स्मृतिमा गायत्री संस्कृत मावि
जीवनमा बाँच्न सिक्ने र सिकाउने क्रममा हाम्रो जीवन यात्रामा धेरै मोड, थुप्रै थलो र असंख्य सम्झनाहरू जोडिन्छन्। तर ती सबैमध्ये बाल्यकालदेखि अध्ययन गरेको विद्यालयको स्मृति भने हृदयको सबैभन्दा गहिरो तहमा स्थायी रूपमा अङ्कित रहन्छ। मेरो जीवनमा पनि त्यस्तो अमिट छाप छोड्ने र स्मरण गर्दा श्रद्धाले शिर निहुरिने शैक्षिक तीर्थ हो, विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालय।
स्थापनाको त्यो ऐतिहासिक जग
विसं २०४२ सालमा विराटनगरमा आयोजित गायत्री पुरश्चरणात्मक शान्ति महायज्ञको प्रसादस्वरूप संकलित रकमबाट गायत्री संस्कृत माविको जग बस्यो। शिक्षाविद् एवम् धार्मिक अभियन्ताहरूद्वारा विद्याकी अधिष्ठात्री देवी श्रीसरस्वती माताको मन्दिर हातामा २०४४ सालमा स्थापित यो विद्यालय विराटनगरकै एकमात्र पुरानो संस्कृत माविका रूपमा परिचित छ। २०४८ सालको एसएलसी परीक्षादेखि नै यसले उत्कृष्ट नतिजा ल्याएर आफ्नो बलियो उपस्थिति जनाएको थियो।
भौतिक अभाव, तर ज्ञानको सम्पन्नता
त्यतिबेला आजको जस्तो सुविधासम्पन्न संरचना थिएन। न त भौतिक रूपमा सुदृढ भवन थिए, न आधुनिक प्रविधि। अहिलेका स्मार्ट बोर्ड, प्रोजेक्टर वा डिजिटल सामग्री त परकै कुरा, पर्याप्त डेस्क–बेन्च र पंखा–बत्तीको समेत अभाव हुन्थ्यो। कहिलेकाहीं कक्षाकोठामा बस्ने स्थान नहुँदा हामी खुला आकाशमुनि, खुल्ला मैदान, बगैंचाको छायाँ वा सरस्वती मन्दिरका वरण्डामा बसेर गुरुजनहरूको मुखारविन्दबाट जीवनोपयोगी शिक्षा ग्रहण गथ्र्यौँ।
विराटनगरका मनकारी दाताहरूबाट प्राप्त मुठीदानबाट दिवाखाजाका रूपमा खाइने त्यो हलुवा र दूध हाम्रो लागि अमृततुल्य दिव्यभोजन थियो। साधन न्यून थिए, तर साधना उच्च थियो। एउटै पुस्तक धेरै हातमा घुम्थ्यो, तर सुनेर र मनन गरेर ज्ञानलाई आत्मसात् गरिन्थ्यो। त्यसैले त नतिजा सधैं उत्कृष्ट हुन्थे।
अनुशासन र समावेशिताको पाठशाला
त्यो समय सामाजिक सञ्जाल र मोबाइलको डिजिटल जालले भरिएको थिएन। त्यसैले विद्यार्थीको मन र मस्तिष्क पूर्ण रूपमा अध्ययन र अनुशासनमै केन्द्रित हुन्थ्यो। धेरैको खुट्टामा चप्पल र आङमा उपयुक्त पोशाकसम्म हुँदैनथ्यो। तर, ‘विद्या धनं सर्वधनं प्रधानम्’ भन्ने भावनाले हामीलाई अभावमा पनि संघर्ष र सन्तोषको पाठ सिकायो।
यस विद्यालयको सबैभन्दा ठूलो सुन्दरता यसको समावेशी चरित्र हो। यहाँ कुलघराना, लिङ्ग, जातपात, आर्थिक सम्पन्नता वा धर्मका आधारमा कहिल्यै भेदभाव भएन। हिन्दु, मुसलमान, धनी–गरिब सबैलाई एउटै कक्षा र एउटै पङ्क्तिमा राखेर मानवताको शिक्षा दिइन्थ्यो।
४० वर्षको अविच्छिन्न यात्रा
चार दशकदेखि निरन्तर ज्ञानको उज्यालो फैलाउँदै आएको यो विद्यालय केवल एउटा संस्था मात्र होइन, यो त सामाजिक रूपान्तरणको एउटा केन्द्र हो। गत माघ १५ गते आफ्नो ४०औं वार्षिकोत्सव भव्यताका साथ मनाएको यस विद्यालयले हजारौंको जीवनमा उज्यालो भरेको छ।
आज भौतिक रूपमा विद्यालयहरू सुविधासम्पन्न भएका छन्, तर गायत्री संस्कृत माविमा हामीले पाएको त्यो ज्ञानप्रतिको श्रद्धा र गुरुप्रतिको निष्ठा आजको पुस्ताका लागि पनि अनुकरणीय छ। मेरो शैक्षिक जग बसाल्ने यस पावन मन्दिरप्रति सधैं नतमस्तक छु।
(लेखक नारायणप्रसाद पोखरेल गायत्री संस्कृत माविका पूर्व विद्यार्थी हुन् ।)
View : 540
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved