विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदमा उपनिर्वाचन भइरहँदा कांग्रेस र एमाले सार्वजनिक रुपमा माओवादीलाई प्रतिस्पर्धी नै नठानेको बताउँथे । माओवादी नेताहरु भने ग्रामथान जित्ने बताउँथे । २०७९ को निर्वाचनमा फराकिलो अन्तरले तेस्रो मात्रै भएको माओवादीको यस्तो आत्मविश्वासलाई कांग्रेस–एमालेले ‘कृत्रिम आत्मविश्वास’ भनिरहे ।
सोमबार बिहान जब अन्तिम नतिजा आयो, माओवादीले आफ्नो दाबी प्रमाणित गरेर देखायो । उसले यस्तो सफलता पाउँदा कांग्रेस–एमाले चुनावी हारको चोट सहन बाध्य भए ।
यसअघि कांग्रेसले जितेको ग्रामथान उसको पञ्जाबाट खोस्ने क्रममा माओवादीका उम्मेदवार नमोनारायण माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् ।
कांग्रेसका बलराम सरदार थारू ५ हजार ३ सय ३३ मत ल्याएर दोस्रो हुँदा एमालेका उम्मेदवार तुलसीराम विश्वास ४ हजार १ सय ५९ मत पाउँदै तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए ।
यसअघिको चुनावी गणितलाई उल्टाउँदै ग्रामथानमा माओवादीले हात पारेको जीत कसरी सम्भव भयो ? माओवादी नेताहरुलाई यो प्रश्न गर्दा उनीहरु ‘अहिले देशैभरी माओवादीप्रति आकर्षण बढेको’ तर्क दिन्छन् ।
अध्यक्षमा निर्वाचित नमोनारायण माझीले पनि यसै भने । यद्यपि चुनावी अभियानमा खटिएका एक नेताले भने केही मसिना कारणहरुलाई पनि जितको आधारमा जोडे ।
‘ग्रामथानमा माओवादीले सबैभन्दा अगाडि उम्मेद्वारी घोषणा गरेको थियो । यही कारणले हामीले राम्रो चुनावी तयारी गर्न पाएका थियौं । मतदाताको घरदैलोमा हाम्रो उम्मेदवार जति अरु कोही पनि पुगेन’, ती नेताले भने ‘उम्मेद्वारबाहेकको टिम पनि सधैं मतदाताको घरघर पुगिरह्यो । जहाँ भेटे पनि कुराकानी गरिरह्यो । यसले जनतासँग हाम्रो उम्मेदवार र पार्टी प्रत्यक्ष जोडिने अवस्था भयो ।’
यसबाहेक कांग्रेस र एमालेले ग्रामथानमा केही नगरेको भन्ने भाष्य पनि स्थापित भइसकेको थियो । यसमा पनि माओवादी सफल देखिएको छ । योसँगै उम्मेदवार नमोनारायण माझीको ‘आँटिलो’ छविसँग पनि मतदाता आकर्षित बनेका थिए ।
विकास निर्माणको कामका लागि पालिकामै गएर टेबल ठटाउने केही पटकको उनको प्रयासले मतदातामाझ उनी ‘आँटिलो’ मान्छेका रुपमा दरिएका थिए ।
सँगै ग्रामथानमा सबैभन्दा बलियो मानिने कांग्रेस भने यस्तरी रक्षात्मक बन्न पुग्यो कि बहुसंख्यक उम्मेदवारहरु कुनै न कुनै रुपमा कांग्रेससँग विभिन्न समयमा जोडिएकाहरु नै थिए । जसका कारण उनीहरुको संगतदेखि पृष्ठभूमि पनि कांग्रेसकै थियो । उनीहरुले कांग्रेसलाई जाने मत प्रशस्त आफूतिर आकर्षित गरे ।
यसरी मत आफूतिर आकर्षित गर्नमा नमोनारायण सबैभन्दा सफल देखिए । आफै पनि पुराना कांग्रेस कार्यकर्ता नमोनारायण गएको भदौमा मात्रै पालिका अध्यक्षको टिकट पाउने शर्तमा माओवादी प्रवेश गरेका थिए । २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा कांग्रेसबाटै निर्वाचित भएका उनी २०५९ पछि वैदेशिक रोजगारीका लागि मलेशिया गए । विदेशबाट फर्किएर पुनः कांग्रेसको राजनीतिमा सक्रिय बनेका माझी २०७४ को स्थानीय निर्वाचनमा भने फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्ष भए ।
२०७९ को स्थानीय चुनावमा पनि माझीले कांग्रेसबाट वडाध्यक्षको टिकटको चाहना राखेका थिए । तर कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । त्यो चुनावमा भने उनी सफल हुन सकेनन् ।
कात्तिक ५ मा ग्रामथानमै सार्वजनिक कार्यक्रम गरेर माओवादीले उनलाई अध्यक्षको उम्मेदवार घोषणा गर्दा कांग्रेस र एमालेले भने ‘अहिल्यै उम्मेदवार घोषणा गर्ने बेला भइनसकेको’ बताउँथे । माओवादीभन्दा धेरै पछि मात्रै कांग्रेस र एमालेले उम्मेदवारी टुंगो लगाएका थिए । यी दुई दलले उम्मेदवारी टुंगो लगाउँदै गर्दा माओवादी उम्मेदवार माझीले भने एकचरण घरदैलो भ्याइसकेका थिए ।
मोरङ–४ मा पर्ने ग्रामथानमा जनताले बलियो विकल्प रोजेको बताउने संघीय सांसद अमनलाल मोदी आफूहरुले तयारी पनि लामो समय गर्न पाएको स्वीकार्छन् ।
माझीलाई गाउँपालिका अध्यक्ष जिताउने अभियानको मुख्य नेतृत्वकर्ता बनेका सांसद मोदी दुई महिनायता ढुक्कै गाउँमै खटिएका थिए । त्यतिमात्रै होइन, मोदीले माओवादीका जिल्ला, प्रदेश तथा केन्द्रीय नेताहरुलाई पनि घरघरै पुग्न बाध्य पारेका थिए । उनको यो पहलमा प्रदेश सांसद जीवन आचार्य र पूर्व सांसद विजय विश्वासको साथ थियो ।
यसरी अढाई वर्षअघि २ हजार ७ सय हाराहारी मत ल्याएर तेस्रो बनेको माओवादी यसपटक कांग्रेस–एमालेलाई फराकिलो मतले पछि पार्दै अध्यक्ष जित्न सफल बनेको छ । २०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका जय प्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरी दोस्रो भएका थिए । त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७ मत पाएका थिए ।
ग्रामथानको यसअघिको विजेता दल कांग्रेसले देखाएको अधिक आत्मविश्वास पनि माओवादीका लागि चुनाव जित्ने अर्को बलियो आधार बनेको थियो । सबैतिर युवाहरुको खोजी भइरहँदा कांग्रेसले ७३ वर्षीय बलराम सरदारलाई उम्मेदवार बनाउँदा परम्परागत मतकै विरासतमा जित हासिल हुने बताएको थियो ।
अध्यक्षका उम्मेदवार रहेका सरदार डा. शेखर कोइराला पक्षका नेता हुन् । सोही पक्षका नेता गुरूराज घिमिरेले चुनावअघिको घरदैलो अभियानमा भनेका थिए, ‘यो पालिकामा हामीले यसअघि १ हजार ६ सय मतान्तरले जितेका हौं । त्यो मत क्रस गरेर हामीलाई पछि पार्न एक्लाएक्लै लडेका अरु दललाई गाह्रो छ ।’
घिमिरेले यसो भनेको साता नबित्दै माओवादीले १ हजार ६ सय ३६ मतले कांग्रेसलाई नै पराजित गरेको छ । यसअघिको गणित र सरदारको इमान्दार छविको बलमा चुनाव सजिलै जित्ने कांग्रेस नेताहरुको दाबी थियो । यसको जवाफमा अहिले अध्यक्ष निर्वाचित माझीले हरेक सभामा भन्दै आएका थिए, ‘जनतालाई कसैले पेवा नठाने हुन्छ । नत्र हर्क, बालेनहरू जन्मिने थिएनन् ।’ कांग्रेसको कोइराला पक्ष त यति विश्वस्त थियो कि
उपनिर्वाचनको मुखैमा पार्टीले आयोजना गरेको प्रदेश सम्मेलन प्रभावित पार्न भन्दै अलग्गै भेलाको तयारीमा जुटेको थियो ।
‘ग्रामथानमा कांग्रेसलाई जित्नलाई केही समस्या छैन’, मोरङका सबैजसो कांग्रेस नेताहरु भन्थे । यही ढुक्कपनले कोइराला पक्षका नेताहरु चुनावमा भन्दा मंसिर १८ मा गर्ने समानान्तर भेलाका लागि बढी खटिएका थिए ।
लामो समय कांग्रेस राजनीति गरेर अहिले कांग्रेसकै उम्मेदवारलाई हराउँदै माओवादीबाट अध्यक्षमा निर्वाचित नमोनारायण माझीले ‘कांग्रेस–एमालेले विकृत तुल्याएको’ पालिकालाई सुशासन दिने बताएका छन् । उनले कसैमाथि भेदभाव नगरी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
‘विकास भनेको क्रमिक प्रक्रिया हो । यो हुँदै जान्छ’ उनले भने ‘मेरो प्राथमिकता पालिकामा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने र जनतासँग भावनात्मक सम्बन्ध बनाइरहने हो । आफूले भोट जिताएर पठाएको मान्छे आफ्नो सुखदुःखमा साथी होस् भन्ने जनताको चाहना हुन्छ ।
View : 76
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved