Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

भीडको उन्माद र मतको यथार्थ

राजनीति अन्ततः जिम्मेवारीको परीक्षा हो। बिवाहको दिनको भिडले कथा बनाउँछ, तर दुलन फर्काउने दिनको साथले भविष्य तय गर्छ।
१८ माघ २०८२, आइतवार

बिवाहको दिन बेहुलाबेहुली हेर्न आफन्त, शुभचिन्तक, छिमेकी र पाउनासम्मको ठूलो भीड लाग्छ। त्यो भीड घरको आँगनदेखि गल्ली, चोक र सडकसम्म फैलिन्छ। उत्साह, ताली, कौतुहल र हल्लाले माहोल भरिन्छ। तर बिवाह सकिएपछि आउने परम्परागत ‘दुलन फर्काउने’ दिन दृश्य फेरिन्छ।

त्यो दिन रमाइलो हेर्न आएका हुँदैनन्, जिम्मेवारी बोक्ने सीमित मानिस मात्र साथमा हुन्छन्। यही नेपाली समाजको सामान्य तर गहिरो यथार्थ हो। आजको नेपाली राजनीतिमा पनि यही उपमा अक्षरशः लागू हुन्छ ।

विशेषतः काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहको उम्मेदवारी, उनको देश यात्रा र त्यसले सिर्जना गरेको भिडको सन्दर्भमा।

 

बालेन साह जहाँ–जहाँ पुग्छन्, त्यहाँ भिड देखिन्छ। युवाको ताली, नाराबाजी, मोबाइलका क्यामेरा, सामाजिक सञ्जालका लाइभ र रील—सबैले मिलेर एउटा ‘लहर’ को आभास दिन्छ। समर्थकहरूले यसलाई जनताको अपार समर्थनको प्रमाण ठान्छन्। तर राजनीति दृश्यको खेल होइन, परिणामको खेल हो।

चुनाव भिडले होइन, मतपेटिकाको गणनाले जितिन्छ। यही बिन्दुमा बालेन साहको देश यात्रालाई भावनात्मक उत्साहबाट होइन, कठोर राजनीतिक यथार्थबाट मूल्यांकन गर्नुपर्छ।

नेपालको चुनावी इतिहास निर्दयी छ। यहाँ पटक–पटक यस्तो भएको छ—सभा भरिभराउ, सडकमा उत्साह, सामाजिक सञ्जालमा ट्रेन्ड; तर परिणामको दिन मतगणनामा सन्नाटा।

२०६४ को संविधानसभा निर्वाचनमा देखिएको परिवर्तनको उभार, २०७४ मा नयाँ शक्तिको चर्चा, २०७९ मा स्वतन्त्र उम्मेदवारहरूको ‘लहर’—यी सबैका साझा विशेषता थिए: उत्साह धेरै, संरचना कमजोर। अन्ततः पुरानै शक्ति बलियो भएर फर्कियो। इतिहासले यही भन्छ—लहर टिक्दैन, संगठन टिक्छ।

बालेन साहको राजनीतिक उदय पनि यही विरोधाभासको बीचमा उभिएको छ। काठमाडौं महानगरको मेयरका रूपमा उनले परम्परागत राजनीतिलाई असहज बनाउने निर्णयहरू गरे।

फुटपाथ, नक्सा पास, कर प्रणाली, सार्वजनिक स्थान—सबै क्षेत्रमा उनले हस्तक्षेपकारी भूमिका खेले। यसले उनलाई ‘स्टाटस को’ तोड्ने नेताको छवि दियो। तर राष्ट्रिय राजनीति महानगरको प्रशासनभन्दा धेरै जटिल छ। यहाँ निर्णयभन्दा पहिले संगठन, गठबन्धन र शक्ति सन्तुलन आउँछ।

यहाँ अर्को पात्र प्रवेश गर्छ—केपी शर्मा ओली। नेपाली राजनीतिमा ओलीको नाम केवल पद र कार्यकालसँग सीमित छैन, उनको नामसँग एउटा स्पष्ट राजनीतिक विरासत जोडिएको छ।

समर्थक र आलोचक दुवैले स्वीकार गर्नुपर्ने केही ऐतिहासिक तथ्य छन्। २०७२ सालमा संविधान जारी भएलगत्तै भारत–नेपाल सीमा क्षेत्रमा देखिएको अघोषित नाकाबन्दीको समयमा ओलीले लिएको कडा अडानले उनलाई जनस्तरमा फरक उचाइमा पुर्‍यायो। पेट्रोल, ग्यास र औषधिको अभावले देश आक्रान्त हुँदा पनि उनले ‘कुनै पनि दबाबमा राष्ट्रिय स्वाधीनता साटिन्न’ भन्ने सन्देश दिए।

वैकल्पिक आपूर्ति मार्गको खोजी, चीनसँग पारवहन सम्झौताका पहल र भारतमाथिको निर्भरता घटाउने इच्छाशक्तिले ओलीलाई ‘नाकाबन्दीका विरुद्ध उभिएको प्रधानमन्त्री’ को छवि दिलायो। यही क्षणबाट उनका लागि राष्ट्रवाद नारा मात्र होइन, राजनीतिक पहिचान बन्यो।

भदौ २३–२४ को जेनेजी आन्दोलनका बेला केपी शर्मा ओली सरकार प्रमुख थिए। बन्द सामाजिक सञ्जाल खोलिनु, सुशासनको स्थापना, भ्रष्टाचार र दण्डहीनताको अन्त्य तथा स्वदेशमै रोजगारीको माग गर्दै माइतीघर मण्डलामा सुरु भएको आन्दोलन प्रारम्भमा शान्तिपूर्ण थियो। तर प्रदर्शन निषेधित क्षेत्र बानेश्वरतर्फ बढ्दा अवस्था तनावग्रस्त र हिंसात्मक बन्दै गयो।

भदौ २३ को घटनाक्रममा १९ युवाको ज्यान गएकोले देशमा गहिरो शोक र स्तब्धता फैलियो। यही घटनालाई बहाना बनाउँदै भदौ २४ मा काठमाडौँमा हिंसात्मक गतिविधि फैलियो, जसमा संसद भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री र नेता निवास, अदालत र प्रहरी कार्यालयहरू, सरकारी तथा पार्टी कार्यालयहरू, व्यापारिक प्रतिष्ठान, मिडिया हाउस र निजी घरहरू सबै निशाना बने।

आगजनी, तोडफोड र लुटपाटले आन्दोलनलाई अझ जटिल बनायो। संवेदनशील समयमा सरकार प्रमुख संवाद र समाधानभन्दा बाहिर, राजीनामा बुझाएर सेनाको जहाजमार्फत सुरक्षित स्थानमा जानु राजनीतिक रूपमा कमजोर र विवादास्पद सन्देश बन्यो, जसले नेतृत्वप्रति विश्वासमा गहिरो प्रश्न खडा गर्‍यो र राज्य–युवा सम्बन्धमा दूरी अझ स्पष्ट गरिदियो।

इतिहासमा यस्ता क्षणहरू नेताको विरासत बदल्ने मोड हुन्छन्। २०४६ को आन्दोलनमा दरबार मौन रहँदा राजसंस्थाको नैतिक आधार कमजोर भयो। २०६२/६३ मा सडकले जित्दा सत्ता केन्द्र चुप लाग्दा पुराना संरचना ढले।

भदौ २३–२४ को आन्दोलनले त्यस्तो स्तरको परिवर्तन नल्याए पनि यसले पुस्तालाई स्पष्ट सन्देश दियो—पुराना नेताहरू संकटमा पनि पुरानै शैली दोहोर्‍याउँछन्।

झापा–५ मा केपी शर्मा ओली र बालेन साहबीचको सम्भावित प्रतिस्पर्धा केवल दुई व्यक्तिको चुनाव होइन, दुई समयको टकराव हो। एकातिर अनुभव, संगठन, इतिहास र चुनाव जित्ने कला बोकेको ओली। अर्कोतिर प्रतीक, असन्तोष र परिवर्तनको चाहना बोकेको बालेन।

ओलीलाई थाहा छ—चुनाव कसरी जितिन्छ। बालेनलाई थाहा छ—भीड कसरी तानिन्छ। प्रश्न यही हो—भीड कसरी मतमा बदलिन्छ?

बालेन साहको देश यात्रा अहिले विवाहको दिनको भिडजस्तै छ। मानिस हेर्न आएका छन्—को हो, के बोल्छ, कति फरक छ। ताली बज्छ, फोटो खिचिन्छ, भिडियो बन्छ। तर यही भिडलाई मतदान केन्द्रसम्म पुर्‍याउने रणनीति अहिलेसम्म स्पष्ट देखिँदैन।

नेपालमा चुनाव जित्न संगठन चाहिन्छ—टोल, गाउँ, वडा, कार्यकर्ता, मतदानको दिनको व्यवस्थापन। सामाजिक सञ्जालको समर्थन मतपेटिकामा आफैं खस्दैन।

जेनेजी यहाँ निर्णायक देखिन्छ। यही पुस्ताले बालेनलाई उचाल्यो, यही पुस्ताले ओलीको कमजोरी औँल्यायो। तर यही पुस्ता मतदानमा कति जिम्मेवार हुन्छ? विगतले देखाएको छ—जेनेजी आन्दोलनमा अग्रपंक्तिमा हुन्छ, तर मतदानमा अनुपस्थित।

यदि यो पटक पनि त्यही दोहोरियो भने, बालेनको भिड इतिहासमा फोटो र भिडियोका रूपमा मात्र बाँकी रहनेछ।

राजनीति अन्ततः जिम्मेवारीको परीक्षा हो। बिवाहको दिनको भिडले कथा बनाउँछ, तर दुलन फर्काउने दिनको साथले भविष्य तय गर्छ।

ओलीले इतिहासमा केही निर्णायक क्षण जिते, तर जेनेजी आन्दोलनको बेला देखिएको पलायन उनको कमजोर अध्याय बन्यो। बालेन आज भिडको बीचमा छन्, तर भोलि त्यो भिड मतमा बद्लिन्छ कि छैन, त्यहीँबाट उनको राजनीतिक मूल्यांकन हुनेछ।

आजको प्रश्न कठोर तर अपरिहार्य छ—यो भिड परिवर्तनको बीउ हो कि फेरि अर्को एक क्षणिक उन्माद? इतिहास उत्तर कुर्दैन, उसले परिणाम मात्र लेख्छ।

pleasedgroup@gmail.com

 

View : 495

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved