विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते निर्वाचन हुने वा नहुने विषयमा पटक–पटक शंका व्यक्त गरिरहेका छन् । उनी किन बेलाबेलामा चुनाव नहुने कुरा गरिरहेका छन् ? कि मुखले चुनाव नहुने बताएर उनी अन्तरआत्माले पनि चुनाव नहोस् नै भन्ने चाहन्छन् ?
एउटा भनाइ के छ भने, मानिस चाहेर होस् वा नचाहेर परिस्थितिले उसलाई निर्णय गर्न र काम गर्न बाध्य बनाउँछ । यसरी नचाहँदा नचाहँदै पनि कुनै काम गर्नु भनेको स्वतन्त्रताको बोझ हो । कतै एमाले अध्यक्ष केपी शर्मा ओली पनि यस्तै बोझले थिचिएका त छैनन् ?
उनले निरन्तर व्यक्त गर्दै आएको ‘चुनाव हुने वा नहुने’ आशंका वस्तुगत यथार्थसँग कति नजिक छ त्यो समयले बताउला । तर उनको दोहोरिरहने यो भनाइबाट उनी स्वयं आसन्न परिणामप्रति जानकार छन् जस्तो देखिन्छ । त्यसैले सम्भावित हारको सुनियोजित कारण उनी अहिलेदेखि नै खोजिरहेका छन् । ताकि ओलीले पछि परिणाम आएपछि भन्न सकून्, ‘सबै शक्ति लागेर हामीलाई धाँधली गरेर षडयन्त्रपूर्वक हराइयो ।’
हुन त राजनीतिमा अनिश्चितता नयाँ विषय होइन । तर यस्तो अनिश्चितता जब एक जिम्मेवार राजनीतिक नेतृत्वको अभिव्यक्तिमा बारम्बार झल्किन थाल्छ भने त्यसलाई सामन्य मान्ने कि तत् नेतृत्वको मनोदशा, आत्मविश्वास र अन्तर्निहित त्रास उजागर भएको पनि ठान्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो आसन्न निर्वाचनका लागि ओली स्वयं उम्मेदवारी मनोनयन दर्ता गराएर चुनावी मैदानमा उत्रिसकेका नेता हुन् । मनोनयन दर्ता हुनुअघिसम्म पनि उनले चुनाव नहुने होइन, चुनावी प्रक्रिया नै अघि नबढ्ने दाबी गर्दै आएका थिए ।
तर यथार्थ भने उनको भनाइभन्दा फरक दिशामा अघि बढिरहेको छ । देशभर मनोनयन दर्ता भएको छ । चुनावी तालिका कार्यान्वयनमा गएको छ । यसका बाबजुद ओलीले फेरि पनि चुनाव हुने वा नहुने भाष्य जारी नै राखिरहेका छन् । पछिल्लो पटक उनी चुनाव नहुने कारण सरकारको तयारी वा सुरक्षा व्यवस्थालाई होइन, केही पहाडी र हिमाली जिल्लामा पर्न सक्ने सम्भावित हिमपातलाई देखाइरहेका छन् । जुन कारण मानवीय वा प्रशासनिक, कानुनी वा संस्थागत तयारीभन्दा पनि प्राकृतिक देखिन्छ ।
माघ-फागुन महिना केही पहाडी तथा हिमाली जिल्लामा हिउँ पर्ने समय पक्कै हो । तर पछिल्लो समय प्रकृतिको स्वभाव पनि राजनीतिक दलको जस्तै फेरिएको छ । साउन-भदौमा आउने बाढी असोज–कात्तिकमा आउन थालेको छ । हिमपात पनि अनुमान गरिएको समयभन्दा फरक समयमा हुने गरेको छ । त्यसैले ओलीले भनेजस्तै फागुन २१ को आसपास हिउँ पर्न वा नपर्न दुवै हुन सक्छ ।
एक शीर्षस्थ जिम्मेवार नेताले सरकारी तयारी वा उदासिनताका कारणले चुनाव हुने वा नहुने टुंगो छैन भन्नुपर्नेमा अमुक प्रकृतिको कारण भने दिएका छन् । हुन त ओली शब्द–शब्द तौलिएर बोल्ने नेता होइनन् । उनी बोलीमा लगाम लगाउने पक्षमा पनि छैनन् । ‘बतासे अण्डा, साँच्चीकैको अण्डा’ उनको यस्तै बेलगाम बोलीका कारण ह्वार्ह्वार्ती आएका हुन्छन् । कतिपय बेला एउटा कमेडी क्लबले दिन नसकेको मनोरञ्जन ओली एक्लैले पनि दिएको पाइन्छ ।
ओली जतिको नेताले बुझेको हुनुपर्छ कि आफूले चाहेजस्तो परिस्थिति हरबखत बन्दैन । अब ओलीले चाहे वा नचाहे पनि निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । निर्वाचनको परिस्थितिलाई ओली आफैले रोक्न वा छेक्न सक्ने अवस्था छैन । हुन त एउटा भनाइ के पनि छ भने जब व्यक्ति परिस्थितिलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्छ तब ऊ त्यसलाई प्रश्न गर्ने, शंका गर्ने वा अस्वीकार गर्ने भाष्य निर्माण गर्न थाल्छ । ओली पछिल्लो समय यस्तै भाष्य निर्माण गर्नमा अग्रसर छन् । उनी चुनावदेखि डराएका छन् । तर ‘म डराएको छैन’ पनि भनिरहेका छन् ।
महात्मा गान्धीले कुनै बेला भनेका थिए, ‘डरले गरिएका काममा आत्मा सहभागी हुँदैन ।’ यहाँ ओली चुनावी प्रक्रियामा सहभागी त छन्, तर उनका अभिव्यक्तिहरूले त्यो सहभागिता आत्मिक रूपले सहजै ग्रहण गरेको देखिदैन । उनी प्रचारमा छन्, तर भाषणमा अनिश्चित छन् । उम्मेदवार बनेका छन्, तर परिणामप्रति आफै ढुक्क छैनन् । यस्तो अवस्थामा शरीर र भूमिका त सक्रिय हुन्छ, तर मनभित्र डर र शंका भने पलाइरहेको हुन्छ । ओलीको यो मनोदशा शब्दमा नभए पनि भावमा भने प्रकट हुन थालेको छ । अर्थात् उनी डराइरहेका छन् ।
राजनीतिमा डर स्वीकार गर्नु कमजोरी मानिन्छ । यो कुरा केपी शर्मा ओलीको हकमा झन् बढी लागू हुन्छ । ओली त्यसै पनि हत्तपत्त कमजोरी स्वीकार्ने व्यक्ति होइनन् । उनले दुई–दुई पटक गरेको संसद विघटनलाई अहिलेसम्म गल्ती स्वीकारेका छैनन् । आफै प्रधानमन्त्री भएका बेला भदौ २३ गते भएको घटनाको जिम्मेवारीलाई आजका मितिसम्म उनले अस्वीकार गरिरहेका छन् ।
ओलीलाई नजिकबाट चिन्नेहरू उनलाई अत्यन्त आत्मविश्वासी नेता भन्छन् । स्वयं ओलीले पनि आफू जस्तोसुकै परिस्थितिमा विचलित नहुने दाबी गर्दै आएका छन् । तर एउटा भनाइ छ, ‘डर नलाग्नु साहस हो, डर लाग्दैन भन्नु मूर्खता ।’ डर मानवीय स्वभाव हो । फरक यत्ति हो, कोही त्यसलाई स्वीकार गर्छन्, कोही ढाकछोप गर्छन् ।
जतिसुकै ढाकछोप गरे पनि, अभिव्यक्तिमा प्रकट नभए पनि मुखाकृतिमा, भावमा डर प्रकट भएको देखिन्छ । अहिले धेरैले अनुमान लगाउन सकेको विषय के हो भने ओलीले आफू डराएको छैन भने पनि उनी अहिले धेरै नै डराएका छन् । भलै उनी आत्मविश्वासी छन्, तर अहङ्कारले गर्दा उनी विवेकहीन पनि छन् ।
राजनीतिमा आत्मविश्वास अनिवार्य गुण मानिन्छ । नेतृत्व गर्ने व्यक्तिले निर्णय गर्नुपर्छ, जोखिम लिनुपर्छ र जनतालाई भरोसा दिनुपर्छ । आफू सही छु भन्ने विश्वास नभएको नेता दुविधामा पर्छ । हिच्किचाउँछ र नेतृत्व कमजोर देखिन्छ । त्यसैले राजनीतिमा आत्मविश्वास कतिपय सन्दर्भमा आवश्यकता पनि हो । तर यही आत्मविश्वास जब यथार्थसँग संवाद गर्न छाड्छ तब त्यो बिस्तारै अहङ्कारमा रूपान्तरण हुन्छ । आत्मविश्वासको आधार तर्क, तथ्य र परिस्थितिको सही मूल्याङ्कन हो । अहङकारको आधार ‘म गलत हुनै सक्दिनँ’ भन्ने सोच हो ।
खास आत्मविश्वासी नेता परिस्थितिलाई सुन्छ, आलोचना ग्रहण गर्छ र आवश्यक परे आफ्नो धारणा सच्याउँछ । तर अहङ्कारी नेता परिस्थिति आफूअनुकूल नआए आत्मचिन्तन गर्दैन । त्यसलाई स्वीकार गर्दैन । उसले गल्ती स्वीकार्नुको सट्टा परिस्थितिलाई दोष दिन थाल्छ । जस्तो कहिले व्यवस्था, कहिले भित्री वा बाह्य शक्ति केन्द्र त कहिले मौसम वा प्रकृति ।
यदि ओली उनले आफैले भनेझै आत्मविश्वासी नेता हुन्थे भने चुनावी सम्भावना कमजोर देखिदा पनि रणनीतिले सुधार्न खोज्थे होलान् । तर उनी अहिले धेरै डराएका छन् । त्यसैले विभिन्न सम्भावनालाई नै अस्वीकार गर्दै ‘चुनावै हुँदैन’ वा ‘परिस्थिति ठीक छैन’ भनिरहेका छन् । सायद फागुन २१ सम्म, चुनावको अन्तिम परिणाम नआएसम्म ओलीले भनिरहने छन् ।
View : 693
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved