मेरो पिताजीको मावली जिजुबुवाले मोरङ जिल्ला विराटनगर पोखरियामा रहेको (श्री राधाकृष्ण मन्दिरको विसं १९८८ सालमा स्थापना गरेको हो ।
स्वं इन्द्रलाल भट्ट र उहाँकी धर्मपत्नी पवित्रादासी वृन्दावन निवासबाट आफ्नी कान्छी छोरीलाई भेट्ने अभिप्रायले विराटनगर आउनु भएका बखत भगवान श्रीराधाकृष्णको मन्दिर निर्माण गर्ने इच्छा जागृत भयो र तत्काल निर्माण काम सुरु गरी वृन्दावन गएर स–साना श्रीराधाकृष्ण भगवानको पित्तलका मूर्ति ल्याइ विसं १९८८ को पुत्रदा एकादशीका दिन प्राण प्रतिष्ठा गरेको हो ।
मन्दिरको संस्थापकहरू र उहाँकी छोरी निम्वार्क बैष्णव भएको कारण वृन्दावनमा हुने गतिविधिलाई यस नयाँ मन्दिरमा गर्न खोज्नु हुन्थ्यो । त्यसैले स्थापनाकै दिनदेखि झुला महोत्सव सोही वर्षबाट आरम्भ गर्नुभयो ।
विसं १९८८ मा स्थापित श्रीराधाकृष्ण मन्दिरमा व्यवस्थापन गर्न सुरुमा कठिनाइ भएका कारण पूजाआजा कार्य गर्न उहाँहरूले आफ्नी ठूली छोरीको छोरालाई मन्दिरको व्यवस्थापनको जिम्मा लगाइ आफूहरू वृन्दावन जानुभयो ।
तर, यदाकदा कान्छी छोरी नातिनातिनी र नातिनी ज्वाइँका साथै मन्दिरको हेरविचारका लागि विराटनगर आउने गर्नुहुन्थ्यो । मन्दिरमा पूजा व्यवस्था एवं पूजारी कार्य गर्नु हुने स्व पुण्यप्रसाद पौडेलले आफ्नी बैनीज्वाइँहरूको साथ सहयोगले समाजका धर्मानुरागीहरूको सहभागितामा विसं १९८९ को श्री कृष्णजन्माष्टमी भोलिपल्टको दिन खटमा भगवान श्री राधाकृष्णको स–साना पितलका मूर्ति राखी खटजात्राकोे सुरुवात गरिएको हो ।
खटजात्रा प्रारम्भिक चरणमा मन्दिरबाट सुरु गरी तीनपैनी, तीनपैनीको पूर्वटोलबाट फिर्ता भएर पोखरिया तिम्सिना बाजे (स्व.तोयनाथ तिम्सिना) को घरबाट फर्किएर मन्दिरमा आइ भब्य आरती गरी समापन गरिन्थ्यो ।
खटजात्राले बिस्तारै आफ्नो भ्रमण क्षेत्र बढाउँदै गयो ।
पोखरिया, शंकरपुर, गोग्राहा, तीनपैनी र पछि पछि बजारका धर्मानुरागीहरूको संलग्नता बढेसँगै खटजात्रा मन्दिरबाट निकाली बडाहाकिमको निवास, स्व मातृकाप्रसाद कोइरालाको निवास हुँदै सत्यनारायण मन्दिरसम्म भक्तजनहरूले लिएर जान थाल्नुभयो । त्यो बेला खटलाई घरघरै आँगन आँगन पु-याइन्थ्यो ।
अगाडि अगाडि घण्टशंख बजाउने सूचकको रुपमा त्यसपछि भगवान विराजमान भएको खट र खटको पछाडि भजनमण्डलीका साथ भक्तजन हुने गर्दथे ।
साँझबत्ती बल्दाको समयपछि रात्रि समयमा खटजात्रा सुरु हुने हुनाले पेट्रोलम्याक्स (मेन्टोल), लालटिन र बडा खाले टर्चलाइटको भरपुर व्यवस्था हुन्थ्यो ।
खटमा काँध थाप्नेहरूको कमी हुँदैन थियो । खटजात्राको कीर्तनमण्डलीले पूरै समय भजन गाएर हिंड्ने र यसरी खटजात्राले झण्डै ४ घण्टा समय लिन्थ्यो ।
हालको मन्दिरको भवन विसं २०१८ सालमा निर्माण सम्पन्न भई नयाँ भगवान श्री राधाकृष्ण जुगल जोडीको प्रतिमा प्रतिष्ठापित भएको हो ।
अहिले भएको भगवानको मूर्ति चौथो जुगल जोडी मूर्ति हो । वर्तमान मन्दिर निर्माणमा सरकारी अनुदार र आर्थिक सहयोग जुटाउन अहम् भूमिका बृज भूपालमान सिंह कार्कीले गर्नु भएको थियो ।
त्यस समयदेखि मन्दिरको गतिविधि र व्यवस्थापनमा उहाँको सक्रिया भूमिका रहेकै कारण विसं २०२४ मा भगवान श्री कृष्ण जन्मष्टमी महोत्सव र भगवानको खटजात्रालाई रुपान्तरण गर्ने भनी धर्मानुरागी भक्तजन, सरकारी अधिकृत–कर्मचारी, व्यापारी, बुद्धिजीविहरूको बृहत भेला मन्दिरमा भयो ।
समय अभावका कारण रथ निर्माण गर्न नसकिने भएकाले भैरहेको खटलाई ट्याक्टरको ट्रलीमा सजाएर नगर परिक्रमा गर्ने निर्णय भयो र पहिलो पटक विसं २०२४ सालमा श्री राधाकृष्ण मन्दिरबाट रथको रुपमा नगर परिक्रमा गरिएको हो ।
विसं २०२४ को विस्तारित भएको रथको रुपमा भगवानको जुगलजोडीको नगर परिक्रमाको भोलिपल्ट साधारणसभा र समीक्षासभा गर्ने गरेबाट विसं २०२५ सालमा बृज भूपालमान सिंहको सक्रियता र उहाँ र उद्योगी स्व सत्यनारायण धनावतको संयुक्त लगानीमा १८ फिट ४ इञ्च उचाइ र १४ फिट ६ इञ्च ब्यास भएको दुईपाङ्ग्रे रथ निर्माण भएको हो ।
विसं २०२५ सालमा श्री राधाकृष्ण भगवानको जुगल जोडी विराजमान भएको रथ श्री राधाकृष्ण मन्दिरबाट आरम्भ भै ३२ वटा विश्रामस्थलमा भक्तजनहरूले पूजा आरती गरी पुनः मन्दिर प्राङ्गणमा सकिएको हो र यस रथले ८ दशमलव ४ किमी दूरी तय गरेको थियो ।
विसं २०२५ सालको रथजात्रा महोत्सव श्रीमान पूर्वन्यायाधीश चन्द्रजंग थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
रथ निर्माणको सम्पूर्ण कार्य तत्कालीन धनावत म्याच फ्याक्ट्रीमा भएको हो ।
त्यसमा लागेको काठ–फलेकका सम्पूर्ण सामग्री र विद्युतीय कामको निर्देशन बृज भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले गर्नु भएको र रथ निर्माणका लागि काठ सम्बन्धी सबै काम मेधु मिस्त्री र महम्मद रजाक मियाँले गरेका हुन् ।
यी दुबै धनावत म्याच फ्याक्ट्रीमै काम गर्ने गर्दथे भने रथको सम्पूर्ण विद्युतीय कार्य प्रसिद्ध मोटरसाइकल मेकानिक चित्रबहादुर श्रेष्ठको सक्रियतामा भएको थियो ।
बृज भूपामानसिंहकार्की एक कुशल व्यवस्थापक हुनु भएका कारण नै यस महोत्सवले चौतर्फी प्रशंसा पाउनुका साथै पूर्ण सफल भएको हो ।
प्रचारप्रसार यति ब्यापक गरिएको थियो कि गाउँगाउँबाट भक्तजनहरूको जमघट भएको थियो । म स्वयं त्यस महोत्सवको प्रचार समितिको सदस्य थिएँ ।
गाडीमा माइक राखी प्रचारका लागि निर्देशनानुसार विराटनगर–रानीको गल्लीगल्ली लगायत दुहबी, धरान, इनरुवा, रंगेलीलगायतका ठाउँहरूमा माइक पम्प्लेट र पोष्टरबाट प्रचार गरिएको थियो ।
करिब एक हप्ता अगाडिदेखि विराटनगर, रानी, कटहरी, टंकी, दुहबी, इटहरीका विभिन्न स्थानमा रथजात्रा महोत्सवको पोष्टर टाँस्ने काममा म स्वयं अनि साथीहरू लोकमानसिंहकार्की (देशबन्धु) रिद्धी कार्की, ज्योति आचार्य, विमद भट्टराई नारायण साह, लालबहादुर तामाङ, सुवोध कार्की, जमैरा मण्डलहरूको टोलीले गरेका थियौं ।
पहिलो र विशाल यस महोत्सवलाई श्री राधाकृष्ण रथयात्रा महोत्सव नामकरण गरियो ।
विसं २०२५ को रथयात्रा महोत्सव सफल बनाउन २२ वटा उपसमितिहरू निर्माण भएको थियो ।
रथयात्राको सबैभन्दा अग्रपंक्तिमा एउटा रिक्सामा माइक राखेर रथयात्राको झाँकीहरूको विवरणको जानकरी गराउने काम गरें ।
यसमा स्व सागर थपलिया पनि सँगै हुनुहुन्थ्यो ।
पुरानो खटजात्रामा खट बोक्ने युवाहरू र भक्तजनहरूलाई रथयात्राको भोलिपल्ट साधारणसभामा सम्मान गरिएको थियो ।
विसं २०२५ सालको त्यो ऐतिहासिक रथयात्राका बारेमा अझ पनि केही स्मरणीय कुराहरू सम्झन्छु ।
अग्रभागमा रथयात्राको विवरण प्रचार गर्ने रिक्साको पछिपछि शंख ध्वनि गर्नु हुने गडुरबहादुर खनाल एक्लैले नगर परिक्रमा गरुञ्जेल शंख फुक्नुहुन्थ्यो ।
टायर गाडीको समय थियो, जोगबनीदेखिका टायरगाडीको व्यवस्थापन नथुनी प्र गुप्ता र उत्तमचन्द तापडियाले संयुक्त रुपमा गर्नुभयो ।
स्वयसेवकको नेतृत्व राजानन्द कार्कीले गर्नु भएको थियो । लामो करिब १०० फिटको रथ तान्ने (भक्तहरूद्वारा) डोरीको व्यवस्थापन रामेश्वरलाल अग्रवालले गर्नुभएको थियो ।
र, रथ सञ्चालनको सारथी पं जगन्नाथ शास्त्री र पं. भगवानदत्त शर्माले गर्नुभएको थियो । रथलाई व्यवस्थित हिंडाउन सिट्ठी, रातो हरियो झण्डा र रातो हरियो बत्ती (टर्चलाइट) को मुख्य भूमिकामा सत्यनारायण धनावत, मोति धनावत र रामेश्वरलाल अग्रवालले गर्नुहुन्थ्यो ।
झाँकीको उचित व्यवस्थापन माधव सापकोटा र ओमकारमल धनावतले गर्नुभएको थियो ।
रथको अग्रभागमा भजनमण्डलीहरू टायर गाडीमा रहन्थे भने रथबाट सबैभन्दा अगाडि रथयात्राको विवरण प्रस्तुत गर्ने रिक्सा झण्डै डेढ किमीको थियो ।
त्यो बेलाको समयमा भक्तहरूलाई पानी पिलाउन अन्तिम समयमा कुरा आयो । मलाई सम्झना छ, निर्देशानुसार मैले तीन स्थानमा पानीको व्यवस्थाका लागि अनुरोध गरें र त्यसैअनुसार गोल्छा निवास, प्रह्लाद राठी र विमला मास्केले पिउने पानीको व्यवस्थापन गर्नुभयो ।
विसं २०२५ को रथयात्राका बारेमा सम्झनायोग्य धेरै कुराहरू छन् ।
अहिलेलाई यत्ति मात्रै ।
(लेखक श्याम पौड्याल राधाकृष्ण मन्दिरका संस्थापकका पनाति र मन्दिरका संस्थापक पुजारीका छोरा हुन् ।)
View : 68
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved