Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

चुरोट, सुर्ती र रक्सीमाथिको करले नेपाललाई स्वस्थ बनाउन सकिन्छ?

डा पार्थ गुरागाईं
१६ जेठ २०८३, शनिवार

नेपालको संसद् र सार्वजनिक बहसमा पछिल्लो समय चुरोट, सुर्तीजन्य पदार्थ र मदिरामा कर बढाउने विषयले विशेष चर्चा पाइरहेको छ।

केही सांसदहरूले चुरोट, सुर्ती र रक्सीमा उच्च कर लगाएर त्यसबाट उठेको रकम स्वास्थ्य बीमा, क्यान्सर उपचार तथा नसर्ने रोग रोकथाममा प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।

नेपाल सरकारले पनि पछिल्ला बजेटहरूमा सुर्तीजन्य पदार्थ र मदिरामा अन्तःशुल्क तथा भन्सार कर बढाउने नीति अघि सारेको छ। यसले अहिले नेपालमा ‘पाप कर’ को विषयलाई पुनः चर्चामा ल्याएको छ।

 

पाप कर भनेको के हो?

पाप कर भनेको त्यस्ता वस्तु वा सेवामा लगाइने विशेष कर हो, जसले व्यक्तिको स्वास्थ्य, परिवार वा समाजमा नकारात्मक असर पुर्‍याउँछ।

यस प्रकारको करको मुख्य उद्देश्य केवल सरकारको राजस्व बढाउनु मात्र होइन, बल्कि यसको ठूलो उद्देश्य मानिसलाई हानिकारक वस्तुको प्रयोग घटाउन प्रेरित गर्नु हो।

 

विश्वभर सामान्यतया यी वस्तुहरूमा पाप कर लगाइन्छ:

  • चुरोट तथा सुर्तीजन्य पदार्थ, मदिरा, चिनी धेरै भएका पेय पदार्थ

  • जंक फुड, अत्यधिक प्रशोधित खाना

  • केही देशहरूमा जुवा तथा सट्टेबाजी

विश्व स्वास्थ्य संगठनले पनि सुर्ती र मदिरामा कर बढाउनु नसर्ने रोग नियन्त्रणको प्रभावकारी उपाय भएको बताउँदै आएको छ।

 

पाप कर किन आवश्यक मानिन्छ?

चुरोट, सुर्ती र रक्सीले मानिसको स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउँछन्। यी वस्तुका कारण क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात, कलेजोको रोग, फोक्सोको रोग, मानसिक तथा सामाजिक समस्याहरू बढ्ने जोखिम हुन्छ।

 

जब यस्ता रोगहरू बढ्छन्, सरकारको स्वास्थ्य खर्च पनि बढ्छ। अस्पताल, औषधि, क्यान्सर उपचार, मुटुरोग उपचार र स्वास्थ्य बीमामा ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ। त्यसैले धेरै देशले 'हानिकारक वस्तु महँगो बनाऊ, प्रयोग घटाऊ' भन्ने नीति अपनाएका छन्।

 

नेपालमा किन बढ्दैछ यस्तो बहस?

नेपालमा अहिले नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन्। मधुमेह, उच्च रक्तचाप, मुटुरोग र क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अर्कोतर्फ युवाहरूमा धूम्रपान, मदिरा सेवन, जंक फुडको प्रयोग र शारीरिक निष्क्रियता बढिरहेको देखिन्छ।

 

यसै सन्दर्भमा केही नेपाली सांसदहरूले चुरोट, सुर्ती र रक्सीमा कर बढाएर त्यसबाट उठेको रकम स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने प्रस्ताव राखिरहेका छन्। विशेष गरी स्वास्थ्य बीमा कोषलाई बलियो बनाउन यस्तो कर प्रयोग गर्नुपर्ने बहस भइरहेको छ। यदि करबाट उठेको रकम साँच्चै जनस्वास्थ्य सुधारमा प्रयोग भयो भने यसले सकारात्मक प्रभाव पार्न सक्छ।

 

चिनी, नुन र तेलको बहस किन जोडिएको छ?

 

आजको विश्वमा स्वास्थ्यको बहस केवल चुरोट र रक्सीमा मात्र सीमित छैन। अहिले अत्यधिक चिनी, नुन र अस्वस्थकर तेलको प्रयोग पनि नसर्ने रोगसँग जोडिएको छ।

  • चिनी: चिनी धेरै भएका पेय पदार्थ र प्रशोधित खानाले मोटोपन, मधुमेह र मुटुरोगको जोखिम बढाउँछन्। त्यसैले मेक्सिको, चिली, बेलायत लगायत धेरै देशहरूले 'चिनी कर' (Sugar Tax) लागू गरेका छन्। मूल्य बढेपछि चिनी धेरै भएका पेय पदार्थको प्रयोग घटाउने प्रयास गरिएको हो।

  • नुन: अत्यधिक नुन सेवन उच्च रक्तचाप र मुटुरोगसँग सम्बन्धित छ। तर, नुनमा सीधा पाप कर भने धेरै देशले लगाएका छैनन्। किनभने नुन मानिसका लागि आवश्यक खाद्य वस्तु पनि हो। यदि नुनमा धेरै कर लगाइयो भने गरिब वर्ग प्रभावित हुन सक्छन्, आयोडिनयुक्त नुनको पहुँच घट्न सक्छ र पोषण समस्या आउन सक्छ। त्यसैले धेरै देशले करभन्दा पनि नुनको मात्रा घटाउने अन्य नीतिहरू अपनाएका छन्।

    • बेलायतमा खाद्य उद्योगसँग सहकार्य गरेर प्याकेटका खानेकुरामा नुनको मात्रा बिस्तारै घटाइयो।

    • फिनल्यान्डमा उच्च नुन भएका खानेकुरामा चेतावनी लेबल राख्न अनिवार्य गरियो।

    • जापानमा विद्यालय र समुदाय स्तरमा स्वस्थ भोजन अभियान चलाइयो।

  • खाने तेल र बोसो: नेपालमा अहिले तरेको खाना, फास्ट फुड र सडक छेउका अत्यधिक तेलयुक्त खानाको प्रयोग बढिरहेको छ। धेरैजसो ठाउँमा एउटै तेल पटक-पटक तताएर प्रयोग गरिन्छ। यस्तो तेलमा हानिकारक तत्त्वहरू बढ्न सक्छन्, विशेष गरी ट्रान्सफ्याट (Trans fat)। ट्रान्सफ्याट यस्तो हानिकारक तैलीय पदार्थ हो, जुन प्रायः अत्यधिक प्रशोधित तेल, वनस्पति घिउ, प्याकेट स्न्याक्स र पटक-पटक तताइएको तेलमा पाइन्छ। अत्यधिक प्रशोधित र पटक-पटक तताइएको तेल मुटुरोग, मोटोपन र अन्य नसर्ने रोगको कारक मानिन्छ।

 

केही देशहरूले ट्रान्सफ्याटमा प्रतिबन्ध लगाउन वा नियन्त्रण गर्नका लागि प्याकेटमा पोषण लेबल अनिवार्य गर्ने, विद्यालयमा जंक फुड नियन्त्रण गर्ने र होटलमा तेलको गुणस्तर अनुगमन गर्ने जस्ता नीति अपनाएका छन्। डेनमार्कले त केही समय 'तैलीय पदार्थ कर' (Fat Tax) समेत लागू गरेको थियो।

 

के केवल करले मात्र समस्या समाधान हुन्छ?

कर एउटा महत्त्वपूर्ण उपाय हो, तर केवल करले मात्र सबै समस्या समाधान हुँदैन।

नेपालमा करका साथै जनचेतना, विद्यालय स्तरबाटै स्वास्थ्य शिक्षा, धूम्रपान नियन्त्रण, मदिराको विज्ञापनमा प्रतिबन्ध, स्वस्थ खानाको प्रवर्द्धन, व्यायाम संस्कृति र खुला स्थान (पार्क आदि) को विकास पनि आवश्यक छ।

 

यदि सरकारले पाप करलाई केवल राजस्व उठाउने माध्यम मात्र बनायो भने जनतामा असन्तोष बढ्न सक्छ।

तर, त्यही रकम स्वास्थ्य बीमा, क्यान्सर उपचार, मुटुरोग रोकथाम र जनस्वास्थ्य कार्यक्रममार्फत नसर्ने रोग नियन्त्रणमा प्रयोग भयो भने यसले दीर्घकालीन रूपमा देशलाई ठूलो लाभ मिल्नेछ।

निष्कर्षमा नेपाल अहिले नसर्ने रोगको ठूलो चुनौतीतर्फ उन्मुख भइरहेको छ। यस्तो अवस्थामा चुरोट, सुर्ती र रक्सीमा कर बढाउने बहस केवल आर्थिक विषय मात्र नभएर जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो।

 

साथै, चिनी, नुन र अस्वस्थकर तेलको अत्यधिक प्रयोगले पनि स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। त्यसैले भविष्यको नेपाललाई स्वस्थ बनाउन कर नीति, स्वस्थ भोजन नीति, जनचेतना र जीवनशैलीमा सुधार—यी सबैलाई सँगसँगै अघि बढाउनु अपरिहार्य देखिन्छ।

(लेखक  डा. पार्थ गुरागाई विराट मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख हुन्।)

View : 109

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved