Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

युवालाई जगाउने चलचित्र ‘म पर्खिरहन्छु’

तुलसा भट्टराई
३० साउन २०८१, बुधवार

Advertisement

मनोरञ्जनात्मक मात्र नभएर वर्तमान नेपालको यथार्थतालाई बोकेर पर्दामा जीवन्त रुपमा उतारिएको एक सशक्त चलचित्र हो म पर्खिरहन्छु  ।

लाखमान योञ्जन तामाङको निर्देशनमा सन्तोष सरकारको कथालाई निर्माता बबिता श्रेष्ठले कलाकारहरु विनोद श्रेष्ठ (सुरज), कल्पना भट्टराई (कल्पना)को मुख्य अभिनयमा निर्माण गरिएको ‘म पर्खिरहन्छु’ नामको चलचित्र नेपालको वर्तमान अवस्थामा आधारित चलचित्र हो । 

यस चलचित्रले हाम्रो समाज कुन दिशातर्फ जाँदै छ भन्ने कुरा प्रष्ट पारेको छ ।

साथै वर्तमानमा सर्वसाधारण नेपालीले भोग्दै आएको मर्म बुझाउने प्रयास गरिएको छ ।

वास्तवमै, आमाको सुन, बुबाको पसिना, अनि घर धितो राखेर लिएको पैशाबाट पढेर प्राप्त गरेको शैक्षिक प्रमाणपत्रको कुनै मूल्य छैन ।

यहाँ राम्रो जागिर पाउन कि त ठूलो पदमा आफ्नो मान्छे हुनुपर्दछ कि त आफ्नो हातमा शक्ति हुनुपर्दछ कि त आफ्नो हातमा ठूलो मात्रामा धनराशि हुनुपर्दछ । 

सामान्य परिवारमा जन्मिएको मान्छेले जीविकोपार्जन गर्न वैदेशिक यात्रा नै गर्नुपर्ने बाध्यता छ । यही एक वर्षभित्र २ लाख ८५ हजार युवा जनशक्ति रोजगारीको लागि विदेशिएका छन् । यदि यही क्रममा रोजगारीको लागि हामी जस्ता युवाहरू विदेशियौं भने एक दिन विवाहमा जन्ती अनि कसैको मृत्यु हुँदा मलामी जाने युवा कोही हुँदैन ।

घरमा भएका वृद्ध बाआमाको बिचल्ली हुनेछ । खेतबारी बाँझिएर वनजंगलमा परिणत हुनेछ । 

चलचित्रमा देखाएझैं दुःख मेहनत गरेर आफ्नो जीवनको करिब २० देखि २५ वर्षसम्म पढाइमा लगानी गर्यो तर राम्रो जागिर पाउन नै गाह्रो हुन्छ । बल्लतल्ल हजार प्रयास बावजुद कहीं पाइहाले पनि कार्यालय सहायक स्तरको कर्मचारीदेखि लिएर देश चलाउने मन्त्रीहरूसम्मका मान्छेहरूलाई रिझाउनु पर्ने बाध्यता छ ।

आफ्नो देशमा जागिर नपाए पछि पेट पाल्नकै लागि देशमा चोरी चकारी, लुटपाट, डकैतीमा स्वतः बृद्धि हुँदै जान्छ । 

ठूल्ठूला पदमा बसेका व्यक्तिहरूलाई आफ्नो कुर्सी, आफ्नो मान्छे, अनि आफ्नो स्वार्थ पूरा गर्दैमा फुर्सद हुँदैन ।

अनि सामान्य आर्थिक अवस्था भएका व्यक्तिहरू आफ्नो वृद्ध बुबाआमा, स–साना छोराछोरी, केटाकेटीहरू छाडेर पैसा कमाउनकै लागि परदेशिनु पर्दछ ।

अर्काको देशमा खाइ नखाइ गरेर काम गर्यो त्यसैकै भरमा बल्लतल्ल हातमुख जोड्न पुग्दछ । त्यहाँ पनि भने जस्तो काम नपाउनु, आफू दक्ष भएको विषयमा काम गर्न नपाउनु, थोरै पारिश्रमिक पाउनु अझ कुनै अवस्थामा त लामो समयसम्म पारिश्रमिक नै नपाउनु जस्ता धेरै दुःखहरू हामी नेपालीहरुले भोग्नु परेको छ । 

उता घरमा न  कुनै चाडपर्व, न त दुःख, न त सुख जस्तोसुकै अवस्थामा पनि सरिक हुन नपाउनु, आफन्तहरूको माझमा बस्न नपाउनुको पीडा पनि छुट्टै छ । जसोतसो गरेर आफ्नो मन बुझाएर अर्काको देशमा एक्लै बस्नु पर्ने बाध्यता  छ ।

आफ्नो जीवन धरापमा राखेर काम गर्दैगर्दा कहिलेकाहीं भैपरि आएर दुर्घटनामा परिन्छ । कतिपयको त अङ्गभङ्गनै भएको अवस्था छ । त्यस्तो अवस्था भएपछि न त कार्यरत कम्पनीले निरन्तर काममा राख्छ ।

न त त्यसले दिएको सामान्य क्षतिपूर्तिद्वारा भएको आफ्नो क्षतिपूर्ति हुन्छ न त नेपालमा नयाँ कुनै रोजगार पाइन्छ । अझ कतिपय त काम गर्दागर्दै दुर्घटनामा परेर आफ्नो ज्यान गुमाउन पुग्दछन् ।

पैसा कमाएर परिवारको खुसी किन्न गएको मान्छे बाकसमा मुर्दा भएर फर्कंदा परिवारको हालत कस्तो होला सोच्न पनि कठिन छ । यसरी कयौं नेपाली युवाहरू र उनीहरूको परिवारको बिचल्ली भएको खबर त हामीले सुनिरहेका छौं ।

यो अवस्था  साँच्चैनै कल्पना गर्न पनि कठिन हुन्छ । के हामी सबैले चाहेको अनि खोजेको देश यस्तै हो त ? प्रश्न उत्पन्न हुन्छ हामी युवाहरुको अगाडि !

‘म पर्खिरहन्छु’ नेपाली चलचित्रबाट पनि यो प्रष्ट हुन्छ कि हामी युवाले आफ्नै देशको यस्तो दयनीय अवस्थालाई परिवर्तन गरेको हेर्न हाम्रा आमाबुबा र सिंगो नेपाल पर्खिरहेको छ ।

अब हामी युवाले देश मै रोजगारी सिर्जना गर्नु पर्छ, भ्रष्टाचार नियन्त्रणका लागि हर प्रयास गर्नु पर्छ । भ्रष्टाचारबिरुद्ध आवाज उठाउनु पर्छ, भ्रष्ट शासन प्रणालीको अन्त्य गर्नु पर्छ र स्वरोजगारी बन्नु पर्छ भन्ने शिक्षा यस चलचित्रले दिने प्रयास गरेको छ ।

हामी जस्ता युवा देशको भविष्य हौ र अबको देशको भविष्य कता लैजानु पर्ने हो त्यसका लागि यस चलचित्रले सरल रुपले घचघच्याएको प्रष्ट हुन सकिन्छ ।

 

View : 479

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved