Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

यात्रा संस्मरण

मुक्तिनाथदेखि उपल्लो मुस्ताङसम्म

लोमाथाङबाट फकिंदै गर्दा त्यो विकट बाटोमा केही विदेशी पर्यटकहरु हातमा दुईवटा लठ्ठी र पिठ्यूमा सानो झोला बोकेर पैदल फर्किंदै गरेको भेटिएका थिए । अर्काको देशमा आएर यिनीहरुले देखाएको आँट र शाहसको सम्मान गर्नुपर्छ ।
२७ साउन २०८२, मङ्गलवार

कोरोला नाका मुस्ताङमा लेखकलगायत

विक्रम सम्वत् २०८२ सालको जेठ महिनाको पहिलो साता हामी दुबै जना केही समय काठमाडौंमै बस्ने गरी त्यतातिर लागेका थियौं । विराटनगरको तातो वातावरण र बढ्दो गर्मीको तुलनामा काठमाडौं केही चिसो र सुखद भए पनि गर्मी मौसमको प्रकोप काठमाडौंमा पनि देखियो । बदलिंदो तापक्रमको प्रभावले सधैं चिसो रहने काठमाडौंलाई पनि असर गरेको अनुभव भइरह्यो ।

यस पटकको काठमाडौंको बसाईको क्रममा हाम्रो पारिवारिक समूह मुस्ताङको मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङसम्म जाने विचारमा सहमत भयो । छोरा सुवासको परिवारबाट चार, भाइ दामोदरको परिवारबाट छोरीसमेत तीन र हामी दुई जनासमेत जम्मा नौ जनाको समूह बन्यो । जेठ १० गते शनिबारका दिन काठमाडौंबाट पोखरासम्म छोरा र भाइका दुबै निजी गाडीबाट पोखरा प्रस्थान गरियो । पोखरासम्मको बाटो त्यति नराम्रो होइन । तर पनि कतिपय ठाउँमा छिटपुट बिग्रेको तथा मर्मत कार्यसमेत हुँदै गरेको पाइयो । नेपालका अधिकांश बाटाहरुको यो नियमित प्रक्रिया नै हो ।

 यता श्रीमतीजीको सो यात्रामा जाने विषयमा उत्पन्न दोधोरे मनले भने सुरुमा यात्रामा जाने निर्णयमा पुग्न निक्के कठिन पनि भयो । झण्डै पा“च हजार मिटरको उचाई जान हामी ज्येष्ठ नागरिकलाई असहज होला भन्ने चिन्ता उनीमा हुनु स्वाभाविक पनि थियो । तर पनि भाइ र छोराको भरोसामा हामी जान तयार भएका थियौं । 

काठमाडौंबाट प्रस्थान गरेको दिन पोखरामा एउटा होटलको वास भयो । पोखरासम्मको बाटोको निर्माण र मर्मतको काम अब चाहिं टुङ्गिन लागेको पाइयो । मुङ्ग्लिन–पोखराको  बाटो निर्माण कार्य सकिएपछि भने यातायात निकै सहुलियतपूर्ण हुने कुरा पनि देखियो । समयको वचत त हुने नै भयो । काठमाडौं–पोखरा मात्र दुई सय किलोमिटरको बाटो हाल ६ देखि ७ घण्टा लाग्दै आएको छ । जबकि यति दुरीको बाटो अन्तर्राष्ट्रिय मान्यता अनुसार दुईदेखि ३ घण्टा मात्र लाग्नु पर्ने हो । 

दोस्रो दिन पोखराबाट अगाडी बढ्दा एउटा सानो गाडी पोखरामै छाडियो भने अर्को सानो गाडी र थप एउटा फोरह्विल भाडाको गाडी लिएर अगाडी बढेका थियौं । उक्त दिन पोखराबाट जोमसोम अर्थात् मुक्तिनाथसम्म पुग्नु पर्ने योजना थियो । त्यताको बाटो पनि सामान्य नै हो । पहाडी मार्ग भएको र एकोहोरो बाटो हुँदा होसियारीका साथ यात्रा अगाडी बढाइयो । बेलुकी झण्डै साँझसम्म हाम्रो टाली मुक्तिनाथ छेउ कालीगण्डकी किनारमा पितृ स्मरण गर्दै तर्पण दिने कार्य सम्पन्न गरियो । लगत्तै त्यहाँबाट ठाडो उकालो बाटो हुँदै मुक्तिनाथ मन्दिर छेउको बस विसौनीसम्म पुगियो ।

मन्दिरको फेदिसम्म गाडीमा गए पनि त्यसपछि झण्डै दुई किलोमिटर बाटो उकालो र सिंढी चढेर जानु पर्ने रहेछ । हाम्रो समूहका केटाकेटी एवं उमेद्वारहरुले बाटोलाई त्यति असहज नमाने पनि हामी दुई जना ज्येष्ठ नागरिकलाई भने अलिक कठिन भएको थियो । समय लगाएर विस्तारै मन्दिरसम्म पुगियो । ठाउँ रमाइलो रहेछ ।


मुक्तिनाथ मन्दिर परिसरको उचाई ३७०० मिटर भन्दा माथि रहेको भन्ने जानकारी भयो । उक्त स्थानको वरीपरी चारैतिर बोटविरुवा वनस्पतिको पातलो उपस्थिति रहेका पाइयो । उचाईमा अक्सिजनको कमीका कारण सास फेर्न कठिनाई हुने हुँदा हतार नगरी विस्तारै उकालो चढेमा सहज हुने पनि जानकारी भयो । पूर्व हल्ला र अरुको चेतावनीले पनि यात्रुलाई भयभित गराउने रहेछ । हामी स्वयं भने त्यहाँ पनि विस्तारै उकालो चढ्ने हुँदा खासै समस्या भएको थाहा भएन । आ–आफ्नो शारीरिक अवस्था अनुसार विस्तारै अलि समय दिएर अगाडी बढेमा समस्या नहुने रहेछ भन्ने अनुभव गरियो । 
 

एउटा भनाई के रहेको छ भने ‘देउता र पैसा सजिलो ठाउँमा बस्दैनन् ।’ त्यसै अनुरूप मुक्तिनाथको दर्शनार्थ हामीलगायत सबै कति दुख गरेर त्यस ठाउँमा पुगेका थियौं । मुक्तिनाथ मन्दिरमा भगवान विष्णुको दक्षिण भारतीय नमूनाको मूर्ति रहेको छ भने मन्दिर पुजारी स्थानीय बौद्ध धर्मावलम्वी समुदायका व्यक्ति रहेको पाइयो । मन्दिर प्राङ्गणमा रहेका साना–साना आकारमा रहेका पानीका कुण्ड र एकसय आठ, धारामा नुहाउने कार्य त्यहाँ जाने भक्तजनहरुबाट भएको पाइयो । मन्दिरको सिंढीसम्म बन्दै गरेको मोटरबाटो र सिंढीमा जडान गर्दै गरेको रेलिङको काम पूर्ण भएपछि यात्रुलाई अझै सहज हुने देखिन्छ । 

 मुक्तिनाथ मन्दिरको पूजाआजा औपचारिक काम सकेलगत्तै तल झरेर खाना खाएपछि हाम्रो टोली माथिल्लो मुस्ताङका लागि प्रस्थान गरेको थियो ।

अब यताबाट लगेको एउटा सानो गाडी त्यहाँबाट फर्किएर मार्फा आइबस्ने भयो । भाडाको गाडीले सात जना भन्दा बढी यात्रु नबोक्ने भएपछि नाती सम्मान बाबुलाई पनि सानो गाडी र ड्राइभरसँगै मार्फा बस्न पठाइयो । भाडाको फोरह्विल गाडीमा अब दामू, शर्मिला ओजस्वी, हामी दुई र सुवास, श्रृजना र नातिनी साइसा मात्र जाने भयौं । 

बाटो फेरि कागबेनी झरेर कालीगण्डकीको तिरैतिर उत्तरतिर लाग्यो । त्यसपछि कालोपत्रे बाटो सकिएर कच्ची ग्राभेल बाटो जानु पर्ने रहेछ । हेर्न अत्यन्त सुन्दर दृश्यावलोकन । काली  गण्डकी किनारका चट्टानहरु हावापानीले हजारौं हजार वर्षदेखि घोप्टिएर मूर्तिको आकारमा देखिंदा रहेछन् । मूर्ति पनि दर्शकले कल्पना गरे अनुसार हेर्न मिल्ने रहेछ । यात्रुहरु आफूले कल्पना गरेअनुसारका देवी देवताका रुपमा यी चट्टानलाई नियाल्दै अगाडि बढ्न पाउने हुँदा उत्साहित देखिंदा रहेछन् भन्ने लागिरह्यो । 

अब यात्रुले कालीगण्डकीको किनार छाडेर पहाडको उचाईतर्फ लाग्नुपर्ने भयो । नदीमा रहेको अन्तिम पुल पार गरेपछि हाम्रो बाटो उत्तरपूर्वतिर लागेको थियो । बाटो ठाउँ–ठाउँ निकै उकालो र रुखपात वनस्पति बिनाको भएको हुँदा उराठलाग्दो रहेछ । बाटोमा मानव बस्ती शून्य बराबर । केही केही शेर्पाहरुका पातला वस्ती छन् । बाटोका सबै वस्तीमा होटल सञ्चालित पाइए । होटल भन्दा पनि त्यतातिरका सडक छेउका सबै घरलाई घरवास (होम स्टे) भन्दा उपयुक्त होला जस्तो लाग्यो ।

 घरका सबै सदस्य सोही घरमा पस्ने र आउने पाहुनालाई स्थानीय परिकार बनाएर खुवाउने र वासको व्यवस्था  गर्ने रहेछन् । मानिसहरु वडो  भद्र, वोलीचाली मिठोे, पाहुनालाई आत्मीय व्यवहार गर्ने कुरा सारे मननीय लाग्यो । 
बाटोमा पर्ने सराङ भन्ने सानो वस्तीबाट दामोदर  कुण्डतिर पनि बाटो जाँदो रहेछ । उक्त बस्ती नै दामोदर कुण्ड गाउँपालिका अन्तर्गत पर्ने रहेछ । हाम्रो योजनामा उक्त कुण्ड नपरेको हुँदा त्यतातिर  लागिएन, उक्त स्थान र बाटोकोे भूवनोटको कुरा गर्दा त्यालाका पहाडहरुमा माटोको मात्रा कम र ढुंगा ग्याग्रान बन्ने भएको पाइयो । कालीगण्डकी छाडेपछि रुख चट्यान र बनस्पति एकदम कम हुँदै गएका हुन् ।

३००० मिटरभन्दा माथिको उचाईमा रहेको उक्त स्थानमा मसिना घाँस बुट्यानको पनि प्रचुरता पाइएन । मानिसले पाल्ने पक्षमा अधिकांश ठाउँमा च्याङ्ग्राका बथानवाहेक अरु देखिएन । कतै कतै लेकाली साना गाईहरु फाट्ट फुट्ट देखिन्थे । डाँडा पाखामा चरनको अभावको कारणले पनि होला जस्तो लग्यो । 

पहाडको ठाउँठाउँ खोल्सी परेको ठाउँमा पानी बगेको पाइयो । तर, पानी पनि प्रचूर मात्रामा देखिएन । पाखामा देखिएका पातला वुट्यानहरुमा तिनै च्याङ्ग्राको बथान चर्दै देखिन्थे । समग्रमा हेर्दा यो ठाउँलाई उचाईको मरुभूमि भन्दा फरक नपर्ने जस्तो लाग्यो । कहींकहीं  पानीका मुहान पनि भेटिन्छन् तर जमिनमा माटोको अंश थोरै मात्र देखिन्छ ।  

ढुङ्ग्यान र गेग्रयानबाट  बनेको यहाँको भू–धरातल आर्थिक, उत्पाजनको हिसाबले उत्पादनमूलक पटक्कै देखिएन । तिब्बती पठारस“ग जोडिएको नेपालको यो भाग पनि उच्च पहाडी क्षेत्रको पठार जस्तै देखिन्छ । जाँदै गर्दा हाम्रो समूह वेलुकी झण्डै ५ बजेतिर चीनको सिमाभन्दा झण्डै २०–२५ किलोमिटर वारितिरको लोमाथाङ भन्ने वस्तीमा वास बस्न पुगेको थियो । त्योे वस्ती त्यस क्षेत्रको निकै पुरानो रहेछ । चीनको सीमा क्षेत्रको यो अन्तिम वस्ती पनि रहेछ । पर्यटकहरु बस्न मिल्ने यो नै अन्तिम वस्ती पनि हो ।

लोमाथाङ भन्ने ठाउँ मुस्ताङ्गी राजा जिम्मे परबर विष्टको दरबार भएको मुस्ताङको राजधानी पनि रहेछ । नेपाली बाहेकका विदेशी पर्यटकहरु कम मात्र जाने यो वस्ती नै नेपालतिरको अन्तिम वस्ती पनि हो । यस ठाउँको हेर्ने लायक सोही मुस्ताङ्गी राजाको दरबार रहेछ । यहाँ भन्दा अगाडि जान विदेशीलाई निकै कडाई गरिने भएको र विदेशीले भ्रमण शुल्क पनि धेरै तिर्नु पर्ने हुँदा विदेशी पर्यटकको अन्तिम बिन्दु पनि लोमाथाङ नै हो । तेस्रो देशका नागरिकले लोमाथाङ भन्दा अगाडि जान डलर ५०० तिर्नुपर्ने रहेछ । लोमाथाङसम्म विदेशी पर्यटक राम्रै संख्यामा देखिए पनि सो भन्दा माथि भने कोही भेटिएनन् । हामी भने त्यस साँझको वास लोमाथाङ वस्ती बसेका थियौं । 

भोलिपल्ट बिहानै मुस्ताङी राजा जिग्मे परवर विष्टको राजदरवार हेर्ने काम गरियो । दरवार ढुंगा, माटो र काठले बनेका परम्परागत ढाँचाको रहेछ  धेरै पुरानो र सुरक्षाको आधारमा होला दरवारभित्र जान रोक रहेछ । उक्त दरवार प्रयोगबिहीन रहेको छ भन्ने परवर विष्ट परिवार पनि त्यस ठाउँमा बसोबास गर्दैनन् । उक्त दरवारकै छेउमा एउटा नयाँ बनेको विश्रामगृह र विद्यालय जस्तो आधुनिक भवन पनि देखियो । उक्त भवन आधुनिक ढाँचामा बनेको रहेछ भने भारत सरकारको सहयोगले बनेको भन्ने जानकारी पाइयो । चीनको सीमा नजिकै भारतले के उद्देश्यले लगानी गरेको भन्ने कौतुहल भने लागि रह्यो । 

भोलिपल्ट लोमाथाङको सरसर्ती भ्रमण गरेर हाम्रो यात्रा टोली त्यहाँबाट करिब २०–२५ किलोमिटर उत्तरतर्फ चीनको सीमा क्षेत्र अर्थात् कोरोेला नाकाको लागि प्रस्थान र गरेको थियो । त्यता पनि वाटोमा एकाध साना बस्ती देखिए ।  उक्त बाटोमा रहेको नेपाली सुरक्षा पोष्टका सशस्त्र प्रहरीले सोधपुछ गरेपछि सुरक्षित यात्राका लागि सुझाव दिएका थिए । कोरोला नाका ४६०० मिटरभन्दा उचाईंमा रहेको पनि जानकारी पाइयो । 

श्वास प्रश्वासमा समस्या हुन सक्ने बारे सशस्त्र प्रहरीबाट पनि सचेत गराइएको थियो । कोरोला नाका पुग्दा हिमश्रृङ्खला नजिकै देखिएका थिए । हिउँ चुचुरा त्यति नजिकवाट नदेखेको हामी साच्चै अचम्ममा परका  थियौं । ठूला भवनहरु रहेका र त्यहाँ सीमा सुरक्षा र सीमा प्रशासन रहेको जानकारी पाइयो । नेपालतर्फ भने खाली जमिन मात्र थियो, कुनै संरचना देखिएन ।

सिमानामा भएकी जंगेखम्बाको ओरोपरी उभिएर फोटो खिच्ने काम भयो । यताबाट जाने अरु यात्रा समूह पनि फोटो खिच्ने काममा व्यस्त देखिन्थे । उक्त सीमा क्षेत्रमा तिब्बततिरबाट आएका ब्यापारीहरुले ल्याएका केही सामानहरु किनबेच हुँदो रहेछ ।  


यात्रुहरुले हेर्ने र किन्ने काम पनि गरेको देखियो । उक्त ठाउँमा बढी समय विताउँदा चिसो हावाले खुल्ला भागमा कालो दाग बस्ने र श्वास–प्रश्वासको समस्या हुने हुँदा हामी पनि फर्किने हतारी गर्न थाल्यौं । हाम्रोमा मलगायत अरु कोहीलाई हातका औलाहरु झम्झमाउने भएको पाइयो । नाकाको उक्त ठाउँ दुबैतिरसम्म परेको रमणीय देखिन्थ्यो । उक्त नाका क्षेत्रमा झण्डै एक घण्टा बस्दा हामीमध्ये कसैलाई हातका औला झमझमाउने बाहेक अरु समस्या देखा परेन । तर, पनि सुरक्षाको दृष्टिकोणले उक्त स्थानमा धेरैबेर बस्नु उपयुक्त हुँदैन भन्ने बुझेर हामी छिटो त्यहाँबाट फर्किएका थियौैं । 

अब त्यसै दिन हाम्रो टोली सोही बाटो हुँदै मुस्ताङको तल्लो छेउ मार्फा आई पुगेको थियो । त्यस ठाउँमा हाम्रो एउटा सानो गाडी नाति सम्मान र चालक केशव पर्खी बसेका थिए । मार्फामा लाग्ने चिसो सिरेटो र भर्खर लाग्दै गरेका स्याउका चिचिल्ला हेर्दै हामी भोलिपल्ट पोखरा आइपुगेका थियौं । 

यसरी २०८२ साल जेष्ठको १० गतेबाट शुरु भएको हाम्रो माथिल्लो मुस्ताङ यात्रा जेठको १५ गते काठमाडांै आई पुगेपछि समाप्त भएको थियो । उच्च पहाडी क्षेत्रमा देखिएका बोटविरुवा राहतका नाङ्गा डाँडाहरुमा लाग्न सक्ने खालका वनस्पति लगाउन सरकार र नयाँ पुस्तालाई आग्रह गर्न उपयुक्त लागेको छ । नयाँ खोज अनुसन्धान गरेर यी डा“डाहरु हराभरा बनाउनु आवश्यक छ भन्ने लागेको छ । यसका साथै सरकारले यो नाकासमेत खोल्न चीनसँग कूटनीतिक पहल गरेमा त्यस क्षेत्रको विकास हुने र राष्ट्रको समृद्धिमा सहयोग पुग्नेछ ।

लोमाथाङबाट फकिंदै गर्दा त्यो विकट बाटोमा केही विदेशी पर्यटकहरु हातमा दुईवटा लठ्ठी र पिठ्यूमा सानो झोला बोकेर पैदल फर्किंदै गरेको भेटिएका थिए । अर्काको देशमा आएर यिनीहरुले देखाएको आँट र शाहसको सम्मान गर्नुपर्छ । त्यसै शिलशिलामा एकजना जापानी पर्यटक ठिटोलाई नाति सम्मानले आफ्नै गाडीमा लिफ्ट दिएर केही परसम्म ल्याइदिएको विषय पनि रमाइलो रहेको थियो । 

View : 514

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved