंदै ढलेका छन् ।
पितृश्रद्धास्वरूप आयोजन भइरहेका श्राद्धकर्मको मुखमा आफ्नै लालाबालाको अन्त्येष्टि गर्नुपरेका कारण समाज रोएको छ, समग्र देश रोएको छ र हामी देशवासीको मन रोएको छ । उजाडिएको भारी मन लिएर के दशैं, के तिहार, के छठ यसवर्ष यसैउसै बित्ने भएको छ ।
वस्तुतः व्यप्त भ्रष्टाचारविरूद्धको अभियान र सुशासनको प्रवर्धन उद्घोषसहित जेन–जी उमेर समूहको ब्यानरमुनि संगठित र सञ्चालित गतिविधिका कारण राज्य पक्ष गम्भीर र संवेदनशील नबन्दा यसबीचमा कहिल्यै पूर्ति हुन नसक्ने अपूरणीय मानवीय क्षति भएको छ । समयक्रममा क्षतिको उचित पूर्ति होला तथापि ठूलो पैमानामा भौतिक संरचना खरानी भएको छ । जताततै यसका आला घाउखत देखिएका छन्, सग्ला छिटाबाछिटाहरू पोखिएका छन् । यसलाई ध्यानमा राख्दै यो पत्र लेखिरहेको छु ।
मार्क्स वादले भन्छ– कुनै वस्तुको उत्थान, विकास र पतनको विषय उसको गुण र दोषमा अन्तरनीहित हुन्छ, बाह्य पक्ष त केवल सहयोगी मात्र हुन्छ । यसको अर्थ– कुनै पनि घटना परिघटनाका सन्दर्भमा कारण कारकत्व स्वयंमा अन्तरनीहित हुन्छ, स्वयंमा दोष र खोट खोज्नुपर्छ ।
परिस्थिति बिग्रिएपछि आफू पन्छिने उपाय खोज्ने, कसैलाई दोष दिने र अरूमाथि दोष थोपर्नेजस्ता कर्म गर्नु आमरूपमा हामी दक्षिण एशियाली बहुसंख्यक नागरिकको आदत हो । यो सर्वथा त्याज्य छ । संगठित वा असंगठित जसकसैले पनि घटनाका सन्दर्भमा गम्भीर आत्मआलोचना, गहिरो आत्मसमीक्षा र यसबाट निस्किएको निष्कर्षका साथ अघि बढ्न दृढ आत्मसंकल्प गर्नुपर्छ ।
जेन–जी कुनै राजनीतिक दल होइन । यो उमेर समूहका प्रिय भाइबहिनीहरू हाम्रा सन्तान हुन् । सन्तान हुनुको अर्थ आशा र भरोसा हुन् । शारीरिक विकास संरचनाका बंश र अंश हुन् । समाज विकासको आड र आधारस्रोत हुन् । केवल विरोध र विध्वंश होइन, बरू तिनीहरूले शासकीय भूमिकामा रहेका राजनीतिक दल र दलनिर्देशित निकायलाई सुध्रन राय सुझाइरहेका छन्, मौका दिइरहेका छन् ।
तिनका वस्तुगत अपेक्षालाई गम्भीरतापूर्वक सुनौं र तिनले प्राप्त गरेको योग्यतालाई समाज निर्माणमा प्रयोग गरौं !
स्वाभाविक छ– जेन–जी उमेर समूहका भाइबहिनीहरू हामी जत्तिकै परिपक्व नहुन सक्छन् । गलत मनसाय राख्नेले यसको भरपूर फाइदा उठाउँदै यो उमेर समूहमा बिचलन पैदा गर्न सक्छन् । कतिपयले अनावश्यक लोभ, मोह, प्रलोभनमा आदिमा पार्न सक्छन् । निश्चित उद्देश्य लिएर अघि बढेको उमेर समूहबाहिर घुषपैठ हुन सक्छ र भड्कावपूर्ण स्थिति निर्देशित गतिविधिमा सामेल गराइन सक्छन् । आफ्ना उत्तराधिकारीस“गको बाक्लो उठबसमा प्रशिक्षण गर्न र प्रशिक्षित रहन हामी अभिभावक स्वयं पनि यसबाट एकदमै सचेत बनौं !
हुन त जेन–जी समूहको आन्दोलनलाई प्रारम्भमा सरकार पक्षले कमजोर अथवा बालमनोविज्ञानका साथ बुझ्यो भने प्रतिपक्ष राजनीतिक दलहरूले सत्ता ढाल्ने दह्रिलो अस्त्रका रूपमा लिए । स्वयं जेन–जी समूहले हामीले चाहेको यस्तो होइन, शान्तिपूर्ण प्रदर्शन हो, व्यापक जनदवाव हो र आन्दोलन पनि हो भन्दै गर्दा यो समूहबाहिरका मानिसको बग्रेल्ती घुषपैठ, अनियन्त्रित गतिविधि र उत्ताउलो अभिव्यक्तिलाई पनि सहजै लिए ।
कुचोले बढार्नुपर्ने हावाले उडाए झन् जाति भन्ने अर्थमा लिए ।
भाइबहिनीले उचालेको ब्यानरमुनि उभिएर केही अवाञ्छित तत्वले ढुंगामुढा, तोडफोड, आगजनी आदि हुँदा पनि यसबारे आपत्ति, विरोध, निन्दा, भत्र्सना आदि केही गरेनन् बरू नैतिक समर्थन जनाए र ऐक्यबद्धता जाहेर गरे । जब परिस्थिति काबुबाहिर गयो र आफूअनुकूल भएन, दाउपेचका बीच राजनीतिक स्वार्थको रोटी सेक्न सकिने अवस्था भएन तब नानाथरिका तर्कहरू एकाएक बाहिरिन थाले । शान्त तलावमा छालउछाल ल्याउन खोजिए झैं भयो । प्रकारान्तरमाआएर समग्र वस्तुस्थिति र राजनीतिक परिस्थिति अत्यन्तै असहज, जटिल र असाधारण बन्यो ।
यससम्बन्धी गम्भीर आत्मआलोचना र गहिरो आत्मसमीक्षाको विषयका रूपमा अध्ययन गर्न सकिन्छ– राजनीतिक परिवर्तन र लोकतान्त्रिक व्यवस्थाको व्यवस्थापननमा अहोरात्र लडाइ“ लडेका हामी र हाम्रा उत्तराधिकारीहरू किन जेन–जी उमेर समूहको ब्यानरमुनि आबद्ध र एकाएक गोलबन्द हुने पुगे ? यहाँनेर प्रश्न उठ्छ– यो उमेर समूहका भाइबहिनीले उठाएको भ्रष्टाचारविरूद्धको अभियान र सुशासनको प्रवर्धन विषयक अभियान, प्रदर्शन र आन्दोलनलाई हामीले किन एउटा सरकार ढाल्न र फेरि अर्को सरकार बनाउनसम्मको अस्त्रका रूपमा बुझ्यौं ? बुझ्न जरूरी थियो ? किमार्थ थिएन । यससम्बन्धी नैतिक जवाफ हुनुपर्छ र दिनुपर्छ ।
यो पत्रलाई बिट मार्दै गर्दा अन्त्यमा के चाहिं हो भने यो पुस्ताले आफूले खर्चिएको समय, अर्जिएको प्रविधिमैत्री ज्ञान र प्राप्त व्यवस्थाअन्तर्गत स्वदेशमै आफ्नो भविष्य नियाल्न चाहेको छ । यो शक्तिमा मनग्यै देशभक्ति छ र राष्ट्रभक्ति पनि छ । कुनै आग्रह, पूर्वाग्रह र दूराग्रह बिना नै हामी जिम्मेवार सबैले यसलाई निशर्त मनन गर्न जरूरी छ ।
यसकारण म त भन्छु– भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धन उद्घोषसहित समाजको ठूलो हिस्सा ओगटेको यो पुस्ताको वस्तुगत अपेक्षालाई गम्भीरतापूर्वक बुझन् र सुन्नुपर्छ र तिनले प्राप्त गरेको योग्यतालाई समाज निर्माणमा प्रयोग गर्नुपर्छ । आशातीत यस्ता अप्रिय घटना श्रृंखलाहरू कहिल्यै नघटुन् भन्ने शर्तपूर्ण अर्थमा हामीले हृदयाङ्गम गर्नुपर्छ ।
समाज विकासको क्रमबाट कसैले कसैलाई पनि डिरेल (असफल) हुन दिनुहुँदैन । यसैमा हाम्रो पनि आश, अपेक्षा र सफलता अन्तरनीहित छ । धन्यवाद !
मोरङको पथरीबाट एउटा पीडित नागरिक सर्वसाधारण ...
(बाँस्कोटा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)
View : 397
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved