Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

नेपालको जेनजी आन्दोलन

असन्तुष्टि, परिवर्तनको चाहना र भविष्यको बाटो

५ मंसिर २०८२, शुक्रवार

नेपालमा हालै देखिएको जेनजी आन्दोलन आधुनिक पुस्ता (विशेषगरी सन १९९७ देखि २०१२ बीच जन्मिएका युवा वर्ग) द्वारा सुरु गरिएको सामाजिक तथा राजनीतिक चेतनाको आन्दोलन हो । यो आन्दोलन मुख्य रूपमा सामाजिक सञ्जालको स्वतन्त्रता र भ्रष्टाचारको विरोध तथा बेरोजगारी, नातावाद र नेताहरूको गैरजिम्मेवार व्यवहारविरुद्ध उठेको थियो ।

यसै सन्दर्भको पृष्ठभूमि के रह्यो भन्दा नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता, सुशासनको कमी, युवाको भविष्यप्रतिको अनिश्चितता र डिजिटल अधिकारमाथिको प्रतिबन्धले युवाहरूमा असन्तुष्टि बढ्दै गएको थियो । जब सरकारले सामाजिक सञ्जाल नियमन गर्ने प्रस्ताव ल्यायो र नेताहरू जनचासोका मुद्दामा मौन रहे, तब युवाहरूले स्वतःस्फूर्त रूपमा सडकमा निस्किए ।

यसरी सामाजिक सञ्जाबाट सुरु भएको अभियान क्रमशः देशव्यापी जनआन्दोलनको रूप लियो ।

जेनजी आन्दोलनको देखापरेका मुख्य उद्देश्यहरू 

  •  अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा पहुँचको रक्षा ।
  •    भ्रष्टाचार, नातावाद र गैरजिम्मेवार नेतृत्वविरुद्ध आवाज उठाउने ।

 

  •  युवा पुस्ताको अधिकार, अवसर र सहभागिता सुनिश्चित गर्ने ।
  •  सुशासन, पारदर्शिता र जवाफदेही शासनको माग ।

आन्दोलनको क्रममा आम जनताले के महसुस गरे भन्दा यो आन्दोलन कुनै राजनीतिक दलद्वारा नभई स्वतन्त्र युवाहरूले सुरु गरेको थियो ।

नेतृत्वविहीन भए पनि सामाजिक मिडियाको बलमा आन्दोलन तीव्र रूपमा फैलियो । केही प्रदर्शन शान्तिपूर्ण भए पनि केही ठाउँमा तोडफोड र झडपका घटनाहरू देखिए । आन्दोलनले पुरानो राजनीतिक सोचलाई चुनौती दिंदै नयाँ पुस्ताको दृष्टिकोण उजागर ग-यो ।

सकारात्मक उपलब्धिहरू  

  •   युवा सक्रियता र चेतना वृद्धि  : आन्दोलनले युवाहरू, विशेष गरेर जेनजीलाई सामाजिक–राजनीतिक विषयमा बोल्न, उठ्न र माग गर्न प्रेरित गर्‍यो ।  
  •     सञ्जाल तथा अभिव्यक्ति स्वतन्त्रताको सवाल उठान :  सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध विरोधमा उठेको आन्दोलनले अभिव्यक्ति स्वतन्त्रता तथा डिजिटल पहुँचको महत्व उजागर गर्‍यो ।  
  •    भ्रष्टाचार, नातावाद–कृपावाद विरुद्ध दबाब  : आन्दोलनले भ्रष्टाचार, नातावाद, कर्तव्यप्रति नेताहरुको गैरजिम्मेवार व्यवहारजस्ता विषयलाई सार्वजनिक रुपमा उठायो ।  
  •     परम्परागत आन्दोलनभन्दा फरक स्वरूप  : नेतृत्व नभएको, युवामा आधारित आन्दोलनको स्वरूप सामाजिक रूपमा नया“ अनुभव बन्यो, जसले गर्दा ‘राजनीतिक दलको होइन युवाको आन्दोलन’ भन्ने विमर्श सुरु भयो ।  

नकारात्मक उपलब्धिहरू, चुनौतिहरू 

  •    हिंसात्मक परिणति र व्यापक क्षति  : आन्दोलन प्रारम्भमा शान्तिपूर्ण थिए पनि कैयौं स्थानमा आगजनी, तोडफोड, सार्वजनिक तथा निजी संरचनामा क्षति पुगेको छ ।   
  •  अर्थतन्त्रमा नकारात्मक प्रभाव : निजी तथा सरकारी संरचनामा भएको क्षति, लगानीकर्ता–डोनरमा असुरक्षा महसुस हुनु, बाह्य लगानी घट्ने सम्भावना आदि कारणले अर्थतन्त्रलाई पछाडि धकेल्ने संकेत देखिएका छन् ।  

 

  • आन्दोलनको मूल उद्देश्यबाट विचलन हुने जोखिम : आन्दोलनले उठाएका मुद्दा (भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता) बाहिरबाट राजनीतिक स्वार्थ वा अन्य एजेन्डाद्वारा अपहरण हुने सम्भावना देखिएको छ ।  
  •   राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौती  : आन्दोलनले सुरक्षा संयन्त्र, नियम–व्यवस्था, राजनीतिक प्रणालीमा प्रश्न खडा गर्‍यो । यसले राज्य संयन्त्रमाथि गम्भीर चिन्ता पनि उत्पन्न गर्‍यो ।

जेनजी आन्दोलनले देशको नयाँ पुस्ता अर्थात् युवाहरूको असन्तोष, अपेक्षा र परिवर्तनको चाहनालाई उजागर गरेको छ । राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव र नेतृत्वप्रतिको अविश्वासले युवाहरूमा निराशा फैलाएको थियो ।

यही पृष्ठभूमिमा सुरु भएको यो आन्दोलनले देशभित्र व्यापक चेतना, राजनीतिक छलफल र सामाजिक सचेतनाको नयाँ लहर ल्यायो । अब यो आन्दोलनबाट सिक्दै, मुलुकले स्थायी सुधारका उपायहरू अपनाउन जरुरी छ । 

  •   जेनजी आन्दोलनपछि सुधारका उपायहरू :  सामाजिक, राजनीतिक र आर्थिक — तीनै पक्षमा अपनाउँदै समाधानको बाटो खोज्नु पर्ने अपरिहार्य देखिन्छ ।
  •  राजनीतिक सुधारका उपायहरू : राजनीतिक क्षेत्रमा युवाको सक्रिय सहभागिता अनिवार्य बनाउनुपर्छ । दलहरूले पुराना अनुहार मात्र होइन, सक्षम र जिम्मेवार युवालाई नेतृत्वमा ल्याउने व्यवस्था गर्नुपर्छ ।

राज्यका नीति तथा निर्णय पारदर्शी र जवाफदेही बन्नु अत्यावश्यक छ ।

जनताको प्रश्न सुन्ने संस्कृति र जनमतको सम्मान गर्ने राजनीतिक वातावरण तयार पार्नुपर्छ । साथै, आन्दोलन गर्ने अधिकार सुरक्षित राख्दै हिंसात्मक क्रियाकलाप रोक्ने कानुनी सन्तुलन कायम गर्नुपर्छ ।

  •    सामाजिक सुधारका उपायहरू : समाजमा अभिव्यक्ति स्वतन्त्रता, सहिष्णुता र जिम्मेवारीपूर्ण सञ्चार संस्कार विकास गर्नुपर्छ । विद्यालय र विश्वविद्यालय स्तरमा नागरिक शिक्षालाई अनिवार्य बनाएर युवालाई सचेत, जिम्मेवार र देशप्रेमी नागरिकका रूपमा तयार गर्न सकिन्छ ।
  • सामाजिक सञ्जालको सकारात्मक प्रयोग र अफवाह नियन्त्रणका लागि सचेतना कार्यक्रम आवश्यक छन् । साथै, जातीय, धार्मिक र क्षेत्रीय विभाजन हटाई साझा राष्ट्रिय पहिचान मजबुत बनाउनुपर्छ ।

 

  •  आर्थिक सुधारका उपायहरू :रोजगार सृजनालाई प्राथमिकता दिंदै युवाको सीपअनुसार रोजगारीका अवसर बढाउनुपर्छ । युवालाई उद्यमशीलता र नवप्रवर्तनतर्फ आकर्षित गर्न राज्यले कर छुट, लगानी सहायता र प्रविधिगत सहयोग उपलब्ध गराउन सक्छ ।

सार्वजनिक खर्चमा पारदर्शिता ल्याई शिक्षा, स्वास्थ्य र सीप विकासमा लगानी बढाउनु जरूरी छ । विदेश पलायन घटाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नु पनि दीर्घकालीन आर्थिक सुधारको मूल आधार हो ।


संक्षिप्तमा भन्नुपर्दा, जेनजी आन्दोलन नेपालमा युवापुस्ताको असन्तुष्टिको स्वर मात्र होइन, परिवर्तनको चाहनाको संकेत पनि हो । यस आन्दोलनले युवा आवाज उठाउने, सञ्चार, सञ्जाल स्वतन्त्रताको सवाल उठाउने, भ्रष्टाचार र राजनीतिक असन्तुष्टिको प्लेटफर्म दिने जस्ता सकारात्मक पक्ष देखायो भने सोही आन्दोलनले हिंसा र भ्रष्टाचार विरुद्धको दबाब विपरित संरचनात्मक तथा आर्थिक असर, लगानी वा ग्रोथका लागि चुनौती, र राजनीतिक तथा सुरक्षा जोखिम पनि निम्त्यायो । 

अन्ततः जेनजी आन्दोलनले नेपालको युवा पुस्ता अब मौन बस्दैन भन्ने सन्देश दिएको छ । युवाको असन्तोष र देश सुधारप्रतिको चाहनालाई आत्मसात् गरी सरकारले र सम्पूर्ण राजनीतिक नेतृत्वले यसबाट पाठ सिक्दै पारदर्शी शासन, उत्तरदायी नेतृत्व र अवसरयुक्त समाज निर्माणतर्फ अघि बढ्नुपर्छ ।

युवाको ऊर्जा, दृष्टि र उत्साहलाई सकारात्मक दिशामा प्रयोग गर्न सकियो भने, यही आन्दोलन नेपालको भविष्य परिवर्तन गर्ने ऐतिहासिक मोड सावित हुन सक्छ ।
                                           (अजय शाह पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय ‘पुस्याट’का सहप्राध्यापक हुन् ।)
 

View : 415

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved