सबै नियुक्तिमा पैसा । सबै सरूवामा पैसा । सबै ‘प्रमोशन’मा पैसा । विकासका काममा पैसा । समानुपातिकमा पैसा । जताततै पैसा । सांसदमा पैसा । मेयरदेखि वडा सदस्यसम्म पैसा । न्यायमा पैसा । संवैधानिक नियुक्तिमा पैसा । सरकारी जग्गामा पैसा । कहाँ थिएन पैसा । कहाँबाट आएन पैसा ।
पैसा र पैसाले बनेका तिनका घर जले । तर, देशका जनताले पीडाबोध गरेनन् । कति घृणित रहेछन् ती पात्रहरू जसले हामीमाथि शासन गरे । कस्तो शासन गरेछन् तिनले जसको पक्षमा एक शब्द पनि सहानुभूति निस्किंदैन ।
गणतन्त्रवादी राजनीतिज्ञहरूले राष्ट्रलाई राष्ट्र बनाउन सकेका रहेनछन् ।
सरकार कसरी चल्थ्यो र कसरी चलाइन्थ्यो स्वयं सत्तासीनहरूलाई थाह रहेनछ । कति कमजोर रहेछ यिनको शासनशैली । जुनसुकै बेला पनि राष्ट्र जानसक्ने रहेछ । अथवा भनौ भागवण्डे राजनीतिले भित्रभित्रै सडिसकेका रहेछन्, राष्ट्रका सुरक्षा गर्ने सबै संयन्त्र वा अंगहरू अनि गुप्तचर निकायहरू ।
लोकतन्त्र छ भन्यौं । खुसी भयौं । ठगिएको पत्तै भएन । राज्यले नै ठग्दो रहेछ । दिनप्रतिदिन गरिब हुँदै गयौं । नांगो भएको पत्तै भएन । राष्ट्र रित्तो भएछ । आफ्नो घर भत्केको थाह पाएनौं । तैपनि हामीले विश्वास ग¥यौं । गणतन्त्र छ । दलहरू छन् । तर, त्यहाँ त देशभक्तिको इतिहास मरिसकेछ । राष्ट्र नै मान्छे बेच्ने दासयुगमा परिणत भएछ । कति निस्फिक्री रहेछन् शासकहरू ? कति निर्लज्ज रहेछन् हाम्रँ प्रतिनिधिहरू ? तेरो पालो र मेरो पालोको दिनगन्तिमा बसेका यिनीहरूले राष्ट्र बल्दैछ भन्ने सुइँकोसम्म पाएनन् ।
व्यवस्था खराब हुँदैन । मान्छे इमान्दार हुनुपर्छ । संविधान दोषी हुँदैन । कार्यान्वयन गर्ने निकायको मनोवृत्ति उच्च हुनुपर्छ । तर, यस्तो भएन । लाग्छ धेरै जसो ऐन, नियम सम्बन्धित पक्षले बनाएन । पढ्न नजान्नेको प्रश्न नै भएन । पढ्न जान्नेले त्यतातिर चासो नै राखेन । मात्र सदनको कुर्सीमा बसेर ताली बजाए । विपक्षलाई हराएकोमा तिनले गर्वको अनुभव गरे । कानुन कसले बनायो ? कसले प्रस्तुत गर्न लगायो ? त्यतातिर तिनको चासो रहेन । कानुन बनाउने पात्रहरू व्यापारी थिए वा बिचौलिया, अथवा विदेशी दलाल थिए त्यसको जानकारी थपडी मार्नेलाई थाहै भएन । कानुन बनेर आयो तर राष्ट्रको अंगभंग त्यसले भत्काइसकेको रहेछ ।
व्यक्तिका आपराधिक निर्णयले राष्ट्रलाई डुबाउँदै लगेछ । अहिले थाहा पाए तिनले । आपराधिक मनोवृत्तिले चलाएको राष्ट्रको दुर्गति जस्तो हुनुपथ्र्यो त्यस्तो बनिसकेछ । त्यो पनि देख्यौं हामीले । के प्रजातन्त्र, के लोकतन्त्र, के समाजवाद सबै कुरा हामीबाट छुट्दै गए । लाग्छ एउटा भूगोलमा हामीहरू आधुनिक दासको रूपमा जीवन बाँचिरहेका छौं । हाम्रो सास फेर्ने अधिकारलाई पनि आधुनिक तानाशाहहरूले खोसिसकेका रहेछन् ।
अब थोरै आशा जागृत भएको छ । जेनजी पुस्ताको सोच र व्यवहारले राष्ट्रलाई गोडमेल गर्दैैछ । सम्भवत व्यक्तिवादी परम्परा टुट्ने छ र समष्टिवादी चिन्तनले राष्ट्रका जनताको जीवन–पद्धतिमा उज्यालो फर्काउनेछ । न्याय फर्कनेछ र श्रम बिनाको आर्थिक उपार्जन बन्द हुनेछ ।
जहाँ समष्टिवादी सोचको विपरीत न्याय–प्रशासन चल्छ, त्यहाँ तानाशाहहरूको उदय हुन्छ ।
व्यक्तिवादी परम्पराले प्रश्रय पाउने राज्य–व्यवस्थाले राष्ट्रलाई अथाह गर्नमा धकेल्छ । त्यस्तो अवस्थामा लोकतन्त्र र समाजवाद एउटा नारा मात्र हुन्छ । दलहरूका आन्तरिक संगठनको व्यवस्थापनमा र राज्य सत्तामा व्यक्तिवादी सोचले प्र्रश्रय पाएपछि त्यहाँ समष्टिवादी सोचको मृत्यु हुन्छ । त्यहाँ मान्छेले सास फेर्न पाउँछन् । तर, मष्तिस्क चलाउन पाउँदैनन् । अहिले भएको त्यही हो । जेनजी पुस्ताको राजनीतिक उदयको कारण पनि राज्यसत्ताले गरेको चरम उत्पीडन नै हो ।
खाईपाई आएको मानुपाथी खुस्क“दा निश्चय नै पीडाबोध भएको होला । तर, आक्रामक अभिव्यक्ति वा धम्कीले जेनजी पुस्ताको पात हल्लिनेवाला छैन । जेनजी पुस्ता विश्वको परिवर्तन र आफ्नो देशको दुर्गतिलाई छामेर अगाडि आएको छ । अब तिनीहरू कतैबाट पनि र कहींबाट पनि पुरानो पुस्तालाई राज्यसत्ता हस्तान्तरण गर्नेवाला छैनन् । भदौ २३, २४ को आन्दोलनको मूल्य सस्तो पनि छैन । पुरानो दलका नेताले यो यथार्थलाई समयमै बुझ्नु राम्रो हुनेछ ।
आन्दोलन कुनै संविधान, नियम, ऐन हेरेर गरिंदैन । संसारमा भएका अँन्दोलन वा युद्धको इतिहास त्यही नै हो । नेपालको सन्दर्भमा भन्दा पनि २००७ साल, २०४६ साल, २०६२–६३ को आन्दोलनमा पनि कुनै संवैधानिक आधार हेरिएको थिएन । भनिन्छ ‘वीरभोग्या वसुन्धरा’ शक्तिशालीले नै राज्य चलाउने हो । अहिलेको जेनजी पुस्ता शक्तिशाली भएर उठ्यो । राज्य उसकै हातमा छ ।
हिजो राणा शक्तिशाली थिए । १०३ वर्ष शासन चलाए । २००७ सालमा जनता शक्तिशाली बने । २०१७ सालमा राजा शक्तिमा उदाए । कैयौं तानाशाहहरूको उत्थान र पतनको इतिहास यसरी भै बनेको छ । कांग्रेस र कम्युनिष्टको राजनीतिक यात्रा पनि यही हो । माओवादीले १७ हजार नेपालीको बलि दिंदा कुनै संवैधानिक आधार खोजिएन । नत राजालाई श्रीपेजबिहीन बनाउँदा संवैधानिक आधार हेरियो । बिना निर्वाचन माओवादीले ८३ सिट सांसद पायो । यसमा कुनै राजनीतिक दलले संवैधानिक आधार खोजेनन् । अहिले सुशीला कार्कीको प्रधानमन्त्रीत्वमाथि संवैधानिक प्रश्न उठाउनुको औचित्य पुष्टि हुँदैन । यस्तो बेलामा आन्दोलनको एजेण्डाहरू नै राष्ट्र चलाउनका लागि संवैधानिक आधार बनेका हुन्छन् ।
विरोध, काटमार, लडाइँ खान पाउने र खान नपाउनेको बीचमा हुन्छ । दास युग भनौं या समान्त युग अथवा पु“जिवादी युगको इतिहासले यिनै सत्यलाई प्रस्तुत गर्छ । नेपालको राज्यसत्ताका लागि भएकोे २०४६ सालदेखि यताको सरकार गिराउने र बनाउने खेल अनि गठबन्धनका ढाँचाहरू –खान पाउने र खान नपाउनेबीचका लडाइ“हरू हुन् । यो कुरा अपराध छोप्न गरिएका गठबन्धनले पुष्टि गर्छ । राजनीति गर्ने नेताका घर–गोदाममा राखेका रूपैया“ले प्रमाणित गर्छ । त्यस्तै पालोपालो गरी प्रधानमन्त्री पद खाने सम्झौताले उजागर गर्छ । देशको अवस्था र जनताको दुर्दशाको प्रश्न यहाँ छैन । तर, जेनजी पुस्ताको आन्दोलनलाई त्यस कोटिमा राख्न मिल्दैन । उनीहरू आन्दोलन अलग हो । आशा गरौं यस आन्दोलनले समाप्त भएको न्याय र समानतालाई स्थापित गर्छ ।
शक्तिमा बसेर सम्पत्तिमाथि नाँच्दानाँच्दै सत्ताधारीहरूले देश बिग्रिएको पत्तै पाएनन् । दलका नेताले राष्ट्र बञ्जर बनाउन लागेको देखेपछि जेनजी पुस्ता बिउँझियो । सामूहिक शक्ति लिएर आन्दोलनमा उत्रियो । जुनबेला शक्तिशाली महामहिमहरू मानव अधिकारका प्रावधानहरूलाई बन्द गर्दैथिए । सोशल मिडिया या सञ्चार जगतलाई अपाङ्ग बनाउँदै थिए ।
जेनजी पुस्ताको माग र अधिकारलाई कुल्चँदै थिए । भ्रष्टाचारको एकाधिकार शक्तिले राट्रलाई निचोर्दै थिए । बस् त्यसैबेला उठ्यो जेनजी पुस्ताको आन्दोलन । सल्कियो आगो अनि गयो, महामहिमहरूको राज्यसत्ता ।
व्यक्तिको सम्पत्ति किन जल्यो । यसको उत्तर समयले दिन्छ । तर, जलाउनेहरू निश्चय नै अपराधी हुन् । जुन जल्यो र जसरी जल्यो त्यो राम्रँे भएन । तर, कसैको पैसा र घर जल्यो भनेर व्यक्तिको राजनीतिक र भ्रष्ट इतिहासमाथि जलप लगाउन चाहिँ सकिंदैन । प्रश्न यो हो कि स्कुले विद्यार्थीहरूलाई किन मारियो ? मान्छेको बाँच्न पाउने अधिकारलाई किन छिनियो ? यस सन्दर्भमा राज्य सबैतिरबाट अपराधी प्रमणित हुन्छ ।
छलछाम गर्न, अपराध गर्न, झुट बोल्न परिपक्व हुन् तिनीहरू । यी सबै कुरा छोप्न तिनीहरूले भन्ने छन्– राष्ट्र चलाउने कुरा ठट्टा होइन । यसकारण पवित्र देशभक्त, उच्च विचारका युवाहरूले पराजय भोग्नु पर्ने सम्भावना पनि छ । फागुन २१ मा निर्वाचन भैहाले पनि तिनै पात्रहरू अगाडि आउन सक्छन् । जसले नेपालमा सबैखाले अपराधका इतिहास निर्माण गरेका छन् ।
विचारणीय कुरा के छ भने राष्ट्र तिनै व्यक्तिको हो जसको खाने, बस्ने, बाँच्ने आधार नेपालको भूमि बनेको छ । जोसँग श्रम छ, सीप छ र देशभक्ति छ अनि इमान्दारिता छ । तिनै व्यक्तिहरू हुन् जसले पीडा खपे । राज्यको अत्याचार सहे । तर, व्यक्तिगत रूपमा र समष्टिगत रूपमा पनि आफ्नो जीवनलाई सुरक्षित पाएनन् । तब तिनीहरू राज्यसत्ताको विपरीत भए । राज्य र राजनीतिक संगठनका पदाधीकारीहरूलाई परिष्कृत नभएपछि विद्रोहमा उत्रिए । भदौ २३ र २४ गतेको आन्दोलन जग त्यसैको उपज हो ।
समय र परिवर्तनको चेत नभएका हामीहरू अझै पनि पुरानै संस्कार र पद्धति अनि नेतृत्वलाई स्थापित गर्ने प्रयासमा छौं । तर, जेनजी पुस्ता जसरी उठ्यो, त्यो कुनै व्यक्तिलाई स्थापित गर्ने वा कुनै समूहको झण्डा बोक्न उठेको थिएन । १३ देखि २८ वर्षका युवाको राष्ट्र बनाउने राष्ट्रवादी सोचबाट त्यो आन्दोलन उठ्यो । घुसपैठले गरेको विध्वंश अर्को प्रश्न हो । तर, लोकतान्त्रिक गणतन्त्रको नामबाट चलेको निरंकुशता र राज्यदासतालाई जेनजी पुस्ताले स्वीकार गरेन । कर्मको नैतिक बन्धनमा बाँधिएको युवाशक्ति राष्ट्रको उन्नतिको विपरीत जान सकेन । त्यसैले त्यो शक्ति आन्दोलन बनेर उठ्यो ।
राष्ट्र बिग्रदैछ । लाग्छ हामीले पनि प्रायश्चित गर्ने अवसर पाउने छैनौं । हामीले बोलेनौ । हामीले लेखेनौं । बौद्धिक वर्ग हुनुको एउटा अपराध त हामीले पनि गर्यौं । हाम्रो पुस्ता दास मनोवृत्तिबाट अझै पनि उम्कन सकेको रहेनछ । अझै पनि हामी अपराधलाई समर्थन गदैछौं । समाजलाई पक्ष र विपक्षमा बाँडिरहेका छौं । बौद्धिक रोगले हामीलाई च्यापिरहेको छ । अन्धसमर्थन हुनुको परिणाम हामीले अहिले भोगिरहेका छौं । आफैं सन्ततिको इतिहास र जीवन–पद्धति डढाएको पीडाबोध अब हामीलाई हुनेछ । यो ज्ञान हामीलाई आफ्नै घरको जेनजी पुस्ताले अवगत गराएको छ ।
पार्टीको मान्छे भएर बाँच्नु पर्यो हामीले । अरूले फाइदा लिए । हामीले ताली बजायौं । नागरिक भएर स्वतन्त्र विचार राख्न सकेनौं । राजनीतिले हामीलाई यति तल खसायो कि एउटाको पक्ष नलिए समाजमा बाँच्न नसक्ने भयौं । गलत भयौं भन्ने साहस हामीमा रहेन । नैतिक बल समाप्ति भएको, आधुनिक दासमा रूपान्तरण भएका हामीले नागरिक अधिकारलाई पनि बिर्सिसकेका छौं ।
प्रतिक्रियाबिहीन जीवन हाम्रो आदत भैसकेछ । विगतको हाम्रै निस्क्रिय चरित्रले कतै राष्ट्रको वर्तमान अवस्थालाई वा दुर्दिनलाई गोडमेल गरिरहेको त थिएन ? राष्ट्र बिगार्नमा कतै हामीले विपरीत तर बौद्धिक लगानी गरिरहेका त थिएनौं ? यस्ता प्रश्नहरूले पनि अहिले पीडा दिन थालेका छन् ।
View : 313
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved