विराटनगर । कोशी प्रदेशको पहाडी तथा तराईका जिल्लामा उत्पादन हुँदै आएका बहुसंख्यक कृषिवस्तुले अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य सफलता पाइरहेका छन् ।
भर्खरै बितेको आर्थिक वर्ष २०८१–८२ को तथ्याङ्क मात्रै केलाउँदा पनि पूर्वी नेपालका जिल्लामा उत्पादन हुने कृषिवस्तु नेपालमा विदेशी मुद्रा भित्र्याउने मुख्य आधार बनेको देखाउँछ ।
प्रदेशको कृषि उत्पादनले लगातारजसो अन्तर्राष्ट्रिय बजारमा सफलता पाइरहेको यहीबेला कोशी प्रदेश सरकारले भने आर्थिक वर्ष २०८२–८३ का लागि कृषिको बजेटको आकार नै घटाएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ मा उद्योग, कृषि तथा सहकारी क्षेत्रको लागि २ अर्ब ६७ करोड बजेट बिनियोजन गरेको कोशी सरकारले साउनबाट सुरु भएको नयाँ आर्थिक वर्षको लागि २ अर्ब १८ करोड रुपैयाँ मात्रै बिनियोजन गरेको छ ।
संघीय बजेटमा पनि अपेक्षाकृत रुपमा पूर्वी पहाडका लागि बजेट विनियोजन नभएको भन्दै सांसदहरुले प्रतिनिधिसभामा चर्को विरोध गरेका थिए ।
सरकारी उपेक्षाकै बीचमा आर्थिक वर्ष २०८१–८२ मा झापाको काँकडभिट्टा भन्सार नाकाबाट मात्रै ७ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरको ४२ लाख ९० हजार केजीभन्दा बढी अलैंची निर्यात भएको छ ।
खोल्सीको सुन, कालो सुन भनिने अलैंचीको मुख्य बजार भारत मानिन्छ ।
काँकडभिट्टा भन्सारले दिएको जानकारी अनुसार अलैंची निर्यातबाट एक वर्षमा कुल ७ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ । यो वर्ष काँकडभिट्टा भन्सार नाकाबाट निर्यात गरिएका सामानहरूमध्ये सबैभन्दा बढी प्राप्त रकम हो ।
अलैंची पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुर जिल्लाहरूमा उत्पादन हुने मुख्य कृषिवस्तु हो ।
अलैंची उच्च मूल्यको कृषि उत्पादन हो । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्पादन हुने अलैंची प्रशोधनपछि काँकडभिट्टा भन्सार हुँदै भारत निर्यात गरिन्छ ।
संघीय सरकार र प्रदेश सरकारले पहाडी भूभाग होस् या तराई कृषि उत्थानका लागि अपेक्षाकृत काम गर्न नसकेको कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको इलाम रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबो बताउँछन् ।
उनले भने ‘सीमित सरकारी सहयोग र भरथेगका वावजुद कोशीका किसानले बलियो मिहेनत गरेका छन् । त्यसले उल्लेख्य रुपमा विदेशी मुद्रा भित्र्याइरहेको छ ।’ यसमा सरकारी सहयोगको हात अझै थपिने हो भने परिणाम अझ राम्रो हुने उनको भनाइ छ ।
उनले भने जस्तै बहुसंख्यक कृषिवस्तुमा लामो समयदेखि अहिलेसम्म पनि विदेशकै मुख ताक्नु पर्ने अवस्थामा पूर्वी नेपालको पहाड र तराईमा हुने चिया खेतीले आशा जगाउने गरीको परिणाम दिइरहेको छ ।
पूर्वमा लगातार चिया खेती फस्टाएपछि मुलुक चियामा आत्मनिर्भर मात्र भएको छैन, एक वर्षमै करिब साढे चार अर्ब रूपैयाँको चिया निर्यात पनि भएको छ । वर्ष दिनमै ९६ करोड ५८ लाख रूपैयाँको चिया निर्यात बढेको तथ्याङ्कले देखाउँछ ।
भन्सार विभागको पछिल्लो वर्ष दिनको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा एक वर्षको अवधिमा चार अर्ब ५९ करोड रूपैयाँको एक करोड ५५ लाख ९८ हजार किलो चिया निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५० लाख रूपैयाँको चिया निर्यात भएको थियो ।
नेपालका सबैभन्दा धेरै चिया, अदुवा र अलैंची खेती कोशीमै हुने गरेको छ ।
चिया तराईमा पनि उत्पादन हुने गरेको छ भने अन्य कृषिवस्तुको मुख्य उत्पादन थलो पहाडी भूभाग नै हो ।
चिया तथा कफी विकास बोर्डका उपनिर्देशक डा लक्ष्मण पोखरेलले दिएको जानकारी अनुसार नेपालका पहाडी क्षेत्रमा उत्पादन भएको चिया गुणस्तरीय भएकाले विश्व बजारमा माग उच्च छ ।
सिटिसी चिया भारत र अर्थोडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ । अहिले नेपालको चिया भारतसहित अमेरिका, अस्ट्रेलिया, चीन, चेक गणतन्त्र, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, नर्वे, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, स्विजरल्याण्ड, थाइल्यान्ड, बेलायतसम्म निर्यात भइरहेको छ ।
चिया तथा कफी विकास बोर्डको वेवसाइटमा राखिएको तथ्याङ्क अनुसार नेपालमा वार्षिक एक करोड ६४ लाख किलो चिया उत्पादन हुन्छ भने २० हजार हेक्टर क्षेत्रफलमा चिया खेती छ ।
पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ । पश्चिम नेपालमा पनि केही वर्षयता चिया खेती हुन थालेको छ ।
View : 463
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved