Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

तिहार पर्व : शैली र सान्दर्भिकता

हरि कट्टेल
२७ कार्तिक २०८०, सोमवार

धर्मका हिसाबले हिन्दुहरूको महान चाड तिहार सांस्कृतिक महत्वका हिसाबले समग्रमा नेपालीहरूकै महान चाड हो । प्रत्येक वर्ष अर्को महान चाड दशैँपछि लगत्तै आउने मनाइने यो चाड कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट शुरु हुन्छ र कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म रहन्छ । फूल र बत्तीको चाड तिहार मूलतः हिन्दुहरूको चाड हो । तापनि यसको प्रभाव गैर हिन्दु नेपाली समाजसम्म फैलिदै गएको छ ।

फरक फरक धर्मावलम्बीहरू मिलेर बसेको नेपाली समाजमा हिन्दु बाहेकका अन्य धर्मावलम्बीहरूले पनि यो चाड मान्ने गरेको पाइन्छ । कतिपय नयाँ पुस्ताका बौद्धमार्गीहरूले त चेलीले माइतीलाई  फूलमाला नै गरी तिहार मनाउने गरेको पनि पाइन्छ । जुन तिहारको सुन्दर पक्ष र बहुधार्मिक बहुजातीय र बहुल संस्कृति रहेको हाम्रो समाजमा सामाजिक सांस्कृतिक सहिष्णुताका निम्ति महत्वपूर्ण पाटो हो ।

तिहार नेपालमा बस्ने नेपालीका निम्ति मात्र होइन । नेपाल बाहिरको भूभागमा बस्ने नेपालीहरूका निम्ति पनि गौरवपूर्ण परम्पराको चाड बनेको छ । यो चाड भारतका विभिन्न प्रान्त आसाम, पश्चिम बङ्गाल कलकत्ता, सिक्किमका अतिरिक्त बर्मा, भुटान, सिङ्गापुर लगायत विभिन्न देश र अन्तर्राष्ट्रिय भूभागमा छरिएर रहेका सबै नेपालीहरूका लागि एकता र सद्भावको चाड बनिरहेको छ । 

तिहारलाई दिपावली पनि भनिन्छ । तिहारमा घरभित्र बाहिर सबैतिर साँझदेखि रातभर झिलिमिली दीप प्रज्वलन गरिने भएकोले पनि तिहारलाई दीपावली भनिनु सान्दर्भिक नै देखिन्छ । अझ तराईतिर त यसलाई दिवाली पनि भन्ने गरेको पाइन्छ । नेवारी समुदायले यसलाई स्वाँतीका रुपमा पनि मनाउने गर्दछन् । फरक फरक जातजाति र सम्प्रदाय रहेको नेपालमा यो चाड मनाउने तौर तरिकामा पनि जातिगत र क्षेत्रगत आधारमा केही भिन्नता भने पाइन्छन् । तथापि घर रङ्ग्याउनु, सफासुग्घर गर्नु, मीठो खानु, राम्रो लाउनु, पीङ खेल्नु, नाचगानमा रम्नु, भेटघाट गर्नु सबैका साझा शैली हुन् । देउसी भैलो तिहारको महत्वपूर्ण सांस्कृतिक पक्ष हो जसमा सबै जातजाति र धर्म सम्प्रदायका मान्छेहरू संलग्न हुन्छन् । इसाई, मुस्लिम, बुद्धिस्ट सबै खाले ठिटाठिटीहरू, केटाकेटीसमेत टोलीका टोली, जोलीका जोली देउसी र भैलो भन्दै घर आँगनीमा डुलेका देखिन्छन् । हिमालका बुद्धमार्गी तामाङ र शेर्पाहरूले पनि तिहारलाई उतिकै उल्लासमय रुपमा मनाएको पाइन्छ । यसरी हेर्दा तिहारले एकल धर्मीय धार्मिक परम्पराको दायरा नाघिसकेको छ भन्न सजिलै सकिन्छ ।

तिहारमा देवता पुजिन्छ, मानव र मानवता पुजिन्छ, धन सम्पत्ति पुजिन्छ । त्यति मात्रै होइन मानवसँग आदिमकालदेखि नै सम्बन्ध राख्दै आएका, सहयोग पुर्याउँदै आएका जनावरहरूलाईसमेत पुजिन्छन् । खेतीपाती भित्राउने समयमा यो चाड मनाइनु र धनकी देवी लक्ष्मीको पूजा हुनुले पनि यसको सान्दर्भिकता अझै बढेको देखिन्छ । तिहारमा घर पोतिन्छन्, पहाडी घरहरू कमेरो र रातो माटोले रङ्गिन्छन् भने तराई र शहरका घरहरू चुना र इनामेलले चम्किन्छन् । घरमात्र होइन मन्दिर र गुम्बाहरू समेत बत्ती नै बत्तीले झलमल्ल हुन्छन् ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन यमको दूत मानेर कागको पूजा गरिन्छ भने दोस्रो दिन यमको रक्षक कुकुरको पूजा गरिन्छ । तेस्रो दिन औँसीको दिन हो । यो दिन गाईको पूजा गरिन्छ भने चौथो दिन गोरुको पूजा गरिन्छ । यसैगरी तिहारको पाँचौ दिन भाइ टिकाको दिन हो । यस दिन दिदी बहिनीले दाजुभाइलाई तेलले छेकेर सप्तरङ्गी टिका र सयपत्री अनि मखमलीको माला लगाउँछन् र यमराजसँग  आफ्ना दाजुभाइको दीर्घायु माग्छन् ।

तिहारका सम्बन्धमा केही पौराणिक भनाइहरू छन् । ती भनाइहरू नै तिहारको प्रचलनका आधारहरू हुन सक्छन् । एउटा किम्वदन्ती अनुसार  प्राचीन राजा बलि जब दान उपकार र पुण्य गर्दागर्दा त्यसको प्रभावले देवताभन्दा पनि शक्तिशाली भए; उनले तीनवटै लोकहरू माथि आधिपत्य जमाउन शुरु गरे । यसै प्रसङ्गमा महाबलीले उनको आधिपत्य तीनै लोकमा  कायम राख्नका निम्ति गुरु शुक्राचार्य लगायतका सल्लाहकारहरूको  सल्लाह बमोजिम अश्वमेध यज्ञको सुरुवात गरे । देवताहरू त्यो देखेर अत्तालिए र उनको बढ्दै गएको शक्ति र घमण्ड चुर्ण गर्नका निम्ति बालबटुक बनेर विष्णु बलि राजाको यज्ञस्थलमा पुगे । बलिराजाले ती भिक्षुकलाई के माग्छौ भनेर सोध्दा भिक्षुकले तीन पाउ जमिन मागे । ठूला ठूला दान पुण्य गर्दै आएका बलिलाई ती सानो ब्राम्हण बटुकले यो सानो दान मागेको देखेर अचम्म लाग्यो । वली राजालाई ती वटुक भगवान्को रूप हुन् भन्ने कुराको ज्ञान भएन । अरू अरूले बलिलाई घमण्ड नगर्न आग्रह गर्दा पनि कसैको केही लागेन ।आखिर उनले तीन पाउ जमिन दिने नै बाचा गरे । जब बलिले बाचा गरे ती वामन बटुकको आकार अप्रत्याशित बढ्यो ।

बटुकले एक पाउ टेक्दा धरती भरियो । अर्को पाउ टेक्दा स्वर्ग भरियो । अब बचन दिइएको अन्तिम पाइलाका निम्ति स्थान बाँकी थिएन । तब बटुकल बाचा मुताबिकको तेश्रो पाउ राख्ने ठाउँ मागे । यो देखेर यिनका शुभचिन्तक समेतले चिन्ता व्यक्त गरे । तर बलिले यो भगवानको लीला स्विकार्नु पर्छ भन्दै बाँकी एक पाउका निम्ति आफ्नो  शिर थापे । बाँकी अरू केही नदेखेपछि बलिले आफ्नो दानी धर्म बचाउनकै लागि टेक्नका लागि शिर दिएका थिए । जब भिक्षुले बलिको शिरमा टेके, बली पत्ताल भासिए । अब विष्णु भगवान खुशी भएर के माग्छौ भन्दा पीडित बलिले प्रत्येक वर्ष एकपटक देवताहरूसँग भेट्ने इच्छा व्यक्त गरेकाले  उनको त्यो दान गुनको समेत स्मरण गर्दै यो तिहार मानिने गरेको बताइन्छ । त्यसैले नै त आज पनि ‘हामी त्यसै आएनौ बलि राजाले पठाको’ भन्दै भैलो र देउसी खेल्ने गरिएको छ ।

अर्को किम्वदन्ती यमराजकी बहिनी यमुनासँग जोडिएको छ । तिहारको पाँच दिनलाई यम पञ्चक पनि भनिन्छ । यसो भनिनुका पछाडि यो पाँच दिन मृत्युका देवता यमको निम्ति समर्पण गरिएको अवधि हो भनेर बुझ्न सकिन्छ । वास्तवमा तिहारमा कुनै न कुनै रुपमा  यमराज, धर्मराज र यी सम्वद्ध चीजहरूको पूजाआजा हुन्छ । काग, कुकुर र ओखरको पुजन यसका उदाहरणहरू हुन् । हिन्दु धर्मानुसार मृत्युका देवता यमराज निकै व्यस्त देवता मानिन्छन् । उनी भुलिने बित्तिकै सृष्टि बिथोलिन्छ भनिन्छ । तर पनि बहिनी यमुनाको विशेष अनुरोधमा यमराज यी पाँच दिन बहिनीका घर बस्छन् । आफ्ना घर आएका दाजुलाई यमुनाले पाँच दिनसम्म मिठो मीठो भोजन गराई द्वितीयाका दिन यमराजको पूजा गरी निधारमा सप्तरङ्गी टीका लगाएर कहिल्यै नओइलिने मखमली र दूवोका माला लगाइ दिन्छिन् र सोही परम्परालाई कायम राख्दै यो तिहार संस्कृतिको प्रचलन रहन गएको हो भन्ने लोकोक्ति पनि छ ।

काग तिहारबाट आरम्भ भएको तिहार भाइ तिहारमा गएर टुङ्गिन्छ । तिहारको पहिलो दिन कागलाई बोलाएर मिष्ठान्न दिइन्छ र त्यो वर्षभरि घरमा दुःख  नलेऊ भनी पूजा गरिन्छ । कागलाई यमराजको दूत मानिन्छ । कागलाई पूजा गर्नुको अर्थ त्यो वर्षभरि यमराजका तर्फबाट अशुभ समाचार नल्याओस् भन्ने हो । दोश्रो दिन यमलोकको गेटको पाले मानिने कुकुरलाई माला लाएर मीठो मीठो खान दिइन्छ र यमराजको न्यायलयसम्म उचित निर्णयका निम्ति मानव आत्मा पुग्ने मार्ग सहज बनाइदिन खुशी बनाइन्छ । कुकुरलाई भगवान् यमको समाचारदाता हो पनि भनिन्छ । यो चतुर्दशीको तिथिमा पर्छ र यसलाई नरक चतुर्दशी पनि भनिन्छ । तेश्रो दिनमा लक्ष्मीका प्रतीक  मानेर गाईलाई  फूल टिको लगाएर मीठो मीठो खाना दिइन्छ । गाई गहुँत, गोबर, दूध, घिउ र दही अथवा पञ्चकाव्यको दाता हो । यसलाई धनको श्रोत पनि मानिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजाको दिन । धेरैले यो दिनलाई गोरु तिहार भन्छन् । तर कृष्ण मार्गीहरु भने यसलाई गोवर्धन पुजा मान्छन् जुन दिन वर्षभरि मन्छेसँगै काम गरेर भित्राउन लागिएको अन्न उब्जाउने गोरुलाई पनि फूल टिको गरिन्छ । नेवार समुदायले यो दिनको राती नै म्हः पूजा गर्छन् ।
तिहारको पाचौँ दिन द्घितियाको दिन । यस दिन चेलीबेटीहरूले आआफ्ना दाजु भाइहरूलाई फूल माला पहिर्याएर माझ निधारमा सप्तरङ्गी टिको लगाइदिन्छन् । जसलाई भाइटीका भनिन्छ । आजभोलि कसै कसैले तिहारको नाम नै भाइटीका पनि भन्ने गरेको पाइन्छ । भाइटीकामा आआफ्ना दिदी बहिनीले आआफ्ना दाजुभाइलाई दीर्घ जीवनको कामना गर्दै नाना परिकारको भोजन गराउँने चलन छ सो बखत दिदी बहिनीहरू यमराजलाई आफ्ना भाइको दीर्घ आयु र सुस्वास्थ्य माग्दै पूजा गर्छन् ।

यतिमात्र होइन सोही क्षण उनकी बहिनी यमुना र मान्छेको मृत्युको अभिलेख राख्ने चित्रगुप्तालाई समेत बिमिरो आदिको रूप मानी  पूजा गर्ने पनि चलन छ । तिहार भन्नाले टीका र देवी पूजा मात्रै होइन । तिहारमा बेग्लै प्रकारको खानपिन शैली पनि छ । विशेषतः सेल रोटी तिहारको अनिवार्य परिकार मानिन्छ । हिजो आज अर्सा, अनरसाको पनि प्रचलन बढेको छ । तिहारमा नफुटाइकन सोभन्दा अघि ओखर खानु हुँदैन भन्ने भनाइ छ । त्यति मात्र होइन तिहारमा मात्र नारिने मारुनी नाच, तिहारमा मात्र खेलिने देउसीभैली तिहारका मौलिक संस्कृति हुन् । काग तिहारदेखि नै तिहारको सुरुवात भए पनि तिहारको रौनक भने औँसी देखि देखिन्छ । औँसीकै दिनदेखि सेल पाक्छन्, माला टाँगिन्छन् र घर आँगन गोबरले लिपिन्छन् र सोही दिन बेलुकीदेखि भैलिनीका ताँतीहरु ‘लक्ष्मी पूजा गर्यौ कि !’ भन्दै घर दलानमा निस्कन्छन् । नाङ्लाभरि सेल रोटी र  दक्षिणा राखेर दान निकालिन्छन् । भोलिपल्टदेखि आउँछ देउसेको पालो । घरघरमा दिदी बहिनीहरू औँसीकै दिनदेखि फूलमाला गाँस्न थाल्छन् । औँशीकै साँझमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । भएभरका रुपैया पैसा, सुन चाँदी, हीरा मोती, गरगहना सबै पुजिन्छन् । घर घरमा लक्ष्मी आउँने ढोका दैलो रातभर खुला रहन्छ ।
यसरी हेर्दा तिहारको अन्य चाडहरूको भन्दा पनि भिन्न र उच्च महत्व छ । खानपानमा केन्द्रित हुनपुगेका कतिपय चाडहरू जस्तो यसले आफ्नो मौलिकता गुमाएको छैन र त्यति सजिलै गुम्ने सम्भावना पनि छैन । यसले आजभोलि तीजजस्ता चाडले जस्तो विभाजन र बहस सृजना गर्नुभन्दा हाम्रो परिप्रेक्षमा सामाजिक सद्भाव सहिष्णुता र सदाचार सद्व्यवहारको निर्माण गरेको छ । रोटे पिङ, लिङ्गे पीङ, माला, पगरी, द्यौसी भैलो चेली माइतीको मायाप्रेम यस भित्रका जीवन्त सर्वस्वीकार्य कुराहरू हुन् । जुनसुकै जात र धर्मका निम्ति पनि उत्तिकै महत्वका छन् । यसले पशुपक्षीहरूलाई सद्भाव राख्ने संस्कार समेत सिकाएको छ ।

आज सुन्दर महत्वका हरेक चाडवाडहरू भित्र समस्याहरू देखिन थालेका छन् । यस्तो मौलिक पर्व तिहार पनि छिटपुट विकृति र विसंगति बीच गुज्रिन थालेको छ । आजभोलि यदाकदा देउसी भैलो मौलिक हुन छोडेको छ । घर आँगनीमा देउसिरे होइन, पप र रिमिक्स घन्किन थालेको छ । ड्रमसेटमा भैलिनी नाच्न थालिएको छ । फोन र रसिदमा दान माग्न थालिएको छ । चेलीबेटी र दाजुभाइहरू मायासँग माया होइन, उपहारसँग पैसा साट्न थालेका छन् ।

तिहारको हल्लासँगै चोक चोकमा डाइस नारिन्छन्, घर घरमा जुवा नारिन्छन् । पैसाहरू हारिन्छन्, मारिन्छन् । कतिको चिहिलबिहिल हुन थालेको छ । यस्ता प्रवेश पाउँदै गरेका विकृतिहरू प्रति बेलैमा सचेत हुन नसके तिहारले आफ्नो मौलिकता गुमाउने खतरा पनि छ भन्ने कुरा चाहिँ हामी सबैले बेलैमा बुझ्नु आवश्यक छ ।

विराटनगर, नेपाल

View : 73

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved