Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कर छुट र पुरानो बक्यौता फछ्र्योटमा लचकता अपनाउन उद्योगीहरूको माग

उद्‌घोष संवाददाता
३ मंसिर २०८३, बिहिवार

विराटनगर । सरकारले आर्थिक ऐन, २०८३ मार्फत उद्योगी–व्यवसायीलाई उपलब्ध गराएको कर छुट तथा पुरानो बक्यौता फछ्र्योटसम्बन्धी सुविधाको उपयोग, त्यसका सर्त र प्रक्रियाबारे उद्योगी–व्यवसायीले चासो राखेका छन् ।

कर बक्यौतामा ब्याज तथा जरिवाना छुटको व्यवस्था, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, व्यक्तिगत आयकर, पुँजीगत लाभकर र कर विवरण दाखिलासम्बन्धी विषयमा उनीहरूले चासो राखेका हुन् ।

मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबार संघको सभाहलमा भएको अभिमुखीकरण तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले कर छुटका सुविधा प्राप्त गर्ने प्रक्रिया, पुरानो कर दायित्व फछ्र्योट गर्ने आधार र त्यसका लागि पूरा गर्नुपर्ने सर्तबारे प्रश्न उठाएका छन् ।

कार्यक्रममा आर्थिक ऐन, २०८३ का दफा २५, २६, २८, ३० देखि ३३ र ३७ देखि ४९ सम्मका व्यवस्थामा केन्द्रित रहेर कर छुट तथा बक्यौता फछ्र्योटका प्रावधानबारे जानकारी दिइएको थियो । विशेषगरी पुरानो कर बक्यौता, ब्याज, जरिवाना तथा थप दस्तुर छुटका व्यवस्था, कर विवरण बुझाउन बाँकी रहेका करदाताले अपनाउनुपर्ने प्रक्रिया र करको दायरामा आउने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा आयोजित कार्यक्रमलाई आन्तरिक राजस्व कार्यालय, विराटनगर र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत केशवप्रसाद उप्रेती र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङका अध्यक्ष सीए अश्वनी बंशलले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए । 

उनीहरूले करदाताले आफ्नो करसम्बन्धी दायित्व र ऐनले दिएको सुविधाबारे स्पष्ट जानकारी लिएर तोकिएको सर्त तथा समयसीमाभित्र प्रक्रिया पूरा गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा कर छुटका व्यवस्थासँगै स्वच्छ कर प्रशासन, करदाताको अधिकार र दायित्व, व्यक्तिगत आयकर तथा पुँजीगत लाभकरका पछिल्ला प्रावधानबारे पनि जानकारी दिइएको थियो । 

त्यस्तै, सम्पत्ति शुद्धीकरण, नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको ग्रेलिस्टबाट बाहिर निकाल्न आवश्यक पर्ने वित्तीय पारदर्शिता तथा व्यावसायिक कारोबारको सही अभिलेख राख्ने विषयले पनि छलफलमा स्थान पाएको थियो ।

नेपालमा व्यावसायिक तथा वित्तीय कारोबारको लेखाजोखा र वित्तीय विवरण तयार गर्न लागू गरिएको राष्ट्रिय लेखामान प्रणाली तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डड्र्स (एनएफआरएस) का व्यवस्थाबारे समेत सहभागीलाई जानकारी गराइएको थियो । व्यवसायको वास्तविक आर्थिक अवस्था देखिने गरी लेखा राख्ने, वित्तीय विवरण तयार गर्ने र करसम्बन्धी दायित्व नियमित पूरा गर्ने विषयमा सहजकर्ताहरूले जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य देवकीनन्दन अग्रवालले उद्योगी–व्यवसायीलाई करको दायरामा ल्याउन सरकारले ल्याएका सहुलियतपूर्ण व्यवस्था प्रोत्साहनमूलक रहेको बताए । यस्ता व्यवस्थाले करसम्बन्धी पुराना समस्या समाधान गर्न र व्यवसायलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङका अध्यक्ष बंशलले सरकारले यसपटक करदातालाई उपलब्ध गराएको सुविधा विगतका सुविधामध्ये अत्यन्त प्रशंसनीय र धेरै उद्योगी–व्यवसायीलाई लाभान्वित गर्न सक्ने खालको रहेको बताए । 

उनले सरकारले दिएको अवसरको अधिकतम उपयोग गर्न र आवश्यक प्रक्रिया समयमै पूरा गर्न आग्रह गरे ।

संघका अध्यक्ष अनिलकुमार साहले कर छुट तथा पुरानो बक्यौता फछ्र्योटका सुविधाबारे उद्योगी–व्यवसायीमा अझै अन्योल रहेको बताए । 

जानकारीको अभावमा सरकारले दिएको सुविधा उपयोग गर्नबाट व्यवसायी वञ्चित हुन सक्ने भएकाले सम्बन्धित निकायबाट प्रत्यक्ष जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे ।

यस्ता सुविधाले समस्यामा परेका उद्योगी–व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

प्रमुख कर अधिकृत उप्रेतीले असल तथा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै नियमित कर भुक्तानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे । 

करदाताका रूपमा राज्यको सामाजिक सुरक्षा प्रणाली तथा सार्वजनिक सेवाबाट लाभ लिन पनि कर प्रणालीमा जिम्मेवार सहभागिता आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको सञ्चालन संघका उद्योग उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठले गरेका थिए । आन्तरिक राजस्व कार्यालयका जीवराज निरौला र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सीए युवराज उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा निजी क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

View : 46

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved