Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोदी र प्रचण्डले उद्घाटन गरेको कार्गो रेल फर्किएन दोस्रो पटक

बाबुराम भण्डारी
१५ मंसिर २०८०, शुक्रवार

Advertisement

विराटनगर : भारत र तेस्रो मुलुकबाट गरिने आयातमा ६० प्रतिशतसम्म लागत घट्ने दाबी गरिएको बथनाहा–विराटनगर कार्गो रेल सेवा उद्घाटन भए पनि सञ्चालनमा भने आउन सकेको छैन । २०८० जेठ १८ मा भारतको बथनाहाबाट २ हजार ४०० टन औद्योगिक कच्चा पदार्थ बोकेको र्‍याग लिएर आएको पहिलो कार्गो रेल त्यसपछि दोस्रो पटक विराटनगर आएको छैन ।

भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट बथनाहा–विराटनगर ८ किलोमिटरको कार्गो रेल चलेको जनाउ दिंदै ‘हरियो झण्डा’ हल्लाएका थिए । बथनाहबाट १५ मिनेटमै बुधनगरस्थित एकीकृत जाँच चौकीको यार्डमा आएको सो कार्गो रेल त्यसयता फेरि फर्किएर आएको छैन ।

रेल सेवा सञ्चालन गर्ने निकाय नेपाल रेलवे कम्पनीले गत असार १५ मा एउटा सूचना निकाल्दै उद्योगी व्यवसायीलाई रेल मार्फत कार्गो ढुवानी गर्न आग्रह गरेको थियो । रेल विभागले पनि विराटनगरसम्म कार्गो रेल सञ्चालनमा कुनै प्राविधिक समस्या नरहेको दाबी गरेको छ । तर उद्योगी व्यवसायीहरूले भने सरकारले अझै पनि रेलबाट सामान ल्याउन सक्ने वातावरण तयार नगरेको आरोप लगाएका छन् ।

सरकारले यार्डमा लोड अनलोड गर्ने आवश्यक उपकरणहरू र कागजात चेकजाँचको व्यवस्था गर्न नसकेको उनीहरूले बताएका हुन् । उनीहरूले सामान ल्याउनका लागि कागजात मिलाउन र रेलबाट ल्याइने सामानको भन्सार जाँचपासमा देखिएको कठिनाइ समाधानका लागि कुनै संयन्त्र तयार नभएको भन्दै रेल सेवाको सुविधा उपभोग गर्न नसकेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कार्गो रेल सेवा नियमित सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने बताए । आवश्यक पूर्वाधार र उपकरणहरूको व्यवस्था छिटो गर्नुपर्ने उनले बताए । रेल सेवा सञ्चालन हुन सके औद्योगिक क्षेत्रले ठुलो लाभ प्राप्त गर्ने अध्यक्ष राउतको भनाइ छ ।

‘कार्गो रेलबाट आयात हुँदा लागत सिधै सस्तो पर्छ, कन्टेनरको संख्या नै बृद्धि हुन्छ, उत्पादनको प्रतिष्पर्धी क्षमता बढ्छ, बजार बढ्छ’ राउतले भने, ‘सरकारी निकायले एकले अर्कोलाई देखाएर पन्छिने गर्दा यत्रो पूर्वाधारको उपभोग हामीले गर्न पाएनौं ।’

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पनि कार्गो रेल सेवाले उद्योगी व्यवसायीलाई धेरै ठुलो फाइदा पुग्ने हुँदाहुँदै पनि त्यो सुविधा दिन सरकार तयार नभएको आरोप लगाए । उनले रेल सेवा सरकारको प्राथमिकतामै नपरेको बताए ।

‘रेल सञ्चालन भए खर्च कटौति हुन्थ्यो, उद्योगीहरुले आफ्ना उत्पादन प्रतिष्पर्धी रुपमा उत्पादन गर्नसक्थे’ उनले भने, ‘तर रेल सेवा हाम्रो सरकारको प्राथमिकतामा परेन, रेल यार्डमा हाम्रो सामानको लोड अनलोड कसले गरिदिने ? त्यो काम त सरकारको हो, कागजात कसले कागज हेरिदिने ? त्यो हेरिदिने काम सरकारकै हो ।’ रेलबाट कार्गो आयात गर्दा उद्योगी व्यवसायीहरूको लागत धेरै सस्तो हुने भए पनि सुविधा उपभोग गर्न नसकिएको उनले गुनासो गरे । 

रेल विभागका प्रवक्ता एवं सिडिई कमलकुमार शाहले विभागको तर्फबाट रेल सेवा गर्न आवश्यक कुनै पनि पूर्वाधारको काम बाँकी नरहेको दाबी गरे । उद्योगीहरूले रेलमार्फत कार्गो मगाए रेल सहजै विराटनगर आउने बताए । तर कार्गो ल्याउने प्रक्रियाको सहजीकरणको काम भने वाणिज्य मन्त्रालयमार्फत हुने भएकोले आफ्नो तर्फबाट कुनै समस्या नरहेको बताए ।

‘हाम्रोतर्फबाट रेल आउन सक्ने सबै पूर्वाधार तयार छ, उद्योगी व्यापारीहरूले सामान ल्याउन चाहे भारतबाट पनि रेल आउन समस्या छैन, प्राविधिक रुपमा हाम्रो कुनै समस्या छैन’ प्रवक्ता शाहले भने, ‘मालबाहक रेलमार्फत सामान ल्याउने कुराको समन्वय हामीले गर्न सक्दैनौं, त्यसको समन्वय वाणिज्य मन्त्रालयले गर्ने हो ।’ व्यापारीहरूले कार्गो मगाएको खण्डमा रेल आउनका लागि कुनै समस्या नरहेको उनले जानकारी दिए ।

कार्गो रेल सेवा सञ्चालनमा देखिएको यस्तो समस्याका कारण उद्योगीहरूले मगाउने कच्चा पदार्थ हाल बथनाहाबाट जोगवनी रेलवे स्टेशनबाटै अनलोड गर्दै आएका छन् । विराटनगरसम्म सञ्चालन हुने कार्गो रेलका लागि आवश्यक पूर्वाधार २०७५ कात्तिक ८ मै तयार भएको थियो । त्यतिबेलै नेपालतर्फको भन्सार यार्डसम्म भारतीय रेलको इन्जिन कुदाएर परीक्षण गरेको थियो ।

भारतले कटहरी गाउँपालिका–१ महेशपुरसम्मै रेल–वे बनाइदिन लागेको भए पनि मुआब्जा वितरणको विवाद अदालतबाट अहिलेसम्म टुंगिन सकेको छैन । ७५० मिटरभित्र देखिएको मुआब्जा विवाद नसुल्झिदा मुलुकै प्रमुख मोरङ–सुनसरी औद्योगिक एवं आर्थिक क्षेत्रको विकासमा अवरोध देखिएको छ ।

उद्योगीहरूका अनुसार कार्गो रेलबाट कार्गो आयात भएको खण्डमा कम्तिमा पनि प्रतिकिलो पाँच रुपैयाँले लागत मुल्य घट्ने दाबी गरेका थिए । त्यसका साथै मुलुकको औद्योगीकरणमै टेवा पुग्ने उनीहरूले बताएका थिए ।

हाल भारतबाट आउने तीन सय वटा ट्रकहरूमध्ये कम्तिमा पनि डेढ सय वटा अन्तर्राष्ट्रिय कार्गो आउने गरेको तथ्याङ्क उद्योगी व्यवसायीहरूले प्रस्तुत गर्दै आएका छन् । कार्गो रेल सञ्चालन हुँदा एउटा कार्गोमा कम्तिमा ४५ हजार रुपैयाँ जोगिन सक्ने भएकोले कार्गो रेल सेवालाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ ।

भारतीय पोर्टबाट कन्टेनर बोकेर आएको कार्गो रेल हाल जोगवनी यार्डमा रोकिदै आएको छ । जोगवनीमा कन्टेनर आइपुगेको ८ घण्टाभित्र अनलोड गर्नुपर्ने र त्यहाँबाट २४ घण्टाभित्र नेपालतर्फ ल्याइसक्नुपर्ने बाध्यताले नेपाली उद्योगी व्यवसायीहरूले थप आर्थिक भार खेप्दै आएका छन् ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved