Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

पूर्वी नेपालमा माछाको गैरदेशीय नयाँ प्रजाति

उद्घोष सम्वाददाता
२९ जेठ २०८१, मङ्गलवार

विराटनगर । मोरङ जिल्लाको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा पूर्वी र दक्षिण एशियाली देशहरुमा केहीवर्ष यता व्याप्त छ ।

टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको सो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालहरु यसलाई पहिल्याउन थाले ।

पछि दुई चिनियाँ अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अति मिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति भएको पुष्टि गरे । सो माछाको बासस्थान, शारीरिक र आनुवांशिक बनोट  तथा आनीबानीको बारेमा र नेपालमा पहिलो पटक भेटिएको भन्ने कुरा पुष्टि गर्दै उनै अनुसन्धानकर्ताहरुद्वारा लेखिएको एक लेख बायोइन्भेजन्स् रेकर्डस् भन्ने विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ ।

स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा नदीबाट  माछाका ४३ वटा नमूना संकलन गरिएको थियो । पूर्वी नेपालका तमोर लगायत स्थायी नदीहरुको ५० स्थानमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यहीजातको अर्को प्रजाति भने दमकतिरका नदीहरुमा भेटिएको छ ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूनाहरु संकलित भएका थिए । अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भने– ‘यसमा हामीले दुई वटा बाटो अनुमान गरेका छौं । कि चाहिं कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै यता आयो ।’

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् । 

View : 99

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved