Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नागरिक आत्मविश्वास बढाउँदैछन् आँगनका सरकार

उद्‌घोष संवाददाता
२ भदौ २०८२, सोमवार

विराटनगर । जन्मेदेखि मृत्युसम्मका हरेक घडीमा जनताको साथैमा खडा भएर दरिलो आडभरोसा दिइरहेका स्थानीय सरकार र तिनका इकाइहरू आम नागरिकको आत्मविश्वास बढाइदिने आधार बनिरहेका छन् । पालिका हुन् वा वडा द्रुत विकास र सहज सेवा प्रदानको थलो बनेका छन् । आफ्ना काममार्फत् नागरिक भरोसा जितेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई जरैबाट बलियो बनाउने कर्मको प्रमुख अभियन्ता पनि बनिरहेका छन् । 

कुनैबेला घरको बाकसमा राखेको धनीपूर्जा र नागरिकतामा मात्रै भेटिने सरकार अहिले नागरिकको घरआँगनमा स्थानीय तहमार्फत् आफैं उपस्थित छन् । 

भाषा मिलाएर बोल्न जान्नहरूले मात्रै होइन, स्थानीय तहको सेवासुविधा सहजै पाएर पहिलेभन्दा सन्तुष्ट सुनिने आम नागरिकको अनुभवले पनि यसै भन्छ । त्यसो त अपवादमा केही विकृत घटनाहरू हुँदै नभएका होइनन् । यद्यपि नागरिकले घरआँगनमै भेट्न सक्ने ‘आँगनको सरकार’ले जनसेवाका क्षेत्रमा जे–जति सत्कर्म गरेका छन्, तिनको दा“जोमा अपवादका विकृति नगण्य छन् । 

धेरै टाढा नगई मोरङकै केही पालिका र वडाहरूको गतिविधि मात्रै केलाउने हो भने पनि आँगनको सरकारले गरिरहेका यस्ता धेरै कामहरू भेटिन्छन्, जसले नागरिकलाई वास्तविक अर्थमा संघीयताप्रति नै कृतज्ञ तुल्याउने काम गरिरहेका छन् । 

पहिले हेरौं, रंगेली नगरलाई । खेतबारीमा दिनरात मिहेनतको पसिना बगाउने किसानले सिंचाई सुविधाका लागि आकाशे पानीको मात्रै भर पर्नु पर्ने अवस्था भयावह हो । यसवर्षको लामो खडेरी यस्तै अवस्थाको एउटा दसी थियो । मुलुककै अन्न भण्डार मानिने कोशीको तराई क्षेत्र र सिंगो मधेस प्रदेश यसपटकको खडेरीले खंग्रङ्गै बनेका थिए ।

भरपर्दो सि“चाई सुविधा अभाव र कमजोर मनसुनी प्रणाली लम्बिइरहेको त्यस्तो बेला पनि मोरङ रंगेलीका किसान भने धमाधम धान रोपिरहेका थिए । आनन्दले धानखेत भिजाइरहेका थिए । सुविधा सम्पन्न नहरको उपलब्धताले रंगेलीका किसान लाभान्वित भएका होइनन् । किसानलाई बोरिङ सुविधा आफैं दिने र बोरिङबाट खेतबारीमा पानी पटाउँदा लाग्ने बिजुलीको सम्पूर्ण खर्च आफैं ब्यहोरी दिने रंगेली नगरपालिकाको निर्णयले किसानलाई पानीका लागि चिन्ता लिनु पर्ने अवस्थाबाट मुक्त गरिदिएको छ । 

‘भरपर्दो नहर छैन । आकाशे पानीको भर त झनै हुँदैन’, रंगेली ७ का किसान विपुल पौदार भन्छन्  ‘यस्तो बेलामा आफैंले बिजुलीको बिल तिरेर खेतबारीमा सिंचाइ गर्छु भन्नु किसानले धान्नै नसक्ने कुरा हो । तर, रंगेलीमा नगरपालिकाले नै बोरिङ दिएको छ । त्यसमा लाग्ने सम्पूर्ण विद्युत खर्च ब्यहोरी दिएको छ । अहिले हामी ढुक्कले बोरिङ चलाएर खेतबारीमा पानी पटाउँछौं ।’ 

१० बिघाभन्दा बढी जमिनमा धान, मकै, सनपाट र उखु खेती गरिरहेका यी युवा किसान विपुलले यसो भनिरहँदा उनी नगरपालिकाप्रति कृतज्ञ सुनिन्थे । विपुलका अनुसार उनीजस्ता रंगेली नगरभित्रका हजारौं किसान केही वर्षयता ढुक्कले बिजुलीमार्फत् सिँचाई सुविधा उपभोग गर्छन् । त्यसको महसुल नगरले तिरिदिन्छ । रंगेली नगरका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्रै नगरले किसानले प्रयोग गरेको विद्युत वापत ७० लाख रूपैयाँ महसुल विद्युत प्राधिकरणलाई बुझाएको छ । 

यतिमात्रै होइन, रंगेलीका किसानको सिंचाई सुविधाकै लागि स्थानीय घागी खोलामा झण्डै ५ सय मिटर लामो बाँध बनाएर खोला छेकिदिएको छ । सीमा बाँध भनेर चिनिने यो ड्याम बनेपछि खोलामा बाह्रै महिना ४ देखि ५ किलोमिटर क्षेत्रमा टनाटन पानी जम्ने गरेको छ । त्यही पानीबाट पनि किसानले सजिलै खेतमा पानी पटाउन पाएका छन् । 

‘नगरपालिकाले यति काम गरेको थिएन भने यहाँका किसानको अरू उपाय केही थिएन’ पौदारले थपे ‘जनप्रतिनिधिहरूले हाम्रा लागि गरेको यो काम साँच्चै राम्रो छ ।’ 

नगरले उपलब्ध गराएको यही सिंचाई सुविधाले यसपटक रंगेलीका किसानले मकै मात्रै १० करोडभन्दा बढीको बिक्री गरेको उपप्रमुख भुमाकुमारी पराजुली बताउँछिन् । 

आर्थिक दुरावस्थासँग जुधिरहेका बहुसंख्यक नागरिक भएको पािलका हो धनपालथान गाउँपालिका । यो पालिकाले जब कुनै सुत्केरी महिलाका लागि पोषणयुक्त खानेकुरा, झुल तथा अन्य लजिस्टिक सामग्री उपलब्ध गराउँछ, त्यसबेला ती आमाको मुहार खुशीले धपक्कै बल्छ । यो दृश्य धनपालथानका जनप्रतिनिधिले आफ्ना नागरिकको अनुहारमा बारम्बार देखेका छन् । 

‘गर्भवती महिलालाई पोषण र आवश्यक अन्य सामग्रीहरू पालिकाले सबैलाई उपलब्ध गराउँछ’, उपाध्यक्ष नसिमा बानो भन्छिन् ‘बहुद्देश्यीय पोषण कार्यक्रममार्फत् गर्भवती महिलालाई पोषण सामग्री र आवश्यक स्वास्थ्य सहयोग दिने गरेका छौं ।’ 

उनका अनुसार धनपालथानले गर्भवती परीक्षण, सुरक्षित मातृत्वमा कुनै सम्झौता गर्दैन । दोस्रो पटक उपाध्यक्षको जिम्मेवारी पाएकी युवा महिला जनप्रतिनिधि उनको दृढताले पनि आँगनका सरकारको प्राथमिकता देखाउन मद्दत गर्छ । 

विराटनगर महानगरको  वडा नम्बर ६ बहुसंख्यक सुकुम्बासी र विपन्न नागरिकहरू बसोबास गर्ने वडामा गनिन्छ । ज्याला मजदुरी गरेर छाक टार्ने तिनै विपन्न नागरिककै खातिर वडा नम्बर ६ ले सबै वडाबासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । 

वडाध्यक्ष हरिशचन्द्र सहनीका अनुसार आर्थिक वर्ष  २०८१÷८२ मा वडाभित्रका १ हजार ११९ परिवारको वडाले निःशुल्क स्वास्थ्य बीमा गरेको छ । वडाले स्वास्थ्य बीमाका लागि करीव ४० लाख रूपैयाँ छुट्याएर वडाबासीलाई स्वास्थ्य बिमामार्फत् सेवा दिएको हो । 

‘गरिब र विपन्नहरूले उपचार गर्नै नपाउने अवस्था हामीले अन्त्य गर्दै लगेका छौं, ४० लाख रूपैयाँ स्वास्थ्य बिमामा छुट्याएर बिमा गरिदियौं’ वडाध्यक्ष सहनीले भने, ‘यो वर्ष हामीले ५० लाख रूपैयाँ बिमाकै लागि छुट्याएका छौं, हामी सबै वडाबासीको पहुँचमा स्वास्थ्य बीमा पुग्नुपर्छ भनेर लागिरहेका छौं ।’

‘पालिका र वडाले पूर्वाधार निर्माण र जनसेवा गरिरहेकै छन्, त्यो सँगै अर्को महत्वपूर्ण योगदान सहभागितामूलक लोकतन्त्रको बलियो अभ्यास पनि गरिरहेका छन्’ राजनीतिक विश्लेषक उज्जवल प्रसाईं भन्छन् ‘योजना छनोटदेखि बजेट विनियोजनसम्म वडास्तरमै जनसुनुवाइ, गोष्ठी, बैठकमार्फत् नागरिक सहभागिता बढेकै छ । 

महिला, दलित, पिछडिएका समुदायलाई अनिवार्य सहभागिता दिने व्यवस्थाले लोकतान्त्रिक समावेसीकरणलाई बलियो बनाएको छ । यसरी नागरिकले आफैंले प्राथमिकता दिएका योजनामा प्रत्यक्ष आवाज उठाउन पाउने व्यवस्था नै साँचो अर्थमा  संघीयता हो ।’ 

यद्यपि माथिल्लो तहका सरकार, कर्मचारीतन्त्रमा कायम रहेको केन्द्रिकृत सोच भने अझै पनि चुनौतीकै रूपमा रहेको प्रसाईं बताउँछन् ।

View : 422

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved