Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोशी प्रदेशका सात ठूला उद्योगको लाइन काटियो, प्राधिकरणलाई २ अर्ब बढी विद्युत महसुल बुझाउन बाँकी

उद्घोष सम्वाददाता
१५ पुष २०८०, आइतवार

विराटनगर । लामो समयदेखि विद्युत महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सात ठूला उद्योगको लाइन काटेको छ । पटक–पटक ताकेता गर्दा पनि विद्युत महसुल नबुझाएको भन्दै कोशी प्रदेशका सात उद्योगको लाइन काट्नुपरेको प्राधिकरणले  जनाएको छ ।

प्राधिकरणले पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योग र दोश्रो चरणमा पाँच करोड रुपैयाँभन्दा बढी विद्युत बक्यौता भएका उद्योगहरूको विद्युत लाइन काटेको हो । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयका अनुसार लाइन काटिएका सात उद्योगले विद्युत महसुलवापत प्राधिकरणलाई २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार १७४ रुपैयाँ तिर्न बाँकी छ ।

लामो समयदेखि विद्युत महसुलवापतको बक्यौता तिर्न ताकेता गर्दा पनि अटेर गरेपछि कोशी प्रदेशअन्तर्गत धनकुटामा रहेको निगाले सिमेन्ट, उदयपुरको उदयपुर सिमेन्ट कारखाना, सुनसरीको दुहवीमा रहेको अरिहन्त मल्टिफाइबर्स, अरिहन्त पोलिप्याक, सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ, विराटनगरमा रहेको रघुपति जुटमिल्स र बाबा जुटमिल्सको लाइन काटेको हो ।

लाइन काटिएका उद्योगहरू प्रदेशमा सञ्चालित ठूला उद्योगमा पर्दछन् । उद्योगीहरूले प्राधिकरणलाई बुझाउन बाँकी बक्यौतामा आलटाल गरेपछि उनीहरूको लाइन काटिएको विद्युत प्रधिकारण कोशी प्रदेश कार्यालयका प्रमुख उमेशकुमार झाले बताए ।

डेडिकेटेड फिडर एवम ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेको भन्दै सात उद्योगमध्ये पहिलो चरणमा रिलायन्स स्पिनिङको लाइन काटिएको थियो । लगत्तै शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत बक्यौता भएका कोशी प्रदेशका थप ६ वटा उद्योगको लाइन काटेको प्राधिकरणले जनाएको छ ।

पटक–पटकको ताकेता र पत्राचारपछि पनि बक्यौता भुक्तानी गर्न नमानेपछि गएको पुस ६ गते सुनसरीको इटहरीस्थित रिलायन्स स्पिनिङको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङको १ अर्ब ९४ करोड २६ लाख ९२ हजार ९३३ रुपैयाँ विद्युत महसुल बक्यौता छ ।

त्यसैगरी दोश्रो चरणमा लाइन काटिएका धनकुटामा रहेको निगाले सिमेन्टको १४ करोड २० लाख ८४ हजार ८८२ रुपैयाँ, उदयपुर सिमेन्ट कारखानाको ३८ करोड ७८ लाख ४२ हजार ७५२ रुपैयाँ, सुनसरीको अरिहन्त मल्टिफाइबर्सको १८ करोड ६६ लाख ७० हजार ३४ रुपैयाँ, अरिहन्त पोलिप्याकको ५ करोड ९५ लाख ९६ हजार ५८१ रुपैयाँ, विराटनगरको रघुपति जुट मिल्सको २१ करोड ८ लाख ४२ हजार ७५२ रुपैयाँ र बाबा जुट मिल्सको ५ करोड ६१ लाख ४९ हजार ३८८ रुपैयाँ डेडिकेटेड फिडर एवम ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यद्यपि अरिहन्त मल्टिफाइबर्स, अरिहन्त पोलिप्याक र रघुपति जुटमिलको हकमा पुस ८ गते अदालतबाट ‘स्टे अर्डर’ प्राप्त गरेकाले तत्काल उनीहरूको विद्युत आपूर्ति नियमित छ । 

विगतमा लोडसेडिङ हुने गरेकोमा डेडिकेटेड फिडर र ट्रंकलाइनका माध्यमबाट सरकारी निकायका महत्त्वपूर्ण कार्यालय तथा केही उद्योगहरूले निरन्तर विद्युत उपभोग गर्ने सुविधा पाएका थिए । यसका लागि प्राधिकरणले डेडिकेटेड फिडरमार्फत सबस्टेसनबाट छुट्टै तार ल्याएर ग्राहकलाई विद्युत आपूर्ति गरेको थियो ।

यस्तो फिडरमा लोडसेडिङका बेला पनि निरन्तर विद्युत आपूर्ति गर्ने सुविधा हुन्थ्यो । त्यसैगरी ट्रंक लाइनमार्फत चाहिँ चौबिसै घण्टा बिजुली आउने प्रसारण लाइनबाट उद्योगमा तार तानेर उद्योगभित्र नै ट्रान्सर्फमर राखी बिजुली दिइने सुविधा थियो ।

प्राधिकरणको अभिलेखअनुसार २०७३ सालताकाको लोडसेडिङमा नेपालका २३९ औद्योगिक तथा व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका थिए ।

२३९ मध्ये १७८ ग्राहकले भने विद्युत प्रयोग गरेवापत प्रिमियमसहितको महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् । बाँकी ६१ वटा ठुला उद्योगको भने २२ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत महसुल अहिलेसम्म बक्यौता नै छ । 

यता विद्युत उपभोग गरे/नगरेको एकिन तथ्यांकबिनै प्राधिकरणले उद्योगहरूलाई बक्यौता भुक्तानी गर्न बाध्य बनाइरहेको उद्योगीहरूको गुनासो छ । विद्युत लाइन काटिएकामध्येका एक कम्पनी बाबा जुट मिल्सका सञ्चालक प्रकाश मुण्दडा उद्योगले कुन समयमा कति विद्युत उपभोग गरेको हो त्यसको एकिन नगरी महसुल तिर्न नसकिने बताउँछन् ।

प्राधिकरणले लोडसेडिङका बेला ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत आपूर्ति दिने विषयमा उद्योगीहरूसँग गरेको सम्झौता देखाउन नमानेको उद्योगीहरूको गुनासो छ । प्राधिकरणले टीओडी मिटरको विवरण समेत सार्वजनिक गर्न चाहेको छैन । प्राधिकरणले फर्जी बिल देखाइ उद्योगको लाइन काटेर आतंकित बनाएको उद्योगीहरूको आरोप छ । विद्युत आपूर्ति नहुँदा उद्योग बन्द हुने र त्यसका कारण हजारौं मजदुर रोजगारविहीन हुनुपर्ने उनीहरूले चेतावनीसमेत दिएका छन् ।

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved