तस्वीर : कृत्रिम बुद्धिमत्ता
गौरी खण्डकाव्य माधवप्रसाध घिमिरेले पत्नीको वियोगमा रचना गरेका हुन् । उनले आफ्नी पत्नीलाई यसरी सम्झेका थिए :
"दुःख लाग्छ यिनले सम्झे कि आमा भनी,
यी हाँसे पनि सुख छैन यिनले विर्से नि आमा भनी ।"
म यसबेला मेरो जेठो सन्तानलाई सम्झिरहेको छु । उसको बाल्यकाल, शिक्षा, वैवाहिक जीवन र बुहारी, नातिनातिना सबैलाई सम्झेर न हाँस्न सक्छु, न त रुन नै सक्छु ।
सिद्धिचरण श्रेष्ठले आफ्नो सन्तान गुमाउँदाको पीडालाई विश्वव्यथाको रूपमा चित्रण गरेका थिए । सबैले भोग्ने व्यथा हो यो । ढिलो चाँडो, अगाडि, पछाडि सबैले सो मानवीय व्यथालाई स्वीकार गर्नु नै पर्छ । यस्ता घटनालाई लिएर कैयौँ कथा लेखिएका छन् र काव्य कविता पनि रचना गरिएका छन् ।
पारिवारिक सम्बन्ध र सन्तानको सम्बन्ध, विशेषतः भावनात्मक भनौँ हृदयगत हुँदो रहेछ । भावनामाथि वा हृदयमाथि परेको आघात अत्यन्त कठोर, तीब्र र असह्य हुने रहेछ । त्यस सम्बन्धभित्रको प्रेमको विघटनले कसैलाई पनि विक्षिप्त बनाउन सक्ने रहेछ । परिणाम अकल्पनीय पनि हुनसक्छ ।
क्यानडाबाट नेपाल आउनका लागि असार ४ गते नै टिकट काटिएको थियो । छोराले भन्यो, "२०८२ भाद्र १२ गते बेलुका ९ बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्छौँ ।" छोरा–बुहारी, नातीनातिना सबैका साथमा यसपटकको दसैँ नेपालमै मनाउने कार्यक्रम बनेको थियो ।
त्यो कार्यक्रम अनुसार हामीले भाद्र १२ गते काठमाडौं जानका लागि गाडी बन्दोबस्त ग-यौं । भाद्र १२ गते बेलुका एयरपोर्टबाट उनीहरूलाई लिएर तिलगंगामा रहेको भाइ केशवको घरमा जाने र ३–४ दिन त्यही बस्ने निर्णय भयो । तर, भदौ ९ गते नै खबर आयो छोरालाई उपचारार्थ अस्पताल लगियो । तब सबै कार्यक्रम चौपट भए । काठमाडौंमा २–४ दिन केटाकेटीलाई घुमाउने, त्यसपछि मनकामना, पोखरा, देवघाट, चितवन र जनकपुर हुँदै विराटनगर आउने योजना पनि रद्द भए । सबै भेला भएर २०८२ सालको दसैँ मनाउने कुरा त झन् टाढाको विषय बन्यो ।
हामीसँग क्यानडा जाने भिसा थिएन । भिसा लगाउने प्रयास ग-यौं । अनलाइन फारम भरेपछि बायोमेट्रिक पनि दियौं । तर, भिसा प्राप्त भएन । "तिमीहरू नेपाल फर्कन्छौं भन्ने के ग्यारेन्टी छ ?" अनलाइनबाट हामीलाई यही प्रश्न सोधियो ।
ग्यारेन्टीको उत्तर के दिने ? हामीसँग थिएन । यस्तै प्रश्न अमेरिकी राजदूतावासले पनि ६ महिना अगाडि सोधेको थियो । अब नेपालमै बसेर छोराको स्वास्थ्यलाभको कामना गर्न बाहेक हामीसँग अर्को उपाय थिएन । यसरी हामीले विदेशमा छोराछोरी हुँदाको थप पीडा भोग्न थाल्यौं ।
बुहारी भन्थिन्, "बाबा, ठीक भैहाल्छ नी, चिन्ता नलिनू ।" अस्पतालको बेडमा सुतेको छोरासँग कुरा गर्दा भन्थ्यो, "अहिले अलिक राम्रो अनुभव गरेको छु ।" हामीहरू त्यो भनाइमा विश्वस्त भयौं ।
अस्पतालमा भर्ना भएको छोरा आजभोलि ठीक होला भन्ने लाग्थ्यो । उपचारमा कुनै शंका गर्नु पर्ने ठाउँ थिएन । राम्रो सुविधासम्पन्न क्यानडाका अस्पतालहरू । अनुभवी, विज्ञ डाक्टरहरूको टिम । उनीहरूले सतत प्रयास गरिरहेको खबर पायौं । हामीलाई विश्वास बढ्यो । तर, ५५ दिनको उपचार विधिले छोराको स्वास्थ्यमा सुधार आएन ।
लगभग ७० दिन बिते । स्थिति उस्तै छ । तौल निरन्तर घटेर गएको छ । अब बुहारीले पनि हरेस खाइन् । "ठीक भैहाल्छ" भन्ने अनेक विश्वासमा कुठाराघात भयो । उनले अमेरिका बसेको देवरलाई र मामालाई फोन गरिन् । उनीहरू तत्काल क्यानडा उत्रिए ।
उनीहरूले अस्पतालमा भाञ्जा र दाजुको नाजुक अवस्था देखे । बिरामीको वाक्य बसिसकेको थियो । उसले मामा र भाइलाई टुलुटुलु हेरिमात्र रह्यो । बिरामी दाजुले भाइ र मामासँग विदा मागेको अनुभव भयो उनीहरूलाई । ४६ वर्षको उमेरमा मेरो ठूलो छोराको जीवन समाप्त भयो । यो खबर सुनेपछि म रूएँ । काठमाडौंमा केशव भाइको घरको छतमा गएर एक्लै रूएँ ।
२०८२ भाद्र १० गते क्यानडाबाट नेपालको लागि उड्नु पर्ने थियो । विराटनगरको घरमा सबैको साथमा दसैँ मनाउने योजना अनुसार ऊ तयार थियो । तर, उसलाई धेरै पहिलेदेखि रोगले समाएको रहेछ । त्यतातिर उसले ध्यान दिएनछ । "योग गर्छु, त्यसैले तौल घटेको होला" भन्ने विश्वासमा ऊ प-यो ।
खाना रूचेकै छ, हिंड्डुल भएकै छ, काम पनि गर्दैछु, यस्तै विश्वासमा उसले समय गुजार्यो । पुनश्चः फ्यामिली डाक्टरको जाँच गर्दा "तिमीलाई ठीक छ, राम्रो छ" भन्ने आश्वासन दिएको कुराले पनि ऊ आफ्नो स्वास्थ्य प्रति बढी निश्चित बनेको रहेछ ।
मान्छेलाई अनेक प्रकारको रोगले आक्रमण गर्छ । अहिले मान्छे माटोको सम्पर्कबाट टाढा भएको छ । बजारमा खानेकुराहरू स्वास्थ्यबर्धक छैनन् । हिजोआज मान्छे अत्यधिक व्यस्त हुँदै गएका छन् । खाने, सुत्ने, काम गर्ने, आराम गर्ने यस्ता कुराको नियमितता छैन । वर्तमान जीवन अत्यन्त संघर्षमय बनेको छ ।
रोगले कतिबेर आक्रमण गर्छ थाहा छैन । त्यसैले डाक्टरहरू भन्छन्, "छ–छ महिनामा वा समय–समयमा चेकअप गर्नुहोस्, स्वास्थ्यकर खानेकुराहरू खानुहोस् ।"
छोराको देहान्त हुनुको कारणबाट म पनि अनभिज्ञ थिएँ । डाक्टरले दिएको रिपोर्ट प्राप्त भएपछि सानो छोराले मलाई जानकारी गरायो – पेटको आन्द्रामा 'क्लेब्सिआला' नामको ब्याक्टेरिया अधिक बढेको रहेछ । जुन सबैको आन्द्रामा हुँदैन वा पाइँदैन । सुगर अत्यधिक बढेको कारण त्यो ब्याक्टेरिया नियन्त्रण हुन सकेन । प्रतिरक्षा शक्ति धेरै कमजोर भयो । जसले गर्दा अत्यधिक पखाला चल्यो । कमजोर प्रतिरक्षा प्रणालीले गर्दा क्लेब्सिआला पेटभरि फैलियो । त्यसको कारण सेप्सिस भयो । सेप्सिसको कारणले बिरामीको शरीरका मांसपेशीहरू तीब्र रूपमा नष्ट हुँदै गए । तौल घटेर गयो । त्यसपछि विकसित भएको निमोनियाका कारण फोक्सोमा पानी जम्यो । डाक्टरहरूले त्यसको पनि उपचार गरे ।
शरीर ज्यादै कमजोर भएको हुँदा कुनै पनि औषधिले काम गर्न छाड्यो । डाक्टरहरूको मेहनतले काम गरेन । उनीहरू बिरामीलाई बचाउन असफल भए । यस्ता रोगले पनि मान्छेको जीवन समाप्त हुँदो रहेछ । ४६ वर्षको उमेरमा छोराले हामीलाई छोडेर गयो ।
साथीहरू अस्पताल पुगे । परिचित आफन्तहरू सबै पुगे । अस्पतालले सबै प्रक्रिया पूरा गर्न दुई दिन लगायो । क्यानडामै दाहसंस्कार भयो । त्यसपछि बुहारी र नातिनातिना काठमाडौं उत्रिए । "१३ दिनको काम कहाँ गर्ने?" यस्ता प्रश्न आए । कसैले विराटनगर, कसैले काठमाडौं भन्ने प्रस्ताव राखे ।
काठमाडौंको मत बलियो बन्यो । पशुपतिमा क्रियाक्रम सम्पन्न गर्ने निर्णय भयो ।
पशुपतिमा उपेन्द्र महतोले बनाइदिएको क्रियापुत्री भवन रहेछ । त्यो भवन सुविधाजनक थियो । त्यहीं नै साझाको पसल स्थापना गरेको रहेछ । "क्रियापुत्री र अन्य सबैलाई सामान किन्न बाहिर जानु नपरोस्" भन्ने उद्देश्य राखेर त्यो व्यवस्था गरिएको रहेछ । फूल, कूश, तिल चाहिँ बाहिरबाटै ल्याउनु पर्ने रहेछ ।
दुना, टपरी अर्डर अनुसार घाटमा बस्ने दिदीहरूले तत्काल तयार गरिदिंदा रहेछन् । ओड्ने, ओछ्याउने, भाँडा, वर्तन, चामल सबै कुराको व्यवस्था त्यही रहेछ । पशुपति क्षेत्रमा क्रियाक्रम गर्न धेरै सुविधा र व्यवस्था रहेछ ।
बाबुले जेठा छोराको क्रिया गर्नु हुँदैन भन्ने मान्यता रहेछ । त्यसैले मैले छोराका क्रिया गर्ने अनुमति पाइन । अर्को मान्छे खोज्नुप¥यो । बाँस्कोटा थरको एक सज्जन व्यक्तिले क्रिया गरिदिने वचन दिनुभयो । उहाँले नै १२ दिनको काम सम्पन्न गरिदिनुभयो । विद्वान मित्र कोषराज नेउपानेले दिनुभएको सल्लाह अनुसार त्यो कर्म सम्पन्न गरियो ।
बुहारी सेता लुगा लगाउने, कपाल काट्ने र क्रियापुत्री भएर बस्ने परम्परागत संस्कारबाट उनलाई मुक्त गर्ने मेरो व्यक्तिगत निर्णय थियो । कतिपय बुढापाका र आफन्तले विमति जनाउँदाजनाउँदै पनि मैले मेरो निर्णय नबदल्ने अठोट गरें । बुहारीले १० दिनमा थलामा गएर गहुँत खाइन् । त्यसपछि १२ औँ दिनको कार्यमा सामेल भइन् ।
धार्मिक वा पितृकार्यमा पनि एउटै मत र व्यवहार नहुने रहेछ । कामको तरिका पनि मान्छेको पारम्परिक सोच र प्रचलन अनुसार भिन्न–भिन्न हुँदो रहेछ । कतिपय मान्छेहरू यदाकदा आफ्नै विचार वा व्यवहार अरूमाथि थोपर्ने प्रयास पनि गर्दा रहेछन् ।
मलाई भेट्न जाने र सहानुभूति प्रकट गर्ने अनि समवेदनाका लागि उपस्थित हुने प्रिय आफन्त र परिचितहरूको सोच र व्यवहार हार्दिक थियो भने कतिपयको भने अचम्मको पनि थियो ।
"कसरी भयो ? किन भयो ? कसैले हत्या ग-यो कि ?" यस्ता बेतुका प्रश्न गरेर त्यस्ता प्रश्नको उत्तर खोज्ने प्रयास भएको अनुभूति मैले गरें । आजको युगमा पनि कतिपय मान्छे युगसापेक्ष सोच र व्यवहारबाट अनि बुद्धिबाट वञ्चित रहेछन् जस्तो पनि लाग्यो । "रक्सी खाएर, झगडा गरेर विष खाएर, झुण्डिएर, विषादित (डिप्रेस्ड) भएर, एक्सिडेन्ट भएर, लागू पदार्थको सेवन गरेर मृत्यु भएको हो कि ?" यस्ता कुरा सुन्न र जान्न इच्छुक व्यक्ति पनि हुँदा रहेछन् ।
"कहाँ थियो ? के गर्थ्यो ? कति कमाउँथ्यो ? छोराछोरी कति छन् ? विदेशमा घर थियो, थिएन ? केटाकेटी अब के गर्छन् ? क्यानडा फर्कन्छन् कि यतै बस्छन् ?" यस्ता प्रश्नहरू केका लागि थिए ? किन प्रश्न गरे ? मैले बुझ्न सकिन । यस्ता प्रश्नहरू नाता–सम्बन्धका मान्छेले मात्र गर्थे ।
अति भएपछि मैले एकजना ज्वाइँ नाताका व्यक्तिलाई भने, "तपाईंलाई यस्ता प्रश्नको उत्तर किन चाहियो ? यस्ता प्रश्न किन गर्नु भएको ? तपाईंलाई के फाइदा हुन्छ ?"
उनले भने, "हामी नातासम्बन्धका मान्छे हौं । त्यसैले बुझ्न चाहेका थियौं ।"
उनले गरेका प्रश्नको उत्तर मैले के दिने ? मलाई यस्ता प्रश्न कति पीडा हुन्थ्यो उनले त्यतापट्टि ध्यान दिएका थिएनन् । मलाई भेट्न आउने वा समवेदना प्रकट गर्न आउने कुनै पनि साथीहरूले भने यस्ता प्रश्न गरेनन् । फोन गर्ने, थलामा पुग्ने र घरमा भेट्न आउने मेरा मित्रहरू यो घटनाबाट धेरै दुःखी थिए र पनि उनीहरूले यस्ता प्रश्न गरेर वातावरणलाई अझ धमिलो बनाउने प्रयास गरेनन् ।
अर्का हितचिन्तक तर नाताका मान्छे निस्किए । उनले भने, "भोलि समवेदनापत्र लिएर संगठनका मान्छेहरू आउँदैछन् ।"
उनलाई मैले भने, "समवेदनापत्र लिएर मैले के गर्नु ? घरको भित्तामा झुण्ड्याउनु कि ? सधैं पाठ गर्नु कि ? त्यसले त मलाई झन् बढी पीडा दिन्छ । विर्सन लागेको घटनालाई अझ बल्झाउँछ र ताजा बनाउँछ ।" नजिकै बसेर कुरा सुनिरहेका आफन्तले भने–"२०४६ सालपछि यस्तो चलन आएको हो । राजनीति गर्ने व्यक्तिले गाउँ–शहरमा आफ्नो भोटलाई सुरक्षित राख्न कसैको मृत्युलाई पनि उपयोग गर्ने चलन ल्याएका हुन् ।" म चुप लागें । मलाई यस विषयमा कुनै तर्क गर्नु पर्ने थिएन । तर, मैले समवेदनापत्र दिने कार्य बन्द गर्न अनुरोध गरें । नभन्दै भोलिपल्ट समवेदनापत्र आएन । छोराको फोटो ल्याएर हातमा राखिदिए । यो कार्य पनि अनौठो नै लाग्यो । तथापि मेरा हितचिन्तक हुन चाहने मान्छे कमसेकम त्यति गर्न पाएकामा खुसी नै थिए । तर, मलाई त्यस कुराको कुनै अर्थ र महत्व थिएन ।
कसैले भने, "सात दिनमा अस्थि सेलाउनुपर्छ ।" कसैले भने, "१० दिनमा सेलाउनुपर्छ ।" "जहिले सेलाए पनि हुन्छ" भन्ने मत पनि आयो । क्यानडाबाट ल्याएको अस्थि खरानी देवघाटमा सेलाउनु पर्ने थियो । "कि बनारसमा कि देवघाटमा अस्थि सेलाइदिनू" भनेर छोराले भनेको कुरा बुहारीले सुनाइन् ।
१५ औं दिनका दिन परिवारका सबै सदस्य गएर देवघाटमा अस्थि सेलाउने वा विसर्जन गर्ने कार्य सम्पन्न भयो । मृत्यु ढिलो चाँडो सबैको हुन्छ । अकाट्य सत्य पनि यही नै हो ।
मलाई सम्झाउने आफन्तहरू "जीवन यस्तै हो" भन्ने पनि थिए । जन्म, मृत्यु, स्वर्ग, नरक, जीवन, आत्मा, परमात्मा, जीव, भोग, परिवार, समाज, कर्म, फल यस्ता तमाम विषयमा मानौं म अनभिज्ञ थिएँ । त्यसैले उनीहरू सम्झाउँथे । म चुपचाप सुन्थें । आफ्नो ज्ञान जति छ त्यति नै अथवा जानेजति सबै कुरा उनीहरू ममाथि खन्याउँथे । मलाई यसरी सम्झाउन पाएकोमा उनीहरू प्रशन्न देखिन्थे ।
अर्को विषय के थियो भने–घरपरिवारमा जुठो, सुतक पर्दा देवकार्य गर्नु हुँदैन । पूजापाठ, रुद्री, होम गरिंदैन, मन्दिर गइँदैन, तीर्थयात्रा गरिंदैन । त्यसमा पनि परिवारका सदस्य मर्दा त झनै बार्नुपर्छ । यस्ता कुरा पनि मैले सुनेको थिएँ । यस विषयमा मसँग तथ्य, ज्ञान र प्रमाण केही थिएन र छैन पनि ।
मैले सुनेको मात्र हुँ । के गर्नु हुन्छ, के गर्नु हुँदैन ? म यस्तो कुरामा अनभिज्ञ छु । तर, १२ औं दिनको काम पनि नसकि घरकै सदस्य ४५ दिनको तीर्थयात्रामा निस्किए । जाने र लाने व्यक्तिहरू धर्मकर्ममा निकै ज्ञान भएका र आस्था राख्ने पनि थिए ।
यिनीहरू हिन्दू संस्कार र पद्धतिबाट अनभिज्ञ थिएनन् होला । त्यसैले उनीहरू यस्तो बेलामा यात्रा गर्दा हुन्छ भन्ने निर्णयमा पुगे होला । यस्ता कतिपय कुराहरू परम्परागत हुन् । त्यसैले पीडादायक र मानवीय समस्याका रूपमा आएका कुरालाई भत्काउँदै र छाड्दै जानुपर्ने पनि हुन्छ । कतिपय कुरालाई सुधार गर्दै जानुपर्छ भन्ने मान्यतालाई हामी सबैले जान्नु पर्ने हुन्छ ।
View : 327
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved