Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालमा अव्यवस्थित भिड, बिरामी भन्छन्- 'जताजतै लाम लाग्दा हैरान'

जुनु भट्टराई
२९ माघ २०८०, सोमवार

विराटनगर । मोरङ रंगेलीकी रोमा खतिवडाले ४ दिन भयो नियमित कोशी अस्पताल धाएको । ढाडको दुखाइ असामान्य बन्दै गएपछि जाँच गर्न कोशी अस्पताल पुगेकी खतिवडाले ३ दिन धाउँदा पनि उपचार सेवा भने पूर्ण रुपमा पाउन सकेकी छैनन् ।

एक सहकारी संस्थामा बजार ब्यवस्थापकको रुपमा कार्यरत खतिवडाको पहिलो दिन अस्पतालको टिकट काउन्टरमा टिकट काट्न लाइनमा बस्दा र वहिरङ सेवा (ओपीडी)मा विशेषज्ञ चिकित्सकलाई देखाउने पालो कुर्दै बित्यो । बल्लतल्ल  चिकित्सकलाई समस्या  देखाउँदा ढाडको एक्सरे गर्न सुझाए, सोही दिन एक्सरे त भयो तर रिपोर्ट देखाउने समयमा पुनः ओपीडीको समय सकिएको भन्दै भोलिपल्ट आउन सुझाइयो, अको दिन ओपीडीमा रिपोर्ट देखाउन पुगिन् ।

‘अर्को परीक्षण गर्न चिकित्सकले सुझाएपछि अस्पताल आएको आधा भन्दा बढी दिन त लाम बस्दै बित्दोरहेछ, तीन दिन भइसक्यो, सामान्य समस्या लिएर अस्पताल आएको, अझै उपचार पाएको छैन’, कोशी अस्पतालको हाडजोर्नी विभाग अगाडि पालो कुरेर बसेकी खतिवडाले उद्घोषसँग भनिन् ‘ओपीडी टिकटको लागि लाइन, ओपीडी सेवा, ल्याब परीक्षण, औषधि, कति ठाउँमा लाइन बस्नुपर्ने हो ?’ एक बिरामीले सामान्य समस्याको पहिचान गराउन कति दिन माया मारेर अस्पताल आउनुपर्ने हो ? यो समस्या कसले बुझ्ने ? उनी प्रश्न गर्छिन् ।

रंगेलीकी रोमा खतिवडाको जस्तै समस्या आफूले पनि भोग्दै आएको बताउँछन् विराटनगर पिचराका गोविन्द दाहाल । अस्पतालमा आउनु अघिदेखि नै हरेक ठाउँमा बस्नुपर्ने लाम सम्झदा थप स्वास्थ्य समस्या थपिएझै लाग्ने गरेको उनी बताउँछन् ।

‘बिहानैदेखि नै लाइनमा बसेको, १० बजेसम्म पालो आउँदैन’, दाहाल भन्छन्, ‘त्यति बिहानै आएर लाइन बसेर कुर्नेको त यो हालत छ, पछि आउनेहरुको अवस्था के होला ?’

शल्यक्रियालगायतका जटिल सेवाका लागि बिशेषज्ञद्वारा सेवा लिन पालो कुर्नुपर्ने बाध्यता आफ्नो ठाउँमा छ, तर यसरी सामान्य ओपीडी सेवा लिन पनि यसरी तीन चार दिन धाउनुपर्दा हाम्रो रोजीरोटीको व्यवस्था कस्ले गरिदिन्छ, अर्का बिरामी प्रश्न गर्छन् ।

टिकट काउण्टर मात्र होइन, अस्पतालमा बिरामीहरुले फार्मेसी, ल्याव तथा बिशेषज्ञलाई देखाउने ठाउँ सबैतिर लाइन बस्नुपर्ने बाध्यता रहेकाले बिरामीहरुले समयमा नै आवश्यक सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन् । एकातिर घण्टौ लाइन बस्नुपर्ने त्यसमाथि पनि अब्यवस्थित लाइनमा कसैले सामाजिक दूरी कायम नगरिएको अवस्थामा हरेक ठाउँमा लाइन बस्नुपर्दा आफै नै बिरामी होइएला भन्ने डर रहेको बिरामीहरुको गुनासो छ ।

अस्पतालले गत भदौ १ गतेबाट अनलाइन टिकट बुक गरी चिकित्सकलाई देखाउन सकिने ब्यवस्था लागू गरे पनि पर्याप्त जानकारीको अभावमा अनलाइन टिकट काट्न सकिने सेवा  प्रभावकारी बन्न नसकेका कारण बिरामीहरु घण्टौ लाइन बसेर टिकट लिनुपर्ने बाध्यताबाट मुक्त हुन सकेका छैनन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्द्रभाल झा अस्पतालमा दैनिकजसो भिडका कारण बिरामीहरुलाई निकै असुविधा भएको आफुले पनि देखेको बताउँछन् । उनले अस्पतालमा बीमा गरेका बिरामीको चाप बढ्दै गएको र समयमा उपचार नपाएको गुनासो आएका कारण हामीले केही महिना अघिदेखि अनलाइन टिकट काट्ने सेवा बिस्तार गरे पनि पर्याप्त जानकारीको अभावमा अनलाइनबाट टिकट लिने बिरामीहरुको संख्यामा उल्लेख्य बृद्धि भने हुन नसकेकोले टिकट काट्न लाम बस्नुपर्ने बाध्यता रहेको बताए । 

’पछिल्लो समयमा अन्य अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि कोशी अस्पतालमा नै बिरामी आउने गरेका छन् त्यसैले पनि पहिलेको तुलनामामा बिरामीहरुको चाप दिनानुदिन बढ्दै गएकाले बिरामीले अस्पताल आएर हरेक ठाउँमा घण्टौ लाइन लाग्नुपर्ने बाध्यतालाई कम गर्न हामीले अनलाइन टिकट सिस्टम लागू गरेका थियौ’, मेसु झा भन्छन् , ‘सेवा सुरु गरे पनि बिरामीहरुमा उक्त सेवाको बारेमा जानकारी पुर्‍याउन नसकेका कारण इन्टरनेटमार्फत टिकट काट्ने बिरामीहरु सोचेजस्तो नदेखिएको हो ।’

सेवाको सुरुवाती दिनमा दैनिक ५–६ जनाले इन्टरनेटको माध्यमबाट टिकट बुकिङ गर्ने गरे पनि ५ महिना बितिसक्दा हाल दैनिक २०–२५ जनाले मात्र अनलाइनबाट टिकट बुकिड गर्ने गरेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल  अस्पताल एप’ सञ्चालनमा ल्याएको थियो । सो एपमार्फत बिरामीहरुले सजिलै अनलाइन अप्वाइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपीडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् । 

कोशी अस्पतालमा दैनिक एक हजारदेखि १ हजार २ सयसम्म बिरामीहरु उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ७० प्रतिशत भन्दा बढी बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिने बिमित रहेको अस्पतालका बीमाका फोकल पर्सन भोला ढ्गुांना बताउँछन् । स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्ने अस्पतालले जनाए पनि बिमितले भने सजिलै एप्सको प्रयोगबाट टिकट लिन नसकेको बिमितहरुको गुनासो गर्दै आएका थिए  ।

पछिल्लो समयमा स्वास्थ्य बीमा बोर्डले बिमितहरुमाको पेमेन्ट प्रणाली लागू गरेपछि भने अनलाइन टिकट वितरण रोकिएको छ  । बीमा बोर्डलेको पेमेन्ट प्रणाली लागू गरेपछि सर्भरमा समस्या देखिएकाले बिमितले एप्समार्फत टिकट लिन कठिन भएको अस्पतालका आईटी इन्जिनियर बिनोद राजभर बताउँछन् । उनले को पेमेन्टको सिस्टम अपडेट भइरहेकाले केही दिनभित्रै उक्त समस्याको समाधान हुने जानकारी दिए ।

 बिरामीले उपचारका लागि जनरल ओपीडीको टिकट लिन उपचार सेवा लिन जाने दिन बिहान ७ भित्रमा टिकट काट्न सकिने ब्यवस्था छ ।  अनलाइनमार्फत टिकट लिएका बिरामीले सिधै ओपीडीमा गई स्वास्थ्य जाँच गराउन सक्ने बताएको छ ।

View : 231

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved