Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

बाली नष्ट गरेपछि एक दर्जन साँढे नियन्त्रणमा

उद्घोष सम्वाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रका किसानहरूले साँढेका कारण  पीडित भैरहेको बताएका छन् । छाडा घुम्ने साँढेले लगाएको बाली खाली खाइदिने समस्या बढेपछि किसानहरूले एकदर्जन साँढेलाई बन्दी बनाएका छन् । 

दुःख गरी लगाएको बाली साँढेहरूले खाइदिने समस्याबाट आजित भएका विराटनगर–१८ भेडियारीका किसानहरूले ११ वटा साँढेलाई बन्दी बनाएका छन् । खेतहरूमा बाली  खादै हिड्ने साढेहरूलाई नियन्त्रणमा लिएर किसानले बन्दी बनाएका हुन् ।

नियन्त्रणमा लिइएका साँढेहरूलाई भेडियारीमै धरहवा पोखरीक्षेत्रमा थुनेर राखिएको छ । पोखरी क्षेत्रमा १० वटा र विराट राजा दरवार परिसरमा एउटा साँढेलाई राखिएको छ । नियन्त्रणमा लिइएका साँढेहरूलाई किसानले पराल र पानीको ब्यवस्था भने गरिदिएका छन् । विगतदेखि नै साँढेले दुःख दिंदै आएकाले बाध्य भएर साँढेलाई नियन्त्रणमा लिनु परेको विराटनगर–१८ का किसान शिवानन्दन यादवले बताए ।  

विराटनगर–१८ मा बनेको आईसीपीले अधिकांश किसानका जग्गा अधिग्रहणमा परेको अवस्थामा थोरै रहेको जग्गामा मेहेनत गरी लगाएको बालीसमेत साँढेले खाइदिनाले आफूहरू गम्भीर समस्यामा परेको स्थानीय पङ्कज यादवले बताए ।५ वर्षयता साँंढेले बाली खाइदिने समस्या निम्तिएपछि त्यसबाट जोगिन किसानले अनेकौं उपाय अपनाउँदै आएका छन् ।

उनीहरू खेतको बीचमा टहरो बनाएर रातभरि साँढे धपाउन जागासमेत बस्दै आएका छन् ।

यद्यपि उनीहरूको यस्तो उपायले समेत काम गरेन । गहुँबाली साँढेले खाइदिएपछि किसानहरू एकत्रित भएर साँढेलाई नियन्त्रणमा लिएका हुन् । गाईबाट जन्मिने बाछी पाल्ने तर बाछालाई छाडा छाडिदिने गरेका कारण साँढेको संख्या बढेर समस्या निम्तिएको स्थानीय राजदेव यादवले बताए । 

साँढेहरूले किसानका बाली खाईदिने मात्र नभई सोही वडामा रहेको दमादिघी र लावाघाट क्षेत्रका ५ जनालाई घाइतेसमेत बनाएको स्थानीयले जानकारी दिएका छन् । 

विराटनगर–१८ का वडाध्यक्ष जीतेन्द्र साहले नियन्त्रणमा लिइएका साँढेलाई कहा लगेर राख्ने विषयमा सल्लाह भैरहेको बताए । उनले नगरक्षेक्रमा रहेको गौशालाले समेत साँढे जिम्मा लिन नमानेको बताए ।

विराटनगर–१४ मा रहेको श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले गौशालाले घाइते र अशत्त गाईहरूको संरक्षण र सेवा गर्ने भए पनि दर्जन संख्याका साँढेको ब्यवस्थापन गर्न सम्भव नहुने बताए ।

दाताहरूको सहयोगबाट गौशाला सञ्चालनमा रहे पनि पछिल्लो समय राज्य तथा स्थानीय सरकारबाट कुनै प्रकारको आर्थिक सहयोग नपाउँदा गौशालाले साँढेको ब्यवस्थापन गर्न समस्या हुने उनले बताए ।

साँढे राख्दा यसअघिदेखि संरक्षण गरिएका बृद्ध तथा विरामी गाईलाई थप समस्या हुने उनको भनाइ छ । नियन्त्रणमा लिइएका साँढेलाई महानगरको समन्वयमा कोशी टप्पु आरक्षमा लगेर छाडिनुपर्ने किसानहरूले सुझाव दिएका छन् । 

View : 124

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved