सहकारीको रकम अपचलन विवाद :
विराटनगर । मोरङको धनपालथानको उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नाम जोडिएपछि सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाले अदालत गुहारेकी छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका मोरङ २ का सांसद पोखरेल पत्नी अन्जलाको नाम उक्त सहकारीको रकम अपचलनमा जोडिएको छ ।
सहकारीमा १२ करोडभन्दा बढी रकम अपचलन भएको र उक्त सहकारीमा अञ्जला पनि २०७८ सम्म सञ्चालक सदस्य रहेको भनेर विभिन्न सञ्चारमाध्यममा उनको नाम जोडिएको छ । यसरी अपचलन प्रकरणमा नाम जोडिएको कुरा सार्वजनिक भएपछि कोइरालाले उच्च अदालत विराटनगरमा उमा गौरी कृषि सहकारी, आरएसडीसी लघुवित्त रूपन्देही र कर्जा सूचना केन्द्र काठमाडौविरूद्ध उनले रिट दायर गरेकी हुन् ।
भदौ ३१ गते सोमबार उच्च अदालतमा रिट दायर गर्दै अञ्जलाले आफूलाई कालोसूचीबाट हटाउनुपर्ने माग दाबी गरेको उच्च अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिएका छन् । उनको रिटमा मंगलबार प्रारम्भिक सुनुवाईसमेत भएको छ । मुख्य न्यायाधीश राजेन्द्रप्रसाद राजभण्डारीको इजलासले मंगलबार रिटका विपक्षीहरूका नाममा कारण देखाउ आदेश दिएको छ ।
‘धनपालथानको उमा गौरी कृषि सहकारी, रूपन्देहीको लघुवित्त र कर्जा सूचना केन्द्रका नाममा कारण देखाउ आदेश जारी भएको छ’, भट्टले भने ‘त्यस्तै यसमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफलका लागि सबैलाई अदालतमा झिकाउन पनि आदेश भएको छ ।’ अब सहकारीदेखि , लघुवित्त र कर्जा सूचना केन्द्रले १५ दिनभित्र अदालतलाई लिखित जवाफ बुझाउनुपर्ने हुन्छ । रूपन्देहीको आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ कात्तिक १६ गते अञ्जलालाई कर्जा तिर्न ३५ दिने सूचना जारी गरेको थियो ।
‘यस वित्तीय संस्थाबाट तपसिलमा उल्लेखित संस्था र व्यक्तिले लिएको कर्जाको सावा ब्याजलगायत अन्य रकमसमेत कर्जा लिंदाका बखत यस संस्थासँग गरेको सर्त कबुलियत बमोजिम समय–समयमा तिर्न बुझाउनु पर्नेमा सावाँ ब्याज नतिरी, नबुझाइ कर्जासम्बन्धी सर्त बन्देज उल्लङ्घन गर्नु भएकाले र पटक–पटक मौखिक तथा लिखित तरताकेता गर्दासमेत बक्यौता चुक्ता भुक्तान गर्ने सम्बन्धमा कुनै चासो नदेखाइ बेवास्ता गर्नुभएकाले यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ’ भन्दै अञ्जलाको नाममा सूचना जारी भएको थियो । त्यति बेला अञ्जलाको नाम उमा गौरी सहकारीको सञ्चालक समितिमा थियो ।
उमा गौरी सहकारीमा ठूलो रकम अपचलन भएको चर्चा सुरू भएपछि भने सार्वजनिक रूपमा प्रतिवाद गर्दै अञ्जलाले उक्त सहकारीसँग आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएकी छन् ।
धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको यो सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जलाले भने सहकारीबाट आफै ठगीमा परेको र सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गरिरहेकी छन् । सोही अनुसार उनले अदालत गएको बताएकी छन् ।
यद्यपि सहकारीबाट आफै ठगीमा परेको दाबी गर्ने उनी यो घटनामा आफ्नो नाम मुछिएपछि मात्रै किन अदालत गइन् भन्ने प्रश्न भने उठेको छ । यसको उत्तर अञ्जलाले दिएकी छैनन् । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीका अनुसार उमा गौरी सहकारीको कारोबार र निर्णयहरू अध्यक्ष शम्भुप्रसाद रौनियारबाहेक अरू कसैलाई थाहा नभएको बताएका छन् ।
खत्रीका अनुसार सहकारीमा १८ करोड रूपैयाँभन्दा बढीको ब्यालेन्स सिट देखिन्छ, जसमा १२ करोड रूपैयाँ बाह्य ऋण हो । दुई करोड ६० लाख बचत देखिन्छ । दुई करोड जति सर्वसाधारणकै सेयर तथा केही कोषहरूमा रकम देखिन्छ । ती सबै गरेर कुल १८ करोड रूपैयाँभन्दा बढीको वासलात देखिएको र अध्यक्ष रौनियारलाई पटक–पटक संस्थाको सम्पूर्ण विवरण कार्यालयमा बुझाउन लिखित र मौखिक निर्देशन दिएको उनले बताए । तर अध्यक्षले नमानेको कार्यालय प्रमुख खत्रीले बताए ।
कार्यालय प्रमुख खत्रीका अनुसार सहकारीका सदस्यहरू, सञ्चालक सदस्यहरू नै पीडित भयौं भन्दै कार्यालयमा आइरहेका छन् । यसले सहकारीमा ठूलो रकम अनियमितता भएको हुनसक्ने उनको अनुमान छ । यो शंकाको सुरूआत भएको धेरै भइसकेको थियो । सहकारीले सञ्चालक सदस्य र ऋणी सदस्यहरूकै जग्गा धितो राखेर अन्य वित्तीय संस्थाहरूबाट ऋण लिएको र लामो समयदेखि सहकारीले पैसा नतिरेको थाहा हुने बित्तिकै यो शंका उब्जेको सहकारीका सदस्यहरू बताउँछन् ।
२०६८ सालमा स्थापना भएको सहकारीका अध्यक्ष रौनियार एमाले कार्यकर्ता हुन् । उनी कुनैबेला सांसद पोखरेलका विश्वास पात्र भएको स्थानीयबासी बताउँछन् । १८ करोड ४९ लाख रूपैयाँको वासलात देखिने सहकारीले १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापटी लगानी गरेको देखाइएको छ । तर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले त्यो रकम कहाँ र कसलाई लगानी गरेको हो भनेर विवरण माग्दा अध्यक्षले उपलब्ध नगराएको जानकारी दिएको छ ।
‘अध्यक्षले सधैं सबै पैसा लगानी भएको छ, उठाएर सर्वसाधारणको बचत फिर्ता गर्ने हो भन्ने जवाफ दिनुहुन्छ,’, कार्यालय प्रमुख खत्रीले भने, ‘मैले पटक–पटक त्यसको विवरण माग्दा उहाँले दिनुभएन । केही दिनअघि फोटो खिचेर पठाउनु भएको छ । यो सहकारीका धेरै सदस्यले संस्थाबाट लिएको ऋणको किस्ता नियमित बुझाएका छन् । संस्थाले भने बैंक तथा अन्य वित्तीय संस्थाबाट लिएको ऋण तिरेको देखिदैन ।’
यसरी सदस्यहरू संस्थालाई पैसा बुझाउँदै जाने, संस्थाले भने बैंक तथा अन्य संस्थालाई रकम नै नबुझाएको देखिएकाले रकम अपचलनको आशंका भएको खत्रीको भनाइ छ । कार्यालयले प्रहरीलाई कारवाहीका लागि प्रक्रिया अघि बढाउन पत्राचार गरेको तर त्यसमा अञ्जला कोइरालाको नाम समावेश नभएको आरोप कार्यालय प्रमुख खत्रीमाथि पनि लागेको छ ।
खत्रीले यसबारे केही बताउन चाहेनन् । तर, अध्यक्षले गरेको बद्मासीका अघि सबै मुछिने अवस्था आएको उनको भनाइ छ । २०६८ सालमा सहकारीको तदर्थ समितिको कागजात पहिलोपटक कार्यालयलाई प्राप्त भएको र २०७८ सालको सञ्चालक समितिबारेको कागजात मात्रै कार्यालयमा बुझाइएको बताउदै त्यसबाहेक अरू केही विवरण नबुझाइएको खत्रीले जानकारी दिए ।
सहकारीका अध्यक्ष रौनियारले भने १२ करोडभन्दा बढी रकम ऋणीहरूले लगेको दाबी गर्दै उनीहरूले नतिरेका कारण समस्या भएको बताउँदै आएका छन् । तर, अध्यक्ष रौनियारले लगानी गरेको ठाउँ अहिलेसम्म कसैलाई देखाउन भने सकेका छैनन् । यही कारण सहकारीमा रकम अपचलनको आशंका भएको हो ।
View : 131
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved