ग्रामथान । कोशी प्रदेशमा एक जना मात्रै गाउँपालिका प्रमुखको चुनाव हुन लागेको मोरङको ग्रामथानमा सबै राजनीतिक दलले सारा शक्ति खन्याएका छन् । प्रमुख राजनीतिक दलका उम्मेद्वार चुनावी जीतका बारे आशावादी देखिएका छन् ।
शुक्रबार र शनिबार गरी दुई दिनमा उद्घोष दैनिकले बहुसंख्यक उम्मेद्वारलाई चुनावी मैदानमै भेट गरेर कुराकानी गरेको छ । दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारहरुसम्मको चुनावी आत्मविश्वास ग्रामथानमा बलियो देखिएको छ ।
हामीले ग्रामथानको सिद्राहामा सबैभन्दा पहिले एमालेमा उम्मेदवार तुलसीराम विश्वासलाई भेटेका थियौं । एमाले नेताहरु जीवन घिमिरे, विनोद ढकाल तथा प्रदेशसभा सदस्य जयप्रकाश चौधरी अनि रंगेलीका मेयर दिलिप बगडियाका साथमा रहेका उम्मेदवार विश्वासले चुनावी आत्मविश्वास दर्शाउँदै भने ‘यसपटक एमालेका पक्षमा ग्रामथानमा जनलहर देखिएको छ । यसले हामीले चुनाव जित्ने आधार बलियो देखिएको छ ।’
एमालेप्रति जनताको आकर्षण हुनुको कारण के हो ? उद्घोषको यो प्रश्नमा एमाले उम्मेदवार विश्वासले भने ‘पहिलो कुरा त म युवा उम्मेदवार हुँ । यसबाहेक एमालेले अघि सारेका एजेन्डाहरु नै हामी बलियो हुने प्रमुख कारण हो ।’
उनका अनुसार एमालेले ग्रामथानमा मुख्य रुपमा कृषि क्षेत्रको विकास, सामुदायिक शिक्षाको गुणस्तर विकास र भौतिक विकासको एजेन्डा अघि सारेको उनले जानकारी दिए ।
‘म आफै पनि किसानको छोरा हुँ’, उनले भने ‘यहाँ किसानलाई मूलभूत रुपमा सिंचाईको समस्या छ । हामीले किसानलाई सहज रुपमा सिंचाइको सुविधा दिने वाचा गरेका छौं । त्यसबाहेक किसानका दैनिक समस्यालाई समाधान गर्ने लक्ष्य लिएका छौं ।’
यसैगरी ग्रामथानका सडक तथा पूर्वाधारको विकासका लागि आफूहरुले अलग्गै योजना बनाएको दाबी विश्वासले अघि सारे । उनले थपे ‘किसानका लागि बोरिङबाट सिंचाई अनि सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यममा लैजाने हाम्रो योजना रहेको छ ।’
सिद्राहाभन्दा केही किलोमिटर उत्तर पश्चिमको गिधनिया चोकमा भेटिएका थिए कांग्रेस उम्मेदवार बलराम सरदार । घरदैलो अभियानका क्रममा रहेका उनी ग्रामथानलाई मोरङको नमूना गाउँपालिका बनाउने भन्दै भोट मागिरहेको अवस्थामा भेटिए ।
उनलाई पनि हामीले सोध्यौं ‘तपाइँ पालिका अध्यक्षको निर्वाचनमा प्रतिस्पर्धा गर्दैगर्दा के एजेन्डा लिएर अघि बढ्नु भएको छ ? जवाफमा उनले भने ‘ग्रामथानको शैक्षिक अवस्था सुधार, यहाँको भौतिक विकास तथा ग्रामथानको पहिचान स्थापित गर्ने एजेन्डा लिएर हामी ग्रामथानबासीको घरदैलोमा पुगिरहेका छौं । यसक्रममा हामीले ज्यादै राम्रो रेस्पोन्स पनि पाएका छौं ।’
यसअघिको निर्वाचनमा कांग्रेसले जीत हासिल गरेको गाउँपालिकामा कांग्रेसकै उम्मेदवार के भनेर भोट माग्दैछ त ? यो प्रश्न अघि सार्दा सरदारको जवाफ थियो ‘यसअघिका उम्मेदवारको असमयमै निधन भयो ।
उहाँले अघि सारेका योजना पूरा गर्ने दायित्व हामीसँग छ । त्यसबाहेक यहाँको शैक्षिक सुधार, भौतिक विकास अनि गाउँपालिकाका पाका नागरिकलाई घरैमा सामाजिक सुरक्षा भत्ता पु¥याउने हाम्रो कार्यक्रम छ । जित हासिल भएको खण्डमा हामी यी कामहरु पूरा गर्न प्रतिबद्ध रहनेछौं ।’
सरदारले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नेदेखि हरेक नागरिकलाई घरैमा पुगेर उच्च रक्तचाप र मधुमेहको उपचार गर्ने योजना रहेको पनि सुनाए ।
एमाले र कांग्रेसका उम्मेदवारसँग कुराकानी गरिसकेपछि हामी ग्रामथान–५ को खदरातिर अघि बढ्यौं । ग्रामथान–५ मा पर्ने खदरा टोलमा माओवादीका उम्मेदवार नमोनारायण माझी घरदैलोमा थिए ।
उनीसँग कुरा सुरु गर्नासाथ उनले उद्घोष दैनिकले आफूलाई अनावश्यक रुपमा खेदेको आरोप लगाए ।
‘मैले वडाध्यक्षको उम्मेदवार निर्वाचन खर्च नबुझाएको भन्दै उद्घोषले समाचार बनाएछ’, उनले भने ‘त्यसरी लेख्नुको कुनै अर्थ छैन । मेरो झनै प्रचार भइरहेको छ ।’
अहिलेसम्म पालिकामा भइरहेका भ्रष्टाचार अन्त्य गर्न जनताले आफूलाई खोजेको उनको दाबी थियो । ‘यो देशमा माओवादी र प्रचण्ड बाहेक अरुको विकल्प छैन भन्ने जनताले थाहा पाइसके’, उनले भने ‘यहीकारण मेरो जीत निश्चित छ ।’
२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता पुगेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्म १०२ जना नयाँ मतदाता थपिएका छन् ।
नयाँ मतदाता संख्या अनुसार १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता कायम भएका छन् । ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएका छन् ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।
यसअघि अध्यक्ष जितेको कांग्रेस पुरानो गणितले पनि आफै बलियो रहेको दाबी गरिरहेको छ भने एमालेसहितका अन्य दलहरू भने २०७९ को गणितले केही अर्थ नराख्ने बताइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा ग्रामथानमा १६ जना उम्मेदवार कायम भएका छन् ।
उपनिर्वाचनका लागि एक स्वतन्त्र र विभिन्न दलका १५ जनाले उम्मेदवारी दिएका छन् । ग्रामथानमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास खवास उम्मेदवार छन् ।
त्यसैगरी नमनारायण चौधरी थारू–स्वतन्त्र, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारू, राप्रपा नेपालबाट राजु मुसहर, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारू, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी र जनता समाजवादी पार्टी, नेपालबाट सुरेशकुमार राजवंशीको उम्मेदवारीे परेको छ ।
View : 43
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved