तेतरिया (ग्रामथान) । आगामी मंसिर १६ मा हुने उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँ पालिका कोशी प्रदेशकै चुनावी ‘इपिसेन्टर’ बन्दैछ । ग्रामथान प्रदेशभरीकै एकमात्र गाउँपालिका हो, जहाँ अध्यक्ष पदको चुनाव हुँदैछ । प्रदेशभरीमै प्रमुख पदमा एक ठाउँमात्रै चुनावी प्रतिष्पर्धा हुन लागेका कारण पनि राजनीतिक दलहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रामथान केन्द्रीत पारेका छन् ।
उपनिर्वाचनलाई कांग्रेसले बर्चश्वलाई निरन्तरता दिने योजना बनाएको छ । ग्रामथानमा पुरानो सफलता दोहोर्याउने ध्येयमा रहेको कांग्रेसबाट निर्वाचित तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा कांग्रेसले उनको अधुरा योजना पूरा गर्न र उनीप्रति जनताको सम्झना प्रकट हुने हुँदा पनि जीत हासिल गर्ने दाबी गरिरहेको छ । यसअघिको निर्वाचनमा दोस्रो बनेको नेकपा एमाले यसपटक कांग्रेसको बर्चश्व तोडेर आफ्नो जीतको झण्डा गाड्न आतुर देखिन्छ ।
२०७९ को स्थानीय निर्वाचनमा ग्रामथानमा पहिलो र दोस्रो बनेका कांग्रेस र एमाले मात्रै होइन, त्यसबेला तेस्रो स्थानमा चित्त बुझाएको नेकपा माओवादी केन्द्रसमेत यसपटक सम्पूर्ण शक्ति लगाएर चुनावमा होमिएको छ । उसले त अन्य दलभन्दा धेरै अघि नै उम्मेद्वार चयन गरेर घरदैलो अभियान चलाइरहेको छ । यी तीन दलबाहेक अन्य साना दलहरू पनि आफ्नो चुनावी परीक्षणका लागि ग्रामथानमा लागिपरेका छन् ।
ठूला हुन् या साना, सबैजसो दलहरूले ग्रामथानमा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनले आगामी दिनका लागि चुनावी सन्देश दिने, जनमत आफूतिर तानिएको प्रमाणित हुने र स्थानीय सरकारमा आफ्नो शक्ति प्रदर्शित हुने आशाले दलहरूले सारा शक्ति खन्याउने योजना बनाएका छन् । दुई सातायता ग्रामथानमा सबैजसो दलका ठूला नेताहरूको ओहोरदोहोर बाक्लो चलिरहेको छ ।
‘प्रदेशभरीमै यहाँ मात्रै अध्यक्ष पदको चुनाव हुने भएका कारण पार्टीको ध्यान केन्द्रीत हुनु स्वाभाविक हो’, नेपाली कांग्रेसबाट ग्रामथानको अध्यक्ष पदका उम्मेद्वार बनेका बलराम सरदारले भने ‘अझ हामीले त जित हासिल गरेको पालिका भएकाले पनि त्यही सफलता हासिल गर्नुपर्नेछ ।’ यही चुनौती झेल्ने भन्दै नेताहरू ग्रामथान केन्द्रीत भएका छन् ।
कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूदेखि उनको समितिका पदाधिकारीसहित जिल्ला तहका बहुसंख्यक नेताहरू केही दिनयता ग्रामथानमा घरघरै पुगिरहेका छन् ।
‘मंसिर २ मा उम्मेद्वारी मनोनयन दर्ता भएपछि केन्द्र र प्रदेशका नेताहरू यहाँ ढुक्कै खटिनेगरी आउनुहुनेछ’, ग्रामथान कांग्रेसका एक नेताले भने ‘महामन्त्री विश्वप्रकाश शर्मादेखि, शेखर कोइरालासम्म, प्रदेशका सबैजसो नेताहरू ग्रामथानमै केन्द्रीत हुने योजना छ ।’
कांग्रेसले चुनावी सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती खेपिरहेका बेला एमालेले आफ्नो शक्ति बढेको देखाउनुपर्ने आवश्यकता बोध गरेको छ ।
यही बोधकै कारण एमालेले प्रदेशदेखि जिल्लाभरीको शक्ति ग्रामथान केन्द्रीत तुल्याएको छ । गएको मंगलबार मात्रै एमालेले महासचिव शंकर पोखरेललाई ग्रामथानमै ल्याएर जिल्लाभरीका नेताहरूका लागि प्रशिक्षण कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा पार्टीका प्रदेश इन्चार्ज शेरधन राईले दिएको निर्देशनले नै एमालेले भोगिरहेको चुनौती बुझ्न सकिन्छ ।
‘यो पार्टीको प्रतिष्ठासँग जोडिएको विषय हो, यहाँ दायाँबायाँ गर्ने छुट कसैलाई हुने छैन’ सो कार्यक्रममा राईले भनेका थिए ‘सिंगो पार्टी एकढिक्का बनेर यहाँको निर्वाचनमा सकारात्मक परिणाम ल्याउन लाग्नुपर्नेछ ।’
एमालेले तुलसीराम विश्वासलाई अध्यक्ष पदमा अघि सारेको छ । चुनावी अभियानमा कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई नेतृत्वमा शक्ति परिचालन गर्ने योजनामा एमाले रहेको छ ।
भर्खरै मात्रै कांग्रेसबाट पार्टीमा भित्र्याएर नमोनारायण माझीलाई अध्यक्षको उम्मेद्वार बनाएको माओवादीले चुनावी अभियान सबैभन्दा अघिदेखि गरिरहेको छ ।
माओवादीले उम्मेद्वारी घोषणा गर्दा सावित्रीकुमार काफ्ले, अमनलाल मोदीसहितका नेताहरू उपस्थित थिए । त्यसयता संघीय सांसदसमेत रहेका मोदी निरन्तर ग्रामथानमै केन्द्रीत छन् भने अन्य केन्द्रीय नेताहरूको पनि ओहोरदोहोर निरन्तर चलिरहेको छ ।
यसैगरी दिलबहादुर विश्वकर्मालाई उम्मेद्वार बनाएर चुनावमा होमिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, निर्वाचन परिचालन कमिटी संयोजक डा.उद्वव पोखरेल, केन्द्रीय सदस्य निलम ढुंगेलसहितका नेताहरू ग्रामथानमा केन्द्रीत भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दिवेश थन्दारलाई अध्यक्षको उम्मेद्वार बनाएर चुनावी अभियान थालेको छ ।
पार्टीका महामन्त्री प्रल्हाद साह, मोरङ अध्यक्ष गोपाल कटुवाल, कोशीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहितका नेताहरू ग्रामथानमा चुनावी अभियानमा खटिएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्म १०२ जना नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता संख्या अनुसार १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता कायम भएका छन् । ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएका छन् ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।
यसअघि अध्यक्ष जितेको कांग्रेस पुरानो गणितले पनि आफै बलियो रहेको दाबी गरिरहेको छ भने एमालेसहितका अन्य दलहरू भने २०७९ को गणितले केही अर्थ नराख्ने बताइरहेका छन् ।
चुनावी मैदानमा होमिएका दलहरूको आ–आफ्नो दाबीको असली परीक्षा मंसिर १६ मा हुने मतदानका दिन मतदाताको मनमा निर्भर हुनेछ । तर, त्यहाँसम्म पुग्दै गर्दा दलहरूले ग्रामथानको अध्यक्ष जित्नलाई सम्भव भएजति सबै उपाय लगाउने निश्चित देखिन्छ ।
View : 88
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved