Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उनीहरूलाई ‘उनीहरू’ नै हुन दिऔं

शोभा बजगाई
३ भदौ २०८२, मङ्गलवार

घटना १ः

पिंकी उमेरले १६ वर्षकी भइन् । घरमा बाबु, आमा र दुई जना भाइहरू छन्् । बाबु सरकारी कर्मचारी छन् भने आमाले होटल व्यवसाय सञ्चालन गर्छिन् । पिंकी कक्षा १० मा पढ्छिन् । 

उनको १ वर्षदेखि एक युवकसँग प्रेम सम्बन्ध छ । दुई जना एकान्त ठाउँमा जाने, कुराकानी गर्ने र समय बिताउने गरेको छिमेकी र आफन्तले थाहा पाएपश्चात् बुबा–आमालाई पनि जानकारी दिए । 

यसपछि बुबा–आमाले उनका प्रेमीलाई मुद्दा हाल्ने कुरो गरेको पिंकीले सुनिन् । उनले यी सबै कुरा प्रेमीलाई सुनाएपछि मिति २०८१–१०–११ गते घरबाट भागी दुबैजना विराटनगर आएर होटलमा बसे । 

दुवै परिवारले उनीहरू सहित  प्रहरीमा लगेर छलफल भयो । यही क्रममा प्रहरीले सोधपुछ गर्दा उक्त केटाले ‘अब उनीलाई कहिले भगाउने काम गर्दिनँ र उनको उमेर नपुगेकोले अहिले उनीसँग विवाह पनि गर्दिनँ ।

एक पटकलाई माफ गरिदिनू’ भनेपछि इलाका प्रहरी कार्यालय दुहबीले अभिभावकलाई आ–आफ्ना सन्तान जिम्मा दिएर पठाएको छ ।

घटना २ः

बिनिता (नाम परिवर्तित) १६ वर्षकी भइन् । कक्षा ८ मा पढ्छिन् । स्थायी घर उदयपुर भएकी उनी सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा ठूलीआमाकोमा बसेर पढ्दैछिन् । उनी अभिभावकको एक्लो सन्तान हुन् । उनको बाबुको मृत्यु भयो । आमा व्यापार गर्छिन् । सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएको एक साथीसँग उनको प्रेम भयो । 

चार–पाँच महिनाको प्रेम सम्वन्ध आमाले थाह पाएर प्रेमीको बारेमा सोधीखोजी गर्न थालिन् । आमालाई थाहा भयो कि सम्बन्ध निकै अघि बढिसकेको रहेछ । 

आमाले ‘उमेर पुगेको छैन, पढाइ छैन, केटो दुव्र्यसनीमा परेको छ’ भनेर सबै कुरा छोरीलाई सम्झाइन् । त्यसको केही दिनपछि दुवै केटा केटी भागे । पहिलो पटक भाग्दा आमाले फर्काएर ल्याइन् । दोस्रो पटक पुनः भागेपछि प्रहरीले परिवारसँग जिम्मा लगायो । 

तेस्रो पटक २०८१ चैत्रमा सोही केटासँग भागेर गएको र हाल केटाको मामाघर भारतको बिहारमा दुवैजना सँगै बस्दै आएको पारिवारिक स्रोतले बताएको छ । 

घटना ३ः

मिलन (नाम परिवर्तित) १६ वर्षकी भइन् । उनी कक्षा ८ मा पढ्छिन् । सुनसरीको देवानगञ्ज घर भएपनि उनी विराटनगमा पढ्छिन् । केही महिनाअघि गाउँकै स्कुल पढ्ने र एउटै गाउँको एक युवकसँग मिलनको प्रेम भयो । केटा पनि उमेरले १७ वर्षका छन् । 

उनीहरूको फोनमा संवाद बाक्लै हुन थाल्यो  । भेटघाट पनि गर्न थाले । एउटै गाउँ भएकोले दुवैको परिवारलाई सम्बन्धको बारेमा थाहा भयो । केटीका काका र बाबु मिलेर केटा विरूद्ध हातपात गरेको, घरमा हातहरियार लुकाएर राखेको लगायतको कसुरमा प्रहरीमा उजुरी दिने भनेर छलफल गर्न थाले । 

यो सुनेर केटा केटी दुवैजना भागेर केटाको आफन्तकोमा गएर एकरात बसे । पुनः फर्काएर दुवैलाई आ–आफ्ना अभिभावकको जिम्मा लगाएर प्रहरीले घर पठायो । केटा विरूद्ध कुनै मुद्दा दर्ता भएको छैन ।

यी तीन वटै घटना हाम्रो समाजका प्रतिनिधिमूलक घटना हुन् । कलिलो उमेरमा पढाई, परिवार, भविष्य र अन्य कुनै पनि दायीत्व प्राथमिकतामा नपरेर यी किशोर–किशोरीलाई भाग्नुपर्ने अवस्था किन सिर्जना भयो ? के कुराले उनीहरूको ‘चोईस’ र परिवार, समाज, आफन्तको ‘चोईस’ बीचको तादाम्यता मिल्न सकेन ? यी घटनाको परिणामपूर्व ‘प्रिकसन’ मा हामी (परिवार, समाज, विद्यालय आदि) ले के गर्यौं ? या यी घटना हुनुमा दोष तिनै किशोर–किशोरीको मात्रै हो ? यी प्रश्नको जवाफ उनीहरूले होइन, हामीले दिनुपर्छ ।

विश्व स्वास्थ्य संठनका अनुसार १० वर्षदेखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था भनिएको छ । यो उमेर समूहमा विभिन्न शारिरिक, मानसिक, संवेगात्मक र भावनात्मक परिवर्तन द्रूतगतिमा हुने गर्दछ । 

विस्तारै किशोर–किशोरीहरूका प्राथमिकता पनि परिवर्तन हुँदै जान्छन् । बोली, व्यवहार, आनिबानी सबैमा आएको परिवर्तन न उनीहरू भन्न नै सक्छन् न त हामी अभिभावकहरूले उनीहरूको ठाउँमा बसेर समानुभूति राखेर बुझ्न नै सक्छौं । 

किशोर–किशोरीकेन्द्रित घर, समाज र विद्यालय बनाउन कति पहल गर्न सकेका छौं ? यो प्रश्नको उत्तर खोज्न सक्यौं भने सम्भवतः यी माथिका तीनै घटनाको कारण पनि भेटिनेछ ।

यो उमेरमा यौनप्रतिको जिज्ञासा, चासो र रूची क्रमिक रूपमा बढ्दै जान्छ । सामाजिक र पारिवारिक सम्बन्धभन्दा साथीहरूसँगको घुलमिल र सामिप्यताको चाहना पनि बढ्छ । 

भावनातमक अस्थिरता, एक्लोपन र आत्मकेन्द्रित सोच र व्यवहार देखिन्छ । तर यी सबैलाई सामान्यीकरण गरेर पढाइ, सामाजिक र पारिवारिक सम्बन्ध र किशोर–किशोरीका दैनिकीहरू स्वस्फूर्त बनाउन सहजीकरण गर्ने दायित्व कस्को हो ? अब यस विषयमा बहस र छलफल गर्न आवश्यक छ ।

उमेर सँगसँगै विपरीत लिङ्गीप्रति आकर्षण हुने, हस्तमैथुन गर्न मन लाग्ने, यौनप्रति जिज्ञासा हुने, महिनावारी र यसले ल्याउने भावनात्मक उतारचढाव आदिका बारेमा कति अभिभावक आफ्ना सन्तानसँग संवाद गर्छौं ?

हाम्रा सन्तानले ‘कसैसँग प्रेममा छु’ भनेर भन्ने वातावरण निर्माण गर्न सकेका छौं ? यदि सकेकै रहेछौं भने पनि यस अवस्थामा हाम्रो प्रतिक्रिया कस्तो हुन्छ ? यस उमेर समूहका विद्यार्थी एक आपसमा निकटतम् सम्बन्धमा रहेको थाहा भएपछि विद्यालयले उनीहरूलाई गर्ने व्यवहार कस्तो हुन्छ ? यस अवस्थाबाट बाहिर ल्याउने विद्यालयको रणनीतिक योजना के हुन्छ ?

उत्तर सहज छ । औसत र व्यवहारकि रूपमा हामी निषेधकै नीति अपनाउन थाल्छौं । 

‘यो उमेर पढ्ने हो, प्रेम गर्ने होइन, सानै छौ, आमा बाबुले भनेको मान्नुपर्छ, पछि दुःख पाउँछौ’ आदि भनेर सम्झाउन थाल्छौं । यो सही, यो गलत भनेर निर्णायक हुन थाल्छौं । 

‘यो प्रेम गर्ने उमेर होइन’ भनेर सिद्धान्त पढाउन थाल्छौं । यो देखेपछि किशोर–किशोरीमा ‘हामीलाई बुझ्ने त कोही रहेनछ’ भन्ने त्रास र अविश्वासको वातावरण सिजना हुन थाल्छ । परिवारले निषेध गर्छ । समाजले निषेध गर्छ । आफन्तले निषेध गर्छन् । यसरी चौतर्फी निषेध र नियन्त्रणले किशोर–किशोरीमा सबैप्रति नकारात्मक धारणा र प्रतिशोध उब्जाउन थाल्छ । अनि हामी परिणाम कस्तो पाउछौं ?

उसो भए के गर्ने त ?

सबै किशोर–किशोरीको हुर्काइको वातावरण एकै हुँदैन । उनीहरूका अभिभावकको बुझाइ र चेतनाको तह पनि एकै हुँदैन । उनीहरूले पाएका अवसर र सुविधाहरू पनि एकै खालका हुँदैनन् । उनीहरू माथिको जिम्मेवारी र कार्यबोझ पनि एकै हुँदैन । 

तसर्थ यी विभिन्न विषयले किशोर–किशोरीको मानसिक, सामाजिक र शैक्षिक अवस्थाको निर्धारण गर्दछ । हामी शिक्षक, अभिभावक वा जो कोही उनीहरूसँग नजिक हुन्छौं, कम्तिमा यी अवस्थाको विश्लेषण गरेर समानुभूतिसहितको बलियो भावनात्मक साथी बन्ने कोसिस गरौं ।

कानूनले पनि १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूले गरेको कसुरलाई बालबिझ्याइँ भनेर परिभाषित गरेको छ भने हामीले पनि किशोर–किशोरीले गरेका व्यवहार र कामलाई अपराधीकरण नगरौं । 

‘भिक्टिम ब्लेमिङ’ नगरौं । बरू सिक्ने र सिकाउने विधि बदलौं । महसुसीकरण र आत्मसमीक्षाको माध्यमबाट सच्चिने मौका प्रदान गरौं । सानो उमेरमा हुने विवाहका हानी र जोखिमहरूको बारेमा सुसूचित गर्दै किशोर–किशोरीलाई नै महसुस गराउने कोशिस गरौं । 

उनीहरूका प्रेम सम्बन्धको बारेमा नकारात्मक टिकाटिप्पणी गरेर निराश र निषेध गर्नुको सट्टा सम्बन्धको दायरा र परिधिको बारेमा सम्झाउने प्रयत्न गरौं । 

किशोर–किशोरी एक आपसमा असल साथी हुनु, भेटघाट गर्नु, सँगै बसेर चिया खानु, कतै घुम्न जानु, एकआपसमा संवाद गर्नु सामान्य हो । यो कुरालाई सामान्यीकरण गर्दै, गराउँदै आफ्ना सन्तानको क्षमता, सिप र प्रयत्नहरूप्रति सम्मान र प्रशंसा गर्ने बानीको विकास पनि गर्दै लैजाऔं ।

किशोर–किशोरीका जिज्ञासालाई सरलिकृत र सामान्यीकरण गर्दै उत्तरसहित मेटाउने कोशिस गर्न थालौं । जिज्ञासा जस्तो र जुन विषयमा राखुन्, उत्तर हामीले दिनुपर्छ । प्रश्नहरूमा निषेध नगरौं । उत्तरहरूमा बन्देज पनि नलगाऔं । 

किशोर–किशोरीमा आइरहेका परिवर्तनबारे उनीहरू स्वयम् अनभिज्ञ हुन्छन् । शारिरिकरूपमा हुने परिवर्तनका बारेमा बेलाबेलामा उनीहरूलाई सम्झाउने र अरूका अनुभव पनि साटासाट गर्ने वातावरण निर्माण गरौं । 

उनीहरू माथि नकारात्मक टिकाटिप्पणी गर्नु, कमजोरी औंल्याउनु, उल्टै उनीहरू माथि आरोप–प्रत्यारोप लाउनु र हामी यसो गथ्र्यौ तिमीहरूले त गर्न सकेनौ भनेर तुलनात्मक व्यवहार र हाम्रा बोलीचालीमा पनि नियन्त्रण गरौं ।

किशोर–किशोरी हाम्रा सन्तान हुन् । तर, उनीहरूको पनि आफ्नै निजत्व छ । आफ्नै रहर र आकांक्षा छन् । जीवनको आफ्नै लय छ । हाम्रा रहर उनीहरूमा नलादौं । उनीहरूलाई ‘उनीहरू’ नै हुन दिऔं । उनीहरूमा हामी निर्णायक बन्न नखोजौं । 

बरू सक्छौं भने पारिवारिक सरसल्लाह र निर्णयहरूमा उनीहरूका स्वतन्त्र विचारहरूलाई स्थान दिने बानी गरौं । घर, समाज र सामाजिक संस्थाहरूमा किशोर–किशोरीहरूका धारणा र विचारलाई ‘स्पेस’ प्रदान गरौं । यसले किशोर–किशोरी स्वयंले आफ्नो महत्वको आभाष गर्नेछन् ।

View : 1203

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved