मानिसका आवश्यकताहरू धेरै हुन्छन् । ती आवश्यकताका श्रृंखलाहरू प्राप्त गर्ने उत्कट अभिलाशा हुन्छ । कोही कुनै पेशा, रोजगारमा संलग्न हुन्छन् भने कसैले कुनै उद्योग, व्यापार तथा व्यवसाय, संघ–संस्था सञ्चालन गरेका हुन्छन् । यो मान्छेको आवश्यकता र चाहनाहरू प्राप्त गर्ने माध्यम पनि हो । वैयक्तिक स्वतन्त्रता, रोजगारी पाउने, उचित श्रमको अभ्यासको हक मौलिक हक हो । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अभिभारा राज्यले लिएको हुन्छ ।
सामाजिक न्याय, मानव अधिकार, समानता र नैतिक मूल्य मान्यता स्थापना गर्नु राज्यको दायित्व हो । संवैधानिक रूपमा सरकारका विभिन्न अंगहरू र संयन्त्रहरू हुन्छन् । प्रचलित कानून बमोजिम स्थापना भएका संघसंस्थाहरू पनि हुन्छन् । ती सबैले निश्चित स्थल तोकेर सेवा प्रवाह गर्छन् । कार्यस्थलमा हुने गरेका सबै प्रकारका हिंसाजन्य कार्यहरूलाई कानून बमोजिम दण्डनीय हुने व्यवस्था गरेको छ । यद्यपि कार्यस्थलमा काम गर्ने कर्मचारी, कामदार तथा सेवाग्राही असुरक्षित हुने गरेको पाइन्छ । यस्तो अवस्थामा पीडितले न्याय पाउनु पर्छ भने कार्यस्थललाई सुरक्षित बनाउने उपायहरूको खोजी गरी कार्यान्वयन गर्नु पर्दछ ।
कस्तो ठाउँलाई कार्यस्थल भनेर बुझ्ने त ?
कार्यस्थल भन्नाले कार्यसम्पादन गर्न तोकिएको ठाउँ हो । कानून बमोजिम स्थापना गरिएका निकाय, संस्था वा फर्मको काम गर्न तोकेको ठाउँलाई कार्यस्थल भनेर बुझिन्छ । देहाय बमोजिमका संस्थाले कार्य सम्पादन गर्ने ठाउँलाई कार्यस्थल भनिन्छ ।
सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्था, प्रचलित कानून बमोजिम स्थापना भएको निकाय वा संगठित संस्था, कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानून वमोजिम अनुमति प्राप्त गरेको वा दर्ता भएको फर्म, निकाय वा संगठित संस्था ।
यौनजन्य दुर्व्यवहार के हो त ?
संस्थाहरूमा पदसोपान हुन्छ । संस्थागत संरचना हुन्छ । कार्यस्थलमा सेवा प्रदान गर्न कर्मचारी खटिएका हुन्छन् । कार्यस्थलमा सेवा प्राप्त गर्ने उद्देश्यले सेवाग्राही र सेवाग्राहीको साथै लागेर आउने व्यक्तिहरू हुन्छन् । कसैले आफ्नो पद, पावर, पैसा, प्रतिष्ठा र अधिकार जस्ता तत्वहरूको दुरूपयोग गरेर दबाव, प्रभाव, लगाव वा प्रलोभनमा पारेर कर्मचारी वा सेवाग्राहीलाई निम्न कार्य गर्नु वा गराउनु नै यौनजन्य दुर्व्यवहार हो ।
– यौनजन्य आशयले शरीरको कुनै अंग छोएमा वा छुने प्रयास गरेमा ।
– अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित चित्र, शब्द, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्रीको प्रयोग वा प्रदर्शन गरेमा ।
– लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशयले प्रदर्शन वा प्रकट गरेमा ।
– यौनजन्य क्रियाकलापका लागि प्रस्ताव राखेमा ।
– यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा ।
कार्यस्थलमा कार्यरत कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य आशयले छुनु, छुन खोज्नु, आशय प्रकट गर्नु, यौनजन्य काम गर्न प्रस्ताव राख्नु, जिस्काउनु यौनजन्य दुर्व्यवहार हो । सामजिक सञ्चाल साथै सूचना प्रविधिको प्रयोग गरी अश्लीलता तथा यौनजन्य वस्तु प्रदर्शन तथा प्रयोग गरेमा पनि यौनजन्य दुर्व्यवहार भएको मानिन्छ ।
यौनजन्य दुर्व्यवहारलाई निवारण वा कार्यस्थललाई सुरक्षित बनाउने उपायहरू
कुनै कार्यालयको व्यवस्थापक तथा प्रमुखले कार्यस्थललाई सुरक्षित, मर्यादित बनाउनु पर्ने हुन्छ । कर्मचारी वा सेवाग्राही सबैले स्वच्छ वातावरणको महसुश गर्ने कार्यस्थल हुनु पर्दछ । आफ्नो कार्यालयमा यौनजन्य दुर्व्यवहार हुन नदिन तथा निवारणका लागि देहायका कामहरू गर्नु पर्दछ ।
– कर्मचारीको सेवा, सर्त सम्बन्धी कानूनमा यौनजन्य दुर्व्यवहार निवारणको व्यवस्था गर्ने ।
– यौनजन्य दुर्व्यवहार हुन नदिन कर्मचारी तथा सेवाग्राहीहरूलाई सजग गराउने ।
– यौनजन्य दुर्व्यवहार हुन नदिन आवश्यक सुधारहरू गर्ने ।
– पीडितलाई आवश्यकता अनुसार मनोविमर्श सेवा प्रदान गर्ने ।
– कार्यस्थलमा गुनासो पेटिका राख्ने ।
– कार्यालयमा यौनजन्य दुर्व्यवहार हुन नदिन आंचारसंहिता बनाई कार्यान्वयन गर्ने ।
– यौनजन्य दुर्व्यवहार विरूद्द उजुरी दिने तरिका, अवधि, उजुरी सुन्ने अधिकारीको सम्बन्धमा जानकारी दिने ।
कार्यस्थलमा यौनजन्य दुर्व्यवहार भएमा के गर्ने त ?
कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गरेमा के गर्ने त ? पीडितले गुनासो कहाँ गर्ने, कानूनी उपचार खोज्न कहाँ जाने त ? पीडितले कसरी, कति दिन भित्र, कहाँ उजुरी दिने त ? यस सम्बन्धमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन,२०७१ ले गरेको व्यवस्थालाई अनुसरण गर्नु पर्दछ ।
गुनासो गर्ने : कार्यस्थलमा यौनजन्य दुर्व्यवहारबाट पीडित कर्मचारी, सेवाग्राही वा निजको तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उपर गुनासो गर्न पाउने कानूनी व्यवस्था छ । त्यस्तो गुनासो आफू कार्यरत कार्यालयको व्यवस्थापक वा प्रमुख समक्ष गर्नु पर्दछ । दुर्व्यवहारमा परेको मितिले १५ दिन भित्र लिखित वा मौखिक गुनासो गर्नु पर्नेछ । गुनासो गरेको मितिले १५ दिन भित्र गुनासो टुङगो लगाइसक्नु पर्छ ।
उजुरी दिन सक्ने : कार्यस्थलमा यौनजन्य दुर्व्यवहारबाट पीडित कर्मचारी, सेवाग्राही वा निजको तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उपर प्रमुख जिल्ला अधिकारी समक्ष प्रमाणसहित उजुरी दिनु पर्छ । यस्तो उजुरी ९० दिनभित्र गर्नु पर्छ । गुनासो सुनुवाई निर्धारित समयावधि भित्र नटुङ्ग्याएमा वा गुनासो सुनवाई गरेको निर्णय उपर कुनै पक्षले चित्त नबुझाएमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिनु पर्ने व्यवस्था छ । यो उजुरी ७० दिन भित्र दिनु पर्ने प्रावधान रहेको छ ।
पुनरावेदन गर्न सक्ने : प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन दिनु पर्छ । पुनरावेदन गर्ने अवधि भने निर्णय भएको मिति ३५ दिन रहेको छ ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको अन्य प्रचलित कानून बमोजिम पनि उजुर गर्न सकिन्छ ।
उजुरीकर्ताको संरक्षण : उजुरकर्ताको संरक्षण गर्नु कार्यालय प्रमुखको दायित्व हो । उजुरी गरेकै कारण उजुरकर्तालाई कामबाट हटाउन, अन्य विभागीय कारबाही गर्न, निजको सरूवा, वढुवा लगायतका वृत्ति विकासमा असर गर्ने गरी कुनै कारबाही गर्न नपाइने प्रावधान छ । कार्यस्थल सुरक्षित बनाउनु सम्बन्धित कार्यालयको प्रमुखको जिम्मेवारी हो । कार्यालय प्रमुखले उजुरीकर्ताको संरक्षणका लागि सुरक्षाको समेत प्रवन्ध गर्नुपर्छ ।
कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गरेमा हुने सजाय र क्षतिपूर्ति
कसैले कुनै कमर्चारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गरेमा कानून बमोजिम सजाय हुन्छ । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐनले कसूरको प्रकृति हेरी सजाय हुने व्यवस्था गरेको छ ।
यौनजन्य दुर्व्यवहार गरेको ठहरेमा –कसूरको प्रकृति अनुसार ६ महिनासम्म कैद वा पचास हजारसम्म जरिवाना वा दुवै पनि सजाय हुने व्यवस्था रहेको छ ।
व्यवस्थापक वा प्रमुखले आफ्नो दायित्व बमोजिम गर्नुपर्ने काम पालना नगरेको ठहरेमा– पच्चीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
एक पटक दुर्व्यवहार सम्बन्धी सजाय पाएको व्यक्तिले त्यस्तो सजाय हुने कार्य पुनः गरेमा निजलाई पटकै पिच्छे दोब्बर सजाय हुने व्यवस्था यौनजन्य दुर्व्यवहार ऐनले गरेको छ ।
क्षतिपूर्ति : दुर्व्यवहार गरेको ठहरे पछि त्यस्तो व्यक्तिबाट क्षतिपूर्ति भराई दिनु पर्दछ । शारीरिक वा मानसिक रूपमा कुनै क्षति पुगेको पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति दिने गरी भराउनु पर्छ । पीडितको कानूनी उपचार खोज्ने क्रममा लागेको वास्तविक खर्च वापतको रकम पनि क्षतिपूर्ति स्वरूप उपलब्ध गराउनु पर्छ ।
निष्कर्ष र सुझाव
कार्यस्थलमा सवैलाई सम्मानजनक व्यवहार हुनु पर्दछ । कार्यालय प्रमुखले कार्यस्थललाई व्यवस्थित बनाउने भूमिका निर्वाह गर्नु पर्छ । यो उसको दायित्व पनि हो । सुरक्षित, स्वच्छ र मर्यादित वातावरणमा काम गर्न पाउनु प्रत्येक व्यक्तिको अधिकार हो । सम्मानपूर्वक बाँच्न पाउने वातावरणको सुनिश्चित गर्नु सरकारको कर्तब्य हो । कार्यसम्पादन र उत्पादकत्व बढाउने तत्वमध्ये कार्य–वातावरण पनि एक हो । प्रभावकारी सेवा प्रवाह गरियो भने सेवाग्राही पनि सन्तुष्ट हुन्छन् । यसका लागि कार्यस्थलमा हुने यौन दुर्व्यवहार नियन्त्रण हुनु पर्छ । दुर्व्यवहार सम्बन्धी शून्य सहनशीलताको नीति अपनाउनु पर्छ ।
सन्दर्भ सामग्रीहरूः
– नेपालको संविधान
– मुलकी अपराध संहिता, २०७४
– कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार(निवारण) ऐन, २०७१
– अन्य सम्बन्धित ऐनहरू
(लेखक : स्थानीय तहमा कार्यरत कर्मचारी हुन् ।)
View : 406
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved