जेन-जी आन्दोलन
भदौ २३ र २४ गते देशमा आन्दोलनको आगो बल्यो । जेन–जी को नामबाट बलेको आगोले यति उचाई लियो कि त्यसलाई समन गर्ने शक्ति नै देखिएन । उचाई लिएको ज्वालाले जे–जे भेट्यो सबै खरानी भयो । धेरै निजी सम्पत्ति पनि खरानी भयो ।
सिंहदरबार खरानी भयो, धेरै सरकारी कार्यालयहरू खरानी भए, स्थानीय सरकार भनिएका पालिकाहरू पनि खरानी भए । प्रमुख राजनैतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूका घर र घरभरी राखेका नगद खरानी भए । उत्तरार्धको नराम्रो कामले तिनीहरूका विगतका राम्रा इतिहास पनि खरानी भए । कुशासन खरानी बनाउन उठेको आन्दोलनले कुशासन खरानी बनायो कि बनाएन भविश्यले बताउने छ ।
घुसपैठ भयो होला, बदमासहरूको कमी छैन यहाँ । दुर्घटना भएको ठाउँबाट र आगो लागेको घरबाट सामान लुट्ने समाज जिउँदै छ हामीबीच । तथापि धेरैजसो उदाहरण दिनुपर्दा जुन–जुन सरकारी कार्यालयले जनतालाई बढी सताएका छन् ।
जुन–जुन निकाय दुरुपयोग र भ्रष्टाचारमा धेरै गन्हाएका छन त्यहाँ–त्यहाँ आन्दोलनले बढी क्षति पुर्याएको देखियो । त्यस्ता निकायमा आन्दोलनकारीले निसाना लगाएको देखियो ।
सूचनाको स्रोत हुनेहरूले जेन–जीबारे सुनेका थिए होलान् । नत्र आम मान्छेहरूलाई जेनजी बारे थाहा थिएन । १३–२८ वर्ष बीचका मान्छे जेञ्जी हुन भन्ने पनि थाहा थिएन । बाबु आमालाई पनि हाम्रा छोराछोरी जेञ्जी हुन भन्ने थाहा थिएन । भदौ २२ गते जेञ्जी बारे धेरै हल्ला चल्यो र मान्छेले ठाडा कान लगाए तर पनि २३ गते हुने भनेको आन्दोलनप्रति गम्भीर देखिएनन् । यसको कारण के थियो भने केटाकेटीहरूको सानो प्रदर्शन होला वा ओली सरकारले तीनकुने घटना दवाए जस्तो दवाउने छ ।
कांग्रेस एमाले गठबन्धनको ओली सरकारले पनि त्यही ठान्यो होला । केपी ओलीको तानाशाही घमण्ड बुझेका तीनका जासुसी एजेण्टहरूले पनि फुच्चेहरूको प्रदर्शन भन्ने सूचना दिए सायद । त्यसैले ‘केटाकेटी आए गुलेली खेलाए’ भनेर आन्दोलनको अपमान गरे केपी ओलीले ।
परिणाम हेर्दा आन्दोलन २–४ दिनको तयारीले भएको हो भन्न सकिदैन । २०७९ को निर्वाचन पछि नै यसको तयारी सुरु भएको हो । लोकतान्त्रिक गणतन्त्रले सुशासन दिन्छ,जनताको हीतमा काम गर्छ भनियो । लोकतन्त्रभित्र स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता, मानव अधिकार, सुशासन एवम् पारदर्शिता पर्छ । न्यायालयमा कार्यकर्ता भरियो र स्वतन्त्र रहन दिइएन् । पत्रकारिताभित्र पार्टीका भातृ संगठन खडा गरियो र स्वतन्त्र रहन दिइएन ।
मानव अधिकार आयोग भाग शान्तिमा पार्टीका कार्यकर्ताको जागिर खाने ठाउँ बन्यो । यस्तो हालतमा मानव अधिकारको अवस्था के थियो सहजै अनुमान लगाउन सकिन्छ । रोजगारीका क्षेत्र साँगुर् याउँदै लगियो, तीन तहकै सरकारहरूलाई पैसा चाहियो र जनताको घाँटीमा सुर्काउने लगाएर कर बढाइयो, कर अशुल गरियो तर सुविधा कटौती गर्दै लगियो ।
न्याय किन्नुपर्ने बस्तु भयो, प्रत्येक कार्यालयमा कर्मचारी नकिने कामै नहुने परिस्थिति खडा गरियो । जनताले मन्त्री किन्नु परो, प्रधानमन्त्री किन्नु परो, आफ्ना अधिकार पनि जनताले सरकारसँग किन्नु पर्ने राज्य संयन्त्र निर्माण गरियो ।
यसरी जनतालाई सास्तीदिने काम सत्तामा बस्नेले मात्र हैन प्रतिपक्षीहरू सबै मिलेर गरे, एकमतले देश लुटे । आन्दोलनका बेला नेता मन्त्रीका घरमा भेटिएका नगदका ठेली र भेटिएको सुनले बताई दिएको छ पारदर्शिताको अवस्था के थियो भनेर ।
यी कुरा शासकहरूलाई नभनिएको पनि हैन । पत्रपत्रिकाबाट भनियो, सभासमारोहबाट भनियो, सोसल मिडियाबाट भनियो । तिमिहरूको राज्य सञ्चालन शैली खराव छ, जनतामा तिमिहरूप्रति वितृष्णा जागेको छ । जनतामा आक्रोस गुम्सिदै छ, कुनै पनि बेला विष्फोट हुन सक्छ । समयमा नै सच्चिनु पनि भनेकै हो तर शासकहरूले सुनेनन्, टेरेनन् वा पत्याएनन् । उनीहरूले ठाने होलान् मुठ्ठीभर बिरोधीहरू हामीले खाएकोमा जलेका छन् ।
तीनकुने घटनाको जनउभारबाट पनि केही सिक्नु पर्ने थियो शासकले तर सिक्नै चाहेनन् । सल्लाह दिनेलाई बिरोधि ठाने, जनतालाई गिज्याए, अपमान गरे, प्रधानमन्त्री स्वयम्ले जनतालाई ब्यङ्ग्य हाने अझ उत्तेजित बनाई रहे ।
हामीसँग सत्ता र शक्ति छ , हामीसँग सुरक्षा घेरा छ । हामीसँग पैसा छ कसले के गर्न सक्छ भन्ने घमण्ड पैदा भयो सत्ताका पक्ष र प्रतिपक्ष दुवैमा । जनतालाई सधैं तीनकुने घटना दवाए जस्तो दवाउन सकिन्छ भन्ने ठाने उनीहरूले ।
त्यही भुसको आगो, त्यही गुम्सिएको जनआक्रोस जेञ्जीको माध्यमबाट निस्किएको हो भाद्र २३ गते । आक्रोसलाई बिस्फोट गराउन सक्ने शक्ति नै जेञ्जी पुस्ता हो त्यसैले जेन्जी पुस्तामार्फत बिस्फोट भएका हुन् जनताका पीडा । गणतन्त्र असल व्यवस्था हो भनेर ल्याएको हो २०६२–६३ को आन्दोलनले । तर गणतन्त्रले न सुशासन दियो, न विकास दियो, न जनतातिर फिरेर हेर्यो । उल्टै सामाजिक सञ्जालमाथि प्रतविन्ध लगाएर जनताको मुख थुन्ने काम गर्न पुग्यो ।
जनतामा वर्षौं पुराना खात लागेर बसेका आक्रोस विस्फोट हुने माध्यम बन्यो त्यही प्रतिबन्ध र दुई दिनमा विश्वमा कहीं नदेखेको क्रान्तिको स्वरूप देखायो । यिनै घटना परिघटनाले नेपाली जनतालाई जानकार बनाएको छ गणतन्त्र नभएका देशमा पनि उन्नत लोकतन्त्र हुन्छ, विकास, सुशासन, मानवअधिकार र पारदर्शिता हुन्छ ।
यति कुरा बुझेको र आफ्नै गणतान्त्रिक शासकहरूले जनतालाई अपहेलना गरेको कारण गणतन्त्र बिरोधी रङ पनि प्रशस्त देखियो । नसुध्रिए र नसच्चिए जनआक्रोसले गणतन्त्रपनि फाल्न सक्छ भन्ने त्रास देखाएका छ यस आन्दोलनले ।
View : 388
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved