मर्नुअघि बादलसँग घोडसवारी प्रशिक्षण लिने तयारीमा वृक्षारोपण अभियन्ता पारुल क्षेत्री । तस्वीर सौजन्य : पारुल
विराटनगर । जसै रात पर्दै थियो, साउने झरीको झझल्को आउने गरी पानी पर्न सुरु भयो । आकाशमा बादल रित्तिएको थिएन तर छोरा सुल्तानसँगै गन्तव्यतर्फ लम्किएको बादल नाम गरेको घोडाको भने मंगलबार राति सडकमै जीवन सकियो ।
विराटनगरको एयरपोर्टमोडमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट बादलको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार, बादलको जिउ हेर्दा सानोतिनो ठक्करबाटै उसको ज्यान नजानुपर्ने हो ।
रात पनि छिप्पिन थालेको, पानी पनि परिरहेको बेलामा घोडाले ट्राफिक नियम पालना नगर्दा र मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । दुर्घटनामा मानवीय क्षति नभए पनि एउटा पशुधनको क्षति भएको छ ।
बादललाई ठक्कर दिने मोटरसाइकल चालक विराटनगर–३ निवासी ३१ वर्षीय अमित झा गम्भीर घाइते भएका छन् । झाले चलाएको मोटरसाइकल बादलको छातीमा ठोकिएको थियो । ठोकिएपछि एकातर्फ घोडा अर्कोतर्फ मोटरसाइकल र झा लडेका थिए । घाइते झालाई राति नै उपचारका लागि नोबेल शिक्षण अस्पताल लगियो । अस्पतालमा उनको आईसीयूमा उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।
घोडा बादलको घटनास्थलमै मृत्यु हुँदा उसको छोरा सुल्तान पनि सँगै थियो । ऊ संयोगले ठक्करबाट जोगियो । तर बाबुको मृत्यु आफ्नै आँखाले देखेकाले ऊ अहिले शोकाकुल अवस्थामा छ । मालिकले दिएको खाना खाएको छैन ।
सडकमा चौपाया छाड्न पाइँदैन । दुर्घटना भए चौपायाको क्षतिपूर्ति दिने कानुनी ब्यवस्था छैन । बरु चौपायाले मानिसलाई घाइते बनाए उपचार खर्च चौपायाधनीले बेहोर्नुपर्ने हुन सक्छ ।
घटना विवरणअनुसार, मंगलबार बेलुका लाखेनाच थियो । बाँधेर राखेका दुईमध्ये सुल्तान डराएर भागेपछि बादल पनि छोराको पछि लागेको थियो । सुल्तान उफ्रिएर सडकको डिभाइडर पार गर्दा बादल पछाडि नै थियो । त्यही बेला मोटरसाइकलसँग ऊ ठोकिन पुगेको हो ।
बादल घोडा विराटनगरको सडकमा कसरी आयो, यसको जायजन्म कहाँ भएको हो मानिसले स्वभाविक चासो राखेका छन् । घोडालाई सवारीको रुपमा प्रयोग गर्ने चलन विराटनगरमा नभएको अवस्थामा यो देखिएको हो ।
यसपालिको विराटनगरको रथयात्रामा बादल घोडा सहभागी हुने पक्का गरिएको थियो । इलाम फाकफोकथुम–७ घर भई विराटनगर–३ मा होटल व्यवसाय गर्दै आएका रविन कार्कीले ५ महिनाअघि झापाको बिर्तामोडबाट दुई वटा बाबुछोरा घोडा ११ लाखमा खरिद गरेर ल्याएका थिए । घोडा ल्याउनुको उद्देश्य विराटनगरमा हुने बिहेमा बेहुला चढाउनु थियो ।
आर्थिक मन्दीले होटेल नचलेका बेला घोडाबाट केही आम्दानी हुने आशामा उनले विराटनगरमा यो व्यवसाय थालेका थिए । यहाँ हुने बिहेमा भारतबाट महंगो मूल्य तिरेर भाडामा घोडा ल्याउने चलन छ । कतिपयले एउटा बिहेमा ८० हजार रुपैयाँसम्म तिरेर ल्याउने गरेका छन् । कार्कीले थोरै रकम लिएर बिहेमा घोडा भाडामा दिने सोचका साथ घोडा र घोडामा चढ्न चाहनेलाई तालिम दिंदै थिए ।
विराटनगरमा धार्मिक कार्यमा आवश्यक पर्दा भाडामा घोडा प्रयोग गर्ने र घोडसवारीको प्रशिक्षण पनि दिने उद्देश्यले कार्कीले घोडामा लगानी गरेको बताए । एयरपोर्ट मोडमा घोडा चढेर फोटो खिच्न चाहने ब्यक्तिबाट बादलले एक सय रुपैयाँका दरले कमाउन पनि थालेका थिए । फोटो खिचाएर कमाएको रकमले बादल र सुल्तानलाई दाना खान पुग्थ्यो ।
घोडसवारीका एक ग्राहक हुन् विराटनगरका वृक्षारोपण–अभियन्ता, पारुल क्षेत्री । उनले सोमबार र मंगलबार दुई दिन बादललाई गुरु मानेर सवारी सिक्ने मौका पाए ।
‘दुई दिन तालिम लिएपछि तेस्रो दिन मेरो तालिम भएन, बरु बादलको मलामी जानु पर्यो’ क्षेत्रीले भने– ‘बादलको शव एक रात सडकमा रह्यो, नगरपालिकाको डोजर बोलाएर बिहीबार उठाइयो ।’ बादललाई सिंघिया खोलाको घाटमा लगेर अन्तिम संस्कार गरिएको उनले बताए ।
View : 260
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved