Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

प्रकृतिका कुचिकार हुन् हुँडार अर्थात् हाइना

नेपाल र भारतका भागमा पाइने धर्के हाइना शान्त स्वभावका हुन्छन्, मानिसलाई आक्रमण गरेको सुनिएको छैन तर भोकाएको बेला मानिसलाई पनि आक्रमण गर्दछ ।
विश्वनाथ रिजाल
२४ कार्तिक २०८२, सोमवार

हालै मोरङको रंगेली र सुनवर्षीका खासगरी भारतीय सीमा जोडिएका वस्तीमा हाइनाको बथान भेटिएको चर्चा चल्यो । हाइनाको बथान नै देखिएको भन्दै हल्ला फैलाउन प्रयोग भएका फोटोहरू वास्तविक भएकाे अहिलेसम्म एकीन भएकाे छैन । हाइना देखिनु वा नदेखिनु अलग विषय हुन सक्छ । तर, हाइना भनेको के हो ? यसका कति प्रजाति हुन्छन् ? केही चर्चा गरौं । 

विश्वमा हाइनाका ४ प्रजाति छन्। हाइना अंग्रेजी नाम हो । हाम्रो तिर पाइने प्रजाति हुँडार, हड्डी बाघ, लक्कर बाघ, धर्के हड्डी बाघ आदि नामले चिनिन्छ । यसको वैज्ञानिक नाम Hyaena hyaena र अग्रेजी नाम Hyena हो। यो लजालु स्वभावको अनि झट्ट हेर्दा कुकुर जस्तो देखिए पनि विकास क्रममा बिरालो प्रजातिसंग नजिक भएको प्राणि हो। यी लक्कर बाघको प्रारम्भिक बसोबास अफ्रिकातिर भएको मानिन्छ । पछि यी अफ्रिकाको उत्तरी भाग हुँदै भारत, मलाया, इण्डोनेसियातिर पाइएको छ ।

साथै नेपालमा खुला जंगली भाग तथा चुरे पहाडका छेउछाउ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने संभावना छ । दुई वर्ष अघि जनकपुरको ढल्केवर छेउछाउबाट लक्कर बाघको बच्चाहरू पाइएको तथ्य छ । यी दुब्लो पातलो शरिर नमिलेको बाङ्गो जस्तो देखिने हुन्छ । अगाडिका खुट्टा पछाडि भन्दा लामा भएको कारण काँध भन्दा ढाड भिरालो परेको हुन्छ। हिड्दा लंगडो जस्तो देखिन्छ । पहेलो मखमली शरीर अनि खुट्टाभरि काला पाटा हुन्छन्, तर मौसमअनुसार यिनीहरूको फरक–फरक रङ हुनसक्छ । शरीरभरि लामा रौं हुन्छन्, पुच्छरको टुप्पो, ढाड, घाँटी, छाती कालो हुन्छ। यसको गर्धन ठुलो मोटो र थुतुनो पनि कालो हुन्छ । यिनीहरूको लम्बाई पुच्छरसमेत गरी करिब ५ फिट, वजन २६–४१ किलोग्राम र उचाई ३ फिट हुने गरेको पाइएको छ।


दिनको समय यिनीहरू ओढार, दुलामा बिताउँछन् । यिनीहरु ६० किलोमिटर प्रति घण्टा दगुर्न सक्छन् । रोगले मृत भएका जनावर, मरेका वा अन्य मांसाहारी जीवले खाएर बाँकी रहेको सिनो , हड्डी आदि खाएर जीवन निर्वाह गर्दछन्। हुनत फल एवं वनस्पति पनि खाने गर्दछन् तर कृषकको बालीनाली विनाश गरेको सुनिएको छैन। यिनीहरूको सुन्ने र सुँघ्ने क्षमता धेरै हुन्छ । यसैको आधारमा रात परेपछि टाढा सम्मको सिनोको गन्ध थाहा पाएर शिकार नजिक पुग्दछन् । यिनको बलिया दाँत र बंगाराले बाघ, चितुवा स्याल आदिले खान नसकेका हड्डी, कडा छाला सजिलै चपाएर खान्छ। आफै कम शिकार गर्ने भएकाले यसको कुकुरदाँत छोटा हुन्छन् । यिनले नदी किनारामा गाडिएका लास निकालेर पनि खाने गर्दछन्। यो पानी नखाई धेरै दिनसम्म बस्न सक्छ।

यी पातलो वन, झाडी आदिमा बस्ने जनावर हो । यिनीहरू निकै सिपालु शिकारी हुन्। अफ्रिकीका सबाना जस्ता ठुला जंगल क्षेत्रमा सिंह, बाघ, गैडा, चितुवा, हिप्पो आदिलाई समेत समूहमा शिकार गर्दछन्। आफूभन्दा ठुला जनावरको शिकार गर्दा ती जनावरलाई खेदाई खेदाई बसमा पार्छन्। ती जनावरका सम्वेदनशील अंग जस्तै अण्डकोषमा नै टोकेर घाइते बनाउँछन्। ती ठूला जीव मारेर भन्दा पनि जिउँदै लुछेर खाँदै मार्छन्। कहिलेकाहीँ चितुवा, बाघले खाँदै गरेको शिकार पनि  लुटेर खान्छन्। अफ्रिकी क्षेत्रका हाइना आक्रामक हुने र तिनी सिंह, बाघ, चितुवा सँग पनि लड्छन् । नेपाल र भारतका भागमा पाइने धर्के हाइना शान्त स्वभावका हुन्छन्, मानिसलाई आक्रमण गरेको सुनिएको छैन तर भोकाएको बेला मानिसलाई पनि आक्रमण गर्दछ । मानव वस्ती नजिक पुगेर कुखरा, बाख्रा, कुकुर खाएको आरोप भने छ।

यिनले विभिन्न आवाज निकालेर अनि गन्ध छोडेर आफ्नो क्षेत्र निर्धारण गर्ने एवं आफ्नो परिवारमा सम्वाद गर्दछन्। तीखो, उराठिलो स्वर, मानिसले हाँसे जस्तो खित्खित् आवाज पनि निकाल्दछन् । यिनीहरुले १ वा २ वटा बच्चा जन्माउँछन् । बच्चाहरुमा वयस्क उमेर जस्ता शरीरमा पाटा हुँदैन र आमाले दूध खुवाउनजेलसम्म सँगै राख्छन्। यिनीहरुको मातृसत्तात्मक परिवार हुन्छ र औसत उमेर १० देखि १२ वर्ष एवं व्यवस्थित चिडिया घरमा २५ वर्ष सम्म पाएको छ। प्राचीन मिश्रमा हाइनालाई पाल्तु जनावरको रुपमा पालिन्थ्यो, र यसको मासु पनि खाने गर्दथे। केन्या, तान्जानियाका आदिवासीहरूले मृतकको शरीर गाड्नु भन्दा हाइनाको आहारा होस् भनी जंगलमा छोडी दिने परम्परा छ । लेबनानको राष्ट्रिय जनावर धर्के हाइना हो।

ज्ञवाली, २०११ को अध्ययनले नेपालमा पाइने धर्के हड्डी बाघ ९ज्थबभलब जथबभलब० को संख्या तीव्र रूपमा घट्दै गएको कारण प्रतिशोधस्वरूप मारिनु, निरन्तर दुर्व्यवहार, बासस्थान नष्ट हुनु, सडक दुर्घटना र सिकारजन्य जनावरहरूको घट्दो संख्या बताएको छ । २०१५ मा शिबिश भण्डारी र यस लेखक संगलग्न रहेर रौतहट र सर्लाहीका वन क्षेत्रमा अध्ययन गर्दा धर्के हड्डी बाघको वासस्थान सबैभन्दा बढी नदीकिनारमा पाइयो । त्यसपछि मिश्रित वन, अकासिया वन, सल्ला (शोरिया) वन र घाँसे मैदानको क्रम देखिएको थियो। हाम्रो अध्ययनले पनि वासस्थान बिग्रँदै जानु र यिनीहरूले खाने सिकारको कमीको कारण यी प्राणी सङ्कटमा पर्दै गएको पुष्टि मिल्यो। हेर्नुस्ः https://www.nepjol.info/index.php/jnhm/article/view/19037

संकट अवस्थामा रहेका यी धर्के लकर बाघ नेपालको संरक्षित वन्यजन्तुको सूचीमा छन् । यिनलाई घाइते बनाउने र मार्ने गर्दा कानुनी कारवाहीमा परिन्छ । छिमेकी राष्ट्र भारतमा पनि यसलाई असर पार्ने काम गर्दा कडा कानुनको व्यवस्था गरिएको छ । यसैले कतै यी जीव देखिएमा नजिकको प्रहरी वा वन कार्यालयलाई खबर गर्नु उत्तम हुन्छ। यो जनावरलाई मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँ सम्म जरिवाना वा एक वर्षदेखि १० वर्ष सम्म कैद वा दुवै सजाय हुन्छ।

अन्त्यमा,
मोरङको रंगेली क्षेत्रमा यो जीव आएको हो होइन, जुन क्षेत्रमा आएको भन्ने हल्ला थियो सो क्षेत्रमा तिनीहरुको खुट्टाको पाइला पनि होला कि भनेर सुनवर्षीका मेरा मित्र प्रधानाध्यापक तथा विज्ञान शिक्षक पूर्णलाल ताजपुरिया एवं रंगेलीका अर्का प्राणीशास्त्री अखलेश साहसँग बुझ्दा त्यस्तो केही निसानी फेला नपरेको जानकारी प्राप्त भयो । डिभिजन वन कार्यालयका प्रमुख उत्सव थापाको टोलीले हुँडार देखिएको हल्ला चलेपछि ती क्षेत्रको नियमित अनुगमन गर्दा पनि फेला नपरेको जानकारी प्राप्त भयो ।

-लेखक रिजाल त्रिभुवन विश्वविद्यालयमा प्राणीशास्त्र अध्यापन एवं संरक्षण क्षेत्रमा संग्लग्न व्यक्ति हुन् ।

View : 1037

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved