Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

चुनावी इपिसेन्टर ग्रामथान : कुन उम्मेदवारको प्रतिस्पर्धी को ?

उद्घोष सम्वाददाता
१० मंसिर २०८१, सोमवार

ग्रामथान(मोरङ) । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा सम्पूर्ण ध्यान केन्द्रित गरेका दलहरू घरदैलो अभियानमा ब्यस्त छन् । घरदैलो अभियानमार्फत मतदातामाझ पुगिरहेका प्रमुख दलहरू आफैले चुनाव जित्ने दाबी गरिरहेका छन् । यस्तो दाबी अघि सारिरहेका मुख्य दलका उम्मेदवारहरूलाई उद्घोषले एकै प्रश्न गरेको छ, ‘अहिलेसम्मको अवस्थामा तपाईंको प्रमुख प्रतिस्पर्धामा को  देखिन्छ ? किन ?

त्यसो त चुनावी मैदानमा रहेका हरेक उम्मेदवारले आफैले जित्ने दाबी गर्दै समर्थकलाई उत्साही पार्न खोज्नु अनौठो चलन होइन । तर, उनीहरूले कुन दलका वा को उम्मेदवारलाई आफनो प्रमुख प्रतिस्पर्धीका रुपमा हेरेका छन् ? यसले दलहरूको मनस्थिति बुझाउन सहयोग गर्छ । यसैले दलहरूको त्यही मनोदशा बुझ्न हामीले उनीहरूलाई मुख्य प्रतिस्पर्धा कोसँग होला भनेर अनुमान गर्न लगाएका थियौं । 

नेपाली कांग्रेस र नेकपा  एमालेका उम्मेदवारहरूले यो प्रश्नको उत्तरमा एक अर्कालाई चुनावी मैदानको प्रमुख प्रतिस्पर्धी रहेको बताए ।

कांग्रेस र एमालेबीच नै ग्रामथान अध्यक्षमा मुख्य प्रतिस्पर्धा हुने अवस्था छ, कांग्रेस र एमाले दुबै दलको समान दाबी छ, अन्य दलहरूले प्रतिस्पर्धामा टक्कर दिने अवस्था छैन ।  यी दुई ठुला दलको दाबीभन्दा धेरै नयाँ जिकिर माओवादीको पनि छैन । यत्ति हो, माओवादीले ग्रामथानमा आफू पनि प्रमुख प्रतिस्पर्धामा रहेको दाबी अघि सारेको छ । 

‘अहिले यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था बनेको छ, माओवादी उम्मेदवार नमोनारायण माझीको दाबी छ, ‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेस“ग हुने देखिन्छ ।’ 

कांग्रेस र एमालेले भने माओवादीलाई प्रतिस्पर्धीका रुपमा नलिएको उनीहरूको अभिव्यक्तिले देखाउँछ । 

‘यसअघिको चुनावी परिणाम, दलहरूको सांगठनिक अवस्था र उम्मेदवारको लोकप्रियताले कसको अवस्था के छ अनुमान हुने हो,’ कांग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका बलराम सरदारको तर्क छ, ‘हामीले २०७९ को निर्वाचन १ हजार ६ सय भन्दा बढीको अन्तरमा जितेका हौं । त्यसबेला दलहरूबीच कुनै न कुनै रुपको गठबन्धन थियो । अहिले सबै दल एक्लाएक्लै चुनावी मैदानमा छौं । पार्टीहरूमध्ये यहाँ कांग्रेस  नै बलियो हो । त्यसकारण हामी बलियो छौं । हाम्रो प्रतिस्पर्धामा एमाले नै हो ।’ 

सरदारले आफनो प्रमुख प्रतिस्पर्धा एमालेसँग देख्नुको आधार के हो ? उनको जवाफ थियो, ‘२०७९ को निर्वाचनमा एमाले नै दोस्रो बनेको थियो । प्रतिनिधि सभा चुनाव र प्रदेश सभा चुनावको नतिजाले पनि एमाले नै दोस्रो शक्ति देखिएको थियो । दलको संगठनको कुरा गर्दा यहाँ कांग्रेसपछि एमाले नै बलियो भएकाले उही नै हाम्रो प्रतिद्वन्द्वी हो ।’

ग्रामथान प्रतिनिधि सभा अन्तर्गत मोरङ  क्षेत्र नं ४ मा पर्छ । त्यहाँका संघीय सांसद माओवादीका अमनलाल मोदी हुन् । माओवादीले जितेको क्षेत्रमा माओवादीलाई नै प्रतिस्पर्धामा नदेख्ने अवस्था सुहाउँदो हो ? भन्ने प्रश्नमा सरदारको जवाफ थियो, ‘माओवादीले एक्लै यहाँ कहिले जितेको रेकर्ड छ ? मोदीले गठबन्धनको बलमा मात्रै चुनाव जितेका हुन् । त्यसैले उनलाई देखाएर माओवादी बलियो भन्न मिल्दैन । यहाँ कांग्रेस  र एमालेबीच नै मुख्य प्रतिस्पर्धा छ ।’ 

एमालेका उम्मेदवार तुलसीराम विश्वास आफूले चुनाव जितिसकेको दाबी गर्छन् । उनले आफनो प्रतिस्पर्धा कांग्रेस उम्मेदवारसँग हुने बताए । यसअघिको गणित र पार्टीको अवस्थाले पनि प्रतिस्पर्धामा कांग्रेस नै आउने, र आफू युवा उम्मेदवार भएका कारण पनि मतदाता आकर्षित बनेको उनको दाबी छ । इतिहासदेखि अहिलेसम्म ग्रामथानमा यही दुई दलको प्रतिस्पर्धा भएको छ । यसपटक पनि त्यही अवस्था दोहोरिने हो ।

कांग्रेस र एमाले उम्मेदवारले एकआपसमा प्रतिस्पर्धा हुने दाबी अघि सारिरहेको बेला माओवादीले आफू पनि प्रतिस्पर्धामा रहेको बताइरहेको छ । तर, कांग्रेस र एमालेका कार्यकर्ताहरूले भने माओवादीको घरदैलो अभियानमा हिंडेका व्यक्तिहरू सबै बाहिरका भएको दाबी गरेका छन् ।

‘छिमेकी पालिकाका कार्यकर्ता ल्याएर घरदैलो गरिरहेको पार्टीले आफुलाई प्रतिस्पर्धामा छु भन्नु हावादारी दाबी हो’, दुई ठुला दलको दाबी छ ।

माओवादी नेताहरूले भने कांग्रेस  र एमाले आफूसित डराएको र त्यस्तो दाबी गरिरहेको बताएका छन् । ‘हामी नेतृत्व तहका मान्छेहरू आउनै पर्यो, घरदैलोमा भेटिएका माओवादी नेता कुलप्रसाद साम्बाले भने, ‘बरु उनीहरूकोमा बाहिरका मान्छे छन् । हाम्रामा सबै स्थानीय छन् । अहिलेसम्मको अवस्थामा यहाँ कांग्रेस, एमाले र माओवादी बीच प्रतिस्पर्धा देखिने अवस्था छ ।’

नेताहरू र उम्मेदवारको दाबीबारे उद्घोषले केही स्थानीयवासीसँग पनि कुराकानी गरेको छ । गिधनिया चोकैमा रहेको पान पसलमा भेटिएका एक युवाले आफूलाई राजनीतिबारे धेरै चासो नभएको सुनाए । चासो नभए पनि घर परिवार छरछिमेकको चर्चा त सुन्नु भएको होला नि भन्ने प्रश्नमा उनले आफनो राय प्रकट गरे । 

‘आजसम्मको अवस्था हेर्दा यहाँ कि कांग्रेसले कि एमालेले जित्ने देखिन्छ,’ ती युवाको भनाइ थियो, ‘गाउँघरमा यिनै दुई पार्टीको चर्चा बढी देखिन्छ ।’ उनको भनाइमा थारु बहुल ग्रामथानमा सबै दलले थारु समुदायकै उम्मेदवार अघि सारेका छन् । सबैले जातीय मत तान्न एकै समुदायका उम्मेदवार अघि सारेको देखिन्छ । त्यसले पनि केही न केही प्रभाव पार्न सक्ने अवस्था हुन सक्छ ।

उनले भनेको जस्तो सोचबाट दलहरू पूरै निर्देशित देखिन्छन् । हरेक कोणसभामा उम्मेदवार र नेताहरू स्थानीयले बुझ्ने थारु भाषामा भाषण गरिरहेका हुन्छन् । हरेक दलको प्रचार गीत पनि थारु भाषामै गुन्जिरहेको हुन्छ ।

ग्रामथान–५ को खदरा चोकैमा रहेको चिया पसलमा एक हुल पाकाहरु गफिदै थिए । यही भीडमा हामीले सोधेका थियौं, ‘के छ यहाँको चुनावी माहोल ? पाकाहरूको साझा उत्तर थियो, ‘चलिरहेको छ । माइक घन्काएर सबै हिंडिरहेका छन् । यसरी हिड्नेहरूमध्ये कसको पल्लाभारी पाउनु भएको छ ? 

यो प्रश्न सुनेपछि पाकाहरू केही सजग जस्तो देखिए । खदरा चोकैमा बङगुर काटेर हरेक साता मासु बेच्दै आएका एक जना पाकाले भने, ‘जसले जिते पनि गर्न सक्ने केही होइन । अब दुई ढाइ वर्ष यी नयाँहरूलाई कुरा बुझ्दैमा सकिन्छ । नुनको बट्टा कता छ, तेलको बट्टा कता छ, खोज्दैमा यिनको समय सकिन्छ ।

तैपनी आफै मतदाता रहेको चुनावमा कसको चर्चा बढी छ थाहा होला नि ? भन्ने प्रश्नमा उनको जवाफ रोचक थियो ‘माइक बजाएर, हल्ला गरेर भोट आउने हो र ?’ 

त्यही समूहमा रहेका अर्का पाकाले भने ग्रामथानमा सधै कांग्रेस र एमालेबीच भिडन्त हुँदै आएको र यसपटक पनि त्यस्तै हुने अनुमान गरेको सुनाए । 

यसपटक निर्वाचन आयोगले चुनाव प्रचारमा १० वटा भन्दा बढी झन्डा प्रयोग नगर्न दिएको निर्देशन ग्रामथानका हकमा कागजमै सीमित देखिएको छ । दलबलसहित घरदैलो अभियान चलाइरहेका उम्मेदवारहरू सयौं झन्डा, बाइक, सिटी सफारी र गाडीको लस्कर लिएर मतदातामाझ पुगिरहेका छन् । 

यसरी निर्वाचन आचारसंहिताको धज्जी उडाउने कर्ममा सबैजसो उम्मेदवार अगाडि देखिएका छन् ।

ग्रामथानमा २०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । 

त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए । उपनिर्वाचनमा १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

View : 11

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved