विराटनगर । आफू सत्तामा हुञ्जेल सबै राम्रो मात्रै देख्ने दलहरू जब सत्ता बाहिर पुग्छन्, उनीहरू अरू सबैलाई नराम्रै नराम्रो मात्रै देख्छन् । नेपाली राजनीतिको बनिबनाउ यो धारणालाई नेकपा माओवादी केन्द्रले कोशीमा फेरि एकपटक प्रदर्शित गरेकोछ ।
बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने बेलामा माओवादीले यही प्रवृत्ति सदनमा छताछुल्ल पारेको छ । केन्द्रमा गठबन्धन फेरिएर संघदेखि प्रदेशसम्मै सत्ता बाहिर पुगेको झोंक देखाउँदै माओवादीले बुधबार प्रदेशसभामा ‘दलाल, तस्कर, विचौलियाले बनाएको सरकार’ भन्दै तितोसमेत पोखेको छ ।
गएको साउन ११ गते शुक्रबार पदबाट राजीनामा दिनुअघिसम्म कोशीका तत्कालीन भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती मुख्यमन्त्री हिक्मतकुमार कार्कीका सबैभन्दा ठूला प्रशंसक थिए । केन्द्रमा गठबन्धन परिवर्तन भएको लामो समयसम्म मन्त्री पद नछाडेका उनी भन्थे ‘मुख्यमन्त्रीज्यूले निर्धक्क काम गरिरहन भन्नुभएको छ । उहाँको कुनै दवाब छैन ।’
त्यसबेला सोही विषयबारे उद्घोषले जिज्ञासा राख्दा उप्रेतीले भनेका थिए ‘मुख्यमन्त्रीले राजीनामा माग्नुभएको छैन, हामीलाई मज्जाले काम गर्न दिइरहनु भएको छ । हामीले पत्रिकाको अफिसमा आएर बुझाउनु पर्ने हो राजीनामा ?’ त्यतिमात्रै होइन, उनीसहितका माओवादी मन्त्रीहरू आफूहरूको ट्युनिङ मुख्यमन्त्रीसँग मिलिरहेको अरूलाई किन टाउको दुःखाई भनेरसमेत जवाफ दिन्थे ।
केन्द्रमा गठबन्धन फेरिएपछि उनीहरूले साउन ११ मा राजीनामा दिए । त्यसको महिना दिनपछि अर्थात् भदौ १४ मा उप्रेतीको दलले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी कदमकै कारण बुधबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्यो । बुधबार प्रदेशसभामा विश्वासको मतबारेको छलफलमा माओवादीका तर्फबाट उनै उप्रेतीले भाग लिए ।
आफूले बोल्ने क्रममा माओवादी नेता उप्रेती यस्तरी प्रस्तुत भए कि, महिना दिनअघिसम्म मुख्यमन्त्रीबारे आफैले भनिरहेको विषयसमेत उनले भुले । बुधबार उनले प्रदेशसभामा अहिलेको सरकार ‘दलाल, तस्कर, विचौलिया’हरूले बनाएको आरोप लगाए । गएको बैशाख २७ मा कार्कीलाई मुख्यमन्त्री बनाएको माओवादीले नै हो । कांग्रेस त भर्खरै मात्रै सरकारमा सहभागी भएको हो । उनले प्रचण्ड नेतृत्वको सरकारको गुनगानबाट आफ्ना कुरा सुरू गरे ।
प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा थालेको कामबाट आत्तिएर कांग्रेस र एमाले मिलेको जिरह गर्दै उप्रेतीले भने ‘नेपालका मान्छेलाई मात्रै होइन, संसारकै मान्छेलाई थाहा छ कि प्रचण्ड नेतृत्वको सरकार किन ढल्यो ? प्रचण्डको नेतृत्वमा भइरहेको सरकारले नेपालमा सायद इतिहासमै कहिल्यै हुन नसकेको सुशासनको अभियानलाई, त्यो वेगलाई, त्यो क्रान्तिलाई जब अगाडि बढाउन थाल्यो अनि त्यो वेगले बालकोटतिर र बूढानीलकण्ठतिर आफ्नो रफ्तार सोझ्याउन थाल्यो, अनि यो देशका दुईटा ठूला दल विचौलिया, भूमाफिया र दलालहरूको मार्फत् एकै ठाउँ उभिए । र, सरकार परिवर्तन भयो ।’
‘सायद इतिहासमै सबैभन्दा धेरै भ्रष्टाचारीलाई जेल कोच्ने अभियान प्रचण्ड सरकारले चलायो’, उप्रेतीले थपे ‘बालकोट र बूढानीलकण्ठतिरका मान्छेहरू जेलको चिसो छिडीमा पर्ने सम्भावना बढ्यो । रातारात अप्राकृतिक हिसाबबाट नयाँ गठबन्धन बन्यो ।’
माओवादीलाई सत्ताच्यूत तुल्याएर सरकारमा सहकार्य गरेका एमाले–कांग्रेसलाई उप्रेतीले ‘झगडिया’ को उपमा दिए । ‘यो समाजका दुई झगडियाहरू मिलेर, सेटिङमा दुई ठूला दल मिले, यस्तो संसारमा कहीँ छैन । आत्तिएर तर्सिएर यो सरकार बन्यो । यहाँको प्रदेश सरकार त्यही सरकारको लाचार छायाँ बन्यो । जनविरोधी केन्द्रीय सरकार र त्यसको लाचार छायाँ हो प्रदेश सरकार’, उप्रेती त्यत्तिमै रोकिएनन् ‘त्यो भन्दा पर्तिर केही गर्न सक्दैन । सेटिङ गरेर सञ्चालनमा रहेको यो भ्रष्टद्वारा निर्मित सरकार हो, जनताले बनाएको सरकार होइन । केन्द्रको पनि, प्रदेशको पनि । यस्तो सरकारलाई कुनै पनि प्रकारको विश्वास रहँदैन ।’
उप्रेतीले आफै कांग्रेस एमाले आफै झगडिया भएको प्रमाण देखाउन पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनको विषय पनि उठाए । ‘कोही अनशन बस्ने, कोही सरकारमा बस्ने, तपाइँहरूकै कुरा मिलेको छैन । तपाइँहरूमा जो अज्ञात् आतंक र त्रसित छ, सत्तामा बसिएन भने विगतमा गरिएका कुख्यात स्क्याण्डलहरू फेरि अगाडि आउँछन् भन्ने अज्ञात् भयले मुर्छित बनायो अनि रातारात गठजोड भयो । यो सरकार सुशासन, प्रगतिका लागि दुर्भाग्य हो । इतिहासकै दुर्भाग्य हो ।’
उप्रेतीले बोलिसकेपछि बोलेका कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले उनको भनाइको प्रतिवाद गरेका थिए । ‘आफू सरकारमा जाँदा त्यही राम्रो देख्ने, नजाँदा सबै अँध्यारो देख्ने शैलीले प्रदेशको विकास र समृद्धि सम्भव होला ? यस्तो शैलीले कहाँ पु¥याउला ?’, कार्कीले प्रश्न गरे ‘भ्रष्टहरू जोगाउन गठबन्धन बनेको भन्ने कुरामा सत्यता छैन । राष्ट्रलाई आवश्यकता पर्दा कांग्रेस एमाले मिलेका छन् । यो पनि त्यही आवश्यकताले बनाएको गठबन्धन हो । प्रदेशसभाको बाँकी कार्यकालभरी यो गठबन्धनको सरकार रहन्छ ।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी नेता उप्रेती र एकीकृत समाजवादीका नेता राजेन्द्र राईले लगाएका धेरै आरोपको जवाफ दिएनन् । उनले कांग्रेस नेता कार्कीको अभिव्यक्तिमा सही थपिदिए । ‘म संयुक्त सरकारको मुख्यमन्त्री हुँ’, उनले भने ‘सरकारले घोषित लक्ष्य पार गर्छ ।’ उनले कांग्रेस–एमालेले बेलाबेलामा सहकार्य गर्दै आएको बताउँदै थपे ‘म पनि सहकार्यबाटै मुख्यमन्त्री बनेको हुँ । राजनीतिमा स्थिरताका लागि एमाले कांग्रेसबीचको सहकार्य आवश्यक छ ।’
पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सरकारप्रति व्यंग्य गर्दै सरकारलाई विश्वासको मत दिए रिसाउने डर भएकाले मत नदिने बताए । ‘हामीले पहिला विश्वासको मत दिएकै हो शंकाको सुविधासहित मत दिँदा पनि हाम्रो सहयोग र साथ कहिल्यै खोजिएन’, राईले भने ‘अहिले विश्वासको मत दिउँ भने सरकार रिसाउला कि भन्ने लाग्छ ।’ उनले संसदीय सभापतिहरूको भागबन्डा मन्त्री बाँडे जसरी सत्ता पक्षले भागबन्डा गरेको भन्दै असन्तोष प्रकट गरे ।
राप्रपा नेता भक्तिप्रसाद सिटौलाले विश्वासको मतका लागि मात्रै सांसद भएर आएजस्तो भएको बताए । ‘सातौं आठौं चोटी विश्वासको मत लिनुपर्ने भएको छ’, उनले भने ‘सरकार भ्रष्टाचारले गन्हाएको छ । ठूला दलकै संलग्नता रहेको छ । घूस खुवाएर कर तिर्नुपर्ने अवस्था छ ।आवश्यक कर्मचारी छैनन् । महंगी बढेको छ । सरकारले आँखामा छारो हालेको छ । तैपनि विश्वासको मत लिने क्रम जारी छ । यसले संविधानमा भएको प्रबन्ध गलत भइसकेको प्रमाणित हुन्छ ।’ सिटौलाले पनि कांग्रेस एमाले गठबन्धनलाई अप्राकृतिक भनेका थिए ।
एमालेका उपनेता तिलकुमार मेन्याङ्बोले माओवादी र राप्रपालाई कटाक्ष गरे । ‘आफूले गर्दा प्राकृतिक हुने, अरूले गठबन्धन गर्दा अप्राकृतिक हुने ? यसअघि को–को मिलेर सरकार बनायौं ?’, उनले भने ‘राजनीतिक अस्थिरताले मुलुक अघि बढेन । त्यसलाई ध्यानमा राखेर कांग्रेस एमाले गठबन्धन भएको हो । आफू नहुने बित्तिकै अप्राकृतिक हुने हुन्छ र ?’
View : 133
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved