Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

साठीवर्ष पहिलेको दशैं

त्यस्तो खुसीको क्षणमा पनि आमा र छोरी एकान्तमा बसेर सुँक्क सुँक्क रुन्थे । थोरै शब्द बोल्थे र धेरै आँशु झार्थे । हजुरआमा मेरी आमाका हातका ठेला हेर्नु हुन्थ्यो अनि रुनु हुन्थ्यो । कलेटी परेका ओठ हेर्नु हुन्थ्यो, त्यसवेला उहाँका आँखाबाट बररर आँशु झर्न थाल्थे । ‘कर्मको खेला’ भन्नुहुन्थ्यो र मजेत्रोले आँशु पुछ्नु हुन्थ्यो ।
कृष्ण अधिकारी
७ असोज २०८२, मङ्गलवार

इतिहास मेटेर भविष्य बनाउन नसक्ने समयको दोसाँधबाट म साठी वर्ष पुरानो परिवेशमा उभिन पुगेको छु । यो कुरा चालीस वर्षे शहरी जीवनले पत्याउन सहज छैन र पनि म १२–१४ वर्षे किशोरको रूपमा यो पानामा उभिएको छु ।
दशैं स्वयम्मा स्थापित एउटा प्रमुख चाड हो । सबै दुःख बिसाएर उन्मुक्त खुसी मनाउने अवसर हो दशैं । हुम्ला, जुम्ला वा पहाडका कुनै कुनामा आजसम्म जीवित रहे पनि त्यसवेलाको दशैंको प्राकृतिक अनुभूति अब दुर्लभ भएको छ ।

मोवाइल, टेलिभिजन र इन्टरनेटले सवैखाले पुराना कुरा र मान्यताहरूबाट समाजलाई अलग्याउँदै गएको छ । अब झन एआईको युग प्रारम्भ भैसकेको छ । अबत झन मान्छेको अस्तित्व नै मेशिनसँग निर्भर होला झैं बन्दै छ । 

वसन्त पञ्चमीदेखि वर्षा लाग्छ र नाग पञ्चमीदेखि हिउँद लाग्छ । वर्खा भनेको मानु खाएर मुरी उब्जाउने समय हो । त्यसैकारण सवै मान्छेहरू खेतीपातीमा व्यस्त रहने समय हो वर्खा । त्यसबाट पार पाएपछि मनाउने चाड हो दशैं । आज म यहाँ मेरो मानसपटलभित्र रहेको दशैं जस्ताको तस्तै राख्ने छु । 

दशैंको जोहो चैत महिनाबाटै सुरु हुन्छ । दशैंको खसीकालागि फागुन चैतमा नै बोकोलाई खसी पारिन्छ र त्यो खसीलाई विशेष ध्यानदिएर पालिन्छ, किनभने त्यो दशैंकालागि खसी हो । दोस्रो जोहो केराको हुन्थ्यो । कुन समयमा पसाएको केरा दशैंमा पाक्छ, त्यस कुराको हिसाव पाका अनुभवीहरू लगाउँथे र भन्थे यो यो घरी केरा चाहिं दशैंकालागि हो । त्यो कुरा हामी केटाकेटीका लागि मीठो सूचनाजस्तै हुन्थ्यो र हामी अचेतन मनबाटै त्यसको रखवाली गर्न थाल्दथ्यौं ।
लुगा कपडा चाहिं चुनौतीपूर्ण आवश्यकता थियो । त्यसका लागि पैसा नै चाहिन्थ्यो जो आफ्नै खेतबारी र पाखापखेरामा फल्दैन थियो ।

निम्न वर्गीय अभिभावकहरू आफ्नालागि नयाँ लुगा प्राथमिकतामा पार्दैन थिए, किनभने उनीहरूमाथि सबै आवश्यकताको बोझ हुन्थ्यो । उनीहरूलाई दशैं कति रमाइलो हुन्थ्यो ? हामी केटाकेटीले थाहा पाउँदैन थियौं, तर केटाकेटीलाई नयाँ नाना अत्यन्तै जरुरी कुरा थियो । दशैंको दिनमा हुनेखानेका छोराछोरी नयाँ लुगालगाएर गाउँभरी घुमिघुमी देखाउँथे । त्यसवेला नयाँ लुगा लगाउँन नपाएका बालबालिकाको मनोविज्ञान कस्तो हुन्थ्यो होला ? 

थोत्रा च्यातिएका मैला लुगालगाएका नानीहरू बाटोको किनारमा उभिएर टुलुटुलु हेरेको क्षण, अझ उनीहरूलाई नयाँ लुगालगाएका केटाकेटीले नयाँ लुगा किन्न नसक्ने थाङ्ने भनेर गिज्याएको क्षण, आज सम्झिदा पनि आँखाबाट टपक्कै आँशु खस्ने क्षण हो त्यो । त्यसैकारण सबै अभिभावकहरू ऋणपान गरेर छोराछोरीलाई नयाँ लुगा कसरी किनिदिने भनरे महिनौ पहिले देखि चाँजो मिलाउँथे ।

अब पालो आउँछ धानको । दशैंकालागि चिउरा आवश्यक वस्तु हो । दशैं मिठो खाने र नयाँ लगाउने चाड हो, त्यसैले अरुवेला ढिंडो,रोटो, च्याँख्ला जेजे खाएर गुजारा गरेपनि दशैंमा धानको भात खानुपर्छ भन्ने मान्यता हुन्थ्यो । जसका घरमा धानको भकारी हुन्थ्यो उसका लागि त कुनै पिरोलो भएन, तर नहुनेले त जोहो गर्नै परो । 

दशैंले छोप्तैछ । अब सोह्रश्राद्ध लाग्यो । उमेर चढ्दै गएपछि थाहा हुने रहेछ । यो वर्षको वर्षाद, वाढी, पहिरोबाट बाँचेर आयौं, अब हामी दशैं मनाउँछौ, तपाईं हाम्रा पितृहरूलाई हामी स्मरण गर्छौ, तर्पण गर्छौं र पिण्ड दान गर्छौ । हामी र हाम्रा सन्ततीहरूमा सदासर्वदा आशीर्वाद रहिरहोस्, कुनै विघ्नबाधा नपरोस्, यही कामनासाथ सोह्रश्राद्धमा पितृको स्मरण गरिन्थ्यो ।

हामी केटाकेटीहरू दिनैपिच्छे औंला भाँचेर दशैं आइपुग्न बाँकी दिन गनिरहेका हुन्थ्यौं, तर दशैंका लागि धेरै काम बाँकी हुँदो रहेछ । वर्षभरी चलाएका फलामका हतियारहरू कोदालो, खुकुरी, हँसिया, चुलेसीहरूमा सान लगाउन बाँकी छ । ती औजारहरू बालीमा कमाएको आरनमा पुर्‍याउनु परो । यो समयमा सबैको सान लाउने हुँदा पालो कुर्नु पर्छ । 

अर्को जटिल काम छ घर रङ्गाउनु । आफूलाई चाहिने रङको माटो कहाँ पाउँछ ? रातो माटो, सेतो कमेरो, पहेंलो कमेरो, परम्परादेखि कसलाई कुन रङ फाप्छ भनिएको छ त्यही रङ लगाउने गरिन्छ । त्यसैले टा–टाढाका पाखापखेराबाट कमेरो र माटो बोकेर ल्याइन्छ । माटो बोक्ने र घर पोत्दा सघाउने कुरामा हामी केटाकेटीहरूको पनि ठूलै भूमिका हुन्छ ।

उता सुषुप्त सामाजिक चिन्तन भएका जाँगरिला र फुर्ती मान्छेहरू गाउँ घुमेर बाबियो भेला गर्थे र डोरी ‘लठ्ठा’ बाट्थे, बाँस ल्याएर लिङ्गा गाड्थे, अनुभवी बुढापाकाहरू निर्देशन दिन्थे र तन्नेरीहरू पिङ बनाउँथे । कुनैकुनै गाउँमा चर्खेपिङ पनि हाल्थे, । ती काममा गाउँका तन्नेरीहरू स्वयम्सेवकको रूपमा काम गर्थे ।

अझै एउटा वाह्य तयारी बाँकी नै छ बाटो खन्नु । घरतिर आउने र जाने बाटो सम्भव भए आधा किलोमिटरसम्मको बाटोको दायाँबायाँ फाँडेर खुल्ला बनाउने, भलबाढीले बिगारेको बाटो मर्मत गर्ने र मिलाउने । त्यती मात्र हैन घर वरिपरी र आँगनको झार जङ्गल खन्ने, उखेल्ने, धाराप“धेरको बाटो, गोठ, मतान, डिही र आफ्ना गाई भैंसी हिंडाउने गल्ली फाँड्ने, खन्ने र मिलाउने काम घरका पुरुष र केटाकेटीको काम हो ।

खसी तयार छ, केराको घरी पाक्न लाग्यो, कपडा सिलाउने जिम्मा दर्जीलाई दिइसकियो, कमेरो ल्याएर घर पोतियो, फलामका हतियार औजारमा सान लागि सक्यो, घर वरिपरी र बाटोघाटो सफा गरियो, चिउराका लागि धान भिजाएको छ आज कुट्ने रे ।

महालय श्राद्ध गरेर कुलपितृलाई पनि विदा गरियो, सोह्रश्राद्धपनि सकियो, घटस्थापनाका दिन जमरा राखियो । भोलिदेखि पुरेत बा आउनु हुन्छ र नौ दिनसम्म सप्तशती चण्डीपाठ गर्नु हुन्छ, त्यसैले अब दशैं लाग्यो । र पनि हामी केटाकेटीे औंला भाँचेर दिन गन्न छोडेका छैनौं । हामीलाई फूलपातीको प्रतीक्षा छ, हामीलाई अष्टमीका दिनको खसी काट्ने क्षणको प्रतीक्षा छ, खसीका कान भुतभुतेमा पोलेर खाने प्रतीक्षा छ । 

हामीलाई नवमीका दिन दर्जी काकाकोबाट सिलाएका नयाँ लुगा ल्याउने, र दशमीका दिन ती लुगा लगाएर टीका थाप्ने अनि केरा चिउरा दही र मासु पेटभरी खाने प्रतीक्षा छ । त्यसैले त ती दिनहरू सात दिनका हुन्छन् होला जस्तो लाग्थ्यो हामीलाई ।

हाम्रोमा बोकाको बली दिने चलन पहिले नै छोडिसकेको रहेछ । घिरौला र कुभिण्डोलाई बाँसका कप्टेराको खुट्टा लगाइन्थ्यो र मार हानिन्थ्यो । पर वैद्यगाउँमा भने मौलो पूजा गरेर राँगाको भोग दिन्थे राईहरू । मौलो भनेको के होला भन्ने जिज्ञासा थियो, पोहोर साल देउसी खेल्दै जा“दा देखेको, फराकिलो आँगनको बीचमा एउटा बलियो काठको खम्बा गाडिएको थियो । त्यसैलाई पूजा गरेर बलीदिने परम्परा रहेछ भन्ने लाग्यो ।

सप्तमीको दिन पल्लो गाउँको शिवालय मन्दिरमा फूलपाती भित्र्याउथे, हामी दौडीदौडी त्यो हेर्न पुग्थ्यौ, लिङ्गे पिङको लिङ्गा जोल्ठ्याएर लठ्ठा झुण्डुयाउदै गरेको हेर्न पुग्थ्यौं । मगर गाउँ र सुनुवार गाउँमा मादलको तुकुदुममुदुम आवाज सुनिन थाल्थ्यो । हामी केटाहरूको हुल बनाएर आलीआलीको बाटो कमिलाको ताँती जस्तो लाम बनाएर हिड्थ्यौं र गाउँमा दशैं आएको छनक दिन्थ्यौ ।

लामै प्रतीक्षा पछि अष्टमीको दिनपनि आइपुग्थ्यो । घर भन्दा केही पर ढुङ्गाको चम्का लगाएको ठाउँमा हामीलाई आगो फुक्न लगाइन्थ्यो, पँधेराबाट पानी ल्याउन लगाइन्थ्यो, काका बडा बाहरू खड्कुडामा पानी तताउन बसाउँथे र अलिकति खरानी र दुबो त्यो पानीमा हाल्थे । किन त्यसो गर्थे भन्ने चाहिं आजसम्म मैले बुझेको छैन । पानी उम्लिने बेलामा कट्टु लगाएका, मैलो पटुकामा दापसमेतको खुकुरी भिरेका साङ्पाङे बडा पनि टुप्लुक्क आइपुग्थे । अरु दिनको भन्दा फरक देखिन्थे बडा, त्यो दिन, उनको काँधमा दाप सहितको कट्टी हुन्थ्यो । 

खसी बाख्रालाई पानी मन पर्दैन र पनि खसीको टाउको कान र गर्धनमा पानी छम्किदिन्थे । पानी झार्न खसीले टाउको र जिउ झड्काथ्र्यो अनि लौ मान्यो भन्थे । अहिले म ठानिरहेको छु लु मलाई काट, मार भनेर कुन प्राणीले स्वीकृति दिंदो होला र । साङ्पाङे बडा दापबाट भरखरै सान लगाएको कट्टी निकाल्थे र एकपल्ट कट्टीको धारमा आँखा लगाउँथे र कट्टीलाई आकाशतिर उचाल्थे । झ्याल र जसकेलाबाट चिहाई रहेका आमा काकी र बडिआमाहरू च्चच्च गर्थे र भन्थे ‘वर्षभरी आफैले पालेको खसी कस्तो माया पनि नलागेको ?’

अघि पानी तताएको भुतभुतेमा हामी कान पोल्थ्यौं । पोलीसकेपछि अलिकती काटेर कतै मन्साई दिन्थे, अनिमात्र हामीलाई पोलेको कान खाने अनुमति दिइन्थ्यो । पुच्छर र गर्धन भने हामीलाई छुन दिंदैन थिए । त्यो चाहिं बालीमा चलाएको विश्वकर्मा र दर्जीलाई दिनुपर्ने परम्परा रहेछ ।

नौ दिनसम्म पाठ गर्ने पुरेत बालाई नवमीको दिन टीका दानदक्षिणा धोती दिएर विदा गरिन्थ्यो । त्यो ठाउँ अब पुरुषहरूको जिम्मा हुन्थ्यो किनभने दुर्गा स्थापना गरेको ठाउँमा नारी प्रवेश वर्जित थियोे । दशैं अब चरम उत्कर्षमा पुगेको छ । भोलि दशमीको दिन नयाँ लुगा लगाएर टीका थाप्ने कुराले अझ उत्तेजित बनाउँथ्यो हामीलाई । यस्तो बेला धेरैपल्ट दगुर्दै गएर मैले आफ्ना लुगा हेरेको छु, छामेको छु । मैले मात्र हैन हाम्रो समयका धेरै केटाकेटीले यसो गरेका हुन्थे भन्ने लाग्छ मलाई ।

लामो प्रतीक्षापछि त्यो समयपनि आयो । घडी कसैसँग हुने कुरै थिएन । म सम्झिन्छु त्यसवेला घरको मूली काका हुनुहुन्थ्यो वेदनाथ । उहा“ आँगनमा निस्किनु भयो र सूर्यतिर हेर्नुभयो, फेरि आफ्नु छायाँतिर हेर्नु भयो, टीका लगाउने साइत हेर्नु भएको होला । त्यसपछि मूल दैलाको चौखट माथिको गारोको अलिकति भागमा पानीले पखाल््नु भयो । त्यहाँ गाईको गोबर टाँस्नुभयो, गोबरको माझमा एउटा ढ्याके पैसा राखेर थिच्नुभयो । त्यसमा राता अक्षताका टीका लगाउनु भयो, पहेंला जमरा लगाउनु भयो । अब विधिवत टीका लगाउने काम सुरू भएको थियो ।

हामी केटाकेटी टीका लगाउन ठीक पारेको राडीमा गएर बस्यौं, तर हामीलाई त्यहाँबाट उठाइयो । भनियो ठूलाबाट सुरु हुन्छ । हजुरआमाले टीका लगाईदिन सुरु गर्नु भयो । दुर्गा भवानीको कृपा रहोस् रोग नलागोस्,शोक नपरोस्, सुखशान्ति होस्, सन्तान फैलिउन् आदिआदि आशिष् दिंदै टीका लगाइदिनु भयो । हामी केटाकेटीलाई चाहिं त्यसमा थपेर आशिष् दिनु भयो । थपिएका आशिष् यस्ता थिए, ज्ञानी हुनु, भनेको मान्नु, गाईबाख्रा राम्रोसँग चराउनु, अर्काको वाली खान नदिनु, राम्रोसँग पढ्नु । पढ्ने कुरा अन्तिममा किन आउथ्यो भने त्यो समयमा पढ्ने कुराले भन्दा कामले प्राथमिकता पाउथ्यो ।

टीका लगाइसकेपछिको काम भनेको पिङ् खेल्न जाने हो । नयाँ लुगाकपडा, निधारभरी राता अक्षता, कानमा पहेंला जमरामा सजिएका उन्मुक्त हामी घरबाट निस्किन्थ्यौं । खेतमा लहलह धानका बाला झुलिरहेका हुन्थे, कोदाका झुप्पाहरू रातो रङ्मा आफूलाई बदल्दै हुन्थे । डाँडा, पाखा र हिमालहरू सफा र स्निग्ध देखिन्थे । बादलका सानासाना केही टुक्राहरू पनि आकाशमा कतै लुकेर हिमाल हाँसेको हेरिरहेजस्तो लाग्थ्यो । 

दोहोेरी पिङ मच्चाउनेहरूको पनि कमी छैन, केटाकेटा दोहोरी, केटीकेटी दोहोरी, केटा र केटीको दोहोरी । केटासँग दोहोरी खेल्ने केटीको चाहिं कुरा काट्छन् गाउँमा, केटीसँग दोहोरी मच्चाउने केटाको चाहिं कसैले कुरा काटेको सुनिदैन ।  पिङमा भिड बढ्दै गएको छ । वर्षभरी पृथ्वीलाई भार दिएका छौं, एकछिन भए पनि पृथ्वी छोड्नुपर्छ भन्दै आमा हजुरआमा काकीहरू सबै पिङ्मा भेला भएका छन् । त्यसैले खेल्ने भन्दा पनि पालो पु¥याउनेगरी दाइहरू प्रवन्ध गरिरहेका हुन्थे । रोटेपिङ अर्थात चर्खेपिङ बनाउन भने ठूलो मेहनत लाग्थ्यो । 

हिजोआज हामीले दशैं मेलातिर देख्ने पिङको पूर्खा भने पनि हुन्छ त्यो पिङलाई । यो पूरै काठैकाठले बनेको हुन्थ्यो । बलिया तन्नेरीहरू दुईपट्टिबाट पिङ घुमाएर मान्छेहरूलाई मनोरञ्जन गराउँथे । यसरी पिङले दशैंको सार्थकता दर्शाई दिन्थ्यो ।

त्यसपछि दशैंको अर्को महत्वपूर्ण खण्डमा प्रवेश हुन्छ, माइत मावल जाने । हामी केटाकेटीहरूकालागि त रमाइलै रमाइलो मात्र थियो मावल जानु । आमाहरूका लागि भने सहज थिएन माइत जानु , दशथरीका काम सकेर सासू ससुराको स्वीकृति लिएर हिड्नु पर्ने । आज जान पाउदिनस् पर्सी जानु भनिदिएपछि जङ्गबहादुरको हुकुम भन्दा ठूलो भैहाल्ने ।

कसैले जङ्गलको बाटो हिड्नु पर्ने, कसैले कम्मर कम्मर जँघार तर्नुपर्ने, कसैले नाउ चढेर नदी पार हुनुपर्ने, कसैको २–३ दिन बास बसेर मात्र पुगिने माइत मावल हुन्थ्यो । त्यसैकारणले पूर्णिमाका दिनसम्म टीका लगाउने चलन राखिएको हो । आजका मान्छेहरू दशैं लामो भयो, छोट्याउनु पर्छ, टीका एकदिनमात्र लगाउनु पर्छ भन्छन् । यो सुन्दा उनीहरूको अनभिज्ञताप्रति दयामात्र लागेर आउँछ ।

केटाकेटीकालागि मावल त्यस्तो एउटा ठाउँ हो जहाँ पुगेपछि कुनै कुराको अभाव हाँदैन । कसैले गाली गर्दैन, काम लगाउँदैन । सबैभन्दा बढी हजुरआमाले माया गर्नुहुन्छ । अनि हजुरबाले गर्नुहुन्छ, तर उहा“को माया समुन्द्र जस्तो हुन्छ । मामाहरू समुन्द्रको छाल जस्तो हो, खेल्न रमाइलो हुन्छ । दशैंमा मामाघर पुगेपछि मामाहरू घरमा नहाँदा, तासजुवा खेलेर राति अवेरसम्म नआउँदा चाहिं नमज्जा हुने । अनि अर्को नमज्जा मावली गाउँका दौंतरीहरू पनि उनीहरूको मावल गएका हुन्थे र नमज्जा हुन्थ्यो । हामी केटाकेटीको अनुभव हा यो, बाँकी त मामाघर स्वर्ग हो । 

माइत जान पायोभने नारीहरू वर्षीका पोथ्रा नाघ्दै हिड्छन भन्ने चलन थियो । चेली र माइतीको प्रेमको सूचक थियो त्यो । त्यस्तो खुसीको क्षणमा पनि आमा र छोरी एकान्तमा बसेर सुँक्क सुँक्क रुन्थे । थोरै शब्द बोल्थे र धेरै आँशु झार्थे । हजुरआमा मेरी आमाका हातका ठेला हेर्नु हुन्थ्यो अनि रुनु हुन्थ्यो । कलेटी परेका ओठ हेर्नु हुन्थ्यो, त्यसवेला उहाँका आँखाबाट बररर आँशु झर्न थाल्थे । ‘कर्मको खेला’ भन्नुहुन्थ्यो र मजेत्रोले आँशु पुछ्नु हुन्थ्यो । 

उहाँहरूका अल्पअल्प कुराहरू हामी बुझ्दैन थियौं । वर्षभरिको दुखपीडा र अत्यासलाग्दो वर्षा अनि बाढी पहिरोबाट बाँचेको खुसीमा पनि आँशु झर्न सक्थे र दुखको चस्स बिझाउने अनुभूतिमा पनि झर्न सक्थे । हामीलाई लाग्थ्यो यो दशैं आमाहरूलाई रुनकै लागि आएको होला ।

आफ्नु घरमा छोरीहरूलाई मात्र टीका लगाएर दक्षिणा दिइन्थ्यो । हामी छोराहरूले दक्षिणा पाउने त मावली घरमामात्र हो । त्यसैले पनि दशैंमा मावल जानुको मज्जा भिन्नै हुन्थ्यो । मावलमा टीका र आशीर्वाद थापेर गोजीमा दक्षिणा हालेर डाँडा पाखा दगुर्दै हिड्ने हामी केटाकेटी अनि पत्रैपत्र पहाडको पल्लापट्टि उन्मुक्त हासिरहेको सेतो हिमाल एकैजस्तो लाग्थ्यो मलाई । 

हामी दशैंमा खुसी हुन्थ्यौं तर जिम्मेवारीले थिचिएका हाम्रा अभिभावकहरू आफू दशा खेपेर हामीलाई दशैं मनाईदिन्थे, छोराछोरीको खुसीकालागि मात्र हाँसीदिन्थे र भित्रभित्रै आँशु झारिरहेका हुन्थे सायद । र पनि त दशैं दशैं नै हो , दशैं रमाइलो चाड हो र दशैं आउने वर्षका लागि बाँच्ने बलियो उर्जा हो ।
—    ०० —


 

View : 304

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved