Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

जीवनमा योगको महत्त्व

रोगदेखि आरोग्यसम्मको यात्रा

हामीभित्र रोग छ भने योग पनि हामीभित्र छ । हामीभित्र रामको पनि बास छ र रावणको पनि बास छ, अर्थात् हामीभित्र देवत्वको पनि बास छ, असुरत्वको पनि बास छ । अब हामीले रोगलाई छान्ने कि योगलाई आत्मसात् गर्ने, यो हाम्रै हातमा छ । हामीले हामीभित्रको देवत्वलाई जगाउने कि असुरत्वलाई जगाउने, यो हाम्रै हातमा छ ।
३१ भदौ २०८२, मङ्गलवार

योग अहिलेको परिवेशमा अपरिहार्य बनिसकेको छ । मानव चोला ईश्वरको सर्वोत्कृष्ट उपहार हो । भगवानले आफूमा भएका गुणहरू हामीलाई दिएर पठाउनुभएको छ, तर हामीले त्यसलाई चिन्न सकेनौं, किनकि हामी संसारको भौतिक सुविधामा भाग्न पुग्यौं । हामीले आफूभित्रको दिव्यता र चेतन तत्वलाई चिन्ने र जान्ने प्रयत्न गरेनौं ।

अप्राकृतिक खानपान, अप्राकृतिक जीवनशैली र नकारात्मक सोचका कारण हामी रोगी भयौं र तनावग्रस्त भयौं । आहार, विहार, विचार र निद्रामा शुद्धता नभएकै कारणले हामीले तनावग्रस्त जीवन जिउनुपरेको छ । पञ्चतत्वले बनेको यो शरीर पञ्चतत्वद्वारा नै प्राकृतिक रूपमा सन्तुलनमा राख्न सकिन्छ भन्ने कुरालाई छाडेर हामी भौतिक सुविधा र एलोपेथिक औषधितर्फ ढल्कियौं ।

जीवनको महत्त्वपूर्ण मोड : योग र स्वामी रामदेव
२६ वर्षको उमेरमा रोगले ग्रस्त भएको मेरो जीवनमा त्यसबेला आस्था र संस्कार टेलिभिजन च्यानल भर्खरै आएको थियो । भजन आउँछ भनेर बिहान टिभी खोलेर बस्दा मैले स्वामी रामदेव बाबालाई पाएँ । स्वामीजीको दिव्य वाणी र मलाई चाहिएको कुरा उहाँले गराउँदै गरेको देखेर म एकदमै प्रभावित भएँ र स्वामीजीलाई पछ्याउन थालें । नियमित रूपमा योग गर्न थालें ।

म ढाडको नसा च्यापिएर ‘बेड रेस्ट’ को अवस्थामा थिएँ । योगले मलाई ढाडको दुखाइमा सन्चो भयो । मेरो विवाह गरेको १० वर्ष भइसकेको थियो र म निःसन्तान थिएँ । ढाडको दुखाइ त सञ्चो भयो नै, तीन महिनाभित्रमा म गर्भवती भएँ । शारीरिक रूपमा अशक्त भएको बेला सक्षम बनें र मेरो जीवनको सबैभन्दा ठूलो खुसी आमा बन्ने सौभाग्य प्राप्त गरें ।

विवाह गरेको एक वर्षदेखि डाक्टरलाई देखाउँदा देखाउँदै थाकिसकेको थिएँ । अब म धामी, झाँक्री, डाक्टर कोही देखाउँदिन, मलाई सन्तान चाहिएन भनेर मन मारेर बसेको अवस्थामा मैले आमा बन्ने खुसी पाएपछि मैले आफ्नो जीवनमा स्वामीजी महाराज भगवान गएर आउनुभएको महसुस गरें ।
 

सेवाको संकल्प  : योग शिक्षकको रूपमा समाजमा
म एक छोरीको आमा बनें । त्यसपछि मेरो योग छुटेको थियो । चार वर्षपछि फेरि विभिन्न समस्याले ग्रस्त हुन थालें । मेरा साथीहरू सुमन डागा र शारदा थापाबाट मैले जैन भवनमा योग हुने कुरा थाहा पाएँ । हामी त्यहाँ गयौं ।

त्यहाँ पतञ्जलि योग समिति मोरङका संस्थापक अध्यक्ष प्रेमकुमार सोनीलाई पाएर उहाँबाट मैले धेरै प्रेरणा र हौसला पाएँ, साथै योगको मार्गमा सेवा प्रदान गर्ने जुन प्रेरणा जाग्यो, त्यो बेला मलाई लाग्यो कि म जस्तो निःसन्तान कसैले बस्नु नपरोस्, म जस्तो रोगी कसैले भएर बस्नु नपरोस् । मलाई लाग्यो मैले पाएको आरोग्यता, मैले पाएको खुसी अरूलाई पनि बाँड्नुपर्छ, म जस्तो पीडामा कसैले बस्नु नपरोस्, मेरो खुसी मैले आफूमा सीमित राख्नु हुँदैन भन्ने दिव्य प्रेरणा मनमा जाग्यो ।

 २०६४ सालमा सह–योग प्रशिक्षणको तालिम लिएर म योग शिक्षकको रूपमा समाजमा प्रस्तुत भएँ । सोनी गुरुजीले मलाई सदस्यको जिम्मेवारी प्रदान गर्नुभयो । पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारीको विराटनगर आगमन हुँदा म र मेरो साथी शारदा थापा पहिलो पटक बेलुकाको रात्रीभोजसहितको सत्संगमा राति अबेरसम्म बाहिर बसेको अनुभव अहिले पनि मलाई याद छ ।

योग : जीवनको विज्ञान र समाधान
मैले योगमा गर्ने सेवालाई भगवानको कार्य मान्दछु  । हामी भगवानको कार्य गर्ने एक पात्रको रूपमा काम गरिरहेका छौं भन्ने मान्यता राखेको छु । स्वामीजी महाराजले भन्ने वाणी, ‘स्वस्थ र स्वावलम्बी बन, आरोग्यता तिम्रो जन्मसिद्ध अधिकार हो, आरोग्यतामा आत्मनिर्भर बन, औषधिको वैशाखी लिएर हिंड्न छाड, तिमीभित्रै छ औषधि, तिमीभित्रै छ उपचार त्यसलाई जगाउने प्रयत्न गर ।’ हो, यही हामी सबैभित्रको औषधि र उपचार जगाउनका लागि र आफूले पाएको खुसी समाजको कुनाकुनासम्म पुर्‍याउन यो जीवन समर्पित छ ।

स्वामीजीको अर्को उद्देश्य, ‘हाम्रो राष्ट्रको अन्तिम झुपडीसम्म योग पुगोस्, हाम्रो समाजको अन्तिम व्यक्तिले योग गरोस् ताकि कसैले पनि रोग र शोकले मर्नु नपरोस् ।’ यो भनाइ र स्वामीजीको उद्देश्यलाई समाजको कुनाकन्दरासम्म पुर्‍याउन यो जीवन समर्पित छ । मैले योगमा यो बुझ्ने अवसर पाएँ कि हामी सबैले चाहने भनेको सुख, शान्ति र आनन्द हो । त्यो सुख, शान्ति र आनन्द बाहिर जति दौडे पनि प्राप्त गर्न सकिंदैन । त्यो सबै हामीभित्रै छ ।

विज्ञानले धेरै आविष्कार गर्‍यो तर शान्ति प्रदान गर्न सकेको छैन, त्यो हामी सबैभित्रै छ । सुख, शान्ति र आनन्द प्राप्त गर्नु छ भने आध्यात्मिकतातिर ढल्कनै पर्छ, आफूभित्र हेर्ने प्रयास गर्नुपर्छ । मैले यो बुझें कि सुख, शान्ति र आनन्द हाम्रो स्वभाव हो र त्यो हामीभित्र छ ।

मैले यो बुझें कि हामीभित्र रोग छ भने योग पनि हामीभित्र छ । हामीभित्र रामको पनि बास छ र रावणको पनि बास छ, अर्थात् हामीभित्र देवत्वको पनि बास छ, असुरत्वको पनि बास छ । अब हामीले रोगलाई छान्ने कि योगलाई आत्मसात् गर्ने, यो हाम्रै हातमा छ । हामीले हामीभित्रको देवत्वलाई जगाउने कि असुरत्वलाई जगाउने, यो हाम्रै हातमा छ । 

मैले योगमा आफूभित्र रहेको रिस, राग, द्वेष, अहंकार, काम, क्रोध, लोभ, मोहको कारणले उत्पन्न हुने विकारहरूलाई बुझें । मैले आफूभित्र रहेका जन्म–जन्मको संस्कारका कारणले आउने वृत्तिहरू र क्लेशहरूका बारेमा बुझें । मैले बुझें कि हाम्रा दुःखको कारण अरू कोही नभई हामी स्वयं नै हौं ।

मैले यो पनि बुझें कि योग आत्मअनुशासन हो, मात्र एक शारीरिक व्यायाम होइन, यो सम्पूर्ण जीवनशैली हो । योग चित्तको वृत्तिलाई निरोध गर्ने आध्यात्मिक विद्या हो ।
योग चिकित्सा विज्ञान हो । योग जीवनको विज्ञान हो । योग व्यक्ति, विश्व र समाजका सम्पूर्ण समस्याहरूको समाधान हो । योगले एक व्यक्तिलाई मानवबाट महामानव बनाउँछ, व्यक्तिका आधिव्याधिबाट मुक्त गराउँदै समाधिको उच्चतम शिखरसम्म पु¥याउँछ ।
योग रोगीका लागि उपचार हो । योग भोगीका लागि प्रकाश हो । योग कर्मयोगीका लागि साधना हो । योग अन्ततोगत्वा समाधि हो ।

मैले बुझें योग अज्ञानताबाट ज्ञानतर्फको यात्रा हो । योग निर्बलताबाट सबलताको, जीवबाट ब्रह्मको, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो । यस्तो अद्भूत ज्ञान र विज्ञानको महासागर मैले योगमा पाएको छु । यस्तो योग सबैले गर्नुपर्छ भन्ने सम्पूर्ण समाजलाई दिने अवसर भगवानले प्रदान गर्नुभएकोमा म कृतज्ञ पनि छु । आगे प्रभु इच्छा ।

समाजसेवा र भविष्यको समर्पण
मैले आफ्नो जीवन पूर्णरूपमा समाजमा समर्पित गर्दै पतञ्जलि योग समिति (पयोस) मोरङको संस्थापक सदस्य, पछि महिला समिति बनेपछि उपाध्यक्षको पद ग्रहण गर्दै गुरु आज्ञा अनुसार २०७४ साल मङ्सिर महिनाबाट पतञ्जलि योग महानगर समितिको संस्थापक अध्यक्ष पदको जिम्मेवारी लिएँ ।

आफ्नो कार्यकालमा सम्पूर्ण कार्यसमितिको सशक्तता र निःस्वार्थ भावले विराटनगरका १९ वटै वडामा योग पुर्‍याउन, १९ वडामा साधना केन्द्र खोल्न र विराटनगर महानगरभित्र ५६ वटा शिविर लगाउन सफल भएका छौं । विराटनगरका २५ वटा सह–योग शिक्षक तालिम लगाई १००० जना बढी योग शिक्षक तयार गराएको जानकारी गराउँदछु ।

हामी सबैले आफ्नो जीवन आफ्ना लागि मात्र नभएर अरूका लागि काम लाग्ने बनाउन सक्नुपर्छ । मानवीय सेवामा आफ्नो जीवन समर्पण गर्न सक्नुपर्छ । सकेसम्म परोपकार वा अरूको हित गर्नुपर्छ, किनकि परोपकार बिना चित्तको शुद्धि हुँदैन, चित्तको शुद्धि बिना परमात्मा तत्वको अनुभूति हुँदैन । आफूभित्रको परमात्मा तत्वको अनुभूति गर्नका लागि पनि आफ्नो स्वार्थभन्दा माथि उठेर मानव सेवा गरौं, किनकि मानव सेवा नै माधव सेवा हो ।

यही परमात्मा तत्वको अनुभूति गर्नको लागि यो जीवन अगाडि पनि मानव सेवा वा परोपकारका लागि समर्पित रहनेछ ।
सम्पूर्ण कर्म ईश्वरप्रति चरणकमलमा समर्पित गर्दै भवतु सर्वमंगलम् । ओम् । अस्तु । 
                                                                                (विराटनगर योगदर्पण, साउन २०८२)

View : 812

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved