Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बीपीको उपकुलपति बन्न १३ जनाको प्रतिस्पर्धा

राजनीतिक नियुक्ति र आर्थिक अनियमितताले थिलथिलो बनेको प्रतिष्ठान सबल र इमान्दार नेतृत्वको प्रतीक्षामा छ ।
उद्‌घोष संवाददाता
१३ असार २०८२, शुक्रवार

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति पाउन दाबेदारहरूको दौडधुप उच्च भएको छ । अहिलेका उपकुलपति डा ज्ञानेन्द्र गिरीको पदावधि समाप्त भएपछि बीपी प्रतिष्ठान नयाँ उपकुलपतिको प्रतीक्षामा छ । 

सरकारले उपकुलपतिका लागि सातदिने आवेदन आह्वान गर्दा १३ जनाले आवेदन दिएका छन् । प्रतिष्ठानको उपकुलपतिका लागि नाम सिफारिस समितिले आकांक्षीहरूको सूची सार्वजनिक गरेको छ ।  

अघिल्लो बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरूलाई आवेदन पेश गर्न सार्वजनिक सूचना आह्वान गरेको थियो । 

सिफारिश समितिले दिएको जानकारी अनुसार मुलुकका ४ वटा प्रतिष्ठानमा उपकुलपतिका लागि नाम माग भएको थियो । ४ पदका लागि कूल ५५ जनाको आवेदन परेको छ । 

बीपी प्रतिष्ठान धरानको उपकुलपतिका लागि अहिले सोही पदमा रहेका डा ज्ञानेन्द्र गिरी, हालका रेक्टर प्राडा सन्जीवकुमार शर्मा, पूर्व मेडिकल डाइरेक्टर प्राडा गौरीशंकर शाह, पूर्व कामु उपकुलपति प्राडा प्रल्हाद कार्की, प्रतिष्ठानकै नाक कान घाँटी रोग विभाग प्रमुख प्राडा संगीतासिंह भण्डारी, हाडजोर्नी विभागका प्राडा पशुपति चौधरी, पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेल लगायतले आवेदन दिएका छन् ।

त्यसैगरी १२ औं तहका अतिरिक्त सचिव प्राडा कृष्णकुमार राई, विराट मेडिकल कलेजमा कार्यरत सर्जन प्राडा रोहितप्रसाद यादव, पूर्व रेक्टर प्राडा विक्रमप्रसाद श्रेष्ठ, प्राडा विष्णुप्रसाद शर्मा, मुटुरोग विशेषज्ञ डा रामेश कोइराला तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा लक्ष्मीनारायण यादवले आवेदन दिएका छन् । 

कोशी प्रदेशकै सबैभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठान मानिने बीपीमा राजनीतिक खिचातानी तीव्र हुँदै आएको छ । 

सत्तारूढ दलहरूको कार्यकर्ता भर्ती केन्द्रसमेत बनिसकेको बीपी प्रतिष्ठान आर्थिक रूपले पनि कमजोर बन्दै गएका बेला इमान्दार छविको नेतृत्व ल्याउनु पर्ने माग उच्च छ । 

यद्यपि राजनीतिक नियुक्तिबाट जो कोही आउन सक्ने सम्भावना हुँदा प्रतिष्ठानका कर्मचारीहरू चिन्तित पनि छन् । 

बीपीका धेरैजसो उपकुलपतिहरू आर्थिक अनियमितता तथा अन्य विवादमा पर्दै आएका छन् । 

बलभद्र दास यही विवादले विगतमा बर्खास्तगीमा परेका थिए भने राजकुमार रौनियार ८ लाख रूपैयाँ घूस लिएको भनेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘स्टिङ अप्रेशन’ मा समातेको थियो । 

उनी पछि डा ज्ञानेन्द्र गिरी उपकुलपति बनेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जोडबलमा धरानको उपकुलपति बनेका विराटनगरका गिरी पद सम्हालेको डेढ वर्ष नबित्दै पाउँदै नपाएको पद ‘प्राध्यापक’ भिरेको भनेर कारवाहीमा पर्दा  निलम्बनमा परेका थिए । यद्यपि गिरीले सफाइ पाइसकेका छन् । 

बीपी प्रतिष्ठानकै कार्डियोलोजी विभागका प्रह्लाद कार्की  कायममुकायम उपकुलपति हुँदा सात वर्षदेखि चिकित्सक शिक्षक र १५ वर्षदेखि रोकिएको कर्मचारी बढुवा प्रक्रियालाई रोकेको आरोप खेपेर उनी पनि विवादमुक्त रहन सकेनन् ।  

अदालतबाट सफाइ पाएर फेरि उपकुलपतिमै पुनःबहाली भएर आएका ज्ञानेन्द्र गिरी शिक्षाध्यक्ष सञ्जीव शर्मा र रजिष्ट्रार सूर्य संग्रौलासँग तालमेल मिलाउन नसक्दा विवादित बनिरहेका छन् । 

अहिले उपकुलपतिको होडमा रहेका सञ्जीवकुमार शर्मा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्यातिप्राप्त मानिन्छन् । उनी मुटु, मिर्गौैला र सर्पदंशको उपचारका विज्ञ हुन् । 

लामो समयदेखि प्रतिष्ठानमै कार्यरत शर्मालाई नेकपा एमाले सम्बद्ध भएको आरोप लाग्दै आएको छ । 

प्रतिष्ठानभित्र भने उनलाई कुशल प्राध्यापक, प्रख्यात अनुसन्धानकर्ता, लोकप्रिय चिकित्सक, अन्तर्राष्ट्रिय सम्बन्ध गास्न र दातृ निकायसँग अनुदानमा मेडिकल उपकरण मागेर ल्याउन सक्ने दक्ष व्यक्तित्वको रूपमा लिने गरिन्छ ।

उनी नेतृत्वको सामुदायिक संस्थामार्फत पूर्वका अधिकांश जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने, घरघर पुगेर निःशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

उपकुलपति बन्ने दौड रहेकी संगीता राजभण्डारी राजनीतिक रूपमा कांग्रेस निकट मानिन्छन् । उनलाई उपकुलपति भीसी बनाउन शेखर कोइराला, आरजु राणासहितका नेताहरूको जोडबल छ ।

राजनीतिक आवरण कांग्रेसको भए पनि उनलाई राजावादी भएको आरोप लाग्दै आएको छ ।

यो आरोप त्यतिबेला झनै चुलिएको थियो, जब उनले राप्रपा महामन्त्री धवलशमशेरलाई जाँच नै नगरी दिल्ली उपचारका लागि जान सिफारिश दिएकी थिइन् । उनकै सिफारिशका आधारमा अदालतले धवल शमशेरलाई थुनामुक्त गरेर उपचारका लागि दिल्ली जान भनेको थियो । 

चैत १५ मा काठमाडौंमा भएको राजावादी  आन्दोलनका एक जना अगुवा धवल शम्शेरलाई छुटाउन वीपी प्रतिष्ठानको सिफारिश दुरूपयोग गरेको आरोप उनीमाथि लागेको थियो । 

हाल प्रतिष्ठानको नाक, कान, घाँटी विभागकी विभागीय प्रमुख र प्रतिष्ठानकै कार्यकारिणी समिति सदस्य रहेकी उनी  यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भइसकेकी व्यक्ति हुन् । 

उनले दुवै प्रतिष्ठानमा उपकुलपति हुँदा विवादै विवादमा समय बिताएकी थिइन् । उनीविरूद्ध आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ ।

यसैगरी प्रतिष्ठानमा एक कार्यकाल अस्पताल निर्देशक, एक कार्यकाल कायममुकायम उपकुलपति चलाइसकेका प्रह्लाद कार्र्की अर्की दाबेदार संगीताका पतिसमेत हुन् । 

कांग्रेससँग आबद्ध उनी बीपी प्रतिष्ठानको मेडिसिन विभागमा लामो समय विभागीय प्रमुख भएर बसेका थिए ।

कार्डियोलोजिस्टको रूपमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रामेश कोइराला पनि प्रतिष्ठानको उपकुलपति बन्न मैदानमा उत्रेका छन् ।

गगन थापा गुटका कांग्रेससँग आबद्ध कोइराला स्पष्ट विचार राख्न सक्ने, कुशल चिकित्सकका रूपमा चिनिए पनि प्रशासनिक जिम्मेवारीको अनुभव नभएका, आलोचना पचाउन नसक्ने र चिकित्सा शैक्षिक क्षेत्रमा राम्रो अनुभव नभइकनै प्राध्यापक भएको स्रोतको भनाइ छ । 

लामो समयदेखि बीपी प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख रहेर विवादरहित रहेका प्राडा विक्रमप्रसाद श्रेष्ठ उपकुलपतिको दौडमा रहेका अर्का पात्र हुन् ।

प्रतिष्ठानको एक कार्यकाल शिक्षाध्यक्ष भएर कुशलतापूर्वक कार्यकाल सम्पन्न गरेका श्रेष्ठलाई हाडजोर्र्नी क्षेत्रमा कुशल चिकित्सकको रूपमा चिन्ने गरिन्छ ।

अर्कँ आकांक्षी हुन् निवर्तमान स्वास्थ्य सचिव डा रोशन पोखरेल । 

मन्त्रालयमा उनको पदावधि सकिएकाले प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा उनी पनि सामेल भएका छन् । मानसिक रोगका चर्चित डाक्टर पोखरेल विराटनगरकै बासिन्दा हुन् । 

उनले स्वास्थ्य सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । स्रोतका अनुसार स्वास्थ्यमन्त्री प्रदीप पौडेल पोखरेललाई भीसी बनाउने चाहनामा छन् । तर, पछिल्लो समय चर्केको कुलिङ पिरियडको बहसले पोखरेलको सम्भावना के हुने भन्ने अन्योल बढाएको छ । 

स्वास्थ्य मन्त्रालयले बनाएको गाइडलाइन अनुसार प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्ने प्रावधान रहेको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अनुसार २०५० सालमा स्थापित स्वास्थ्य प्रतिष्ठान हो । यहाँ एमबीबीएस, बीडीएस तहदेखि चिकित्साशास्त्रको स्नातकोत्तर तह एमडी, डीएम, एमएस र एमसीएच हुँदै विद्यावारिधिसम्मको पठनपाठन, अनुसन्धान हुने गरेको छ । 

दैनिक ४ हजारभन्दा बढी संख्यामा विरामी आउने अस्पतालमा १५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

View : 653

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved