कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाको एक घरमा दुई वर्षदेखि हरेक विहान पद्मा जोशीले छोरा विपिनको तस्वीर अगाडि दियो बालिन् । हात जोडेर लगातार एउटै प्रार्थना गरिरहिन्, ‘भगवान, मेरो छोरा फर्कियोस् ।’
दुई वर्षअघि इजरायलमा भएको हमास आक्रणमा परी विपिन उनीहरुको कब्जामा परेको खबर सुनेदेखि उनले यसप्रकारको प्रार्थना गर्दै आएकी थिइन् ।
त्यसको दुई वर्षपछि जब इजरायलको बेन गुरियन विमानस्थलमा इजरायली सैनिकहरू पंक्तिबद्ध भएर मौन उभिएका थिए, त्यो विपिन जोशीको सम्मानका लागि थियो ।
यी दुई दृश्यलाई तुलना गर्दा लाग्छ, भगवानले पद्मा जोशीको आवाज दुई वर्षपछि सुने र जवाफ दिए । तर त्यसको जवाफ असह्य पीडाले भरिएको थियो, काठको बाकसभित्र बन्द भएर उनको छोरो विपिन फर्किएका थिए । विपिन यस्तो रूपमा फर्किए कि पद्मा जोशीले ‘छोरा’ भनेर बोलाउन पनि सकिनन् । केवल पीडा र आ“शुको सागरमा डुबिन् । उनीसगै उनको परिवार र गाउँ नै द्रविभूत बन्यो ।
काठको बाकसमा विपिनको शवका अंशहरु मात्र थिएनन्, गर्व पनि मिसिएको थियो । इजरायलले नेपाली विद्यार्थीका लागि दिएको सम्मान पनि थियो ।
२० असोज २०८० (७ अक्टोबर २०२३), गाजाको छेउमा रहेको किबुट्ज अलुमिममा हमास लडाकूहरूले इजरायलमा अभूतपूर्व हमला गरे । त्यही आक्रमणमा कृषि अध्ययनका लागि इजरायल पुगेका १७ नेपाली विद्यार्थीहरूमध्ये १० जनाको मृत्यु भयो, केही घाइते भए । हमासले दक्षिणी इजरायलको किबुजमा गरेको त्यो आक्रमणमा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो ।
विपिनसँगै ‘सिक र कमाऊ’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका दश जना साथीहरु मारिएका थिए । त्यस हमलामा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशिष चौधरी, दार्चुलाका दीपेशराज बिष्ट र लोकेन्द्रसिंह धामी, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । त्यही घटनामा विपिन हमास समूहको कब्जामा परेका थिए ।
‘सिक र कमाऊ’ कार्यक्रम पछिल्ला वर्षमा कृषि विषयमा अध्ययनरत विद्यार्थीहरूका लागि इजरायलको यो योजना थियो । नेपाली विद्यार्थीलाई कृषि प्रविधि सिक्न इजरायल जाने अवसर प्रदान गरेको थियो । काठमाडांै स्थित इजरायली दूतावासले यसको समन्वय र सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा सहभागीको छनोट गर्दछ । यस्ता विद्यार्थीहरु इजरायलका कृषि फार्महरुमा एघार महिना काम गरेर कृषि प्रविधिको व्यावहारिक ज्ञान र सीप लिएर स्वदेश फर्किएर यहा“को कृषिको व्यावसायिक विकासमा योगदान गर्दछन् भन्ने विश्वास गरिएको छ ।
इजरायलमा हमास आक्रमणमा परी बेपत्ता विपिन जोशीलाई अन्ततः दुई वर्षपछि मृत अवस्थामा हमासले इजरायल सरकारलाई हस्तातरण गर्यो । त्यसपछि इजरायल सरकारले उनलाई आफ्नै नागरिक सरह सम्मान र ‘साहस र मित्रताका प्रतीक’को उपाधिसहित नेपाल फर्काएको थियो ।
राष्ट्रिय सम्मान
शव नेपाल फर्काउनुअघि तेल अविवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनका लागि आयोजित श्रद्धाञ्जली समारोह सामान्य थिएन । इजरायली सैनिकहरू सतर्क अवस्थामा उभिएका थिए, कफिनमा राखिएको उनको शवमा इजरायली झण्डा ओढाइएको थियो ।
सैनिक ब्याण्डले मौन सलामी दियो । इजरायलका विदेश मन्त्रालयका अधिकारीहरूले भने, ‘उनी केवल एक नेपाली विद्यार्थी मात्र थिएनन् उनी हामी मध्येकै एक थिए भन्ने लाग्छ । उनी साहस र नेपाल इजरायल मित्रताको प्रतीक हुन् ।’
त्यो क्षणमा उपस्थित एक नेपाली विद्यार्थी भन्छन्, ‘हाम्रो साथीलाई राज्यस्तरको सम्मान दिइँदा गर्वले आँसु आयो । विपिन मरेर गए पनि उनले हमासको कब्जामा पर्नुअघि देखाएको साहस सामान्य थिएन । हाम्रो साथी इजरायल भूमिमा मर्यो, त्यति मात्र होइन उसले विदेशी भूमिमा पनि साहसी नेपालीको परिचय दिएर गयो । त्यसको आज विश्वले कदर गरेको छ, त्यो नै हाम्रो लागि गर्वको विषय हो ।’
इजरायलमा पढ्न गएका विद्यार्थी हुन् विपिन । उनलाई बन्धक बनाएपछि रिहाइका लागि इजरायलका मानव अधिकारकर्मी र सरकारी निकायले निरन्तर प्रयास गरेको पाइन्छ । इजरायल सरकारले विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायलमा नै झिकाएर बन्धक मुक्तिका लागि विभिन्न प्रयास गरेको थियो । मानव अधकिारकर्मीहरुले विपिनको मुक्तिका लागि गरेको प्रयास र विपिनको परिवारप्रति देखाएको श्रद्धा उच्चकोटीको पाइएको छ ।
कानुनी समानता
इजरायलको राष्ट्रिय बीमा संस्थानले आतङ्कवादी आक्रमणमा मारिएका विदेशी कामदार वा विद्यार्थीहरूलाई पनि इजरायली नागरिक सरह सहायता र मुआब्जा दिने कानुनी व्यवस्था गरेको छ । त्यही व्यवस्था अन्तर्गत, बिपिन जोशीका परिवारलाई ‘आतङ्कवादी आक्रमणका पीडितहरू’को श्रेणीमा राखी उनका परिवारलाई जीवनभर मासिक भत्ता उपलब्ध गराइने घोषणा गरिएको छ । यस सम्बन्धमा नेपाल स्थित इजरायली दूतावासले पनि पुष्टी गर्दै भनेको छ, उक्त भत्ता नेपालमै पठाइनेछ र परिवारको बैंक खातामा नियमित रूपमा जम्मा गरिनेछ ।
विपिन जोशीको घरसम्म आएर सम्मान व्यक्त गरेका इजरायली राजदूत हानन गोदारले भनेका छन्, ‘हमासको आक्रमणमा कुनै नेपाली घाइते वा मारिएमा, इजरायलले उनीहरूको परिवारलाई जीवनभर सहयोग गर्ने पूर्ण जिम्मेवारी लिन्छ ।’
परिवारलाई विशेष सहयोग
इजरायली सरकार र बन्धक सहयोग कार्यक्रम अन्तर्गत, बिपिनका आमा–बुबालाई मनोवैज्ञानिक परामर्श र नियमित सम्पर्क सहयोग उपलब्ध गराइएको छ ।
अमेरिकाको प्रसिद्ध अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ, उनलाई ‘साहसिक मृत्युका पीडित’ भनेर वर्गीकृत गरिएको छ । यसको अर्थ विपिन जोशीले इजरायलमा एउटा अनपेक्षित परिवेशमा पनि साहस देखाए । वीर गोर्खाली भनेर परिचित नेपालका छोरा विपिनले हमासले फालेका दुईवटा ग्रिनेटमध्ये एउटा टिपेर उतै फालेर समूहका साथीहरूको ज्यान बचाएका थिए । त्यही बहादुरीको क्रममा उनी हमासको कब्जामा पुगे र त्यही अवस्थामा उनको हत्या भयो ।
विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पालाई इजरायल बोलाएर श्रद्धाञ्जली कार्यक्रममा सहभागी गराइयो । त्यहाँ उनीहरूले इजरायलका विदेशमन्त्री र मानव अधिकार विभागका अधिकारीसँग प्रत्यक्ष भेटघाट र संवाद गर्ने अवसर पाए ।
इजरायलले स्पष्ट रूपमा घोषणा गरेको छ, सबै विदेशी पीडितहरूलाई समान कानुनी व्यवहार गरिनेछ । तर विपिनको मामलालाई छुट्टै ‘बन्धक पीडितको श्रेणी’ मा दर्ता गरिएको छ । बन्धक पीडित अन्तर्गतका परिवारलाई अतिरिक्त सम्मान र सुविधा उपलब्ध हुनेछ ।
नेपालमा स्वागत
विपिनको शव नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानका साथ स्वागत गरियो । विपिन जोशीको शव उनी कब्जामा परेको २ वर्ष १३ दिनपछि कात्तिक २ गते नेपाल आइपुगेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सैनिक वाहिनी परिसरमा आयोजित शोक सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेकी थिइन् । त्यस अवसरमा नेपाल सरकारका मन्त्रीहरू, इजरायली राजदूत, परिवारजन र हजारौं नागरिक उपस्थित थिए ।
उनको शव महेन्द्रनगरमा ल्याएपछि शवयात्रामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू पनि सहभागी थिए । सशस्त्र प्रहरीले विपिनप्रति सलामी अर्पण गरेको थियो ।
बुबा महानन्द र ठूला बुबाका छोरा किशोरले दागबत्ती दिए । इजरायली दूतावासका अधिकारीहरूले पनि मौन श्रद्धाञ्जली अर्पण गरे । नेपालस्थित इजरायली राजदूत स्मुलिक एरी बासले इजरायली राष्ट्रपतिद्वारा पठाइएको सन्देश पढे । राष्ट्रपतिले पठाएको सन्देशमा भनिएको थियो, ‘विपिनले इजरायलमा देखाएको साहस र समर्पणका लागि हामी सधैं ऋणी रहनेछौं ।’
सन्देस पढेपछि इजरायली अधिकारीले महाकाली किनारबाट एउटा ढुंगा उठाए । विपिनको सम्झनामा इजरायलमा राखिने भन्दै लिएर गए ।
यसरी तिहारको लक्ष्मीपूजाको दिन विपिनको गाउँ शोकमा डुब्यो । त्यतिबेला स्थानीयको मनमा एक किसिमको गर्ववोध पनि मिसिएको पाइन्थ्योे । किनकि विपिनले राष्ट्रिय सम्मान पाउने गौरवगाथा पनि साथै लिएर आएका थिए । नेपालको एक दैनिकका अनुसार गाउँकी वृद्ध आमाले भनिन्, ‘छोरो पढ्न भनेर गएको थियो, तर देशकै सम्मान लिएर फर्कियो ।’
इजरायलमा पढ्न गएका विपिनको अपहरणपछि टाउकोमा गोली हानेर हत्या गरिएको पाइएको छ । तर इजरायल सरकारले उनको मुक्तिका लागि जुन प्रयास र शव प्राप्तिपछि जुन सम्मानका साथ नेपाल पठाउने काम गर्यो त्यो उदाहरणीय छ । इजरायली सरकारको तर्फबाट गर्नुपर्ने जिम्मेवारी विना कुनै कञ्जुस्याइँ पूरा गरेको छ । हजरायलमा हजारौं मानिसहरू मारिएका छन् । अपहरणमा पर्नु र तिनको मुक्तिका लागि प्रयास गर्नु र जीवित व्यक्ति वा शवलाई ससम्मान परिवारको जिम्मा लगाउनु एउटा राज्यको कर्तव्य हो । त्यो इजरायलले शतप्रतिशत पूरा गरेको छ । गुनासो गर्नुपर्ने ठाउँ छैन ।
कूटनीतिक सन्देश
विपिनको निधनले नेपाल–इजरायल सम्बन्धलाई नयाँ भावनात्मक आयाम दिएको छ । नेपालबाट इजरायलमा अध्ययन र रोजगारीका लागि जाने युवाहरूको सुरक्षामा दुबै देशबीच नयाँ सहकार्य आरम्भ भएको छ ।
यद्यपि इजरायलले विपिनको परिवारलाई जीवनभर भत्ता र सम्मान दिने भएको छ, भत्ताको ठ्याक्कै रकम र प्रक्रियात्मक स्पष्टता सार्वजनिक भएको छैन । नेपालले पनि भविष्यमा यस्तो अवस्थाका लागि तयारी र वैदेशिक जोखिम बीमा प्रणाली बलियो बनाउनुपर्ने देखिएको छ ।
विपिन जोशी अब फर्किने छैनन् । तर उनको कथा एउटा सन्देश बनेको छ, सपना, साहस र मानवीय संवेदनाको । विपिन काठको बाकसमा माताको स्नेत र देशको इज्जत दुवै बोकेर फर्कियो । हो त विपिनको मृत शरीरको अवशेष बाकसमा फर्कियो, तर उनको साहस र नाम सदाको लागि दुई देशको इतिहासमा अंकित रहनेछ । गहिरो गर्वभावका साथ श्रद्धाञ्जली विपिन !
View : 301
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved