Biratnagar, Morang, Nepal
३ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

जो संघीयता सबल बनाइरहेछन्- जहाँ समस्या, त्यहीं जनप्रतिनिधि

उद्‌घोष संवाददाता
२ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । मध्यरातमा लगातार बजेको मोबाइलको घण्टीले उनलाई ब्यूँझायो । आत्तिएको स्वरमा उताबाट कसैले भन्यो, ‘दाइ, भाइले मुसा मार्ने विष खाएछ, के गर्ने होला ?’ विराटनगर–८ का वडा सदस्य भुवनेश्वर राजवंशीलाई फोन गर्नेले भनेको कुरा यत्ति थियो । 

बाहिर मेघगर्जनसहित पानी परिरहेको थियो । मध्यरातको मौसमी प्रतिकूलतता भन्दा केहीबेर अघि आएको फोनको सन्देशले उनलाई घरभित्रै थुनिराख्न सकेन । 
एकैछिन बाहिर पुगेर आउँछु भन्दै छाता बोकेर उनी घरबाट निस्किए । 

त्यहाँ पुग्दा मुसाको विष खाएका एक जना किशोर अस्पताल नजाने आफूले मर्नकै लागि विष खाएको बताइरहेका थिए । केही समयअघिको घटना सम्झिंदै भुवनेश्वरले सुनाए ‘मैले क¥याकुरूक पारेर सिटीमा हालेर अस्पताल पुर्याएँ । बेलैमा उपचार पाएको त्यो भाइ अहिले स्वस्थ छ ।’ 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीन तहको सरकारमध्ये स्थानीय तहको पनि सबैभन्दा सानो इकाइ हो वडा । 

तिनै वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरूको पछिल्लो चार वर्षे अनुभव कस्तो रह्यो भन्ने बारे उद्घोषले खोज्ने प्रयास गरेको छ । त्यही प्रयासका क्रममा हामीले भुवनेश्वरलाई सोधेका थियौं ‘वडा  सदस्यका रूपमा कस्तो रह्यो तपाईंको चार वर्षे अनुभव ?’ त्यसक्रममा उनले अरू धेरै कुरा सुनाएका थिए । 

तर, माथिको यो एउटा घटनाले भने वडाका जनप्रतिनिधिहरूका लागि दिन होस् या रात, सधैं जनसेवाका लागि तम्तयार रहनुपर्ने दायित्व दर्शाउँछ । 

भुवनेश्वर एक्ला जनप्रतिनिधि होइनन्, जो जनताका प्रत्येक अप्ठ्यारामा साथ दिन हरपल तयार भएर बस्छन् । उनीहरूका प्रत्येक खुसीमा साथैमा रहेर हाँसिदिन तयार हुन्छन् । 

‘गाउँका सिंहदरबार’ सम्हालिरहेका देशभरीका स्थानीय तहका जनप्रतिनिधि नागरिकको सबैभन्दा नजिक उभिएका छन् । जनप्रतिनिधिहरूको चार वर्षे अनुभव सुन्ने क्रममा हामी केही दिन अघिको एउटा बिहान विराटनगर महानगरका एक जना वडाध्यक्षको घरमा पुगेका थियौं ।

त्यसबेला वडाका तीन जना सर्वसाधारण जग्गाको झगडा सम्बन्धि समस्या वडाध्यक्षलाई सुनाइरहेका थिए । वडाध्यक्ष ध्यानपूर्वक उनीहरूका कुरा सुनिरहेका थिए । 

त्यहीबीचमा वडाध्यक्ष पत्नी भने लगातार गुनासो गरिरहेकी थिइन् । 

‘हिजोदेखि भनेको पसलमा गएर चामल ल्याइदिनु भनेको, सुनेको होइन,’ पत्नीले यसो भनिरहँदा ती वडाध्यक्ष चाहिँ ‘उहाँहरूको काम सकेर ल्याइदिन्छु’ भन्दै थिए । 

उनीहरू बिदा भएर जान खोज्दाखोज्दै उद्घोष टोलीसँग गफिनुपर्ने भएपछि उनले छिमेकका एक जना भतिजलाई बोलाए । बाइकको चाबी हातमा थमाउँदै चामलको बोरा ल्याइदिन भने । 

यो दृश्यबारे लेख्न मिल्छ भनेर सोध्दा ती वडाध्यक्षले भने ‘दृश्य लेखे हुन्छ, मेरो नाम नलेख्दिनुहोला । फेरि वडाध्यक्षको घरमा चामलको कचकच रहेछ भन्ने किन पार्नु ?’ 

ती वडाध्यक्षका अनुसार बिहान  उज्यालो  नहुँदै कोही न कोही आफ्नो समस्या लिएर ढोका ढकढक्याउन आइसकेको हुन्छ । 

कोही वृद्ध भत्ता नपाएको गुनासो लिएर आउँछन् । कसैलाई नागरिकताको सिफारिस चाहिएको हुन्छ । कसैको छिमेकीसँग झगडा परेको हुन्छ । कसैको घरमा पानी पसेको हुन्छ । 

कसैको छोराछोरीको विद्यालयमा भर्ना हुन सकेको हुँदैन । कसैलाई अस्पताल पुग्न सहयोग चाहिएको हुन्छ । कहिले पारिवारिक झगडा मिलाउनुपर्छ । 

कहिले छिमेकीको विवाद । कहिले प्रहरीसम्म पुग्नुपर्छ । कहिले अस्पताल । कहिले जिल्ला प्रशासन कार्यालय । कहिले अदालत । 

कहिले कसैको घरमा विवाहको निम्तो मान्न पुग्नुपर्छ । अनि त्यही दिन कुनै घरमा मृत्यु भएको खबर आए मलामी पनि जानुपर्छ ।

‘स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो । संघीयताको वास्तविक अनुभूति सिंहदरबारको दूरी घटेर होइन, नागरिकले आफ्नो टोलमै राज्यको प्रतिनिधि भेट्न पाउँदा हुने हो,’ राजनीतिशास्त्रका अध्येता उज्जवल प्रसाईंले भने ‘त्यसैले वडाको जनप्रतिनिधि कागजमा हस्ताक्षर गर्ने व्यक्ति मात्रै होइन । ऊ राज्य र नागरिकबीचको सबैभन्दा नजिकको पुल हो ।’ 

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने जनताको काम गर्दा प्राप्त हुने सन्तुष्टिलाई आफ्नो राजनीतिक यात्राको सबैभन्दा ठूलो कमाइ मान्छन् । 

‘दिनरात नभनी जनताकै काम गर्दा मिल्ने सन्तुष्टि आनन्ददायी हुन्छ,’ उनी भन्छन् । यद्यपि  उनको स्मृतिमा एउटा तीतो अध्याय पनि छ । जेनजी आन्दोलनका क्रममा वडा कार्यालय जल्यो । 

त्यो दिन नेउपानेलाई भवन जलेको मात्रै लागेन । जनताको आफ्नै ठाउँ जलेको महसुस भयो । ‘वडा कार्यालय भनेको जनताको आफ्नो सम्पत्ति हो,’ उनी भन्छन्, ‘त्यसैले त्यो घटना निकै नमिठो लाग्यो ।’

यसबीचमा हामीले विराटनगर –१ का काजीबहादुर बस्नेतदेखि वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेसहित सबै वडाध्यक्ष र बहुसंख्यक सदस्यहरूलाई भेटेका छौं । वडाध्यक्षहरूलाई सोधेको एउटा साझा प्रश्न थियो ‘वडाको जनप्रतिनिधि हुँदाको सुखदुःख के रहेछ ?’ 

विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेलको जवाफ रोचक थियो । उनले भने ‘जनताको दुःखको समय हुँदैन, हाम्रो पनि कुनै समय हुँदैन । ७ दिन २४ घण्टा जतिबेला पनि तयार भएर बस्नुपर्ने सामान्य दुःख हो । तर, हाम्रो कारणले जब वडावासीले खुसी महसुस गर्छन्, त्यसबेला सबैभन्दा धेरै आनन्द लाग्छ ।’ 

विराटनगर ३ का बासुबहादुर बस्नेत, वडा नम्बर ४ का जितन थापा, वडा नम्बर ५ का सन्तोष न्यौपाने, वडा नम्बर ६ का हरिशचन्द्र सहनी, वडा नम्बर ७ का मधुबाबु तिवारी हुँदै ८ का राम पोखरेल, सबैको अनुभव र दैनिकी लगभग उस्तै छ । 

जनप्रतिनिधिहरूको आ–आफ्नै भूगोल छ । कसैको वडा बाक्लो बस्ती भएको छ । कसैको वडा विस्तारिंदो सहरसँग जोडिएको छ । कतै डुबान ठूलो समस्या छ । कतै सडक र ढल । कतै भूमिसम्बन्धी विवाद । कतै सामाजिक तथा आर्थिक रूपमा कमजोर परिवारका समस्या । 

‘हाम्रो वडाहरूको समस्या फरक भए पनि जनप्रतिनिधिको जिम्मेवारीको मुख्य मर्म एकै खालको छ,’ विराटनगर ९ का वडाध्यक्ष विश्वनाथप्रसाद भगतले भने ‘वडावासीलाई कम्तीमा वडाका प्रतिनिधि हाम्रा लागि छन् भन्ने महसुस हुने गरी काम गर्ने प्रयासमा हामी हुन्छौं ।’ 

विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरी स्थानीय तहको जनप्रतिनिधि नागरिकको जन्मदेखि मृत्युसम्मको हरेक क्षणमा साथैमा रहने बताउँछन् । 

विराटनगर १२ का अध्यक्ष हिरालाल कामत हुन् वा १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतोको भनाइ गिरीको जस्तै छ । 

‘हामी नै सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका हर कुरामा साथैमा हुन्छौं,’ वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश साहले भने । 

हामीसँग यो कुरा गर्नुअघिसम्म साह आफ्नै कार्यकक्षमा एउटा पारिवारिक झगडा मिलाएर तिनलाई बिदा गरेका थिए । 

१६ का अध्यक्ष उद्धवकुमार भुजेलका अनुसार कुनै घरमा मृत्यु भयो भने सबैभन्दा पहिले पुग्नेहरूमध्ये वडाका जनप्रतिनिधि हुन्छन् । 

‘विवाह भयो भने निम्तोमा पुग्छौं, बच्चा जन्मियो भने बधाई दिन पनि जान्छौं,’ उनले भने ‘घरआँगनको सरकार हुनुको राम्रो कुरा नै यही हो ।’

 विराटनगर ९ का वडा नम्बर १७ का समिम कमर मियाँ र  वडा नम्बर १८ का जीतेन्द्रकुमार साहको अनुभव उनीहरूको भन्दा फरक छैन । 

‘वडावासीको हरेक कुरामा उपस्थित हुँदाहुँदै पनि विरोधीहरूले अनेक गरेर दुःख दिन चाहिँ खोज्दारहेछन्,’ १८ का अध्यक्ष साहको गुनासो छ ‘तर, जसका लागि मरिमेट्ने हो उनीहरू खुसी हुँदा आनन्द लाग्छ ।’

दिनको ८ घण्टा कार्यालयमा बसेर सकिने जागिर होइन भन्नेमा बहुसंख्यक जनप्रतिनिधि प्रष्ट छन् । 

‘शनिबार, बिदा, चाडपर्व, बिहान, साँझ वा मध्यरात, नागरिकको समस्या जहाँ र जुन बेला आउँछ, त्यही बेला जनप्रतिनिधिको जिम्मेवारी सुरू हुनेरहेछ,’ वडा नम्बर ८ की सदस्य पवित्रा विश्वकर्माले भनिन् ।

अध्येता प्रसाईं संघीयता बलियो बनाउने सबैभन्दा इमान्दार भएर लाग्ने नै स्थानीय तहका प्रतिनिधि हुन् । 

‘अपवाद सबैतिर हुन्छ तर मुख्यतः संघीयता स्थानीय तहका प्रतिनिधिले बलियो तुल्याइरहेका छन्,’ उनले भने ‘राज्य नागरिकको घरदैलोसम्म आइपुगेको अनुभूति हो । 

सिंहदरबारमा बसेको सरकारको अनुहार नागरिकले सधैं देख्दैन । प्रदेश सरकारको दूरी पनि सबै नागरिकका लागि समान रूपमा सहज छैन । तर वडा अध्यक्षलाई नागरिकले आफ्नै टोलमा देख्छ । चोकमा देख्छ । बजारमा देख्छ । अस्पतालमा देख्छ । मलामीमा भेट्छ ।’ 

त्यसो त विराटनगरका वडाका यी जनप्रतिनिधिहरू संघीयताबारे भाषण दिइरहेका हुृन्नन् । बरू आफ्नै व्यवहारबाट यसको अर्थ भने बुझाइरहेका भेटिन्छन् । 

कसैको जन्मदर्ता गराएर, कसैको झगडा मिलाएर, कसैलाई अस्पताल पु¥याएर यो कर्म उनीहरू चुपचाप पूरा गरिरहेका छन् ।

View : 49

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved