श्रावण महिना हिन्दू तथा बौद्ध दुवै धर्मावलम्वीहरुको लागि महत्वपूर्ण धार्मिक महिना हो । आ–आफ्नो आस्था अनुसार हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु स्वयम्भू, पशुपतिनाथ तथा अन्य विभिन्न धार्मिक केन्द्रहरुमा गई धार्मिक अनुष्ठान तथा उपासनाका कार्यक्रम गरी पर्व मनाउने गर्दछन् । यस संक्षिप्त लेखमा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व गुंला पर्वबारे प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
स्वयम्भू महापुराणमा उल्लेख भए अनुसार प्राचीन कालमा काठमाडौ जसलाई नेपाःगाः भन्ने गरिन्थ्यो एउटा विशाल दह थियो । यस दहमा विपश्वी बुद्धले कमलको पुष्पबीज आरोपण गर्नुभएको थियो । उक्त पुष्पबीजबाट उत्पन्न भएको कमलको फूलमाथि धर्मधातु ज्योतिरुप स्वयम्भू उत्पन्न भएपछि महाचीनबाट महामञ्जुश्री उहाँका अर्धाङ्गिनीहरु बरदा र मोक्षदासहित आउनु भई ज्योतिरुप स्वयम्भूको दर्शन गर्नुभयो । तत्पश्चात चोभारको
दायाँ बायाँको डाँडोमा एकातिर बरदा र अर्कोतिर मोक्षदालाई राखी आफ्नो खड्गले बीचको पहाड काटी सो दहको पानी बाहिर पठाई त्यस दहलाई सुकाई महामञ्जुश्रीले मञ्जुपत्तन नगरको रुपमा बिकास गर्नुभयो । कालान्तरमा गोश्रृङ्गपर्वतको आडमा रहेको स्वयम्भूचैत्यको ज्योतिरुप (जुन विपश्वी तथागतले बीजारोपण गर्नुभएको कमलको फूलबाट उत्पन्न भएको थियो) लाई चैत्याकारमा परिणत गर्न गौड देशका राजा प्रचण्डदेबले गुणाकर नामका गुरुसँग उपसम्पदा ग्रहण गरी शान्तश्री भिक्षु बन्नुभयो र तत्पश्चात् पुनः उहाँ गुरुसँगै बज्राचार्याभिषेक ग्रहण गरी शान्तिकराचार्य नामले प्रसिद्ध हुनुभयो । बज्राचार्यभिषेक ग्रहण गरिसकेपछि गुरुको आज्ञा लिई शान्तिकराचार्यले ज्योतिरुप धर्मधातु स्वयम्भूलाई चैत्याकारमा परिणत गर्नुभयो ।
शान्तिस्वस्ति गर्नका लागि शान्तिकराचार्यले समस्त देशबासीलाई चैत्यको महिमा सँगसँगै अतिवृष्टि उपद्रवबाट बच्न महोत्सवको रुपमा अवलोकितेश्वर बुद्ध, बोधिसत्वहरुको पूजाआजा गर्ने, दुर्भिक्ष नहोस् भन्नाका लागि प्रणिधानको रुपमा भावभक्ति गर्नका लागि साँस्कृतिक बाजागाजा धाः (गुंला बाजं) बजाउने, स्तोत्र, नामसंगीति तोत्र पाठ गर्ने गराइएको भनाई छ ।
यसरी स्वयम्भू चैत्य निर्माण महामञ्जुश्रीले चोभारको डा“डो काटी दहको पानी बाहिर निकाश गरी बसाल्नुभएको मञ्जुपत्तन नगर अहिलेको राजधानी सहर काठमाडौ हो । यहाँ स्वयम्भू महाचैत्यदेखि सोहीसँग सम्बन्धित धर्मलाई स्वीकार गर्ने बौद्धमार्गी आदिवासीहरुले गुंलाथ्वः पारु अर्थात श्रावण शुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म बौद्ध नेवारहरुले दानधर्मको महीनाको रुपमा हालसम्म गुंला पर्वलाई आफ्नो महत्वपूर्ण साँस्कृतिक पहिचान बनाई प्रत्येक वर्ष धुमधामका साथ निरन्तर रुपमा मनाउँदै आएका छन् ।
नेवार संस्कृतिमा यस पर्बको बिशेष महत्व छ । गठेमंगलको पर्बसंगै नेवार चाडपर्ब शुरु हुन्छ भनिएता पनि यो पर्वको शुरुवातसँगै चाडपर्वको क्रम माला गाँसिएझै विभिन्न चाडपर्वहरु गाँसिएर आउँछन् । यस क्रममा यस महीनाभर भक्तजन दिनहूं विभिन्न तीर्थमा गई स्नान गर्ने, गुंला बाजं बजाई चैत्य बिहारहरुको परिक्रमा गर्ने, भजन कीर्तन तथा नामसंगीति स्तोत्र पाठ गर्ने, नवव्याकरण पाठ गर्ने, धुम्रपान मद्यपान ग्रहण नगरी सम्यक जीवनयापन गर्ने, व्रत बस्ने आदि गर्दछन् ।
वर्ष दिनलाई चारवटा युगमा विभाजित गर्ने हो भने यो महिनामा कलियुग पर्न आउँछ भनिएको छ । कलियुगमा पापकर्म र मारको बिगबिगी बढ्ने हुनाले यसको दोष निवारण गर्नका लागि पनि गुंलाभरि दानधर्म गर्नुपर्ने भनाई छ । मूलतः यस महिनामा गर्मी बढेर बर्षा भइरहने हुँदा प्राकृतिक प्रकोप हुने रोगब्याधि बढ्ने शरीर आलस्य हुने खाद्यान्नको अभाव हुने हुन्छ । यसकारण यस्तो अवस्थामा दानधर्म गरेर दोष निवारण गर्नु नै गुंला धर्म हो ।
गुंलाको परिभाषा बारे विभिन्न विद्वानहरुको विभिन्न मत पाइन्छ । यस महिनामा नौवटा ग्रन्थ नवव्याकरण पाठ गर्ने चलन छ । यी नव ग्रन्थ हुन् ः प्रज्ञापारमिता, ललितविस्तर, लंकाबतार,सुवर्णप्रभास, गण्डब्युह, सद्धर्मपुण्डरीक, दशभूमि, तथागत गुह्यक र समाधिराज । यसरी नौवटा ग्रन्थ पाठ गर्ने महिना भएकोले गुंला भनिएको भन्ने पनि एक थरीको भनाइ छ ।
अर्को थरीको भनाई अनुसार गुं (जंगल) मा बस्ने भगवानलाई पूजा गर्ने ला (महीना) भएकोले गुंला भन्ने गरिएको हो । यहाँ जंगलमा बस्ने भगवान भनी मुख्य रुपमा श्री स्वयम्भू भगवानलाई इंगित गरिएको छ भने यस बेला च्वबहाः (चोभार?) को जंगलमा अबस्थित करुणामयको पनि बिशेष पूजा गरिन्छ । गुंलामा नै नौवटा चाडपर्व नागपञ्चमी, न्यकु जात्रा, गुंपुन्ही, सापारु, मतया, निसलाछाय, पंजरा, बुबाको मुख हेर्ने, गुंला पारु पर्ने भएकोले पनि गुंला भनिएको भनाइ पनि नभएको होइन ।
जे भए पनि यो महिना प्रमुख रुपमा दान धर्म गर्ने महिना नै हो । गुंला महिनालाई गोपालराज वंशावलीमा र नेसं ५६० को यक्ष मल्लको पशुपतिको शिलालेखमा ‘गुणीला’ अर्थात गुणकारी महिना भनी उल्लेख गरिएको छ । तत्पश्चात् ने.सं. ८०० अघिपछिका तमसुक कागजातमा ‘गुणिरा’ लेखिएको छ । यसरी हेर्दा दानधर्म गर्न उपयुक्त अर्थात गुणी ला (महिना) भन्ने गरिएको र पछि ‘गुणीला’ बाट ‘गुंला’ शब्द निर्माण भएको हो । नेपाल सम्वत अनुसार यो नवौ नभई दशौं महिनामा पर्ने हुनाले यसलाई सम्वत्का आधारमा गुंला भएको भन्ने कसैकसैको भनाइमा आधार नभएको देखिन्छ ।
गुंला धर्मको संस्थागत शुरुवात बारे भाषा वंशाबलीमा विक्रमदेव राजाले नेपालमा बौद्धमार्गीहरुलाई श्रावण शुक्ल प्रतिपदादेखि महीनाभर बौद्ध यात्रा बहा बही (बिहारहरु)मा भगवानको दर्शन गर्न जाने चलन चलाएको भनी उल्लेख गरिएको छ । उक्त वंशावलीका अनुसार चैत्य प्रदक्षिणा गरेर परम्परागत बाजा बजाउँदै नामसंगीति पाठ गरेमा पुण्य सत्धर्म प्राप्त हुने र नरक भोग गरेको आत्माको समेत उद्वार हुने सर्वज्ञमित्रावदानमा उल्लेख छ ।
परम्परागत बाजा बजाउँदै चैत्यसेवा गर्ने प्रसङ्ग बृष जन्मावदानमा समेत उल्लेख छ । अर्को कथन अनुसार ललितपुरमा न्येकु जात्रा बालार्चनदेवको पालादेखि शुरु भएको भनिएको छ । यसरी नै पाटनका राजा सिद्धिनरसिंहको शासनकालमा एकपटक गुंलाको समयमा भयानक रोगब्याधको महामारी फैलिएकोले यस रोगको निवारणका लागि के गर्दा ठीक हुन्छ भनी ज्योतिष रराजगुरुहरुसँग जिज्ञाशा राख्दा शास्त्रीय संगीतको साथ गुंला बाजं (वाद्य) बादन गरी देश परिक्रमा गरे हुन्छ भन्ने सल्लाह प्राप्त भएकोले राजा सिद्धिनरसिंह मल्लले न्येकु बजाउने गुंला बाजं बजाउने चलन चलाएको कथन इतिहासमा उल्लेख भएको पाइन्छ ।
संस्कृतिविद मदनसेन बज्राचार्यको भनाइ अनुसार नेसं ४९२ मा स्वयम्भूको पुननिर्माण हुनुभन्दा अगाडि ‘गु“चोस देबलस बिज्याक अतिरस देबगणया सभा दयेकावरे’ भन्ने गीतमा न्येकु बजाउने चलनको वर्णन उल्लेख भएकोले गुंलामा न्येकु बजाई गुंला बाजा बजाई स्वयम्भू परिक्रमा गर्नजाने परम्परा ६०० वर्षभन्दा धेरै अघिदेखि शुरु भैसकेको स्पष्ट हुन्छ तापनि ठ्याक्कै यसैबेला शुरु भएको भनी अकाट्य प्रमाण भने हालसम्म पनि प्राप्त हुन सकेको छैन ।
शुरुका समयमा नेकु (राँगाको सिंगबाट निर्मित) बाजा बजाउने चलनलाई हाल आधुनिक बाजाहरुको संमिश्रणमा परिमार्जित गरी अझ भब्य रुपमा प्रस्तुत गर्ने गरिएको पाइन्छ । नेकु बाजाको सम्बन्ध शशीपट्टन नगरका राजा सिंहकेतुको पूनर्जन्म र गुंला पर्वसँंग रहेको इतिहासमा उल्लेख भएको पाइन्छ ।
श्रृंगभेरी अवदानमा वर्णन गरिए अनुसार शिकार मन पराउने राजा सिंहकेतुका अहिंसावादी रानी हुन्छन् । दुई जनाको विपरित स्वभाभका बाबजुद पनि परस्परमा तिनीहरुको अत्यन्त प्रेम हुन्छ ।
मृत्यु पश्चात संयोगवशराजा तथा रानी दुबैको एउटा व्राम्हणको कूलमा जन्म हुन्छ । कन्याको रुपमा जन्मेकी रानी रुपवती तथा शीलस्वभावकी धनी हुन्छे । राजा भने त्यही घरमा पाडो भएर जन्मेका हुन्छन् । कालान्तरमा पाडो भएर जन्मेकाराजालाई अहिंशावादी रानीले पूर्वजन्मको आफ्नो पति भनेर चिनेपछि मृत्यु पश्चात् उद्धार गर्छिन् । बोधिसत्वका सुझाव अनुसार पाडो भएर जन्म लिएका सिंहकेतुलाई मृत्यु पश्चात चैत्य बनाएर परम्परागत नेकु बजाउँदै एक्काइस दिनसम्म प्रार्थना गरेपछि सो साधनाको प्रभावले पापमोचन भई फेरि मानव भई जन्म लिएको भनाइ छ ।
सोही समयदेखि गुंला पर्वमा नेवार समुदायले मरेका व्यक्तिको आत्माको शान्तिको कामना गर्दै यी परम्परागत बाजा बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्ने चलन अद्यापि निरन्तर चल्दै आएको छ । गुंला पर्बभित्र पर्ने अन्य धार्मिक तथा सा“स्कृतिकपर्बहरुमा पञ्जराको आफ्नै बिशेषता छ । श्रावण शुक्ल अष्टमीका दिन यल पञ्चदान भनी बिभिन्न बिहार,चैत्य तथा दानशालामा त्रेतायुगमा दीपंकर तथागतले आज्ञा गर्नु भए अनुसार दानफल तथा पुण्य प्राप्तीका लागि बज्राचार्य तथा शाक्य भिक्षुहरुलाई पंचबृही, धान्य, फलफूल, पक्वान्न, द्रब्य, लवण आदि दैनन्दिनका आबश्यकताका बस्तुहरु दान दिनेको भीड हुन्छ । यस दिन गुंला धलं भनी अष्टमीको ब्रतपूजा पनि गर्ने गरिन्छ ।
गुंपुन्हि (श्रावण शुक्ल पूर्णिमा) यस पर्बभित्रको महत्वपूर्ण चाड हो । भाद्र कृष्ण प्रतिपदाका दिन गैर बौद्धहरुले मृतकहरुको स्मृतिमा गाईजात्रा निकाल्छन् । गाईजात्राजस्तै गरी बौद्ध नेवारहरुले नेकु जात्रा र मतया गर्छन् । भगवान बुद्धले स्कन्धमार तथा काममारप्रति विजय हाँसिल गरेको खुशीयालीमा मतया (दीपयात्रा) निकालिन्छ । यस दिन आआफ्ना ठाउँका संपूर्ण चैत्य तथा मठ मन्दिर बिहारहरु परिक्रमा गरी बिभिन्न बस्तुहरु चढाउँदै दीप प्रज्वलन गरिन्छ ।
( यो लेख विभिन्न विद्वानहरुको पत्रपत्रिका तथा पुस्तकहरुमा प्रकाशित सन्दर्भ सामग्रीको आधारमा तयार पारिएको हो ।)
View : 670
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved