रंगेली । मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा २४ वर्ष काम गरेका विद्यालय कर्मचारी जीतनलाल धामी विद्यालयबाट बिदाइ हुँदा खाली हात बने । विद्यालयको सबैभन्दा सानो पदमा लामो समय काम गरेका जीतनलाल विद्यालय कर्मचारीप्रति हुने गरेको विभेदपूर्ण व्यवहारका सिकार बने ।
विद्यालयमा शिक्षक बाहेकका अन्य कर्मचारीको सम्बन्धमा पेशागत रूपमा कुनै पनि कानुनी सुरक्षा नभएका कारण जीतनलाल जस्ता धेरै व्यक्ति बिदाइमा रित्तो हात घर जान बाध्य छन् ।
उमेर हद ६० वर्ष पूरा भएका कारण शुक्रबार जीतनलालको विद्यालयबाट बिदाइ भएको थियो । बिदाइको क्षणमा शिक्षक र विद्यार्थीहरूले उनलाई माया व्यक्त गर्दै गलाभरी माला त लगाइदिए । तर, उनी खाली हात बिदाइ हुन बाध्य बने ।
विद्यालय प्रशासनले उनलाई आफ्नै स्रोतबाट सानो रकम बाटो खर्च उपलब्ध गराए तापनि उमेरको उत्तराद्र्धमा उनको जीवन चलाउन अब दैनिक ज्यालादारीका काम गर्नुपर्ने अवस्था बनेको छ ।
मावि गोहीगाडाबाट जीतनलाल मात्र होइन, उनका पिता दरबारी धामी पनि त्यस्तै गरी रित्तो हात विद्यालयबाट ०५८ मा बिदाइ भएका थिए । स्वास्थ्यका कारणले दरबारी बिदाइ भएपछि जीतनलालले विद्यालयमा काम गर्ने अवसर पाएका थिए ।
विद्यालयका जति नै काम गरे पनि सरकारको नीतिका कारण विद्यालय कर्मचारीहरू अन्तिममा रित्तो हात हुन बाध्य छन् ।
आफू काम गर्ने विद्यालयमा सबैभन्दा पहिले प्रवेश गर्ने र सबैभन्दा ढिलो निस्किने जिम्मेवारी विद्यालय कर्मचारीको हुन्छ । विद्यालयको जीवनसँग सबैभन्दा गहिरो सम्बन्ध राखेर काम गरे पनि विद्यालय कर्मचारीको अन्तिम बिदाइ निकै पीडादायी हुने गरेको छ ।
आफूभन्दा माथिल्लो तहमा काम गर्ने शिक्षकहरू पेन्सन सुविधासहित मोटो रकम लिएर घर फर्किँदा कर्मचारी भने रित्तो हात हुने गरेका छन् । जीतनलाल आफून् बिदाइमा निकै भावुक बने। उनको बिदाइमा मावि गोहीगाडाका शिक्षक र विद्यार्थीहरूले माया मात्र व्यक्त गर्न पाए ।
विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाले सरकारले नै विद्यालय कर्मचारीहरूप्रति सौतिने व्यवहार गरिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
खुशी–खुशी बिदाइ हुनुपर्ने जीतनलालले जाने बेलामा सरकारले पटक–पटक कर्मचारीको दरबन्दी सिर्जना गरेर सेवा–सुविधा दिन्छु भन्दै उधारो प्रतिबद्धता गरिरहेको भन्दै चित्त दुखाएका थिए । बुढेसकाल भएकोले टाढा–टाढा गएर ज्यालादारी गर्न पनि सक्दिनन् र गाउँघरमै दैनिक ज्यालादारी गर्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे ।
कर्मचारीहरूको हकहितका लागि अहिले उनीहरूले गुनासो सुनाउने निकायमा पेशागत सुरक्षाको माग गर्दै लामो समयदेखि आन्दोलन त गरिरहेकै छन् । तर सुनुवाइमा ठोस प्रगति छैन ।
विद्यालय कर्मचारीकै प्रतिनिधित्व गरेकी नेपाल शिक्षक महासंघ मोरङकी उपाध्यक्ष सविता मैनालीले लामो समयसम्म काम गरेर उमेर हदकै कारण विद्यालयबाट बिदाइ हुन बाध्य भएका कर्मचारीहरूलाई राज्यले सेवा–सुविधा दिएर मात्रै बिदाइ गर्नुपर्ने बताइन्। विद्यालयको प्रशासनिक कार्य व्यवस्थित गर्न कर्मचारीहरूको भूमिका महत्वपूर्ण भए पनि राज्यले सधैं विभेदपूर्ण रूपमा व्यवहार गरिरहेको बताइन् ।
‘हाम्रो सबैभन्दा पहिलो माग नै पेशागत स्थायित्वको हो, कर्मचारीहरू विद्यालय छाड्दा रित्तो हात हुनुपर्ने अवस्था अन्त्य गर्न हामीले पटक–पटक विभिन्न आन्दोलनमा साथ दिंदै आएका छौँ, तर सुनुवाइ गर्ने निकायले जिम्मेवारी लिन सकेको छैन,’ उनले भनिन्, ‘६० वर्ष उमेर पुगेका कर्मचारीलाई सरकारले सुविधा सहित बिदाइ गर्नुपर्छ, केही कारणले स्थायित्वमा लैजान नसकिने कर्मचारीलाई राज्यले नै उपयुक्त सेवासुविधा र सम्मानसहित बिदाइ गर्नुपर्छ, हाम्रो यसैका लागि निरन्तर संघर्ष गरिरहेका छौँ ।’
नेपाल विद्यालय कर्मचारी परिषद्ले लामो समयदेखि सरकारलाई आफ्ना समस्यालाई मागका रूपमा अघि सार्दै आए पनि आश्वासनमै सीमित छ। नेपाल शिक्षक महासंघ घटकका रूपमा विद्यालयका कर्मचारीको संगठनले ठाउँ पाए पनि पेशागत सौदाबाजीको अधिकारबाट भने कर्मचारीहरू वञ्चित छन् ।
रित्तो हात घर फर्किने जीतनलाल एउटा पात्र मात्र बने। उनीभन्दा धेरै अवधि काम गरेका अन्य धेरै विद्यालय कर्मचारी हरेक वर्ष रित्तो हात घर फर्किन बाध्य छन् ।
View : 669
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved