विराटनगर । जुम्लाको पातारासी गाउँपालिका-६ की गंगादेवी राउतलाई विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो-२०२३ मा राखेको स्टलमा जुम्लेली भूगोलमा फलेका कृषि उत्पादन बेच्न भ्याइनभ्याई देखिन्छ ।
उनको स्टलमा जुम्लामा फलेको मार्सी चालमदेखि त्यहाँको सिमीको दाल, स्याउ, कोदोको पिठो, जुम्लामै फलेको जौको पिठो र सातु, सिस्नो, मह, सिलाजित, कालो चामल लगायतका ५० भन्दा उत्पादन बिक्री हुँदै आएको छ ।
काठमाडौंमा २० वर्षअघिसम्म पनि जुम्लाको उत्पादनको प्रवर्द्धन गर्न सडक व्यापार गरिरहेकी गंगादेवीले देशका सबै जिल्लामा लाग्ने मेला महोत्सवमा स्टल राखिसकेकी छन् । उनी विराटनगरमै लागेका यसअघिमा एक्स्पोहरुमा समेत स्टल राखेर पूर्वेली उपभोक्ताहरुलाई जुम्लाको अर्गानिक उत्पादनको स्वाद चखाइसकेको बताउँछिन् ।
हिमाली कृषि उद्योग जुम्लाको नाममा गंगादेवीले देशैभरका एक्स्पो, महोत्सव, मेलाहरुमा आफ्नो स्टल राख्दै जुम्लाको कृषि र खाद्यान्न वस्तुको प्रवर्द्धन गर्दै आएकी छन् ।
जुम्लामा गाडी पुगेपछि त्यहाँको उत्पादनको बजार बढेकोले सहजै सबै जिल्लाहरुमा अर्गानिक उत्पादन पुर्याउन सफल हुँदै आएको उनको भनाइ छ । गाईभैंसीको मल हालेर सत् प्रतिशत अर्गानिक खाद्यान्न वस्तु उत्पादन गर्दै त्यसको बजारीकरण गर्दै आएको उनले बताइन् ।
‘जुम्लाको खाद्यान्न वस्तु जुम्लाकै स्वादमा बिक्री गर्दै आएको छु । अहिलेसम्म सबै जिल्लाहरुमा पुगेर जुम्लाको उत्पादन बिक्री गरिसकेकी छु,’ उनले भनिन्, ‘सुरुमा काठमाडौंको सडकमा बसेर अन्धाधुन्द व्यापार गरियो, पछि सिक्दै बुझ्दै गएँ । अहिले देशैभरी एक्लै गएर स्टल राखेर जुम्लामा फलेको अर्गानिक खाद्यान्न बिक्री गर्न सक्ने अवस्था बनेको छ ।’
उनले अर्गानिक वस्तु बिक्री वितरण गरेका कारण धेरै एक्स्पो र मेला महोत्सवहरुमा पुरस्कृत हुँदै आएको बताइन् ।
गंगादेवीको देशव्यापी व्यापारमा उनका श्रीमानले भने थोरै मात्रै सहयोग गर्न पाउँछन् । किनभने श्रीमान् वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौंमा लेखा अधिकृत पदमा कार्यरत छन् ।
अहिलेसम्मको सिकाइबाट काठमाडौंको अनामनगरमा पनि जुम्लाको कृषि वस्तु बिक्री केन्द्र सञ्चालन गर्दै आएको उनले बताइन् । त्यहाँ थोरै भए पनि श्रीमान् र छोराले सहयोग गर्ने उनले सुनाइन् । बाँकी भने कर्मचारी राखेर पसल सञ्चालन गरिरहेको बताइन् ।
जुम्लामै उत्पादित अर्गानिक खाद्यवस्तुहरु भएका कारण विराटनगरमा जारी एक्स्पोमा पनि आफूले राम्रै व्यापार गर्दै आएको उनले अनुझव सुनाइन् ।
अहिले जुम्लामा सिमीको दाल अत्यधिक महंगोमा बिक्री हुने गरेकाले हुम्लाबाट समेत दाल ल्याएर बिक्री गरिरहेको उनले बताइन् । जुम्लाको उत्पादन ब्राण्ड बन्दै गएको भन्दै अहिले जुम्लामा खेतीपाती गर्ने किसानहरुको संख्या पनि वृद्धि भएको जानकारी दिइन् ।
View : 184
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved