Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पाथीभराको केवलकार विवाद फेरि चर्किने संकेत, संरक्षणकर्मीले दिए आन्दोलनको चेतावनी

पाँच वर्षदेखि चलिरहेको विरोध टुंगिएको छैन, आयोजना अघि बढाए पुनः संघर्षमा उत्रिने समितिको घोषणा
उद्‌घोष संवाददाता
३ मंसिर २०८३, बिहिवार

विराटनगर । कोशी पहाडको ताप्लेजुङस्थित  मुकुमलुङ (पाथीभरा) मा केवलकार निर्माणको विरोधमा चल्दै आएको आन्दोलन फेरि चर्किने संकेत देखिएको छ । 

आयोजना खारेज गर्नुपर्ने माग राख्दै आएको मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले निर्माण प्रक्रिया अघि बढाइए पुनः संघर्षमा उत्रिने चेतावनी दिएको छ । 

धनकुटामा मंगलबार पत्रकार सम्मेलन गरी समितिले केवलकार आयोजना रद्द गर्न सरकारसँग माग गरेको हो । 

मुकुमलुङको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचान जोगाउनुपर्ने भन्दै समितिले आन्दोलनका क्रममा भएका घटनाको छानबिन र पीडितलाई न्याय दिन पनि माग गरेको छ । 

समितिका अनुसार केवलकार निर्माणको विरोधमा उत्रिएका समुदाय र अभियन्तामाथि विभिन्न समयमा आक्रमण, गोली प्रहार र मुद्दा लगाउने काम भएको छ । त्यस्ता घटनामा संलग्नलाई कारबाही गर्न, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता लिन तथा घाइतेको उपचार र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने उसको माग छ ।  आयोजनासम्बन्धी विवाद अध्ययन गर्न सरकारले गठन गरेको सात सदस्यीय कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि समितिले अघि सारेको छ । 

आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले असार ४ गते सचिवस्तरीय निर्णयबाट गठन भएको कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । प्रतिवेदनमा कानुन उल्लंघन, भ्रष्टाचार र अधिकार दुरुपयोगका विषय समेटिएको जानकारी आएको भन्दै उनले त्यसका निष्कर्ष र सिफारिस कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिले नौबुँदे माग सार्वजनिक गर्दै निर्माण प्रक्रियामा कानुन उल्लंघन र फर्जी कागजात तयार पारिएको विषयमा छानबिन गर्न पनि माग गरेको छ । 

पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०५३ र क्षेत्र विस्तारसम्बन्धी संशोधित आदेश खारेज गरी मुकुमलुङलाई मुन्धुमी तथा सांस्कृतिक मान्यताअनुसार संरक्षण गर्नुपर्ने उसको माग छ । 

महासंघका पूर्वअध्यक्ष सञ्जय सन्तोषी राईले मुकुमलुङलाई याक्थुङ समुदायको धार्मिक आस्था र पुर्खाको इतिहाससँग जोडिएको स्थलका रूपमा व्याख्या गरे । यस्तो क्षेत्रलाई व्यावसायिक लाभको माध्यम बनाउन नहुने उनको भनाइ छ । 

मुकुमलुङको केवलकार विवाद नयाँ होइन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने योजना अघि बढेसँगै यसको पक्ष र विपक्षमा मत विभाजित हुँदै आएको छ । 

केवलकार निर्माण पक्षले धार्मिक पर्यटक र तीर्थयात्रीलाई सहज आवागमनको सुविधा पुग्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने तर्क गर्दै आएको छ । 

याक्थुङ समुदायका अभियन्ता तथा स्थानीय संरक्षणकर्मीले यस क्षेत्रलाई मुकुमलुङका रूपमा चिनाउँदै मुन्धुमी आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको पवित्र स्थलमा व्यावसायिक आयोजना अघि बढाउन नहुने अडान राख्दै आएका छन् । 

विवादको अर्को पक्ष आयोजना अघि बढाउने प्रक्रियामा स्थानीय समुदायको सहभागिता र सहमतिको प्रश्न हो । 

संरक्षणकर्मीले आफूहरूको सांस्कृतिक अधिकार र धार्मिक मान्यतालाई बेवास्ता गरेर निर्माण अघि बढाइएको भन्दै विरोध गर्दै आएका छन् । 

केवलकार निर्माणको विषयले २०८१ कात्तिक २३ गते काफ्लेपाटीमा झडपको रूप लिएको थियो । 

निर्माण सामग्री लैजाने क्रममा दुई पक्षबीच विवाद भएपछि भएको झडपमा संरक्षण अभियानमा संलग्न चन्द्र मादेनसहित केही व्यक्ति र प्रहरी घाइते भएका थिए । 

त्यसको केही महिनापछि २०८१ माघ १२ गते फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । उक्त घटनामा गोली लागेर प्रदर्शनकारी घाइते भएपछि विवादले राष्ट्रिय रूप लियो । 

राष्ट्रिय मानवअधिकार आयोगले घटनाको अनुगमन गर्दै वार्ता र संवादबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको थियो ।

विवाद समाधानका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरेको थियो । मानवअधिकार संस्थाहरूले पनि स्थानीय समुदायको सांस्कृतिक तथा धार्मिक विश्वासलाई सम्बोधन गरेर आयोजना अघि बढाउने विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

तर निर्माणको पक्ष र विपक्षमा रहेका समुदायबीचको असहमति समाधान हुन सकेको छैन । अहिले संरक्षण समितिले सरकारी कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र आयोजना खारेज गर्नुपर्ने माग पुनः उठाएको छ । 

आयोजना अघि बढाउने सरकारी तयारी र त्यसको विरोधमा रहेको संरक्षण पक्षबीच संवादबाट निकास ननिस्किए मुकुमलुङको विवाद फेरि सडकमा पुग्ने देखिएको छ । समितिले आफ्ना माग सम्बोधन नभए संघर्षका कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ ।

View : 34

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved